अक्षरमार्ग

अर्को एक असुरक्षित अभिलेख

त्रिपुर विद्यापीठ आगमको पेटीमा सामान्य ढुङ्गेपत्र सरी टेक्नका लागि छापिन पुगेको नेपाल संवत् ९०२ को शिलालेख । सो शिलालेख अध्ययनका क्रममा मेरो साथमा, बायाँबाट एकजना स्थानीय, सोही आगमका आचार्य प्रा.डा.सिद्धिवीर कर्माचार्य, अन्वेषक र मेरा विद्यार्थी स्वरिक । छायाचित्र: राजेन्द्र चवाल ।
पूर्वप्रसङ्ग
शुक्रवार, २ जेठ २०८२ । ख्वप कलेज, कानून संकायका प्राध्यापक मेरा मित्र राजेन्द्र चवाल चीनिया भाषाका विज्ञ हुनुहुन्छ । केही दिन अघि उहाँले मलाई अनुरोध गरी भन्नुभएको थियो ‘सर, शनिवार, ३ जेठमा चीनिया अतिथिगण भक्तपुर भ्रमणमा आउँदैछन् । उहाँहरूलाई मैले गाइड गर्नु छ । त्यसअघि विशेषगरी भक्तपुर राजदरबार क्षेत्रका सम्पदाबारेमा मलाई सरले गाइड गरीदिनुप¥यो ।’ मैले हुन्छ  भनेँ । सोही अनुरूप शुक्रबार, २ जेठ, विहान७ बजे हामी लुँध्वाखा (स्वर्णद्वार) मा जम्मा  भयौँ । हाम्रो साथमा सम्पदाबारेमा थाहा पाउने हेतुले कानूनका हाम्रा एक विद्यार्थी स्वरिक पनि आएका थिए । त्यसपछि करीब एकघण्टाजति भक्तपुर राजदबार क्षेत्रका सम्पदाहरू देखाउँदै ती सम्पदाहरूका बारेमा जानकारी दिँदै जाने क्रममा, पचपन्नझ्याले दरबार अगाडि तलेजुका पुजारी प्रा.डा.सिद्धिवीर कर्माचार्यज्यूसित जम्काभेट भयो । मलाई देख्नासाथ, एकै सासमा उहाँले भन्नुभयो ‘भाइ हाम्रो आगमको पेटीमा एउटा शिलालेख फेला परेको छ । सो शिलालेख कुन समयको हो, त्यसमा के लेखिएको रहेछ तपाईँ आएर पढिदिनुप¥यो, हामीलाई थाहा दिनुप¥यो ।’ मैले भनेँ ‘दाइ, तपाईहरूको आगमको पेटीको दायाँबायाँ भित्तामा रहेका शिलालेख, ढुङ्गेधारा लगायतका सबै शिलालेखहरू मैले पहिले नै अध्ययन गरी प्रकाशमा ल्याएको छु । तीमध्येको कुनै एक शिलालेख अहिले तपाईले भन्नुभएको शिलालेख हुनुपर्छ । भोलि हेरौँ न ।’ उहाँले जोड दिएर भन्नुभयो ‘होइन भाइ, त्यो शिलालेख तपाईको अहिलेसम्मको अध्ययनमा परेकै छैन, नयाँ हो । अहिले नै जाउँ, त्यहीँ त हो, पाँच मिनेटकै त कुरा हो । म देखाइदिन्छु । भोलि भनेको कहिले हो कहिले जाउँ अहिले नै ।’ मैले भनेँ ‘हुन्छ, जाउँ दाइ’ । अनि सम्पदा–अवलोकनको कुरालाई थाँति राख्दै हामी सिद्धिवीर दाइको पछिपछि लाग्यौँ । त्रिपुर विद्यापीठ आगममा पुगेपछि उहाँले सो आगमको पेटीमा छापिएको एक सानो ढुङ्गेपत्रलाई देखाउँदै भन्नुभयो ‘यही हो मैले भनेको त्यो शिलालेख । यसमा अभिलेख कुँदिएको छ । सो अभिलेखमा के कुरा छ, पढेर सुनाउनुहोस् ।’ कस्तो अचम्म सिद्धिवीर दाइले त्यो सामान्य ढुङ्ेपत्र जस्तो देखिने शिलालेख देखाइदिनुभएपछि मात्र हामीले त्यसमा कुँदिएको अभिलेख देख्यौँ । त्यसपछि मात्र स्पष्ट अनुभूत भयो ‘यो मात्र ढुङ्गेपत्र होइन, शिलालेख रहेछ । हालै, सो आगम जीर्णोद्धारका क्रममा अन्य सामान्य ढुङ्गेपत्र सरी त्यो पनि त्यसैगरी छापिन पुगेको रहेछ ।’ ढुङ्गा छाप्ने क्रममा यो शिलालेखको, अभिलेख कुँदिएको भाग मुनितिर परेको भए अनन्तकालसम्म यसले बताउन खोजेको कुरा गर्भमै दबिएर रहने थियो । हामी अभिलेखमा कुँदिएको ज्ञानबाट विमूख हुने थियौँ । ती कालिगढलाई शत्शत् नमन जसले अभिलेख कुँदिएको भागलाई देख्नेगरी, माथि पारेर छापिदिए । अभिलेखको शीर्षभाग फुटेको छ । उक्त शीर्षभागको बीचमा खड्गको आकृतिअंशसम्म देखिन्छ । सो खड्गको बायाँपट्टि चन्द्राकृति छ । खड्गको  दायाँपट्टिको भाग फुटेकोले त्यहाँको आकृति पनि नष्ट भइसकेको छ तर सो आकृति सूर्यको हो भन्ने कुरा निश्चित् रूपले ज्ञात हुन्छ । लिपि ः नेपाललिपि । भाषा ः नेपालभाषा अभिलेखको पाठ यस प्रकार रहेको छ ः
लिप्यन्तर 
त्रिपुरविद्यापीठ आगमको पेटीमा छापिन पुगेको ने.सं.९०२ को  शिलालेख । ऐजनको समीप छायाचित्र । साभार ः राजेन्द्र चवाल ।
१. ॐ सम्वत् ९०२ माघशुदि ११
२. श्री३ आगमजु पितिन रो २
३. चसपाकाति वु दुता थ्व(वु ४।) या
४. वलसान वर्ष प्रति विद्यापिथ
५. या थिके दातिन ने मा दिपंगत
६. दिन थ्व कुन्हु दि प्रदान पुजा या
७ य माल ।।शुभ ।।
भाषान्तर 
नेपालसंवत् ९०२ माघशुदि ११ का दिनमा श्री ३ आगमजु      (त्रिपुर विद्यापीठ)लाई प्रीति गरी चसपाको रोपनी २ र काति वु ४। (सवा चार रोपनी)खेत समर्पण गरियो । यसको आयस्ताले हरेक वर्ष विद्यापीठको थिके र दाति (माहिला) दुईजनाको दिवंगत भएको तिथिहरूमा दिप प्रज्वलन पूजा गर्नुपर्ने भयो । शुभ ।
(प्रस्तुत अभिलेखको भाषान्तर एवम् लिप्यन्तर सच्याएर सहयोग गरीदिनुहने लिपिविज्ञ श्री श्यामसुन्दर राजवंशी तथा नेपालभाषा केन्द्रीय विभागका प्रमुख, सह–प्राध्यापक श्री राजनलाल जोशीज्यूहरूप्रति आभारी छु । )
विश्लेषण
वेदले निगम र आगमले तन्त्रको स्मरण हुन्छ । कर्मप्रधान योगसाधना, अनुष्ठान र उपासना, गुरु शिष्य परम्परा, रहस्यवादी गुह्यविद्या, तान्त्रिक परम्परा आदि आगमका विशिष्टता हुन् । शिक्षा प्रदान गर्ने ठूलो प्रमुख केन्द्र (विद्यालय÷महाविद्यालय) विद्यापीठ हो । यस अभिलेखमा उल्लेखित विद्यापीठ त्रिपुरविद्यापीठ आगम हो । आफ्नो स्थापनाकालदेखि (ईस्वी बाह्रौँ शताब्दी) आजसम्म पनि स्वतन्त्र अस्तित्व कायम राख्दै, मानवकल्याण, देशवासी, देशरक्षा हेतु तान्त्रिक कर्म, शिक्षादीक्षा प्रदान गर्दै आइरहेको, मध्यकाल र मल्लकालमा राजकीय महत्व पाएको, राजकीय संरक्षण प्राप्त एकमात्र विद्यापीठ ‘त्रिपुरविद्यापीठ आगम’ रहेको विदित हुन्छ । यस आगमसित आबद्ध कर्माचार्यहरू ‘विद्यापीठ कर्माचार्य’ भनी प्रसिद्ध छन् । यस आगममा दीक्षित कर्माचार्यहरू मात्र भक्तपुर राजदबारस्थित तलेजु आगममा तान्त्रिक पूजारीका रूपमा कर्म गर्न पाउने परम्परा रहिआएको छ ।
