अक्षरमार्ग

यस अमूल्य योगदानको निमित्त म उहाँको प्रशंसा गर्दछु

डा. गोविन्दराज भट्टराई
सुकर्मटोल, कीर्तिपुर
सम्पर्क: ९८५१०८१८४४

म तिरुक्कुरलबारे सामान्यजा जानकारी राख्ने व्यक्ति हुँ । सन् २०१० को मे महीनामा मलाई चेन्नाईस्थित इन्स्टिच्युट अव् क्लासिकल तामिलबाट प्रोफेशर के रामासामीबाट प्रेषित एक पत्र प्राप्त भयो । जसको विवरण अनुसार भारतको मैसूरस्थित भारतीयभाषा संस्थानमा कार्यरत अनुवादक बहिनी सुनिता दाहालले अङ्ग्रेजीबाट नेपालीमा अनुुवाद गरेको तिरुक्कुरलको मूल्याङ्कन गरी पठाइदिनु होला भन्ने थियो । पारिश्रमिकयुक्त उक्त कर्मलाई मैले ध्यानपूर्वक छ महीना लगाएर सम्पादन गरी फिर्ता पठाएँ । यस सारा परियोजनाको संयोजन मेरा छिमेकी मित्र/भाइ त्रिवि भाषाविज्ञान विभागका उप–प्राध्यापक श्री लेखनाथ पाठकले गरेका थिए । त्यो प्रकाशित भएको खबर आएको छैन, भएको हुनसक्छ ।
त्यसको केही वर्ष व्यतीत हुनासाथ थाहा भयो श्री तीर्थराज वन्तज्यूले यस अमूल्य ग्रन्थको नेपाली अनुवाद गरिसक्नु भएको रहेछ । उहाँबाटै सो कृति उपहार प्राप्त गरेर पढ्दा मेरो मनमा ठूलो आनन्द भरियो ।
एउटा भिन्न (द्रविडेली) भाषा परिवारको अत्यन्त दूरभूमिबाट आएको सुदूर अतीतमा रचित यस ग्रन्थका मर्मज्ञ नेपालमा पनि रहेछन् भन्ने कुरा थाहा पाउँदा धेरै खुसी थपियो । जोसे सारामागोले अनुवादकलाई “विश्वसाहित्यक ापूूल निर्माता”भनेको अकारण होइन रहेछ । अनुवादको लामो साँघु थापेर तामिलबाट अंग्रेजी फड्किँदै नेपालीमा आइपुगेको काव्य तिरुक्कुरल (२०६८) पढेर मेरो मनमा ठूलो आनन्द छचल्कियो । सन्त ऋषि तिरुबल्लुवरको गुणानुवाद गाउने श्रीवन्त सेवा प्रतिष्ठान जस्तो एक अनुष्ठान पनि नेपालमा स्थापित भइसकेको रहेछ । यसको प्रकाशनबाट थाहा लाग्यो ।
तामिलभाषी सन्त कवि तिरुवल्लुवरको ई.पू. ५०० तिरको यस कृतिले ल्याएको सन्देश अमूल्य छ । यो नीति, आचारशास्त्र, ब्रम्हाण्डविज्ञान, समाज, राजनीति, प्रेम जस्ता धर्मार्थ काममोक्ष अन्तर्गत पर्ने विविधविषयमा रचित १३३० श्लोकको एक अद्भुतकाव्यग्रन्थ हो । यसको तामिलबाट अङ्ग्रेजीमा अनुवादभएको १८० वर्ष पश्चात् नेपाली भाषाको पालो आएछ । विश्वका स्थापित भाषाहरुमा अनुवाद भइसकेको यस कृतिलाई नेपालीमा ल्याउने प्रथम विद्वान श्री तीर्थराज वन्तज्यूको दूरदर्शी चेतनाको म पुनःप्रशंसा गर्दछु ।
तिरुक्कुरललाई “तामिल वेद” पनि भनिएको छ । यो आर्यावर्तीय चेतनाले ओतप्रोत छ । यसको मूल सिद्धान्त छ अहिंसा ।
मेरो मनमा अपार प्रसन्नता ल्याउने दोस्रो कारण के छ भने यो कार्य एक अत्यन्तै योग्य र मर्मज अनुवादकको हातबाट सम्पन्न भएको छ । एक स्थापित नेपाली विद्वान्, स्रष्टा, कुशल अनुवादक उनै तीर्थराज वन्तलाई यसको श्रेय छ ।
मैले साहित्यमा कलम नचलाउँदै तुफूका केहीकविता (वि.स. २०२८) अनुवाद गरी नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित गराउने वन्तज्यू साँच्चै नै एक काव्यमर्मज्ञ हुनुहुन्छ । प्रज्ञा–प्रतिष्ठानले हालै उक्त संग्रहको दोस्रो संस्करण प्रकाशित गरेको छ । यसरी उहाँले एक चिनिया भाषाका महात्मा र प्रथम कवि लि पोका समकालीन तु पूmलाई नेपालीमा चिनाउनु भयो । उनकै झण्डै समकालीन सुदूर दक्षिणका द्रविडभाषी सन्त कवि तिरुबल्लुवरलाई पनि । यस्ता महान् मूल्यका महान् ग्रन्थलाई नेपालीमा ल्याउने तीर्थराजज्यूको योगदान अमूल्य छ ।
तिरुक्कुरल निश्चित संरचनामा लिखित श्लोकबद्ध रचना हो । यहाँ गद्यरुपको अनुवादमा छ । अत्यन्तै सुन्दर, अत्यन्तै पठनीय, हाम्रा सम्पूर्ण साहित्य प्रेमीका हातमा यो कृति पुगोस् किनकि पठनको विस्तार नभै ज्ञान र चेतनाको विस्तार हुनेछैन । विश्वका महान् कर्महरु हाम्रो आफ्नै सांस्कृतिक आँगनमा आउनु सानो कुरा होइन ।
तीर्थसरको अनुवादको अमूल्य योगदानता कानूनी÷कुटनैतिक क्षेत्र हो । तर सफल व्यक्ति सबैतिर पुग्दछ । अमूल्य साहित्यलाई पनि उहाँले अवलम्बन गर्नु भएको छ । त्यसमाथि उहाँका सिर्जना पनि प्रकाशित देखेर खुशी लागेको छ । एक सक्षम एवम् सफल अनुवादकको रुपमा प्रतिष्ठानको अनुवाद परिचय कोशमा स्थापित भइसकेका वन्तज्यूलाई मेरो हार्दिक बधाई छ ।
यस्ता तीर्थराज वन्तलाई यस कृतिको पुनःप्रकाशनको शुभ मुुहूर्तमा अनेक हर्ष र हार्दिक शुभकामना व्यक्तगर्दै आज यहीँ रोकिन्छु । यो कृति अनेकौं नेपाली स्रष्टाको हातमा पुग्न नै छ ।