अक्षरमार्ग

कवि सूर्यका कवितामाथि समालोचना कृति

काठमाडौ, समालोचक तथा महाकाव्यकार श्रीहरि फुयाँलले कवि सूर्यप्रसाद लाकोजूका कविताहरुको विश्लेष गरेर तयार पारेको समालोचना कृति सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक कृतिको प्रकाशित भएको छ । सो पुस्तकको लोकार्पण एक समारोह बीच वरिष्ठ समालोचक तथा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराई, प्रा डा कुमारप्रसाद कोइराला, डा तुलसी भट्टराई, प्रा.डा. शैलेन्दु प्रकाश नेपाल, डा. तुलसी गौतम, कवि सूर्य लाकोजू, समालोचक श्रीहरि फुयाँल लगायतले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले लाकोजू मूलत कवि नै भएको र शक्तिशाली कविताका कारण उनको कवि व्यक्तित्व छिमेकी राष्ट्रका विभिन्न भागसम्म फैलिएको र लोकप्रिय भएको सन्दर्भमा समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलको सूर्य लाकोजूका कवितामाथि समालोचकीय पुस्तक प्रकाशन हुनु सान्दर्भिक भएको बताए । अर्का वक्ता डा. तुलसी भट्टराईले अग्रज पुस्ताले अनुज पुस्ताको बारेमा यस प्रकारको पुस्तक तयार हुनु उल्लेखनीय र दुर्लभ रहेको र अनुज पुस्ताको शक्तिशाली कविताका बारेमा समालोचनाको पुस्तक तयार हुनु गौरवको विषय भएको विचार पनि उनले व्यक्त गरे । पुस्तकको आफ्नो विचार पोख्दै समालोचक प्रा.डा. कुमार कोइरालाले समालोचनाका लागि सही पात्र चयन गरेको रसमालोचक तथा साहित्यकार श्रीहरि फुयाँलले लाकोजूका कवितालाई विविध दृष्टिले हेरेको बताए । साथै कवि सूर्य लाकोजूका कवितामा समालोचना गरेर उनको कवितामाथि न्याय गरेको विचार पनि व्यक्त गरे । अर्का समालोचक डा.तुलसी गौतमले सूर्य लाकोजूका कविता पढ्दा आफ्नै आफैलाई पढेको, आफ्नै भावना व्यक्त भएको अनुभूति हुने थोरै शब्दमा धेरै कुरा भन्न सक्ने आकर्षक कविता लेख्न सक्ने खुबी कवि सूर्यमा रहेको विचार व्यक्त गरे । कार्यक्रममा प्रा.डा. शैलेन्दु प्रकाश नेपालले कवि लाकोजूको कवि व्यक्तित्वमाथि प्रकाश पार्दै लाकोजूका कविता सरल तर सरस भएकै कारणले उनको कवि व्यक्तित्वको उचाई चुलिएको र सबैतिर लोकप्रिय भएको विचार पोखे । साथै यस प्रकारको जीवन्त कविताका कारण कविलाई जीवन्त राख्ने कुरा उनले बताए । समालोचक श्रीहरि फुयाँलका बारेमा बोल्दै साहित्यकार युवराज मैनालीले श्रीहरि फुयाँल राम्रो समालोचक मात्र नभई प्रखर कवि, महाकाव्यकार, आख्यानकार साहित्यका प्रायः विधामा कलम चलाउने सफल प्रतिभाका धनी व्यक्तित्व भएको विचार व्यक्त गरे । त्यस्तै अनिता कोइराला, हरि गौतमलगायतले पनि आ आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।


समालोचक तथा साहित्यकार श्रीहरि फुयाँलले लाकोजूका कविता स्तरीय र उच्चकोटीको भएकैले आफूले लाकोजूका कविताको प्रवृत्तिलाई केलाएर विश्लेषण गर्दागर्दै एउटा पुस्तकै तयार भएको विचार पोखे । त्यस्तै कवि सूर्यप्रसाद लाकोजूले अग्रजहरुको आशीर्वाद, मित्रहरुको सद्भाव र अनुजहरुको स्नेह नै आफ्नो लेखनको प्रेरणा भएको बताए ।
सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक पुस्तकमा एघार परिच्छद छन् । समालोचक श्रीहरि फुयाँलले कवि लाकोजुका प्रकाशित छओटा कवितासङ्ग्रहहरु स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्बन, मेरो घाम, घाम फुल्ने याम र घामको पर्खालको आधारमा कवि सूर्य लाकोजूको कविताहरुको विवेचना गरेका छन् । यो कृतिले कवि सूर्य लाकोजूको कवित्वलाई चिनाउने प्रयास गरिएको छ । ट्रान्सवल्ड पब्लिकेशनले प्रकाशन गरेको हो ।