अक्षरमार्ग

२१२औं भानुजयन्ती सम्पन्न

आज महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठानकाे आयोजना र न्युमिलिनियम कलेजकाे सहआयाेजनामा २१२ औं भानुजयन्तीकाे उपलक्ष्यमा बालसाहित्यकार डा.छायादत्त न्यौपानेकृत हामी गर्छौं किशोर उपन्यासकाे विमर्श तथा कविता वाचन कार्यक्रम सम्पन्न भयो । न्युमिलिनियम क्याम्पसका प्राचार्य रुद्र पन्तकाे अध्यक्षता र प्राज्ञ बाबा वस्नेतकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. यादेवी ढकालले हामी गर्छौं शीर्षकको उपन्यास हाम्रा किशोरवयका पाठकका लागि उपयोगी सामग्री हाे । यसबाट युवाहरूलाई शिक्षक,अभिभावक र जनप्रतिनिधिहरूसित जाेडिएर कृषिजन्य उत्पादन गर्न सकिने सुन्दर विकल्प दिइएको छ । उहाँले स्रष्टालाई भाषिक सरलता, विषयवस्तुमा आख्यानीकरण जस्ता केही सीमा सम्पादन हुन सके राम्रो हुने सुझाव पनि दिनुभयाे । कृतिमाथि चर्चा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले हामी गर्छौं कृति किशोर वयका पाठकका लागि पठनीय छ । यसले युवालाई उत्पादनमा लाग्न आग्रह गरेको छ । यसमा युवाले चाहेमा हाम्रो देशलाई कृषि कर्मबाट आत्मनिर्भर बनाउन सकिन्छ भन्दै बिदेसिने युवालाई स्वदेशमै रहेर स्वराेजगार बन्ने सकिने सम्भावना खाेजिएकाे छ । यस कृतिको घटनावस्तुकाे छरितो प्रस्तुति र संवादात्मक शैली राम्रो छ तर भाषिक जटिलता, छिटो छिटो आएका घटना विवरणले स्वाभाविक बन्न नसकेको देखिन्छ ।प्रकाशन अघि विमर्शमा ल्याउन पाएकाे भए भनेर स्रष्टालाई यसतर्फ ध्यान दिन सल्लाह दिनुभयो ।

प्रमुख अतिथि प्राज्ञ वस्नेतले यस्ता जीवनाेपयाेगी कृतिले किशोर उमेरका पाठकलाई कर्मक्षेत्रमा समर्पित हुन प्रेरित गरेका छन् । यस्ता साहित्यिक कृति पढेर देशकाे चौतर्फी विकास कार्यमा सहभागी हुन सकिन्छ भन्दै कविता वाचन गरेका कवि तथा विद्यार्थीहरूका सिर्जना सुन्दर रहे । यस किसिमका कार्यक्रमले भाषासाहित्यकाे उत्थानमा याेगदान पुग्छ यस्ता कार्यक्रम भइरहनुपर्छ भन्नुभयो ।

कृतिकार छायादत्त न्यौपानेले कार्यक्रमकाे आयोजना गर्ने संस्था महिला साहित्य तथा अनुसन्धान प्रतिष्ठान , संस्थापक अध्यक्ष सुधा मैनाली , न्युमिलिनियम कलेजका प्राचार्य रुद्र पन्त तथा क्याम्पस परिवारलाई धन्यवाद दिँदै कृति विमर्श कार्यक्रमले आफूलाई बालसाहित्यमा काम गर्ने प्रेरणा मिलेको अनुभव व्यक्त गर्नुभयाे । क्याम्पसकी निर्देशक संयाेजक विष्णु अधिकारीकाे स्वागत मन्तव्य र सुधा मैनालीको सञ्चालन रहेको कार्यक्रममा कवि घन थापा,माया वस्नेत, रुजु केसी, अनिता लामा, सविता ढकाल लगायत स्रष्टाहरूले आ-आफ्ना रचना वाचन गर्नुभयाे । अन्त्यमा साहित्यले समाजलाई सिर्जनात्मक क्षमता बढाउने भएको हुँदा आउँदा दिनमा यस्ता कार्यक्रम गरिरहने अवसर मिलाेस् भन्दै औपचारिक कार्यक्रम समापन गर्नुभयाे ।