अक्षरमार्ग

पाँच मुक्तक

ध्रुबकृष्ण ताम्राकार

एक

हरेक विहान त अँध्यारो काटेर नै आउँछ

हरेक सुनको चमक त खारेर नै आउँछ

सहेर बाँध्नुपर्छ धैर्यका अनगिन्ती बाँधहरु

हरेक सुख त मनको चैन सातेर नै आउँछ।

 

दुई

खाली कागजमा जे रंग नि कोरे पनि हुन्छ

मन न हो आखिर जता रंग सोरे पनि हुन्छ

किंतु यहाँ अमित भावनाका रंग नबिर्सनु

अरे खुला भन्दैमा नकोर्नु जे भरे पनि हुन्छ।

 

तिन

काँडासंग पनि फूल फुलेको हुन्छ

गुँरास हरेक भीरमै फक्रेको हुन्छ

जीवन सहज त हैन संघर्ष हो यार

खुकुरी चम्किन ढुङ्गामा रेतेको हुन्छ

 

चार

थाहा थियो दुई किनाराको संगम एकै हुंदैन भनेर

सत्य त्यही थियो जमिन आसमान मिल्दैन भनेर

स्पर्शको दुरी हुंदैन निकट त सदा महसुसमा हुन्छ

बिभेद अन्त्य हुन्छ सोच्नु जब भावना गल्दैन भनेर

 

पाँच

अदाकारी हुँ म तिम्रो सदा एक आज्ञाकारी थिएँ

सूर्य हौ तिमी म छाँया तिम्रो सदा गुणाकारी थिएँ

लंगडो मेरो मन तिमी सदा बैशाखीको पात्र बन्यौ

एक्लै हिँड्न सिकाउ नसम्झनु म ललकारी थिएँ।