अक्षरमार्ग

पूर्णकुमार शर्माको ‘नयाँ बाटो’मा हिँड्दाको अनुभव

नारायण शर्मा अधिकारी
पानपुर, जामुगुडिहाट (असम)

       असमको नेपाली साहित्यमा उदाएका होनहार नाटककार पूर्णकुमार शर्माको वर्तमान निवासस्थान असमकै विश्वनाथ जिल्लाअन्तर्गत समारदलनी गाँउ हो। उनी एकजना नाटककार भए तापनि उनको सिर्जनात्मक यात्रा नाटक मैं सीमित छैन। बहुमुखी सर्जक शर्माको कविता, समीक्षा, उपन्यास र कथा लेख्नमा पनि मजबूत दख्खल रहेको थाहा पाइन्छ। अनुवाद साहित्य अकादमी पुरस्कारले सम्मानित पूर्णकुमार शर्मा भारतीय नेपाली साहित्यका लगनशील साहित्यिकको रूपमा देखापरेका छन्। हालैमा उनको कथा सङ्रह ‘नयाँ बाटो’ मेरो हातलागी भएको हो। पढेपछि प्रतिक्रिया दिनुभन्दा समीक्षा लेख्नुलाई श्रेय ठानेर मजस्तो नयाँ कलमकारले सिकारु मानसिकता लिएर ‘नयाँ बाटो’लाई छिचोल्ने प्रयास गर्दैछु।

‘नयाँ बाटो’, छरिता आयामको यस कथासङ्ग्रहमा कुल १४ वटा भिन्न भिन्नै स्वादका कथा गाभिएको पाएँ। १२५ पृष्ठको यस कृति अन्तर्गत जम्मै कथाहरू कथाकारले विभिन्न समयमा लेखेका हुन। कथा लेखनको समय र परिवेश कथाहरूको छायाँ बनेर देखापरेको छन्। जम्मै कथाहरू कथाकारको सृजनशील प्रतिभा झल्काउन सक्षम छन्। ‘नयाँ बाटो’को आवरण पृष्ठले खटेर खाने ग्रामीण गोर्खाली जनजीवनको छवि स्पष्ट दर्शाएर कृति अन्तर्गत कथाहरूमा वर्णित परिवेशको आभास दिएको देखिन्छ। आख्यान साहित्य अन्तर्गत कथा र उपन्यास बिधामा धेरै समानता हुन्छन्। कथाको आयाम छोटो र उपन्यासको लामो हुन्छ तर उत्तर आधुनिकताले पोतिएर केही घटीबढी भए तापनि दुइवटै बिधा प्रायः एकैखाले संरचनागत तत्वमा आधारित हुन्छन्। कथाकार पूर्णकूमार शर्माका कथाहरू उत्तर आधुनिक कालमा लेखिए तापनि कथामा रहने तत्वहरूले बाँधिएका छन्।

कथानक: कथानक बिना कथा बन्दैन भन्ने कुरामा कथाकार विस्वस्त देखिन्छन्। उनले अन्य तत्वभन्दा कथानक निर्माणमा जोड दिएको देखिन्छ। मानव जीवनको उतारचढावलाई ध्यानमा राखेकाछन् उनीले। ‘पहेंलो सपना हरियो बिपना’, ‘मा द्रोपदी गौसाला’, ‘मुसाको दुलो’ लगायत केही कथाहरूमा नायकहरूले विभिन्न कारणले विदेशिनु परेको परिस्थिति र परिणाम देखाईएको छ। ‘बोक्सिलाई सलाम’, ‘नयाँ बाटो’ आदि कथाहरूमा तत्कालिन समयको अन्धविश्वासले ग्रसित सामाजिक स्थितिसँग नायकहरू लडेका छन्। त्यसैगरी ‘प्रतिभा’, ‘शान्ति सेनानी’जस्ता कथाहरूमा नारीवाद झल्किएको पाइन्छ भने ‘झुण्डिएर बाँचेको बिडियो’ शिर्षक कथामा नायक साहित्यकारको दयनीय स्थिति र सामाजिक विसंगतिको चित्र खिचिएको छ। ‘स्विटीको प्रेम र न्याय’ कथाको कथानकलाई पात्रको रूपमा उपस्थित जनुवारहरूले डोहोऱ्याका छन्। नाटककार शर्माका धेरैजसो कथाहरू सुखद् अन्त्य र सकारात्मक परिणाममा पुगेर टुङ्गिएका छन्। केही कथाहरूमा पर्यावरणीय बास्ना पनि पाइन्छ। जस्तै-

