अक्षरमार्ग

नेपालको सनातन सभ्यता र संस्कृति

नेपाल एक प्राचीन सभ्यताको धनी मुलुक हो, जहाँ हजारौं वर्षदेखि सनातन संस्कृति र सभ्यताको गहिरो प्रभाव छ । यहाँका पर्व, संस्कार, रीतिरिवाज, सामाजिक व्यवहार, धार्मिक विश्वास र जीवनशैली सबै सनातन मूलका छन् । सनातन शब्दको अर्थ नै ‘सदाको लागि रहने’, अर्थात् नाश नभएको र सदा कायम रहने सिद्धान्त वा परम्परा हो । नेपालको इतिहास, भूगोल, जनजीवन, साहित्य र धर्म—सबैमा सनातन परम्पराको गहिरो छाप स्पष्ट देखिन्छ ।
सनातन सभ्यता के हो?
सनातन सभ्यता भन्नाले त्यो सभ्यता बुझिन्छ जुन सृष्टिको प्रारम्भदेखि वर्तमानसम्म चल्दै आएको छ, जसमा मानव जीवनलाई शुद्ध, सत्य, र धर्ममा आधारित बनाउने प्रयत्न गरिएको छ । यसमा वैदिक दर्शन, वेद, उपनिषद्, रामायण, महाभारत, गीता जस्ता ग्रन्थहरू आधारशिला हुन् । सनातन धर्मले चार पुरुषार्थहरू—धर्म, अर्थ, काम र मोक्षलाई जीवनको लक्ष्य मानेको छ । नेपाली समाजमा यिनै चार स्तम्भहरूमा आधारित जीवनशैली देख्न पाइन्छ ।
नेपालमा सनातन धर्मको विकास
नेपालमा सनातन धर्मको इतिहास अत्यन्त पुरानो छ । प्राचीन समयमा नेपाललाई हिन्दू–बौद्ध सभ्यताको केन्द्रका रूपमा चिनिन्थ्यो । राजा जनक वैदिक कालका महान विद्वान् र राजा थिए भने गौतम बुद्ध स्वयं पनि सनातन परम्पराको सन्तान थिए । नेपालका विभिन्न ठाउँहरू—जस्तै पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी, देवघाट, र स्वयम्भू—सनातन सभ्यताको ऐतिहासिक साक्षी हुन् । यी स्थलहरूमा आज पनि परम्परागत पूजापाठ, संस्कार र धार्मिक क्रियाकलाप निरन्तर भइरहेका छन् ।
संस्कृति र सभ्यताः नेपाली समाजको मेरुदण्ड
संस्कृति भन्नाले कुनै समाजको जीवनशैली, आचरण, मूल्य, चिन्तन, कलासंस्कृति, धर्म, परम्परा र विश्वासहरूको समष्टि हो । नेपालमा पाइने विविध जातजाति, भाषाभाषी र समुदायहरूमध्ये बहुसंख्यक हिन्दू समुदायले वैदिक सनातन परम्परामा आधारित संस्कार र सांस्कृतिक अभ्यासलाई निरन्तरता दिइरहेका छन् । जन्मदेखि मृत्युसम्म हुने सबै संस्कारहरू—न्वारन, नामकरण, अन्नप्राशन, उपनयन, विवाह, श्राद्ध, पिण्डदान आदि—सबै सनातन परम्पराको अविछिन्न भाग हुन् ।
पर्व र चाडहरूमा सनातन झल्को
नेपाल पर्वको देश हो, जहाँ वर्षभरि चाडपर्वको रमझम चलिरहन्छ । दशैँ, तिहार, तीज, जनैपूर्णिमा, छठ, कात्तिक पूर्णिमा, होली, महाशिवरात्रि, रामनवमी, कृष्णाष्टमी, गाईजात्रा, इन्द्रजात्रा आदि चाडपर्वहरूमा धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको सुन्दर समन्वय पाइन्छ । यी पर्वहरूले समाजमा आत्मीयता, सहकार्य, करुणा र सामाजिक एकता कायम गर्न सहयोग गर्छन् । दशैँले विजयको सन्देश दिन्छ, तिहारले दाजुभाइ र दिदीबहिनीको सम्बन्ध बलियो बनाउँछ, तीजले नारी शक्तिको सम्मान गर्छ । यी सबै सनातन परम्पराका सूचक हुन् जसले सामाजिक जीवनमा अनुशासन र आध्यात्मिक मूल्य स्थापना गर्छन् ।
मन्दिर, तीर्थस्थल र सांस्कृतिक सम्पदा
नेपालमा हजारौं पुराना मन्दिरहरू, धर्मशालाहरू, गुठीसंस्था र धार्मिक स्थलहरू छन्, जसले सनातन धर्मको वास्तुकला, मूर्तिकला, संगीत, पूजा प्रणाली र सांस्कृतिक सम्पदाको समृद्ध परम्परा देखाउँछ । पशुपतिनाथ, चबलनग नारायण, गोरखनाथ, मनकामना, मुक्तिनाथ, जनकपुरधाम लगायत स्थानहरू केवल धार्मिक स्थल मात्र होइनन्, ती ऐतिहासिक र सांस्कृतिक पहिचान हुन् ।
