
पनौती जात्रा ज्येष्ठ पूर्णिमामा मनाइने जात्रा हो । यो जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ । ज्येष्ठ पूर्णिमाका दिन इन्द्रेश्वर महादेव, उन्मत्त भैरव र भद्रकालीको रथ एक आपसमा जुधाएर जात्रा गरिन्छ । यही रथ जुधाउने जात्रालाई नै पनौतीको जात्रा भन्ने गरिए तापनि पनौती जात्रा भने नौ दिनसम्म चल्दछ ।
पहिलो दिन भद्रकालीको मूर्तिलाई मूल कोठाबाट बाहिर राखिन्छ । यो दिनलाई द्यः क्वाहाँ विज्याइगु भनिन्छ । यस दिन नाय खिँ बजा बजाएर जात्रा प्रारम्भ भएको सङ्केत गर्दछ । यो दिन ब्रह्मायणीको मूर्तिलाई भित्रको मूल कोठाबाट बाहिरको अर्को कोठामा ल्याई दक्षिण–पूर्वको कुनामा राखिन्छ । त्यस्तै, भद्रकालीलाई पनि देवघरको मूल कोठाबाट बाहिरको कोठामा रहेको सिंहासनमा राखिन्छ । आजकै दिन ब्रह्मायणीमा एउटा बोका र भद्रकालीमा एउटा कुखुराको बलि दिने प्रचलन रहेको छ । त्यही दिनदेखि पनौतीवासीहरू जात्रा सुरु भएको मान्दछन् । यसको सूचना दिन विहान र बेलुका नायखिं बजाउने प्रचलन रहेको छ । दोस्रो दिन भोलि पल्ट ब्रह्मायणी र भद्रकालीको तान्त्रिक विधिबाट पूजा हुन्छ । यस बेला नाय बाजा बजाउने चलन छ । तेस्रो दिन ताम्राकारहरूबाट देवीदेवताका गरगहना, मुकुट धुने काम हुन्छ । चौथो दिनलाई स्थानीय भाषामा कुलक्या भनिन्छ । त्रयोदशीको दिन मनाइने कुलक्यालाई स्थानीय नेपाल भाषामा डुइँचा ङायकेगु भनिन्छ । त्रयोदशीका दिन बिहान देउला जातका मानिसले दुईओटा हरियो बाँस ल्याई ब्रह्मायणीको देवघरबाहिर राख्दछन् । उक्त जोडा बाँस नागनागिनको प्रतीक मानिन्छ । साँझपख मानेश्वरी बसपार्कमा द्वारेलाई हनुमानढोकाबाट ल्याएको खड्ग दिने चलन छ । जात्राको खड्ग ग्रहण गरेपछि खड्ग बोकेर बाजागाजासहित द्वारे नगरभित्र रहेका विभिन्न देवीदेवताहरूको दर्शन गर्न जाने चलन छ । बेलुका ब्रह्मायणीलाई देवघरबाट बाहिर ल्याई रथमा राखिन्छ । बिहानै देउलाले ल्याएको बाँसमा राता र सेता कपडाहरू राखेर देउला अघि लाग्छन् । त्यसैबेला पूजाका सामान बोकेकी स्त्रीजातिकी डुइँचासहित पञ्चप्रधान, सुवाल, पालोपर्ने पुजारी, कर्माचार्य (आचाजू) पछि लाग्छन् । त्यसै बेला बाजागाजासहित ब्रह्मायणीको रथलाई जात्रा गरी लगिन्छ । जात्रा गरी लगिएको ब्रह्मायणीको रथ पनौती न.पा.वडा नं. ७ स्थित त्रिवेणीघाट नजिकै रहेको झोलुङ्गेपुलनेर र्पुयाएपछि डुइचा ङायकेगु प्रक्रिया प्रारम्भ हुन्छ ।
