
उनकै निवासमा २ दशकअघि भएको भेटघाटमा ऐतिहासिक उपन्याकार डायमन्डसमशेर राणाले भनेका थिए–‘भाषा–साहित्यको विकासविना राष्ट्रले समयसापेक्ष गति लिँदैन ।’ हुन पनि हो, हामी हेर्न सक्छौं विकसित देशको भाषा–साहित्य कति समृद्ध छ ? त्यहाँको सांस्कृतिक सम्पदाको प्रभाव कति पर, परसम्म फैलिएको हुन्छ ? सिङ्गो मुलुकको परिचय विश्वसमुदायसम्म पुर्याउने बलियो माध्यम भाषा–साहित्य नै हो । यो जीवन–जगतका विविध विषयको व्याख्या–विश्लेषण गरी जनसमक्ष पुर्याएर चेतना प्रवाह गर्ने विषय भएकाले यसको विकास र विस्तारमा अनन्त स्रष्टाहरुले सिर्जनात्मक योगदान गरिरहेका हुन्छन् । यो समस्त मान्छेलाई हिजोसित चिनजान गराई आजसँग सङ्घर्ष गर्न प्रेरित गर्ने विधा पनि हो । यही मर्मानुरुप देश–विदेशमा छरिएका स्रष्टाहरुलाई एउटै पत्रिकामा समायोजन गर्ने काम पत्रिपत्रिकाले गरिरहेका हुन्छन् । यिनले पाठकलाई सिर्जनातर्फ अभिप्रेरित गरी साहित्यिक रसास्वाद दिएर जीवनमुखी सन्देश सम्प्रेषण गर्छन् । पत्रिकाले गर्ने साहित्यको संवर्धनबाट समाजले अपेक्षा गर्ने राजनीतिक चेतना सम्प्रेषणको विषयमा पनि साहित्यिक पत्रिकाको अहम् भूमिका रहेको हुन्छ ।
यो भिन्न पारिवारिक संस्कार/संस्कृतिले बनाएको समाजलाई सचेत तुल्याउने काम पत्रपत्रिकाले गर्छन् । दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक लगायत समय–समयमा प्रकाशित हुने यी पत्रिकाहरुले ऐतिहासिक तथ्यसहित नवीनतम सूचनाहरुबाट पाठक लाभान्वित भइरहेका हुन्छन् । व्यापक रुपमा छरिएका ज्ञान–विज्ञान, राजनीति, संस्कृति, कृषि, भाषा–साहित्य, आविष्कार, खेलकुदका क्षेत्रबाट लिइएका सूचनाहरु मानव मन–मस्तिष्कलाई ताजा र चलायमान राख्ने सामयिक खुराक हुन् । यिनले मानिसलाई सिर्जनात्मक कर्ममा समर्पित हुन अभ्यस्त बनाउँछन् । यो गतिशील कर्मले धेरै स्रष्टाहरु जन्माई तिनमा जाँगर भर्ने जिम्मेवारी यसरी प्रकाशित हुँदै आएका पत्रिकाका सम्पादकले पूरा गरेरहेका हुन्छन् । यसरी स्रष्टाहरु एकत्रित गरेर साहित्यका विधाहरुको प्रवर्धन गर्ने कर्मलाई महत्त्वपूर्ण मानिन्छ । सामग्री जम्मा पार्नु, विधागत मूल्याङ्कन, सम्पादन, परिष्कार–परिमार्जन जस्ता चुनौतीपूर्ण सम्पादकीय कर्मले पत्रपत्रिकाको गरिमा बढाइरहेको हुन्छ । यी र यस्तै उद्देश्य बोकेर सम्पादक सूर्यप्रसाद लाकोजू र उनको अक्षरमार्ग साहित्यिक त्रैमासिक विगत १३ वर्षदेखि लगातार स्रष्टा र पाठकको घर/घर पुग्दै आएको छ ।
स्रष्टा सूर्यप्रसाद लाकोजूद्वारा सम्पादित/प्रकाशित अक्षरमार्ग साहित्यिक त्रैमासिक पत्रिका नेपाली वाङ्मयको श्रीवृद्धिमा समर्पित देखिन्छ । यसले विगत १३ वर्षदेखि अग्रज, अनुज, समकालीन सर्जक र पाठकहरुबिच सेतुको काम गर्दै आएको छ । यस पत्रिकाले आरम्भदेखि देशभरि छरिएर रहेका स्रष्टाका रचनाहरु सङ्कलन/सम्पादन गरी पाठकसम्म पुर्याउने चुनौतीपूर्ण कार्य गरिरहेको छ । यस पत्रिकाका सम्पादक/प्रकाशकले निर्वाह गर्नुपर्ने भूमिका अग्रज स्रष्टालाई सम्मान, समकालीनसँग सहकार्य र नवप्रतिभालाई प्रोत्साहन जस्ता कार्य कुशलतापूर्वक गर्दै आएको देखिन्छ । साहित्यका विविध विधाहरुको रचनात्मक विकासमा पत्रिकाको महत्त्वपूर्ण देन रहन्छ । अक्षरमार्गले पनि यस पाटोबाट अविच्छिन्न सेवा दिँदै आएको छ । यसले सर्जक/पाठक जीवनमा नयाँ उत्साह थपेर तरङ्ग पैदा गरेको देखिन्छ ।