‘जताततै घर बनाएर सम्पत्ति थुपार्ने क्रममा यिनले पर्यावरण नष्ट गरेकाले जलवायु सम्म परिवर्तन हुनु पर्ने अवस्था बनाएको यिनै मनुष्यले हो’ (स्विटीको प्रेम र न्याय)।

‘नयाँ बाटो’का धेरैजसो कथानकहरूले ग्रामीण जनजीवनका वरिपरी अवस्थान गरेर मानव जीवनका दुखकष्ठ, सुस्केरा, पीरमर्का आदिलाई अङ्गालोको देखिन्छ। गहिरो मनन गर्दा कथाकारले आफ्नै वरीपरी घटिरहेका र गोर्खाहरूले भोगिआएका वास्तव घटना र विषयहरूलाई कथाको चोली पहिराएको कुरा स्पस्ट देखिन्छ। यस उपरान्त धेरैजसो कथामा अपर्झट आइलागेका प्राकृतिक आपदा तथा घटनाहरूले कथानकलाई मोडेको हुनाले कथाहरू घटना प्रधान बन्न पुगेका छन्। कुनैकुनै कथाहरू काल्पनिक हुँदाहुँदै पनि ऐतिहासिक घटनाप्रसंगले पोतिएको पाइन्छ।

पात्रपात्रा: पूर्णकुमार शर्माको ‘नयाँ बाटो’ कथासङ्ग्रहका कथाहरूले असमेली गोर्खा समाजले भोग्नुपरेका यन्त्रणाहरूलाई सहज तरिकाले वर्णन गरेका छन्। हाम्रो समाजले दुर्गम एवं निरापत्ता नभएका ठाउँमा बसेर पीरमर्का झेल्नु परेको स्थितिले कथाहरूमा प्रमुख स्थान ओगटेको छ। जसले गर्दा निम्नवर्गीय पात्रहरूको भरमार देखिन्छ। यी पात्रहरूको कर्मजीवन मात्र नभएर नाम पनि निम्नवर्गीय छन्। जस्तै- चतुरे, झिँगटे, गमे, भुन्टी, बिर्खे, बले, डिल्ले, साने आदि। तर नायकहरूको आत्मविश्वास भने बलियो देखिन्छ। कतिपय कथामा स्वावलम्बी र शक्तिशाली नारी पात्र जोडेर कथाकारले पुरुष प्रधान समाजमा जरा गाडेका अन्धा अवधारणामा परिवर्तन ल्याउने प्रयास गरेको देखिन्छ। उदाहरण स्वरूप- ‘नयाँ बाटो’ कथाकी आधुनिक नाम गरेकी पात्रा कल्पनाले रूढिवादी समाजलाई बुढीऔँला देखाएर बाबुको काजक्रिया गरेर परम्परामा परिवर्तन ल्याएकी छे। त्यसरी नै ‘शान्ति सेनानी’ कथाकी शिक्षित नायिका सुशीला, ‘मा द्रौपदी गौशाला’ कथाकी स्वावलम्बी पात्रा द्रौपदी आदि पनि सशक्त नारीपात्रको रूपमा देखापरेका छन्। कथाहरूमा एकातिर रूढिवादी चरित्रहरू छन् भने अर्कोतिर कथाकार रूढिवादको बिरोध गर्न पनि चुकेका छैनन्। हरितेश्वर देवालय कथाकी आमाले आफ्नो छोरा रमेशले बाहुन भएर दमाइकी छोरीसँग विवाह गरेको थाहा पाएपछि, जात र धर्मले मौका पर्दा धेरैलाई गरीखानसम्म नदिएर देश निकाला गर्न पनि पछि नपरेको भावना पोखेकी छे। आमा पात्रको मनले मान्छेमा मनुषत्वको धर्म हुनुपर्छ, जात त नारी र पुरुष दुई जात मात्रै हुन् भन्ने ठान्नु कथाकारमा रहेको धर्मान्धता र रूढिवाद बिरोधी भावना हो। यस कथासङ्ग्रह अन्तर्गत कथाहरूमा दुखकष्ट भोगेर हण्डर खाएका नायक पात्रहरूका जीवनमा सुखद् परिवर्तन ल्याएर कथाकारले पाठकको आत्मविश्वास बढाउने कार्य गरेको देखिन्छ। अर्कोतिर ‘स्विटीको प्रेम र न्याय’ कथामा मानवेत्तर पशुहरूलाई पात्रको रूपमा उतारेर उनीहरूलाई मानवभन्दा परोपकारी र न्यायप्रिय देखाइएको छ। अर्को कोणबाट हेर्दा यस कथामा पशुहरूलाई विभिन्नखाले चरित्र भएका मान्छेहरूको प्रतीक बनाइएको पनि देखिन्छ। केही कथाहरूका कतिपय चरित्रले हाम्रा जातीय विशेषताहरूलाई अङ्गाल्नु लक्षणीय पक्ष हो। यस भनाइलाई सिद्ध गर्ने क्षेत्रमा पात्रहरूको इमान्दारिता, उदारता आदि नै पर्याप्त छन्।  गोपाल भन्ने इमानदार गोर्खा पात्रलाई उदेश्य गरेर अगोर्खा पात्रले भनेको छ-