त्रयोदशीको बेलुका ब्रह्मायणीको रथ पुल नजिकै पुर्याएपछि मूल पुजारी, सुवाल र डुइँ, पालो पर्ने पुजारी गरी चारजना सरकारी पूजासहित झोलुङ्गेपुल तरेर खोलापारि अवस्थित ब्रह्मायणीको मन्दिरमा पुग्ने गर्छन् । त्रयोदशीको बेलुका मूल पुजारीले डुइँचालाई चाँदीको नाग गलामा पहिरिन अर्पण गरिन्छ र साथै मता (दीप) कंलाली पनि अर्पण गरिन्छ । त्यसपछि डुइँचा नगरको नकीं अर्थात् महिला प्रमुखको रूपमा रहने कुरा जात्रापर्व मूल व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्यले बताउनुभयो । यसरी मूल पुजारी, सुवाल र डुइँ, पालो पर्ने पुजारी गरी चारजना मन्दिर पुग्न झोलुङ्गेपुल तर्दा विस्तारै पाइला चाल्दै अघि बढ्दछन् । सुरूको पुलको करिब आधा भागसम्म सामान्य हिँडाइ हिँडेपछि बाँकी भागमा भने विशेष प्रकारको हिँडाइ हिँड्ने गर्दछन् । पुलमा हिँड्ने यही विशेष प्रकारको हिँडाइलाई नै डुइँचा ङायकेगु भनिन्छ । यस प्रकारको हिँडाइ करिब आधा घन्टाभन्दा बढी समयसम्म हुन्छ । यो विशेष प्रकारको हिंडाईको पछाडि चाखलाग्दो लोकोक्ति रहेको छ । एकपल्ट जात्राको समयमा पुण्यमाता खोलामा बाढी आएका कारण खोला तर्न नसकेपछि वासुकी नागको आराधना गरियो । आराधनापछि नागराज वासुकी खोला तार्नका लागि पुलजस्तै गरी वारपार तेर्सिदिए । त्यसपछि वासुकी नागको शरीरमाथि हिँडेर ब्रह्मायणीको मन्दिरमा पुगे । नागको शरीर चिप्लो हुने भएकाले तिनीहरू विस्तारै हिँडेका थिए । त्यसैबेलाको स्मरणस्वरूप डुइँचा ङायकेगु जात्रा चल्दै आएको किंवदन्ती छ ।
त्यसपछि रथबाट सिंहासनसहित ब्रह्मायणी देवीको मूर्तिलाई झिकेर ब्रह्मायणीमन्दिर पुर्यारइन्छ । मन्दिरभित्र ब्रह्मायणीलाई लशकुश गरी भित्र्याइन्छ । त्रयोदशीको दिन हुने यो डुइँचा ङायकेगु जात्रा हेर्न सर्वसाधारणको ठूलो भीड लाग्ने गर्दछ ।
डुइँचा ङायकेगु प्रक्रियापछि भद्रकालीको रथलाई स्थानीय जनताहरूले तानेर ल्याउने गर्दछन् । यसरी रथमा भद्रकालीको प्रतिमूर्ति र द्वारेलाई राखेर परम्परागत रूपमा बजाइँदै आएको बाजागाजासहित तानेर ल्याउने चलन रहेको छ । रथमा स्थानीय व्यक्तिहरू खचाखच भरिने गरी बसेका हुन्छन् । भद्रकालीको रथ पनि झोलुङ्गेपुल नजिकै पुगेपछि भद्रकालीलाई रथबाट झिकेर ब्रह्मायणीमन्दिरमा लशकुुश गरी भित्र्याइन्छ । भद्रकालीको मूर्तिलाई ब्रह्मायणीमन्दिर भित्रको भद्रकालीकै शिलामूर्तिसँगै राखिन्छ । त्यसपछि मन्दिरभित्र कसैलाई पनि प्रवेश दिइँदैन । मन्दिरभित्र रातभर तान्त्रिक यज्ञ चल्दछ । यज्ञ चल्नुभन्दा अगाडि ब्रह्मायणीलाई राँगो काटेर बलि दिइन्छ । यज्ञ चलिसकेपछि निखुर कालो बोका काटेर ब्रह्मायणीलाई बलि दिने चलन छ । सोही समयमा ब्रह्मायणीमन्दिरको ठीक पारिपट्टि रहेको वासुकी नागलाई दूध चढाउने चलन रहेको छ ।