भक्तपुर सुकूध्वाखा (सुकुलढोका) टोलमा, तीनओटा सुनको गजूर भएको, करीब ३५ फीट अग्लो, उत्तराभिमुख त्रिपुर विद्यापीठ आगममन्दिर रहेको छ । यस आगममन्दिरको पश्चिम, तुलाछेँटोलमा त्रिपुरसुन्दरी पीठ र देवगृह, उत्तरमा चोछेँटोल, पूर्वमा गोम्हारि (गोलमढी) टोल र दक्षिणमा तिबुक्छँे, क्वाछेँ, तःम्हारिटोलहरू छन् । उल्लेख्य कुरा, गोपालराजवंशावलीमा आक्रमण प्रत्याक्रमण लगायत महत्वपूर्ण घटनाहरूको वर्णन गर्ने क्रममा यी माथिका स्थाननामहरू (सुगलद्वाखा÷सुकूध्वाखा, विद्यापीठ÷त्रिपुर विद्यापीठ, चोछेँ, क्वाछेँ, तःम्हारि÷तलमण्डे) आएका छन् ।
त्रिपुर विद्यापीठ आगमको मूलढोकाको बायाँपट्टिको भित्तामा ने.सं.५३० को ज्योतिर्मल्लको पालाको र दायाँपट्टिको भित्तामा ने.सं.६७४ को विश्वमल्लको पालाको गरी दुईवटा शिलालेख छन् । ती दुबै शिलालेखमा यस आगमलाई ‘तिपुरविद्यापीठ’ (त्रिपुरविद्यापीठ) र त्यसैगरी यसको छोटकरी नाम ‘विद्यापीठ’ भनी सम्बोधन गरिएको छ । ने.सं.५३० मा यस आगममा कर्माचार्य जोतिचन्द्रले द्वारपादुका स्थापन गरेको तथा ने.सं.६७४ मा कर्माचार्य कुशुमरामले यस आगमको जीर्णोद्धार गरेको कुरा ती शिलालेखमा उल्लेखित छन् । अहिले फेलापर्न आएको ने.सं.९०२ को यस शिलालेखमा यस विद्यापीठ आगमलाई सवा चार रोपनी जग्गा अर्पण गरी त्यसको आयस्ताले यसै विद्यापीठका थिके र दाति दुईजना दिवंगत भएको तिथिहरूमा हरेक वर्ष ‘दि प्रदान पुजा’   (मता पुजा÷दिप प्रज्वलन पुजा) गर्नु पर्ने थिति उल्लेख छ ।
हजारौँ वर्षदेखि चलिआएको गुठी व्यवस्थाका प्रवर्तक नेपालमण्डलका नेवाः हुन् । नेवाः सामाजिक जीवनको अतुल्य मौलिक सम्पदा हो गुठी जुन अद्यापि प्रचलनमा रहिआएको छ । सरकारप्रति आश्रित भएर होइन, समूहप्रति समर्पित भई सामूहिक–आत्मनिर्भरताको एकीकृत शक्तिले काम गर्नु गुठी व्यवस्थाको विशिष्टता हो । कम्युन व्यवस्थाको प्रथम झुल्को गुठी व्यवस्थामै रहेको दृष्टिगोचर हुन्छ । गुठी मात्र जमिन होइन, जीवन हो, संस्कृति हो, एक सभ्यता हो । गुठी लोप भएमा त्यसको आयस्ताले चल्ने संस्कृति पनि स्वतः लोप हुन्छ । थिके र दातिहरू दिवंगत भएको तिथिहरूमा गरिने ‘दि प्रदान पुजा’लोप भइसकेको छ र त्यसको संचालनको निमित्त राखिदिएको गुठी जग्गा पनि लोप भइसकेको छ । (सोही आगमका सिद्धिवीर कर्माचार्यबाट प्राप्त जानकारी) । दीक्षाधारी व्यक्ति मृत्यु भएमा पनि तान्त्रिक विधिपूर्वक ‘मत पूजा’ गर्ने चलन छ । दि प्रदान  (दिप प्रज्वलन) पूजाले ‘मत पूजा’ लाई सम्झाएको छ ।