साहित्यका कविता, कथा, निबन्ध, समालोचना,बालसाहित्यको प्रवर्धनमा अक्षरमार्गले खेलेको भूमिका अनुकरणीय रहेको छ । नेपाली साहित्यमा निजी प्रयासबाट निस्केर इतिहास निर्माण गरेका रुपरेखा, शारदा, रचना, अभिव्यक्ति, मधुपर्क,जनमत, दायित्व, शब्दाङ्कुर, शृङ्खला, प्रहरी, नवप्रज्ञापन, कल्पलता, ज्याग्दीखोलाको तरङ्ग, मुना, लहरा, कपनबानेश्वर साहित्यिक साप्ताहिक जस्ता चल्तीका पत्रिकाहरुको माझमा अक्षरमार्ग साहित्यिक त्रैमासिकले पनि आफ्नो उपस्थिति जनाउँदै आएको छ । यसका नियमित अङ्कमध्ये पछिल्लो ५२ औं अङ्क अग्रज स्रष्टा तेजेश्वरबाबु ग्वंगको व्यक्तित्व कृतित्वलाई विषय बनाएर लेखिएका सामग्रीहरुको सँगालो विशेषाङ्कका रुपमा आएको छ । शताब्दी पुरुष ग्वंगको विषयमा विशेषाङ्क निकाल्नु भनेको अग्रज स्रष्टाप्रतिको उच्च सम्मान हो र अक्षरमार्गको योगदान बढ्नु पनि हो ।
अक्षरमार्गको पछिल्लो ५२ औं अङ्कमा तेजेश्वरबाबु ग्वंगबारे केही सिर्जनात्मक रचना, समालोचना, संस्मरण समेत अनुभव–अनुभूतिजन्य सामग्री समाबेस छन् । यसमा ग्वंगलाई नेपाली, नेपाल र अङ्ग्रेजी भाषामा सिर्जना गर्ने बहुभाषी प्रतिभाका रुपमा चिनाइएको छ । कथा, कविता, निबन्ध लगायतका बहुविधामा कलम चलाउन सिपालु ग्वंग भाषा साहित्य र संस्कृतिका फाँटमा उज्यालो उपस्थिति जनाउन सफल दीर्घ साधक हुन् । यसमा अभि सुवेदी, गोविन्दराज भट्टराई, तिलक प्रकाश, मोहन दुवाल, लक्ष्मणप्रसाद गौतम, जितेन्द्र रसिक, अगिब बनेपाली, जयदेव भट्टराई, सूर्यप्रसाद लाकोजू, श्रेया श्रेष्ठ, कुमारप्रसाद कोइराला समेत २१ जना स्रष्टा/द्रष्टाका गहकिला सामग्री परेका छन् । यसमा स्रष्टा ग्वंगको नेपाल, नेपाली र अङ्ग्रेजी भाषामा रहेको सिर्जनप्रतिभाको प्रतिनिधित्व हुने गरी यी तीनै भाषाका लेखमा उनको व्यक्तित्वबारे चर्चा गरिएको छ । यी सामग्रीले संस्कृतिप्रेमी निबन्धकार ग्वंग इतिहास, संस्कृति, प्रकृतिसित जीवन दर्शनको व्याख्या विश्लेषणमा रमाउने स्रष्टाको रुपमा चिनाउने प्रयत्न गरेको पाइन्छ ।
हाम्रो मौलिक संस्कार संस्कृति समृद्ध छ । अग्रजलाई सम्झिने सम्मान गर्ने हाम्रो परम्परा हो । सम्मान दिने सम्मान योग्य हुन्छ । प्रतिभाको पहिचान गर्ने क्षमता र त्यसलाई कदर गर्ने व्यक्ति दुर्लभ हुन्छन् । यस्तै दुर्लभ प्रतिभा हुन् सूर्यप्रसाद लाकोजू पनि । शैक्षिक, सामाजिक, सांस्कृतिक गतिविधिमा सक्रिय स्रष्टा र सम्पादक व्यक्तित्व लाकोजूले नेपाली साहित्यका दीर्घ साधक तेजेश्वरबाबु ग्वंगको सम्मानस्वरुप तेजेश्वरबाबु ग्वंग विशेषाङ्क प्रकाशन गरेर ऐतिहासिक कार्य गरेका छन् । उनले विभिन्न विद्वान्हरुले लेखेका सामग्री जुटाएर सम्पादन/प्रकाशन गरेको देखिन्छ । उनको यो ऐतिहासिक कर्मले ग्वंगको विषयमा