यी स्थानहरूमा हुने जात्राहरू, मेलाहरू र अनुष्ठानहरूले नेपाली समाजमा धार्मिक चेतना फैलाएको छ । मठ–मन्दिरहरू अध्ययन, चिन्तन, साधना र समाजसेवाका केन्द्र हुन्, जसले नेपालमा धर्म र संस्कृतिको निरन्तरता सुनिश्चित गरेका छन् ।
विविधता भित्रको एकता
नेपाल बहुभाषिक, बहुजातीय र बहुधार्मिक देश हो । यहाँ नेवार, मगर, थारु, राई, लिम्बु, गुरुङ, मुस्लिम, बौद्ध लगायत विभिन्न समुदायहरू छन् । यद्यपि ती सबैले आ–आफ्नो परम्परा र संस्कृतिमा सनातन मूल्यहरू अंशतः आत्मसात् गरेका छन् ।
नेवार समुदायका जात्राहरू, थारुहरूको माघी, र बौद्धहरूको ल्होसार पनि नैतिक मूल्य, पुरातन परम्परा र आध्यात्मिक अभ्यासमा आधारित छन् । यसले देखाउँछ कि नेपालको विविध संस्कृतिमा पनि सनातन सभ्यताको प्रभाव फैलिएको छ ।
सनातन शिक्षाको सामाजिक प्रभाव
सनातन धर्मले सदाचार, सहिष्णुता, दया, क्षमा, आत्म–नियन्त्रण र अहिंसाको शिक्षा दिन्छ । नेपाली समाजमा यी मूल्यहरू व्यवहारमा प्रकट हुन्छन् । बालबालिकालाई आमा–बुबाको सेवा गर्न, गुरुजनको सम्मान गर्न, पाहुनालाई देवता सरह व्यवहार गर्न, र समाजको हितमा काम गर्न प्रेरणा दिइन्छ।
वेद, उपनिषद्, गीता जस्ता ग्रन्थहरू ज्ञान र धर्मका अमूल्य स्रोत हुन् । यिनबाट प्रेरित नेपाली शिक्षाले न केवल आध्यात्मिक चेतना फैलाएको छ, तर नैतिकता र आत्म–अनुशासनलाई जीवनको मूलमन्त्र बनाएको छ ।
आजको संकट र चुनौती
हालको समयमा पाश्चात्य जीवनशैली, आधुनिक प्रविधि र भौतिकतावादी सोचका कारण नेपाली समाजमा सनातन मूल्यहरू कमजोर हुँदै गएका छन् । संस्कारहरू औपचारिकतामा सीमित हुँदैछन्, पूजाआजा मोबाइल एपमा सीमित हुन थालेका छन्, र युवापुस्ताले संस्कृत भाषा, धार्मिक ज्ञान वा सांस्कृतिक अभ्यासमा चासो कम दिन थालेका छन् ।
परिवार संस्था कमजोर बन्दै गएको, माता–पितालाई सम्मान गर्ने परम्परा खस्कँदै गएको, र धार्मिक स्थलहरू केवल ‘टिकटिक’ खिच्ने ठाउँमा सीमित हुन थालेका यथार्थले चिन्ताजनक अवस्था देखाएको छ ।
समाधान र पुनःस्थापना
सनातन सभ्यता र संस्कृतिको संरक्षण हाम्रो साझा जिम्मेवारी हो। यसका लागि केहि प्रभावकारी कदमहरू चाल्न आवश्यक छः
  •  विद्यालयदेखि नै नैतिक शिक्षा र संस्कार आधारित पाठ्यक्रम लागू गर्नु,
  •  अभिभावकहरूले बालबालिकालाई धार्मिक अभ्यास, परम्परा र सांस्कृतिक मूल्यहरू सिकाउनु,
  •  धार्मिक संस्थाहरूले समाजमा सनातन ज्ञान प्रचार–प्रसार गर्नु,
  •  गुठी, मठ, र सामाजिक संस्थाहरू सक्रिय रहनु,
  •  पर्यटनसँग सनातन संस्कृति जोडेर संस्कृति संरक्षण र आर्थिक लाभ सँगसँगै गर्नु ।
उपसंहार
नेपालको सनातन सभ्यता र संस्कृति हजारौँ वर्षको गर्वित धरोहर हो, जसमा हाम्रो पहिचान, गौरव र अस्तित्व अडिएको छ । यो केवल धार्मिक अभ्यास होइन, यो जीवन जिउने दर्शन हो ।
यदि हामीले आज यसको संरक्षण गर्न सकेनौँ भने भविष्यमा हाम्रो आत्मा रहित समाज बन्न सक्छ, जहाँ केवल भौतिक विकास त हुनेछ, तर आत्मिक शून्यता हुनेछ । त्यसैले, आउनुहोस्, हामी सबै मिलेर नेपाललाई पुनः एक स्वाभिमानी सनातन राष्ट्रको रूपमा स्थापित गरौँ, जहाँ संस्कृति केवल संग्रहालयको वस्तु नहोस्, तर जिउँदो जीवनको सार बनोस् ।
– डा. गोपाल  पौड्याल ‘मण्डने’