अहिलेको भक्तपुर राजदरबार पूर्वमध्यकालमा ‘युथुनिमम्’ नामले प्रसिद्ध थियो । मल्लहरूले मान्दै आएका मूल इष्टदेवता तलेजु भवानी यसै दरबारमा प्रतिष्ठापित छ । राजकीय बासस्थानको रूपमा मात्र नभएर उच्चतम् तान्त्रिक देवताहरू (मानेश्वरी, दुमाजु, तलेजु आदि) समेत प्रतिष्ठापित पवित्र देवस्थलकै रूपमा मान्यपूज्य रहिआएको यस देवस्थललाई विद्यापीठका कर्माचार्यहरू आफ्नो कर्मस्थल नै मान्दछन् । तर यस अघिको आदि कर्मस्थल भने त्रिपुर राजकुल (त्रिपुर राजदरबार) रहेको दृष्टिगोचर हुन्छ (श्रेष्ठ, २०५८, पृष्ठ १४) । लामो समयदेखि चल्दै आएको द्वैराज्यपद्धतिलाई स्थितिमल्ल(ने.सं.४७४–५१५)ले अन्त्य गरी एकराजपद्धति शासन आरम्भ गर्न सफल भए (वज्राचार्य र श्रेष्ठ २०३५, पृष्ठ ११०–११९)। सोही समयदेखि पुरानो त्रिपुर राजदरबार ओझेलमा परी विस्मृतिको गर्भमा हराउन पुगेको र त्यसपछि ‘युथुनिमम्’ दरबारको महत्व बढ्दै जानथालेको देखिन्छ । स्थितिमल्लको पालासम्म आईपुग्दा युुथुनिमम् राजदरबारमा प्रतिष्ठापित मानेश्वरी, दुमाजु र तलेजु पशुपतिपछि राजकीय एवम् राष्ट्रियस्तरमै मान्यपूज्य भइसकेका थिए । यसो हुँदा राजनैतिक दृष्टिले मात्र नभएर धार्मिक सांस्कृतिक दृष्टिले समेत प्रमुख केन्द्रको रूपमा देखापरेको युुथुनिमम् राजदरबार त्यहाँ प्रतिष्ठापित देवताहरूको तान्त्रिक पूजाकर्म चलाउने त्रिपुरविद्यापीठ आगमका कर्माचार्यहरूको कर्मथलो रहिआएको विदित हुन्छ ।
लिच्छविकालमा जस्तो राजनैतिक स्थिरता, शान्ति र सुरक्षा मध्यकालमा रहेन । आक्रमण प्रत्याक्रमणको युग थियो त्यो । यसो हुँदा सुरक्षा र देशरक्षाकै लागि पूर्वमध्यकालका एक शक्तिशाली राजा आनन्ददेव (ने.सं.२६७–२८८) ले केन्द्रीय शासनलाई सुदृढ पार्ने सिलसिलामा, भक्तपुरमा राजधानी सार्ने, बसाल्ने काम गरे । सैनिक सुरक्षाको अतिरिक्त तान्त्रिक सुरक्षाहेतु यन्त्राकारमा, राजधानी नगरको भित्र बाहिर अष्टमातृका पीठ र देवगृह लगायत नगरको मध्यभागमा त्रिपुरसुन्दरीको पीठ र देवगृह प्रतिष्ठापन गर्न लगाएर समग्रमा राजधानी नगरलाई ‘त्रिपुर’मय, नवदुर्गामय तुल्याइयो । राजधानी नगरको हृदयस्थलमा वा भनौं त्रिपुरसुन्दरीको सांस्कृतिक भूगोलमा उनले राजदरबार बनाउन लगाए जुन ‘त्रिपुर’ राजकुल (त्रिपुर राजदरबार) नामले प्रसिद्ध रह्यो । वज्राचार्य (२०६४, पृष्ठ ५२, ५४) ले आनन्ददेव बारेको विवरणमा उनलाई ‘तात्कालिक नेपालका एक  निर्माता’ उल्लेख गर्दै लेखेका छन् ः
