प्रिय बल्थली !
किन यति लोभलाग्दो छ तिम्रो मुस्कान ?
तिमी सृष्टिकर्ताले समय लगाएर बनाएको
प्राकृतिक मोनालिसा
अदभूत हाँसो बीच फक्रेको सुन्दर फूल
जो आफू मात्रै हाँस्दैन
सिङ्गो मानव जातिलाई
हाँसेर बाँच्न प्रेरित गरिरहन्छ ।
बल्थली प्रकृतिले सजिएको सुन्दर ठाउँ हो । तरेली परेका हरिया फाँट, समथर जमिन, ठूला पहाड, कलकल बग्ने लड्कु खोलाले बल्थलीलाई सुन्दर बनाएको छ । यहाँ रहेको खोपासे डाँडाबाट देखिने सूर्योदयको मनमोहक दृश्यले सबैको मनलाई मोहित पार्दछ । बल्थलीबाट देखिने सुन्दर हिमश्रृङ्खलाको दृश्य झन् लोभलाग्दो छ ।
पनौती नगरपालिकाको वडा नं ११ मा पर्ने बल्थलीे प्राकृतिक दृष्टिले मात्र होइन धार्मिक रूपमा समेत ठूलो महङ्खव बोकेको स्थान हो । यहाँ रोसी खोलाको किनारमा लड्केश्वर महादेवको पुरानो मन्दिर रहेको छ । भक्तपुरका प्रख्यात राजा भूपतिन्द्र मल्ल नेपाल सम्वत ८३१ माघे सङ्क्रान्तिका दिन यहाँ स्नान गर्न आएबाट यहाँको धार्मिक गरिमा कति उच्च रहेको छ भन्ने कुरा प्रष्ट हुन्छ । शैव धर्मावलम्बीहरूका लागि त यो स्थल पवित्र भूमि हो । यहाँ तीनओटा स–साना शिवलिङ्गहरू रहेका छन् । शिवलिङ्गमाथि सदैव जल आइरहन्छ । शिवलिङ्गको माथिल्लो भागमा चुनढुङ्गाका कारण गाईको थुन आकार बनेका छन् । त्यहाँबाट निरन्तर जल तप्किरहने गर्दछ । मन्दिरको समीपमा एउटा सानो गुफा जस्तै पनि रहेको छ । यसलाई स्थानीयहरू पापद्वार र पुण्यद्वार पनि भन्ने गर्दछन् । लड्केश्वर क्षेत्रमा हालै १०८ फिट अग्लो तामाको त्रिशुल निर्माण गरिएको छ । हाल यहाँसम्म पुग्न मोटर बाटो निर्माण गरिसकिएको छ । जज्ञ चउर भनिने लड्कु दोभानसम्म सजिलै यातायातको साधन प्रयोग गरेर पुग्न सकिन्छ । प्राचीन जनश्रुति अनुसार महाभारत कालमा पाँच पाण्डवहरूले यज्ञ गरेको स्थान भएकोले यस स्थानको नाम यज्ञ चउर रहन गएको र पछि अपभ्रंश भई जज्ञ चउर नामाकरण भएको यहाँका स्थानीय बूढापाकाहरू बताउँछन् ।
लड्केश्वर मन्दिरमा हरिवोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गर्दछ । हरिवोधनी एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । हिन्दू पुराणहरूका अनुसार क्षीरसागरमा सुतेका हरि अर्थात् भगवान् नारायण आजकै दिन बिउँझने गर्दछन् । हरि जागा हुने दिनमा पनौतीको बल्थलीमा भने भगवान् शिवको मेला लाग्ने गर्दछ । यसदिन यहाँ मेला भर्न देशका विभिन्न भागबाट भक्तजनहरू आउने गर्दछन् । आजको दिन भगवान् हरिका भक्तिका साथै यहाँ आई मेला भरेमा अक्षय फल मिल्ने धार्मिक विश्वास रहेको छ ।

किंवदन्ती अनुसार परापूर्व कालमा देवता र दानवहरू मिलेर समुद्र मन्थन गरेका थिए । त्यो बेला क्षीर सागरमा समुद्र मन्थन गर्दा अमृतका साथै कसैले समन गर्न नसक्ने कालकुट विष पनि निस्कियो । कालकुट विषका कारण सम्पूर्ण सृष्टि नै नास हुने देखेपछि उक्त विष भगवान् शिवले पिएर कण्ठमा अड्काई राखे । जगत्को कल्याणका लागि पिएको सो विषका कारण भगवान् शिवलाई डाहा भयो । भगवान् शिवको घाँटी निलो भयो । त्यसैबेलादेखि भगवान् शिवलाई नीलकण्ठ भनिएको कुरा हिन्दूग्रन्थहरूमा उल्लेख छ । उनी छटपटिएर समुद्रबाट कैलाश प्रस्थान गर्ने क्रममा रोसी खोलाको मार्ग भएर गोसाइँकुण्ड गएको जनश्रुति रहेको छ । आफ्नो डाहा शान्त पार्न हि“ड्दा भगवान् शिवले पहिलो पाइला लड्केश्वरमा र दोस्रो पाइला फड्केश्वरमा राखेका थिए भन्ने जनश्रुति रहेको छ । भगवान् शिव त्यहाँबाट गोसाइँकुण्डमा गई शयन गरे । यसरी पाइला टेक्ता लड्केश्वरमा लड्केश्वर महादेव र फड्केश्वरमा फडकेश्वर महादेवको शिवलिङ्ग उत्पन्न भएको किंवदन्ती प्रचलित छ । सोही कारण शिवभक्तहरूको ठूलो भीडका बीच लड्केश्वरको मेला सम्पन्न हुने गर्दछ ।