‘अई मानिक यो केटालाई राम्रो ब्यवहार गर्नु, नेपालीभाषी गोर्खा केटो रहेछ, विश्वासी र इमानदार छ, मान्छे चिनेस नि। भात खाएर जानु तिमेरु। म स्टेसन जानुपर्ने, अबेर भईरहेको छ।’(मा द्रौपदी गौशाला)।

परिवेश: ‘नयाँ बाटो’ कथासङ्ग्रहका कथाहरूमा मुख्यतः असम भूमिका विभिन्न ठाउँहरूको अतीत र वर्तमान परिवेसलाई पाठकसमक्ष राखिएको छ। यहाँका तेजपुर, गमिरी घाट,  विश्वनाथ, जागिरोड, मेलबजार, माजुली, तिनसुकीया, जागुन, ओदालगुडीजस्ता गोर्खाले बसोबास गर्दैआएका गाउँठाउँको प्राकृतिक र मानवसृष्ट परिवेशको बर्णन विभिन्न कथाहरूमा पाइन्छ। त्यसैगरी ब्रह्मपुत्र, भुँडुली आदि नदिको सन्त्रासले मान्छेहरू पिरोलिएको परिवेश पनि केही कथामा पाइन्छ। त्यतिमात्र होइन प्रसंगवस कतिपय कथामा भारतका सिलाङ, रङ्गिया, हरिद्वार, हाइदरावाद लगायत विदेसी मुलुक अमेरिका, इङ्ल्यान्ड, नेपाल र भूटानको परिवेशले पनि ठाउँ नपाएको होइन। भुटानको राजनैतिक अस्थिरता, असम‌को आन्दोलन, ब्रह्मपुत्र उपत्यकाको गढलागि र बाढी, स्थानीय राजनैतिक, आर्थसामाजिक र आध्यात्मिक परिवैशले कथाहरूमा प्राण भरेको देख्न पाइन्छ। त्यसैगरि धेरैजसो कथाहरूमा खाटीखाने गोर्खाहरूको दयनीय स्थितिले परिवेशलाई मार्मिक तुल्याएको छ। केही कथाको परिवेशले पर्यावरणीय चेतनाको सुइँको दिएको, केहीमा गरिबी, महामारीको वर्णन र केहीमा सामाजिक व्यवस्था र प्रकृतिको चित्रण भएको हुनाले पनि कथाहरूले वास्तविक परिवेश र परिस्थितीलाई आत्मसात गरेका हुन भन्नुपर्छ। रूढिवादी समाजका मान्छेहरूमा रहेको अन्धविश्वास, गरीबी आदि शिक्षा ग्रहणको क्षेत्रमा अभिषाप बन्नु, दुर्गम ठाउँका मातन्छेहरू प्राकृतिक समस्याको चाँपमा पर्नु र अर्कोतिर त्यिनै ठाउँका मान्छेहरूले त्यो ठाँउ छाडेर जीवनमा परिवर्तन ल्याउनुले मान्छेको जीवनमा परिवेशको अहम भुमिका रहन्छ भन्ने कुरालाई कथाकारले स्पष्ट पारेका छन्। कथाहरूमा पात्र र परिवेशको सुन्दर सन्तुलन छ। कथाकारले कतैकतै गाँउ र सहरको तुलनात्मक व्याख्या गर्न खोजेको देखिन्छ भने शिक्षाको महत्वले पनि ठाउँ ओगटेको छ।