खोज–अनुसन्धान गर्नेहरुलाई मदत पुग्नेछ । अनुजपुस्ता अग्रजले निर्माण गरेको इतिहासबारे लेखाजोखा गर्नुपर्ने रहेछ भनेर सचेत हुनेछ । यसपालिको अङ्क कस्तो हुने विमर्श गर्नु, विशेषाङ्कको योजना बनाउनु, व्यक्तित्व निर्धारण गर्नु, समालोचकहरुसँग सम्पर्क गर्नु, लेख जुटाउनु, सम्पादन गर्नु, टङ्कण गर्नु/गराउनु, शुद्धाशुद्धि हेर्नु, साजसज्जा मिलाउनु, अर्थव्यवस्था गर्नु, प्रेस खोज्नु, छपाउनु, बजार पठाउनु, लेखकप्रति उपब्ध गराउनु, पाठकीय प्रतिक्रिया सुन्नु जस्ता गतिविध पत्रिका सञ्चालनका अनिवार्य अङ्ग हुन् । यी अङ्ग पूरा गर्ने जिम्मेवारी सम्पादकको हुन्छ । सङ्कलित सामग्री केकति तथ्यपूर्ण छ, समाविष्ट सूचना कति विश्वसनीय छ ? रुजु गरी सूचनालाई आधिकारिक बनाउनु पनि सम्पादकको दायित्वभित्रै पर्ने कर्म हुन् ।
सम्पादन कार्य चुनौतीपूर्ण हुन्छ । भाषा सम्पादन, विषयवस्तु सम्पादन, विधा सम्पादन, सूचना सम्पादन, सिलसिला सम्पादनजस्ता जिम्मेवारी निभाउनुपर्ने सम्पादकीय चुनौती हुन् । सम्पादकीय रहर र जिम्मेवारीबोध भएका जिज्ञासु लाकोजू यी र यस्ता चुनौतीसँग जुधेर अघि बढिरहेका क्रियाशील प्रतिभा हुन् । उनले पत्रिका प्रकाशन गर्ने रहर मात्र पूरा गरेका छैनन् बरु एक जना कुशल सम्पादकले निर्वाह गर्नुपर्ने जेष्ठ स्रष्टाहरुको योगदानको महत्त्व बुझेर कदर गरेको पाइन्छ । विशुद्ध वाङ्मयसेवी सम्पादक लाकोजू अभि सुवेदी, गोविन्दराज भट्टराई, मोहन दुवाल, कुमार कोइरालाजस्ता अग्रजसमेत अनुज पुस्ताका समालोचकहरुबाट समालोचना गराएर विशेषाङ्क प्रकाशित गर्नु आफैमा महत्त्वपूर्ण काम गरेर फरक देखिएका छन् । यस नियमित अङ्कभन्दा भिन्न स्वरुप र सामग्रीका साथ आएको विशेषाङ्कले आदरणीय तेजेश्वरबाबु ग्वंगको निरन्तर नेपाली साहित्य, नेपाल भाषाको साहित्य र अङ्ग्रेजी भाषा साहित्यको माध्यमबाट सामाजिक चेतना विस्तार हेतु गरिरहेको सिर्जनात्मक साधनाले नवपुस्तामा उत्प्रेरणा जगाइरहेको ऐतिहासिक तथ्य पेस गर्दछ ।
भैरव अर्यालले लेखेका छन्–‘जो अगुवा उही बाटो हगुवा’ आजका हाम्रा मान्छेको चरित्र यस्तै देखिन्छ । देशको माटो प्रकृति, जनजीवनलाई न्यायिक निकास पहिल्याइदिनु आवश्यक हुन्छ । पदमा पुगेका अगुवाले भित्र्याएको बेथिति विसङ्गतिबाट पाठकहरु जोगाएर उज्यालोतिर डो¥याउने उद्देश्य पत्रिकाको रहन्छ । यस्ता पत्रपत्रिका वर्तमान समयले पछ्याइरहेको विश्वव्यापी साहित्यिक मान्यताको पहिचान दिने स्रोत पनि हुन् । विधाहरुको परिचय दिनु, लेखक जन्माउनु, समाजसापेक्ष विषयवस्तुको खोजी र सामाजिक सांस्कृतिक सचेतना विस्तार गरिरहेको हुन्छ । समाजलाई सिर्जनात्मक सिप सिकाई कर्मक्षेत्रको उद्देश्य र कार्यविधिमा मिसाएर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ । यिनै विधि–व्यवहारअनुकूल बनाई सामाजिक सांस्कृतिक जीवनमा मानवीय मूल्य जतन हुने सन्देश सम्प्रेषण गरिरहेको हुन्छ । सम्पादक सूर्यप्रसाद लाकोजूले सम्पादन/प्रकाशन गर्दै आएको अक्षरमार्ग त्रैमासिक यस्तै उद्देश्यबाट प्रभावित र प्रेरित रहेको देखिन्छ ।