‘आनन्ददेवको शासनकालमा भएको सबभन्दा महत्वपूर्ण कार्य भक्तपुरमा ‘त्रिपुर’ राजकुल (दरबार) बनाई त्यसलाई नेपालको ‘राजधानी’ को रूप दिनु हो । यस कुराको सम्झना गोपालराजवंशावलीकारले ‘त्रिपुरसहित राजधानी प्रतिष्ठिता । राजकुलसमीपे सुवण्र्णपनालीकृता’ भनी संक्षिप्त रूपमा गरेका छन् । आनन्ददेवले ‘त्रिपुर’ लाई राजधानी बनाएपछि केही शताब्दीसम्म नेपालको केन्द्र ‘त्रिपुर’ रह्यो ।’
त्रिपुरसुन्दरी÷त्रिपुर दरबारपरिसरमै तन्त्रविद्याको पठनपाठन, शिक्षा दीक्षासमेत दिने यो विद्यापीठ (विद्यालय) आनन्ददेवले त्रिपुरसहितको राजधानी बसाल्ने समयतिर स्थापना हुन पुगेको   देखिन्छ । यसो हुँदा यो विद्यापीठ पनि सोही अनुरुप ‘त्रिपुरविद्यापीठ’ भनी प्रसिद्ध रहन पुगेको ज्ञात हुन्छ (श्रेष्ठ २०५८, पृष्ठ १३–१५। देशरक्षाका लागि सुरक्षा प्रबन्ध प्रथम अपरिहार्य आवश्यकता हो, सुन्दरता त्यसपछि आउने कुरा हो । त्रिपुर विद्यापीठ पनि त्यस बखतको युगमा तान्त्रिक सुरक्षाहेतु राजदरबारपरिसरकै एक उपकिल्लाको रूपमा रहेको दृष्टिगोचर हुन्छ । गोपालराजवंशावलीको ४१ पत्रमा उल्लेखित निम्न वर्णन यस कुराको पुष्टिका लागि उदाहरण स्वरूप लिन सकिन्छ        (Vajracharya and Malla 1985, 41 folio, pp.97) ः
             सं.४२५ श्रँवण्ाँ शुक्ल द्वितीया भोन्तन चोछेंस जारवा वीद्यापीठिस तिपुरण तेल ‘भोत लिचेल वंङ्ग्व’
        (ने.सं. ४२५ श्रावण शुक्ल द्वितीयाको दिन बनेपाले चोछेँमा आक्रमण ग¥यो, विद्यापीठमा त्रिपुरले सो आक्रमणलाई दबायो । ‘बनेपा पछि हट्यो ।)
उत्तर भारतमा मुसलमानहरूको दमन र आक्रमणले गर्दा (ईस्वी बाह्रौँ शताब्दी) तन्त्रविद्याका केन्द्र मानिने कैयन विद्यालय, महाविद्यालयहरू ध्वस्त भएपछि जीउज्यान, धर्म–संस्कृतिको रक्षार्थ बौद्ध एवम् हिन्दु गुरु शिष्यहरू आफ्नो साथमा अमूल्य ग्रन्थहरू बोकी भौगोलिक दृष्टिले समेत सुरक्षित, पवित्र भूमि नेपाल पसे । त्यसपछि नेपाल तन्त्रविद्याको केन्द्र र कार्यक्षेत्र बन्न पुग्यो । यसो हुँदा यहाँ तान्त्रिक विद्या पठनपाठन समेत हुने अनेक बौद्ध गुम्बा एवम् हिन्दु विद्यापीठहरू स्थापना हुँदै गएको ज्ञात हुन्छ । त्रिपुर विद्यापीठ पनि यस कुराको पुष्टिका लागि एक अनुपम उदाहरण हो (श्रेष्ठ, २०५८, पृष्ठ १४)। गोपालराजवंशावलीको २५ पत्रमा ‘महाप्रधान दक्षिणविद्यापीठ’ को पनि उल्लेख आएको छ । सो विद्यापीठ पनि तत्कालीन राजधानी नगर भक्तपुरमै रहेको उच्चकोटीको, तान्त्रिक शिक्षादीक्षा प्रदान गर्ने महाविद्यालय रहेको प्रतीत हुन्छ । भक्तपुरले राजधानी नगर बन्ने सौभाग्य पनि सोही शताब्दीतिर पाएको हो । यसो हुँदा भक्तपुर राजनैतिक, प्रशासनिक दृष्टिले मात्र नभएर, धार्मिक–सांस्कृतिक दृष्टिले मात्र नभएर शिक्षा, साहित्य सङ्गीत लगायत विद्याकै पनि केन्द्रको रूपमा देखापरेको थियो ।