उदेश्य: यस कथासङ्ग्रहमा गाभिएका कथाहरूको उदेश्य धान्न त्यति साह्रो छैन। कथा परिणामबाट स्पष्ट हुन्छ कि कथाहरूले निरुत्साहित युवावर्गमा आत्मविश्वास र आत्मनिर्भरताको सन्देश छोडन खोजेका छन्। ‘मुसाको दुलो’ कथाको नायक तथा दरिद्रताले दिशाभ्रष्ट हुनपुगेको परिवारको रामे भन्ने युवाले दृढ लक्ष लिएर अर्काको घरमा बसेर शैक्षिक योग्यता प्राप्ति गर्नु, प्रतिभा कथामा प्रतिभाले पारिवारिक चुनौतिहरूसँग लडेर आफ्नो लक्ष हासिल गर्नु, बिबिटीको हरितगृहको नायकले सुरुमा दिशाहीन भएर जताततै भौतारिनु र पछि शिक्षा आर्जन गरेर गाँउमा हरित क्रांति ल्याउनु आदि घटनाहरूले युवाहरूलाई प्रेरणा दिनेछ। किशोर साहित्यको छेउछाउमा पुगेका र उल्लेखित उदेश्य रहेका केही कथाहरू किशोर तथा युवाहरूका लागि पनि उत्तिकै पठनीय छन्। त्यसैगरी ‘शान्ति सेनानी’, ‘प्रतिभा’, ‘मा द्रौपदी गौशाला’, ‘नयाँ बाटो’ आदि कथाहरूका नारी पात्रमार्फत लेखकले पुरुषप्रधानतामा मलजल गर्ने रूढिवादी परम्पराहरूको बिरुद्ध आवाज उरालेका छन्। नारी स्वाधीनता उनको उदेश्य रहेको छ। कथाकार पर्यावरणीय चेतना जगाउने उद्देश्यमा पनि क्रियाशील देखिन्छन्। केही कथाहरूमा उनीले वन-जङ्गलको संरक्षणप्रति चेतना जगाउने प्रयास गरेका छन्। ‘पुष्पसेतु’ कथाको माध्यमबाट अन्धालाई नयाँ आँखा दिएर विज्ञानमा भरोसा राख्ने सन्देश दिन खोजिएको छ भने ‘सुड्डिएर बाँचेको बिडियो’ कथाबाट साहित्यिकहरूलाई समयमा सम्मान-पुरस्कार तथा स्वीकृत दिनुपर्छ भन्ने भावना पोखेका छन्। यही कथामा साहित्यिक र कृतिहरूको बिल्लिबाठ छवि र पुरस्कारको लागि साहित्यकार चयन गर्ने व्यवस्थामाथि व्यङ्ग्य प्रहार गरेर जनमानसमा चेतना जगाउन खोजेको देखिन्छ। यस क्रममा स्वस्थ र जाँगरले खुट्टा छोडेपछि पाएको पुरस्कारको अनुभव ब्यक्त गर्दै साहित्यिक पात्र विद्याधर ओलीले यस्तो पुरस्कार मरेको मान्छेमा सुनको कात्रो ओढाएजस्तो हो भन्ने मत ब्यक्त गरेको देखिन्छ। त्यसैगरी ‘बिडम्बना’ कथाको माध्यमबाट आजको समयमा हाम्रो धर्मिक संस्कारलाई आधुनिकताले कोपर्दाको परिणामको आभास दिएका छन् कथाकारले। उनीले ‘बोक्सीलाई सलाम’ र अन्य केही कथाहरूबाट अन्धविश्वासग्रस्त समाजका आँखा उघार्ने प्रयास गरेका छन् भने ‘स्विटीको प्रेम’ र न्याय’ कथामा आजको मान्छेले मनुषत्व गुमाएको भावना पोखेर निस्सहाय शत्रुप्रति सहमर्मिता देखाउनुपर्ने र पशुहरूलाई सुरक्षा प्रदान गर्नुपर्दछ भन्ने सन्देस दिएका छन्। अर्को दृष्टिले हेर्दा यस कथामा विभिन्न ओहदा र स्वभावका प्रतीक बनेर पशुहरू पाठकसामु उपस्थित भएको पाईन्छ। जस्तै- पालेर छोडेको बिरालोले नुन खाएर गद्दारी नगर्ने भृत्य, वनराजले नेता, गजराजले धैर्यशील र परोपकारी मान्छेको प्रतिनिधित्व गरेका छन्। यस कथाले खण्डित मानवतामाथि ब्यङ्ग्य प्रहार गर्दै प्रत्येक प्राणीको भित्री हृदयमा दया र न्याप्रियताको निवास हुन्छ र हुनुपर्छ भन्ने सन्देश दिएको छ। यसरी कथाकार पूर्णकुमार शर्माको ‘नयाँ बाटो’ कथासङ्ग्रहका जम्मै कथाहरूले समाजका जल्दाबल्दा समस्या र विसंगतिहरूको निवारण गर्न चाहेका छन्। कथाहरूमार्फत परोक्ष मात्र होइन प्रत्यक्ष उपदेश पनि दिइएको छ-