ज्येष्ठ पूर्णिमाको जात्रालाई पनौती जात्रा भन्ने गरिन्छ । यो जात्रालाई ज्यापुन्ही पनि भन्ने गरिन्छ । पनौती जात्राको समयमा पनौतीका मानिसहरू खेतको काममा व्यस्त रहने भएकोले यस जात्रालाई स्थानीय नेपाल भाषामा ज्यापुन्ही जात्रा भन्ने गरिएको हो । यो जात्राको बेलामा पलाञ्चोक, पाँचखाल लगायतका स्थानहरूबाट चिउरी, केरा बेच्न आउने मानिसहरू पनि थुप्रै हुन्छन् । त्यसैले कसै कसैले यो जात्रालाई चिउरीको जात्रा भनेर पनि भन्ने गर्दछन् । यो जात्रा ऋतुबोधक छ । यसले वर्षायामको सङ्केत पनि गर्दछ । जेठ/असार अधिक वर्षा हुने महिना हुन् । वर्षा भएपछि हिलो हुनु स्वाभाविक नै हो । जताततै हिलो हुने समयमा मनाइने जात्रा भएकोले यो जात्रालाई कसै कसैले हिले जात्रा पनि भनिएको सुनिन्छ । त्यस्तै नेपाल भाषामा यो जात्रालाई ज्यापुन्ही जात्रा भनिन्छ । जेठ–आषाढमा खेतमा रोपाइको काम चलिरहेको हुन्छ । किसानका लागि बेफुर्सदिलो अर्थात् काम (ज्या) को समयमा पर्ने जात्रा भएको हुनाले यो जात्रालाई ज्यापुन्ही जात्रा भन्ने गरिएको हुन सक्छ । पनौती जात्राले पाएको अर्को उपनाम घुमजात्रा पनि हो । यो जात्राको समयमा घुमको व्यापार अत्यधिक हुने गर्दथ्यो । पहिले पहिले अहिले जस्तो आधुनिक छाता थिएन । जात्रा सकिएपछि वर्षायाम प्रारम्भ हुन्छ । वर्षाको समयमा खेतमा काम गर्न अथवा घरबाट बाहिर कतै कुनै काम विशेषले निस्कन घुमको आवश्यकता पर्दथ्यो । त्यसैले घुम बेच्ने र किन्नेहरूको घुइँचो पनि जात्राको क्रममा देखिन्थ्यो । तर अहिले भने घुमको चलन घटिसकेको कारण जात्रामा घुमको व्यापार निकै कम भएको छ । पनौती जात्रा इन्द्रेश्वर महादेव, उन्मत्त भैरव, भद्रकाली र ब्रह्मायणी देवीसँग सम्बन्धित रहेको छ ।
जात्राको पाचौँ दिन चतुर्दशीका दिन बिहान ब्रह्मायणीमन्दिरमा जोर बोकाको बलि दिइन्छ । बिहानैदेखि ब्रह्मायणी देवीको मन्दिरमा सर्वसाधारणको भीड लाग्छ । यो दिन सर्वसाधारण आफ्नो गच्छेअनुसार श्रद्धापूर्वक ब्रह्मायणीमन्दिरमा गई पूजा गर्ने, हाँस, बोकाको बलि दिने गर्दछन् । यो दिनलाई मूःजात्रा (मूल जात्रा) पनि भन्ने गरिएको छ । यो दिन स्थानीय वासिन्दाहरू विभिन्न मिष्ठान्न परिकार बनाई भोज खाने गर्दछन् । यही दिन यहा“ गणेशको भव्य जात्रा सम्पन्न हुन्छ । गणेशका रूपमा गणेशको प्रतिमूर्ति राखी बाजागाजासहित नगर परिक्रमा गराएर यो जात्रा मनाइन्छ । यसै दिन ब्रह्मायणी देवघरबाट पूजा लगेर थाम्पा भैरवको पूजाआजा गरी निखुर राँगो काट्ने चलन रहेको छ । भोलिपल्ट इन्द्रेश्वरमन्दिरको दक्षिण–पूर्वी कुनामा लगेर काट्कुट गर्ने चलन छ । यसरी काटेको राँगोको टाउको र ऐँला ब्रह्मायणीमन्दिरमा लगिन्छ । भोलिपल्ट जात्रा गर्दा उन्मत्तभैरव र भद्रकालीलाई मालाजस्तै गरी लगाइदिने गरिन्छ । सोही दिन ब्रह्मायणी देवघरको पटाङ्गिनीमा तीनओटा माटाका स–साना घ्याम्पाहरू राखी एउटा बोका र एउटा कुखुरा काटेर जोगीचक्र दिने प्रचलन छ ।