भौतिक, अभौतिक सम्पदा जतिकै अमूल्य अभिलेख–सम्पदा पनि हो । इतिहासले विगतको स्मरण हुन्छ जसको अकाट्य साक्षी अभिलेख हो । अभिलेख ज्ञान–सम्पदा हो । एकपल्ट अभिलिखित भएको ज्ञान–सम्पदा चीरस्थायी हुन्छ । हामी भौतिक, अभौतिक सम्पदा हेरेर मख्ख पर्छौँ, गौरव गर्छौं तर त्यसबारेमा थाहा दिने अभिलेख–सम्पदा बारेमा भने गंभीर भएर सोचेकै छैनौँ । सर्वसाधारणलाई यसको महत्व बारेमा बोध गराउन हामी अझै सफल हुन सकेका रहेनछौँ । आफ्नो युगको सत्य कुरा पछिसम्म पनि सम्झाइराख्ने यी जीवन्त शिलालेखलाई हामीले अझै संवेदनहीन भएर बेवास्ता गरिरहेका छौँ । यसको सदाकाल, अभूतपूर्व–महत्वलाई हामीले अझै बुझेका छैनौँ, बुझाउन सकेका रहेनछाँैं । यसो हुदाँ हामीले एउटा ढुङ्गेपत्र र एउटा शिलालेखमा भेद देखेनौं । इतिहासका असली ज्ञाता हाम्रा पूर्वजहरूले राखेर गएका स्वर्णिमयुगको अनेक कालखण्डका ती शिलालेखलाई कतै हामीले हतियारमा धार लाउने ढुङ्गाका रूपमा प्रयोगमा ल्याइरह्यौँ, कतै जलाशय समीपका त्यही शिलालेखमा ढाडलाई घिस्दै मैलो निकाल्ने वस्तुको रूपमा प्रयोगमा ल्याइरह्यौँ, कतै त्यही शिलालेखलाई हरेक वर्ष धान चुट्न प्रयोगमा ल्याइरह्यौँ, कतै मास मसला पिस्ने सिलौटाको रूपमा प्रयोगमा ल्याइरह्यँौं त कतै इनारमा पानी लिन टेक्ने टेक्काको रूपमा प्रयोगमा ल्याइरह्यौँ, कतै अकस्मात् फेला परेका शिलालेखलाई उत्नीखेरै तोड्फोड् गरी प्रमाण नष्ट गर्ने कुकर्म गर्न तिर समेत पनि लाग्यौँ, कतै शिलालेखका लिपिलाई पढ्न नसकेपछि त्यसलाई देवताका अक्षर सम्झी नजानेर नै जलअवीर चढाएर दिनानुदिन नष्ट गर्नतिर लाग्यौँ, कतै कसिङ्गर राख्ने कन्टेनरको रूपमा प्रयोगमा ल्याइरह्यौँ, कतै पेटीमा छाप्न र  खुड्किलाको रूपमा प्रयोगमा ल्याउन सामान्य ढुङ्गेपत्र सरह छाप्दै आयौँ (श्रेष्ठ, २०५८, पृष्ठ २४–४०, श्रेष्ठ, २०८०, पृष्ठ २७२, ५२६–५४३, ) । र, अहिले अकस्मात् पत्ता लागेको, त्रिपुर विद्यापीठको पेटीमा सामान्य ढुङ्गेपत्र सरह छापिनपुगेको यो अर्को एक असुरक्षित शिलाभिलेख पनि यस कुराको अपवाद रहेन । यो शिलालेख देखाइदिनुभएकोमा पुनः एकपल्ट त्यही आगमका सिद्धिवीर दाइलाई मुरीका मुरी धन्यवाद छ । शिलालेखको महत्वबारे माथि संक्षिप्त रूपमा प्रकाश पार्ने प्रयत्न गरेसङ्गै सिद्धिवीर दाइ लगायत सो आगमका समस्त कर्माचार्य वर्गलाई म सविनय अनुरोध गर्दछु ः यस शिलालेखलाई त्यहाँबाट तत्काल उद्धार गरी सोही आगमपरिसरमा सुरक्षित गरी, सबैले देख्ने गरी राखियोस् ।