‘यसलाई भन्छन् मान्छेको लागि गरिबी अभिषाप होइन बरू गरिबी मानिसको जीवनमा उसको जीवनको आशीर्वाद हुने एउटा सौगात हो, जीवनलाई चिन्न सिकाउने एउटा प्रत्याह्वान हो।’ (मा द्रौपदी गौशाला)।

दृष्टिविन्दु: कथामा कसको कुरा गरिँदैछ र कसले गर्दैछ, कुराहरू कुन तरिकाले उपस्थापन हुँदैछन् भन्ने कुराहरूलाई दृष्टिबिन्दुले समेटेको हुन्छ। ‘नयाँ बाटो’ कथासङ्ग्रहमा गाभिएका प्रत्येक कथाहरूले मानव समाजकै वरिपरीका बिषयहरूलाई आफ्नो बिषय बनाएका छन्। कथाकारले खासगरी असमेली गोर्खा जनजीवनको गतिविधिलाई सुक्ष्म दृष्टिले हेरेर निर्धा निमुखा तथा समस्याग्रस्त गोर्खाहरूले भोग्नुपरेका पीरमर्का, उनीहरूका विकासमा बाधा बनेका प्राकृतिक र सामाजिक परिवेसलाई आफ्ना कथाहरूमा वर्णन गरेका छन्। कथाहरूमा पात्रपात्राहरूबिच सीमित कथोपकथन भएकाले कथाकारले कसैको किस्सा सुनाए जस्तो लाग्छ। त्यसैले स्वाभाविक रूपमै कथाहरू सहज-सरल छन्। अनि कथाका पात्रहरूसँग लेखकीय सम्बन्धलाई हेर्दा कथाहरूमा तृतीय पुरुष बाह्य दृष्टिबिन्दुको प्रयोग भएको देखिन्छ। प्राय कथाहरूको सुरुवातमै परिणामलाई टाँसेर कथाकार शर्माले पाठकको मनमा कौतुहल जगाउने प्रयास गर्नुले कथाहरूमा रोचकता बढेको पनि देखिन्छ। कथाहरू पढदा  निम्नवर्गको जीवन शैली र प्राकृतिक आपदाको दुष्पपरिणामतिर कथाकारको तीक्ष्ण दृष्टि परेको र उनी सारै प्रभावित रहेको भान हुन्छ।