छैठौँ दिन अर्थात् पूर्णिमाको दिन उन्मत्त भैरव, भद्रकाली र इन्द्रेश्वर महादेवको रथहरू एकआपसमा जुधाएर जात्रा गरिन्छ । धेरै मानिसहरूले यही जात्रालाई पनौती जात्रा मान्दछन् । यो जात्रा हेर्न टाढाटाढाबाट मानिसहरू आउने गर्दछन् । यो दिन लायकु डबलीमा इन्द्रेश्वर महादेव, भद्रकाली र उन्मत्त भैरवका रथहरू एक–आपसमा जुधाई जात्रा गरिन्छ । बिहान जात्रासँग सम्बन्धित द्वारेलगायतका व्यक्तिहरूलाई बलंभ्वय् खुवाउने चलन छ । त्यसपछि ब्रह्मायणी मन्दिरमा लगिएको ब्रह्मायणी र भद्रकालीलाई मन्दिरबाहिर ल्याई उत्तरतर्फको पाटीमा राखिन्छ । बिहानै कर्माचार्य परिवार र प्रधान परिवारबाट ब्रह्मायणी देवी र भद्रकालीकोे आ–आफ्ना घरबाट पूजासामग्री ल्याई पूजा गरेर हाँसको बलि दिइन्छ । हाँसको बलिसहित पूजा सम्पन्न भएपछि पालो पर्ने पुजारीमध्येबाट द्वारेलाई खड्ग दिइन्छ । त्यसपछि मन्दिरको पारिपट्टि रहेको ब्रह्मायणीको रथमा राखी ब्रह्मायणीलाई बाजागाजासहित नगरपरिक्रमा गराइन्छ र लायकु (डबली) मा रहेको लायकुपाटीमा लगी पश्चिम दिसातर्फ फर्काएर ब्रह्मायणीलाई राखिन्छ । त्यहाँबाट द्वारे, पुजारी (पञ्चपमा) र सर्वसाधारणहरू बाजागाजासहित इन्द्रेश्वरमन्दिरमा पुग्छन् । त्यहाँ रथका नाइकेलाई मन्दिरका पुजारीबाट फेटा(पगरी) लगाइदिने काम हुन्छ । फेटा(पगरी) लगाइदिएपछि मसलाहरू प्रदान गरिन्छ । मन्दिरमा उपस्थित नगरका भद्रभलाद्मीहरूलाई फूलमाला लगाइदिने प्रचलन रहेको छ । इन्द्रेश्वरमन्दिरको पूजाआजा र दर्शनपछि इन्द्रेश्वरमहादेवको चतुर्मुखी सुवर्ण खोल मन्दिरका पुजारी (जङ्गम) ले बोकी मन्दिर बाहिर निकाल्ने गर्दछन् । त्यसपछि दक्षिणी ढोका हुँदै महादेवको रथमा लगी चतुर्मुखी महादेवलाई रथमा राखिन्छ । रथमा चतुर्मुखी महादेवलाई महादेवको रथ बोक्ने पुटुवार जातिको व्यक्तिले राख्ने चलन छ । यसरी चतुर्मुखी महादेवलाई रथमा राख्ने व्यक्तिलाई पुजारीले दक्षिणा प्रदान गरिन्छ ।
त्यसपछि इन्द्रेश्वर चोक (हाता) नजिकै रहेका तीनओटा रथहरू (महादेव, भैरव, भद्रकाली) बाजागाजासहित रोसीखोलाको किनारैकिनार लगिन्छ । सबैभन्दा पहिले महादेवको रथलाई बोकेर लगिन्छ । त्यसपछि भद्रकालीको रथलाई तानेर लगिन्छ । इन्दे्रश्वरमहादेवको रथमा पुजारी एकजना मात्र बस्ने गर्दछ भने उन्मत्तभैरव र भद्रकालीको रथमा स्थानीय बासिन्दाहरू बस्ने गर्दछन् । महादेवको रथलाई डुमाङ्गल, स्याउलाटोल, सोहखुट्टेपाटी हुँदै लाम्पाटीसम्म पुर्याइन्छ । बीच बाटोमा शिवलिङ्ग भएको ठाउँमा महादेवको पूजा गरिन्छ । महादेवका पछिपछि भद्रकाली र भद्रकालीका पछिपछि उन्मत्तभैरवको रथ पनि लाम्पाटीमै पुर्याइन्छ । यसरी महादेव र भैरवका रथ दुई छेउमा र भद्रकालीको रथ बीचमा राखी लाम्पाटी पुर्याएपछि त्यहाँबाट महादेवको रथ सबै मिली उचालेर लगी लायकु डबली अगाडि मूल सडकको छेउमा सडकको दक्षिणतर्फ लगेर राखिन्छ । लगत्तै भद्रकालीको रथलाई तानेर ल्याई लायकुपाटीभन्दा