अक्षरमार्ग

“जोरपैयुँ” माथि एक दृष्टि

लिलाराज दाहाल

बि. सं. १९९९ श्रावण १९ गते महोत्तरी जिल्लाको अौरहीमा जन्मेका मनु ब्राजाकी नेपाली साहित्यका एक धरोहर हुन् ! अन्य विधामा हात हाले पनि उनको मुल लगाव र लेखनको क्षेत्र भनेको कथा र गजल नै हो !
अवमूल्यन, आकाशको फल, तिम्री स्वास्नी र म, भविष्य यात्रा, पारदर्शी मान्छे, अन्नपूर्णाको भोज, मनु ब्राजाकीका छोटा कथाहरु तथा जनजीवनका जीवनगाथा जस्ता कथा सङ्ग्रहहरुले उनलाई नेपाली कथाको क्षेत्रमा एउटा सशक्त कथाकारका रुपमा उभ्याउन सफल भएका छन् !
उनलेे कथामा तराईको ग्रामीण परिवेशलाई जस्ताको तस्तै उतारेका छन् ! आञ्चलिकता मनुका कथाहरुको मुल बिशेषता हो ! उनलेे कथा मार्फत गाउँका कथा, व्यथा, विकृति र बिसङ्गतिको उजागर गरेका छन् ! उनका शव्द चयन र वाक्य विन्यास चमत्कारिक छन् ! उनको कथा आरम्भ गर्ने शैली र समापन गर्ने शैली पनि अद्भुत रहेको पाइन्छ ! उनका शुरुआत र मध्य समयका कथाहरूमा गाउँले परिवेश र उत्तरवर्ती कथाहरुमा शहरिया परिवेश रहेको पाइन्छ !
मनु ब्राजाकीको कथा ” जोरपैयुँ ” सर्वप्रथम साझा प्रकाशनको सहप्रकाशन ” गरिमा ” मासिकको पूर्णाङ्क १८२, माघ २०५४ मा प्रकाशन भएको पाइन्छ ! गरिमामा प्रकाशन हुनासाथ यस कथाले पाठकलाई मात्रै छोएको थिएन, बौद्धिक बर्गको समेत मथिङ्गल हल्लाएको त्यतिबेलै चर्चा हुने गरेको थियोे ! जातीय व्यवस्थालाई गहिरो र सुक्ष्म रुपमा केलाएको यस कथाले पाठक बर्गमा बेग्लै खालको छाप छोड्नु स्वभाविक पनि थियोे !  यस कथालाई ” पारदर्शी मान्छे  ” कथा सङ्ग्रहभित्र सङ्ग्रहित गरिएको छ ! पछि आएर यो कथा ” जनजीवनका जीवनगाथा ” भित्र पनि समावेश गरिएको छ !
“जनजीवनका जीवनगाथा ” भित्र समेटिएका ३६ वटा कथाहरु मध्ये जोरपैयुँ पनि एक हो ! कथा सम्वादात्मक रुपमा शुरु भएको छ र प्रथम वाक्यबाट नै पाठकमा कुतुहलता सिर्जना गर्न सफल भएको छ !
” ल, पण्डितज्यू पनि आइपुग्नुभो ! ” कथाको प्रथम वाक्यमा नै  पाठकले रहस्य, आश्चर्य र खुसी अभिव्यक्त भएको पाउँछन् ! उपाध्याय देवराम शास्त्रीको आगमनको प्रतिक्षा गरिरहेका हरिनारायण बाजेको ओठबाट निस्केको यस वाक्यले कथालाई गति दिएको छ ! अनि पाठकलाई कथा पढ्न अझै जाँगर उत्पन्न गराउँछ ! यस कथालाई मोटामोटी निम्न रुपमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ :-
१) पात्र र चरित्र
यस कथामा जम्माजम्मी पाँच पात्र छन् मुख्यरुपमा ! पुरोहित हरिनारायण, निजकी छोरी नीलम, हरिनारायणका दुई श्रीमती र पण्डित देवीराम शास्त्री ! यी पाँच मध्ये पनि तीन जना पात्रहरु सक्रीय छन् भने दुईवटी पात्रहरु निस्क्रिय रुपमा रहेका छन् ! यिनै पात्रहरुको भुमिका, चरित्र र क्रियाकलापबाट कथाकारले नयाँ सन्देश दिन खोजेका छन् ! हरिनारायण बाजे वरिपरि सबैका पुज्यनीय छन् ! उनी गाउँलेहरुद्वारा पुजिएका पुरोहित शिरोमणि हुन् ! कथामा उनको चरित्र सद्विवेकी र गुणग्राही छ !  देवीराम शास्त्री शिक्षक हुन् ! उनी बनारसमा संस्कृत अध्ययन गरेका श्याम वर्णका सुदर्शन छन् ! संस्कृत अध्ययन गरेको भएपनि युवक भएकाले पहिरनमा आधुनिक छन् ! स्वाभिमानी छन् र छन् नियमव्रती पनि ! नीलम पच्चीस बर्षीया कुशाग्र बुद्धिकी युवती हुन् ! बाबु आमाकी एक्ली छोरी भएकीले आमाहरुकी जीवनाधार र बाबुकी हियार बनेकी नीलमका माध्यमबाट कथाकारले जातीय विभेदलाई अन्त्य गर्ने प्रयास गरेका छन् ! हरिनारायण बाजेका दुईवटा श्रीमतीलाई कथाकारले ग्रामीण गृहस्थ महिलाका रुपमा उभ्याएका छन् !  