भाषाशैली: पूर्णकुमार शर्माको ‘नयाँ बाटो’ कथासङ्ग्रहमा सजिएका कथाहरूमा ग्रामीण जनजीवनमा भावको आदानप्रदान गर्दा व्यवहारमा ल्याइने शब्दहरूको प्रयोग गरिएको छ। कथाकारले वाक्य रचना गर्दा गोर्खा जनजीवनबाट हराउन लागेका कतिपय शब्दहरूको संरक्षण गर्ने सफल प्रयास पनि गरेका छन्। जस्तै – कोचारेर, चड्कन, भङज्याहा, बखत, डँडाक, भुर्कुट, आहान, दसी, खिस्सी आदि शब्दहरू। उनले कथाहरूमा कतै ब्यङ्ग्य र कतै लक्षणाको रूपमा आफैं बनाएका अथवा चलिआएका उखानटुक्काहरूको प्रयोग गरेको देख्न पाइन्छ। जस्तै- काकाकुलले पानी परे त तिर्खा मेटाउला, घाँटी माथि हाँसेर मुटु भरि रुनु, ताक परे नेवारी नत्र गोतामे, चट मगनी फट बिहे, तँ चिता म पुऱ्याउँछु, एउटा हातले ताली बज्दैन, मर्दाका दसवटी, चोला उठनु, घैँटामा घाम लाग्नु, भुसको आगो आदिलाई उदाहरणका रूपमा उल्लेख गर्न सकिन्छ। त्यसैगरी कथाकारले प्रयोजनमा निपातहरूको प्रयोग पनि गरेका छन्। ठाउँठाउँमा भुत्ते, धारे जस्ता विशेषण शब्द र लुरुलुरू, गलल्ल, खिचिक्क जस्ता क्रिया विशेषण शब्दहरूले वाक्य सौन्दर्य बढाएको कुरा स्वीकार्य छ। कथाकारले उपमान उमेय, विम्ब, प्रतीकको पर्याप्त प्रयोग गरेको देखिन्छ। कथाकार भन्छन्-

वेदनाले पिल्सिएको नीलो आँसु जमेको छ आँखाको डिलभरि, गाँठो परेको छ मुटुमा। बौलाहा जस्तो भएर रामे दिनभरि फेरि कता लाग्यो, राती पनि भातपानी नखाई त्यतिकै मचानमा लड्यो (मुसाको दुलो)।

यस्ता खाले स्वास्नीको घुमाउरो धर्म धारे तलबार झैँ ओठहरू नाच्दै आउने दृश्य पनि हरायो (कोरोना दैनिकी)

उनले प्रसंग क्रममा ठाउँठाउँमा यसरी लक्षणाको प्रयोग पनि गरेका छन्- एकछिन पछि निष्पट अन्धकारले समग्र धरित्री निल्यो (स्विटीको प्रेम र न्याय)।

कथाकारले वाक्य सौन्दर्य बढाउने उद्देश्यले झुकरपुकल ल्याकत, अख्तियार जस्ता अरबी तथा फारसी शब्दहरूको प्रयोग गरेको देखिन्छ भने कतिपय हिज्जेहरूमा हिन्दी भाषाको प्रभाव परेको पनि पाइन्छ। खासगरी प्राविधिक कारणले भएपनि कतैकतै विभक्तिहरू छुट्टिनुले पछिलो संस्करणमा ध्यान दिनु आवस्यक ठानिन्छ। कथानकले प्रमुखता पाउनु र परिवेसको वर्णनलेगर्दा कथाहरूमा वर्णनात्मक र विवरणात्मक शैलिको प्रयोग भएको छ भन्नुपर्छ। यस कथासङ्ग्रहका कुनै कथामा रैखिक र कुनैमा वृत्ताकारीय ढाँचाको प्रयोग गर्ने प्रयास गरेको देखिन्छ। भाषा भने परिवेश र पात्र अनुकुल छ। जस्तै – दैबमाथि भरोसा राख्ने एउटा पत्रले गाउँले भाषामा भनेको छ-