केही पर (तल) राखिन्छ । त्यसपछि लाम्पाटीमा रहेको भैरवको रथलाई तानेर ल्याई लायकुपाटीनजिकै रहेको भद्रकालीको रथसँग जुधाइन्छ । रथ जुधाउने बेलामा दुवै रथमा सवार रहेका मानिसहरू एक–आपसमा अबिर छर्केर हर्ष व्यक्त गर्दछन् । यो कार्य सकिएपछि भैरवको रथलाई फर्काएर नवदुर्गा डबलीभन्दा केही पर राखिन्छ । उन्मत्तभैरवको रथ गन्तव्यस्थानमा पुगेपछि भद्रकालीको रथ तानेर ल्याई भैरवको रथसँग पछाडिबाट जुधाइन्छ । एवं प्रकारले भैरव र भद्रकालीको रथ तीन–तीनपटक एक–आपसमा जुधाइसकेपछि भने इन्द्रेश्वरमहादेवको रथ भद्रकालीको रथसँग अगाडिबाट तीनचोटि जुधाइन्छ । यसरी रथ जुधाउँदा अबिर एक–आपसमा छर्केर हर्ष व्यक्त गर्ने चलन छ । यो जात्रा प्रत्यक्ष यौनकृयासँग सम्बन्धित रहेकोले सो कृया नदेखियोस् भन्ने हेतुले एक आपसमा अविर छर्कने चलन रहेको स्थानीयहरू बताउँछन् । यो जात्रा चलिरहेको समयमा जात्रा हेर्न आएका मानिसहरूलाई छाता ओढ्न दिइँदैन । साथै, रथमा रहेका देवीदेवताहरूको प्रसाद पनि बाँड्ने चलन रहेको छैन । महादेवको रथ भद्रकालीसँग जुधाइसकेपछि रथ बोक्ने मानिसहरूले रथलाई माथिसम्म उचालेर भुइँमा बजार्ने प्रचलन रहेको छ । स्थानीय बासिन्दाको भनाइअनुसार यसरी महादेवको रथ भुइँमा बजार्दा रथमा सवार पुजारी रथबाट तल भुइँमा झर्यो भने बोक्नेहरूलाई इन्द्रेश्वरमन्दिरको ढुकुटीमा रहेको धन बाँडिदिनुपर्दछ भन्ने जनश्रुति रहेको छ । यसरी रथ बजारिसकेपछि पूनः भद्रकालीको रथसँग इन्द्रेश्वर महादेवको रथ जुधाएर त्यहाँबाट कतै नरोकी डवली, ज्ञान विकास पुस्तकालयतर्फको त्रिवेणी मार्ग हुँदै कोलाक्षें टोलमा पुर्याइन्छ । कोलाक्षेंमा रहेको चोकमा पुर्याएर महादेवलाई शुद्ध बनाएर त्यहाँबाट फर्काइने कुरा स्थानीय जात्राका जानकार राजकुमार खिंबन्जारले बताउनुभएको छ । त्यहाँबाट महादेवको सुवर्ण मूर्तिलाई बोकेर मन्दिरतर्फ लाग्दछ । त्यहाँबाट खाली रथ बोकेर लगिन्छ । महादेवको मूर्तिलाई रथमा राखिँदैन । यसरी पुजारीले बोकेर लगेको महादेवको मूर्तिलाई इन्द्रेश्वर महादेवको मन्दिर प्रवेश गर्ने पूर्वतर्फको द्वारबाट स्थानीय राजोपाध्यय थरका ब्राह्मणले विधिपूर्वक पूजा गरेर लशकुश गरी भित्र्याउने चलन रहेको छ ।
त्यस्तै जात्रा सकिएपछि महादेवको रथ लगेसँगै उन्मत्त भैरवको रथ पनि आफ्नो मन्दिरका लागि लगिन्छ । भद्रकालीको रथ भने ज्ञान विकास पुस्तकालयसम्म भैरवको रथसँग तानेर ल्याइन्छ । यसलाई भद्रकालीले भैरवलाई पुर्याउन आएको अर्थमा स्थानीयहरू बुझ्दछन् । त्यहाँ पुगेर छुट्टिने बेलामा भैरवका तर्फबाट एउटा चोलो भद्रकालीलाई उपहार दिने पनि चलन रहेको छ । अन्तमा ती दुबै रथ पनि सम्बन्धित मन्दिर नजिकै लगिन्छ र प्रसाद बाँढ्ने गरिन्छ ।