त्रिपुर विद्यापीठको स्थापनाकालदेखि नै यस आगममा दीक्षित कर्माचार्यहरूले देश, देशवासीको कल्याणको कामना लगायत देशरक्षाहेतु, तान्त्रिक पूजा, उपासना र अनुष्ठान गर्दै आएका छन् । आस्था र विश्वास सत्यभन्दा पनि उपल्लो कुरा हो । तान्त्रिक विधिविधानको माध्यमबाट लोकजीवनको मनोबल बढाएर अद्भूत शक्ति र उर्जा प्रदान गर्नमा त्रिपुर विद्यापीठले निर्वाह गर्दै आएको योगदान वन्दनीय छ ।  अन्वेषणको माध्यमबाट त्रिपुर विद्यापीठ र यसको महत्व बारेमा राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा सर्वप्रथम प्रकाश पार्न पाएकोमा मलाई सन्तोष मिलेको छ । सम्पदाको विगतलाई हेर्ने ऐना अन्वेषण   हो । वैशाख १२, २०७२ सालको महाभूकम्पले छानी छानी हाम्रा सम्पदाहरूलाई क्षतविक्षत  पारे ।  त्रिपुर विद्यापीठलाई पनि महाभूकम्पले क्षतिग्रस्त तुल्यायो नै । त्यसपछिका वर्षहरूमा नेपाल सरकार, पुरातत्व विभागका मेरा मित्रहरूबाट मलाई खुसीको कुरा सुनाए ‘सर तपाइँको अन्वेषणबाट त्रिपुर विद्यापीठको महत्वलाई मनन गरेपछि यसलाई पुरातत्व विभागले जीर्णोद्धार गर्ने भएको छ ।’ यस कुराले मलाई झन् बढता खुसी तुल्यायो । गएको वर्षमा यसको जीर्णोद्धार कार्य सम्पन्न भएकोमा मलाई थप खुसी र गौरवको अनुभूति भएको छ । यसको निमित्त पुरातत्व विभागलाई धन्यवाद छ । यस आगमको जीर्णोद्धार गरीदिने मजदूर, कालिगढ, कलाकारहरूलाई शत्शत् नमन । जीर्णोद्धारकै क्रममा यस आगमको पेटीमा ढुङ्ेपत्र छाप्ने ती कालिगढलाई पुनः सलाम छ जसले यो शिलालेखको अभिलेख कुँदिएको भागलाई सबैले देख्ने गरी उँभो फर्काएर छापिदिए । अनि त्यही शिलालेखलाई देखेर मलाई सम्झी–सम्झी बोलाएर देखाइदिने र यस बारेमा एउटा लेख लेख्न समेत अनुरोध गर्नुहुने यसै आगमका आचार्य, प्रा.डा.सिद्धिवीर कर्माचार्यज्यू (सिद्धिवीर दाइ) प्रति कृतज्ञ छु । त्यसो नभएको भए यो लेखको जन्म हुने पनि थिएन । यसको श्रेय सिद्धिवीर दाइलाई जान्छ । यसो हुँदा यो लेख उहाँप्रति समर्पित छ ।
त्रिपुर विद्यापीठ आगम (ईस्वी बाह्रौँ शताब्दीं) । यस आगमको जीर्णोद्धार, संभार अनेक कालखण्डमा अनेकपल्ट भएको दृष्टिगोचर हुन्छ । प्राप्त ऐतिहासिक सामग्रीका आधारमा, ने.सं.६७४ मा कर्माचार्य कुशुमरामले यस आगमको जीर्णोद्धार गरेका थिए । ने.सं.११४४ मा पुरातत्व विभागले यस आगमको जीर्णोद्धार गरेको थियो । आगमसामुन्ने ः शिखर शैलीको गणेशमन्दिर ।