‘यो रणेको छोरो, एउटा भएको पनि फटाहा हुने चाल गर्यो। मोरो शहर पसेर कसैका जुठा भाँडा माझ्न थाल्यो होला। के पो गरोस्, दैबले पनि उत्तिकै ठगेको गाँठे…’ (बिबिटीको हरितगृह)।

वर्गीकरणको दृष्टिकोणले हेर्दा:  तत्व व उपकरणका आधारमा ‘नयाँ बाटो’का कथाहरूलाई छुट्याउनुपर्दा घटना, चरित्र र परिवेशको प्रभाव लगभग समान नै देखिन्छ। धेरैजसो कथामा कथानकलाई महत्व दिएको हुनाले घटनाको प्रधानता देखिन्छ। घटनासँग सम्बन्धित अतीतको वर्णन बाहुल्य पाइन्छ। सहभागिको चरित्र चित्रण र परिवेश वर्णनले घटना काल र पात्र परिचय स्पस्ट छ। अचेल धेरैजसो कथा लेख्दा कथाकारहरूले विभिन्न धारा अथवा वादलाई गुरुत्व दिएको देखिन्छ। पूर्णकुमार शर्माको ‘नयाँ बाटो’ कथा सङ्ग्रहले पनि केही वाद वा धारालाई आत्मसात गरेको छ। उनका कथाहरुमा सामाजिक जनजीवनको यथार्थ प्रस्तुति देख्न पाइन्छ। त्यसरीनै  नारीवादी स्वर पनि उर्लिएको छ। केही कथाले प्रकृति प्रेमलाई अङ्गालेका छन्। कुनैकुनै कथामा स्वचन्दतावादको प्रभाव पनि देखिन्छ। समाजमा घटित हुने विभिन्न यथार्थ घटनाहरूको प्रस्तुति पाइने र समाजिक जनजीवनको यथार्थ चित्रित भएको देख्न पाइने कथाहरू सामाजिक यथार्थवादपटि ढल्केका छन्। तर घटना यथार्थ हुदाहुदै पनि प्रत्येक कथाहरूको उद्देश्य आदर्शवादी छ। आलोचनाअनुसार ‘नयाँ बाटो’ अन्तर्गत कथाहरू धारा व वादका आधारमा आदर्शोन्मुख यथार्थवाद अन्तर्गत पर्छन।