यो जात्राले पनि जलको महिमा उच्च रहेकोतर्फ सङ्केत गर्दछ । यसदिन त्रिवेणीघाटमा स्नान गरी जात्रा हेरेमा वर्षभरि जानअन्जानमा गरेको पापबाट मुक्त होइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले पूर्णिमाको दिन टाढा टाढाबाट जात्रालुहरू यहाँको त्रिवेणीधाममा आई स्नान गर्ने र जात्रा हेर्ने गर्दछन् । पूर्णिमाका दिन आएका पाहुनाहरू, स्थानीय वासिन्दा, जात्रा हेर्न आएका श्रद्धालुहरूको उपस्थितिले यहाँ ठूलो भीड लाग्दछ । स्थानीयहरू यस दिनलाई वर्षकै लामो दिनको रूपमा लिन्छन् । यस दिन काम गरेर नपुग्ने मानिसले कहिल्यै सुख पाउँदैन भन्ने लोकोक्ति रहेको छ ।
केही समयअघिसम्म यो जात्रा झिसमिसे उज्यालोमै सिध्याइन्थ्यो तर हाल यो जात्रा दिउँसो गर्ने गरिएको छ । प्रत्यक्ष यौनक्रियासँग सम्बन्धित जात्रा भएकाले यो जात्रा महिला तथा बालबालिकाहरूलाई नदेखाउने विचारले राति नै सम्पन्न गर्ने गरिएको हुन सक्छ । पनौतीको यो जात्रासम्बन्धी एउटा किंवदन्ती प्रचलित छ । किंवदन्तीअनुसार परापूर्वकालमा महादेवले श्रीकृष्णको चरित्र हेर्ने विचार गरी कृष्णका थुप्रै पत्नीहरूमध्येबाट आफूलाई एउटी दिन कृष्णसँग आग्रह गरे । महादेवको आग्रहबमोजिम कृष्णले महादेवलाई आफू नभएको कोठाबाट कुनै एउटीलाई लैजान भने । कृष्णले भनेबमोजिम महादेव कोठाहरू चहार्न थाले । महादेव जुनजुन कोठामा पुगे, ती सबै कोठामा कृष्ण सँगै रहेको पाए । सो देखी महादेव त्यहाँबाट कैलाश फर्के । कैलाश पुगेर सबै कुरा पार्वतीलाई बताए । महादेवको कुरा सुनेर पार्वतीले पनि महादेवको चरित्र हेर्ने विचार गरिन् । पार्वती ६४ योगिनीको रूप धारण गरेर कामातुर भई महादेवलाई लखेट्न थालिन् । सो रूप देखी महादेव डराएर भाग्दै गई पनौतीको त्रिवेणीस्थित नदीमा गुप्त रूपमा लुकेर बसे । महादेव लुकेर बसेको थाहा पाई ६४ योगिनी पार्वतीले त्रिवेणीकै वरपर महादेवको प्रतीक्षा गरिरहिन् । त्यसैबेला महादेव पनि उन्मत्तभैरवको रूप धारण गरी बाहिर निस्के । भैरवको डरलाग्दो उन्मत्त रूप देखेर डराएकी ६४ योगिनीरूपी पार्वती भद्रकालीको रूप बदलेर रोसीखोलाको किनारैकिनार भाग्न थालिन् । यसरी भाग्दाभाग्दै लायकु डबली पुगेपछि उन्मत्त भैरवले भद्रकालीलाई पछाडिबाट तीनपल्ट सम्भोग गरेपछि भद्रकाली शान्त अवस्थामा आइन् । आफू यौनक्रियाबाट तृप्त भएपछि भद्रकालीले भैरवलाई आफ्नो वास्तविक स्वरूपमा आई सम्भोग गर्ने इच्छा जाहेर गरिन् । त्यसपछि भैरव महादेवको वास्तविक स्वरूपमा आई पुनः तीनपटक अगाडिबाट सम्भोग गरे ।
दिउँसो रथ जुधाउने जात्रा सकिएपछि चतुर्दशीका दिन काटेको राँगो भोलिपल्ट पूर्णिमाको दिन रथयात्रा सकिएपछि राँगोको खुरहरू देउलाहरूले झिक्ने र भुँडी सफा गरेर ब्रह्मायणी देवघर पुर्याइन्छ । राँगोको एउटा खुट्टाको मासु सकेजति काटेर देउलाहरूले लाने गर्दछन् भने अर्को तीनओटा खुट्टा भने मूल पुजारी, खड्गी, द्वारेले पाउने गर्दछन् । गोक्षें र सुवाल थरका जात्रासँग सम्बन्धित मानिसहरूले गर्धन मुनिको भाग पाउने चलन छ । भैरवको पुजारी सुवालको भागमा भने खुट्टाका हाड पर्दछ ।
नौ दिनसम्म चल्ने यो जात्रा सृष्टि र उर्जाको प्रतीक हो । यो जात्रा मानवीय जीवन पद्धतिसँग प्रत्यक्ष सम्बन्ध रहेको देखिन्छ । कुनै पनि स्थानको जात्रापर्वले त्यहाँको संस्कृति, पहिचानलाई उजागर गर्दछ । पनौतीको ज्येष्ठ पूर्णिमाको जात्राको किंवदन्ती यौनक्रीडासँग सम्बन्धित छ । यो जात्राले नैतिक यौनक्रिडाको वकालत गरेको देखिन्छ । मानव जीवनको अस्तित्वरक्षाका खातिर स्वस्थ्य यौन आवश्यक रहेको सङ्केत पनि यसले गरेको छ । परस्त्रीमाथि आँखा लगाउँदा स्वयम् महादेव समेत लज्जित बन्नुपरेको घट्नाबाट परस्त्रीमाथि कुदृष्टि लगाउन नहुने विचार पनि जात्राले संप्रेषण गरेको देखिन्छ । साथै यो जात्राले जलको महिमा उच्च रहेकोतर्फ सङ्केत गर्दछ । यसदिन त्रिवेणीघाटमा स्नान गरी जात्रा हेरेमा वर्षभरि जानअन्जानमा गरेको पापबाट मुक्त होइन्छ भन्ने धार्मिक विश्वास रहेको छ । त्यसैले पूर्णिमाको दिन टाढाटाढाबाट जात्रालुहरू यहाँको त्रिवेणीधाममा आई स्नान गर्ने र जात्रा हेर्ने गर्दछन् । उक्त दिन स्नान गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास रहेको छ । यो विश्वासले मानिसलाई स्नानकर्ममा लाग्न प्रेरित गरिरहन्छ । यसरी हेर्दा पनौती जात्राले सृष्टि र उर्जालाई स्मरण गराइरहन्छ । यौन सृष्टिका लागि आवश्यक छ र उर्जा अर्थात् जल सृष्टि निर्वाहका लागि नभइ हुँदैन । यी दुई वैज्ञानिक पक्षलाई समेत जात्राले स्पर्श गरेको दृष्टिगोचर हुन्छ ।
पूर्णिमाको दिन बहाफः(लायकुपाटी) मा राखिएको ब्रह्मायणी देवीको मूर्ति राखिएको सामुन्ने डवलीमा तीनओटा माटाका स–साना घ्याम्पाहरू राखी बोका र कुखुरा काटेर जोगीचक्र दिने चलन छ । साँझमा ब्रह्मायणीको देवघरबाट बाजागाजासहित नगरवासीहरू हातमा चिराक बालेर बहाफः (लायकुपाटी) मा राखिएकी ब्रह्मायणीलाई लशकुश गर्न जान्छन् । ब्रह्मायणीलाई रथमा राखी जात्रा गरेर बजारमा परिक्रमा गराई ब्रह्मायणीदेवीको देवघरमा भित्र्याइन्छ । पूर्णिमाको भोलिपल्टबाट द्यः थाहाँ विज्याइगु अर्थात् देवता आफ्नो देवघरतर्फ लाग्ने सङ्केत स्वरुप नाय खिँ बाजा बजाइन्छ । यही क्रम आठौँ दिन पनि चल्दछ । जात्राको अन्तिम दिन अर्थात् नवौँ दिन जात्रा सकेर मूल स्थानमा राखिएको ब्रह्मायणी देवीलाई बोकाको बलिसहित पूजा गर्ने चलन रहेको छ भने भद्रकालीमा एउटा हाँस र कुखुराको बलि दिएर पूजा गरेपछि पनौतीको ज्येष्ठ पूर्णिमाको जात्रा विधिवत् समापन हुने कथन स्थानीय जानकार राजकुमार खिबञ्जारको छ ।