पूर्णकुमार शर्माको ‘नयाँ बाटो’ भित्रका कथाहरू सरसर्ती पढदा सहजै अनुमान लाउन सकिन्छ कि समस्या र रचनाकाल उत्तर आधुनिक हुँदाहुँदै पनि नेपाली कथाका फाँटमा उनी एकजना सचेत आधुनिक कथाकारको रुपमा देखापर्न सक्षम भएका छन्। तर केही कथाहरूका अनौठा शिर्षकहरू र केही कथा भित्रका बिषयहरूलेगर्दा उत्तर आधुनिकता पनि टलक्क नभएको होइन। जस्तै पर्यावरणीय चेतना, नारीवाद आदि। कथाका तत्वहरूलाई सहज तरिकाले उपस्थापन गरेर सार्थक कथा लेख्न सफल भएका कथाकारले वर्तमान मानव समाजमा देखापरेका पर्यावरण चेतना, विसङ्गति, धर्मान्धता, अन्धविश्वास लगायत धेरै बिषयहरूलाई सामाजिक समस्याका रुपमा मान्यता दिएका छन। ‘नयाँ बाटो’लाई आधार मानेर भन्नुपर्दा सामाजिक सुधारवादी दृष्टिकोणले कथाहरूमा स्थान पाएको देखिन्छ। सामाजिक आदर्शवाद, प्रगतिवाद, यथार्थवादी चिन्तन आदिलाई गुरुत्व दिनमा पछि हटेका छैनन् कथाकार। कथाहरूमा धेरथोर ब्यङ्ग्यको  प्रयोग गरेको देख्न पाईन्छ र पनि उनीले मनोरञ्जनका उदेश्यले कथा लेखेका होइनन भनेर किटान गर्न सकिन्छ। कथाहरूमा गम्भिर बिषय र समस्या, उपदेश र प्रेरणाहरू लुकेका छन्। आम मान्छे लगायत किशोर तथा युवाहरूलाई मार्गदर्शन गराउने प्रयास गरेका छन् कथाकारले। ‘पहेलो सपना हरियो विपना’ र अन्य दुई-एक कथामा मात्र केही हदसम्म अन्तरद्वन्द्वकोले स्थान पाए तापनि शर्माका सबै कथाहरूमा कौतुहलजस्तो औपन्यासिक तत्वले ठाउँ ओगटेको छ। आधुनिक नेपाली कथाका प्रमुख धारा र प्रवृत्तिलाई ‘नयाँ बाटो’का कथाहरूले आत्मसात गरेको देखिन्छ। उपदेश, आदर्श र यथार्थलाई हदै गुरुत्व दिने कथाकार पूर्णकुमार शर्मा सामाजिक यथार्थवादी कथाकार हुन्। आफ्नै सेरोफेरोबाट कथाका बिषयवस्तु चयन गरेर समाजमा अवहेलित र उपेक्षित भएका साहित्यिक, नारी, पशुपक्षी, वृक्ष आदिको पक्षमा रहनु, जातीय समन्वयलाई स्थान दिनु आदि पूर्णकूमार शर्माका कथागत प्रवृत्ति रहेका छन्। बर्गीय सहभागी चयन, सहज सरल भाषा शैली, परिवेश, घटना, कथावस्तुको बर्णन, सङ्ग्रामी र दृढ नायकद्वारा कर्मप्रेरणा, उपदेश आदि दिनु र भाषामा आगन्तुक शब्दको प्रयोग आदि कथाकार पूर्णकुमार शर्माका कथाका प्रमुख बिषेशता रहेका छन्।

उपसंहार:  प्रस्तुत कथासङ्ग्रहमा गाभिएको एउटा सबैले रुचाउने शशक्त कथाको नामअनुसार राखिएको शीर्षक ‘नयाँ बाटो’ सार्थक र योग्य छ। विभिन्न समस्या, उदेश्य र परिवेशलाई लिएर सिर्जना गरेका यस कथा सङ्ग्रहका सबै कथाहरू साबैखाले पाठकले पढ्न सक्नेछन्। किनभने कथामा वर्णित समस्या र परिवेश विश्वका धेरै ठाउँमा विराज छन्। भाषाशैली पनि सरल छ। प्रेरणाको खाँचो भएका मानिसहरू जताततै छरिएका छन्। कथाहरूमा परिकल्पित तरिकाले उतारिएको उदार मानवीयता, पर्यावरण सुरक्षा, अन्धविश्वासजस्ता बिषयहरू निसन्देह सर्वकालिक र सर्वस्थानिक हुन। समग्रमा भन्नुपर्दा पूर्णकुमार शर्माको ‘नयाँ बाटो’ कथासङ्ग्रह पठनीय, मननीय, समसामयिक र परिवर्तनकामी छ। जहाँ मानव जीवनको प्रस्तुति छ। अन्त्यमा ‘नयाँ बाटो’ नेपाली कथा साहित्यको एउटा मुल्यवान कृति बनोस भन्ने कामना साथ अझै ओजपूर्ण कृतिहरूको प्रतीक्षा गर्दै कथाकारलाई बधाई र शुभकामना दिन चाहेँ।