२) परिवेश
कथाको परिवेश ग्रामीण ईलाकाको गाउँघरमा सिर्जित छ ! पुरोहित पेशाकर्मी हरिनारायण बाजेको घर, विद्यालय र वरिपरिका बाटोघाटोको परिवेशमा कथानक घुमेको छ !
३) कथानक
यस कथाको कथानक सुरुचीपूर्ण रहेको छ ! कथाको माध्यमबाट कथाकारले जातीय समस्यालाई अौंल्याउन खोजेका छन् ! कथामा पुरोहित हरिनारायण बाजे छन् ! उनकी दुईवटी श्रीमती र कान्छी दिवङ्गत श्रीमतीका तर्फबाट जन्मेकी छोरी नीलम छिन् ! नीलमको उमेर २५ बर्ष हुँदासम्म उनको विवाह भएको छैन ! अध्ययन टुटेर घरमै रहेकी छोरीका लागि हरिनारायण बाजेलाई घरज्वाईं बस्ने उपयुक्त ब्राह्मण वर चाहिएको छ तर पाएका छैनन् ! वनारसमा पढेका सुशील शिक्षक उपाध्याय देवीराम शास्त्रीको आगमनले हरिनारायण बाजे हर्षित हुन्छन् र मनमनै उनलाई आफुले खोजिरहेको वरका रुपमा कल्पना गर्न थाल्छन् ! पण्डित देवीराम र छोरी नीलमको मनोभावना बुझ्नका लागि छोरीलाई देवीरामकोमा पढ्न पठाउँछन् ! तीस एकतीस बर्षीय पुरुष र पच्चीस बर्षीया जवान युवतीको सामिप्यताले उनीहरूमा दैहिक आकर्षण र मनमा प्रेमको बीज अङ्कुरण हुन थाल्छ र यस सामिप्यताले उनीहरू बीच चुम्बन आदानप्रदान सम्मको घटना घट्न पुग्दछ ! हरिनारायण बाजे र नीलमको मनोभावना बुझ्दै गएपछि देवीराममा भित्रैदेखि छट्पटी शुरु हुन्छ ! बनारसमा संस्कृत पढेको, नाम उपाध्याय देवीराम शास्त्री धारण गरेको, कसैले छोएको नखाने, स्वयंपाकी नियमब्रती भएको कारण सबैले देवीरामलाई ब्राह्मण ठानेको र बास्तवमा आफू दलित भएको कारण हरिनारायण बाजेलाई धोका दिन नसक्ने भनेर विद्यालयबाट सरुवा लिएर जाने उपक्रममा लागेको शिक्षक देवीरामले नीलम समक्ष सबै वास्तविक कुरा खुलस्त भनेपछि देवीरामको दलित जातिको उत्थानको अभियानमा नीलमले तरबार बनेर साथ दिन तयार भएको घटनाक्रमका वरिपरि आएर कथानकको अन्त्य भएकाले यस कथाको कथानक, कथा बुनौट शैली मीठो र रोचक रहेको छ !
४)बौद्धिकता
यस कथामा देवीराम र नीलमको सवाल जवाफबाट कथाकारले प्रशस्त मात्रामा धर्म र जातका सम्वन्धमा बौद्धिकता अभिव्यक्त गरेका छन् !
कथाकार ब्राजाकी आफ्नो पात्र देवीरामलाई भन्न लगाउँछन्,” म उपाध्याय हुँ ! उपाध्याय हुँ अर्थात शिक्षक हुँ ! पहिले पहिले शिक्षा दान गर्ने अधिकार र कर्तव्य ब्राह्मणहरुमै निहित थियोे र उनीहरू उपाध्याय कहिन्थे, तर अहिले म पनि शिक्षक हुँ र उपाध्याय हुँ ! अशिक्षित र शिक्षित भए पनि शिक्षादानको कर्तव्य नगर्ने ब्राह्मणहरु उपाध्याय होइनन् ! “
त्यस्तै कथाकार अर्को ठाउँमा देवीरामलाई नै भन्न लगाउँछन् ,” हिन्दुबाट कुनै धर्मको वोध हुँदैन बरु एउटा विशाल र व्यापक संस्कृतिको वोध अवश्य हुन्छ ! धर्म अन्तर्गत संस्कृति होइन कि संस्कृति अन्तर्गत धर्म पनि पर्दछ ! “
यति मात्रै भन्न लगाएर चित्त बुझ्दैन कथाकार ब्राजाकीलाई ! उनी देवीरामलाई अझै बढी बोल्न लगाउँछन् ,” आज हाम्रो समाजका पछौटे र दलितहरुलाई नयाँ धर्मको होइन नयाँ समाजको आवश्यकता छ ! उसै पनि धर्म परिवर्तनले वर्ग परिवर्तन हुँदैन !”
यसरी कथाकारले कथामा पात्रहरु मार्फत धर्म, संस्कृति, जात र वर्णका सम्वन्धमा प्रशस्त बौद्धिकता पस्केका छन् !
५ ) विम्व, प्रतीक र अलङ्कारको प्रयोग
मनु ब्राजाकीका कथाहरु प्रतीकात्मक हुन्छन् ! “जोरपैयुँ ” कथाको जोरपैयुँ नै शुन्दर प्रतीकका रुपमा प्रयोग भएको छ ! पैयुँहरुको जोडीसँग कथाकारले देवीराम र नीलमलाई तुलना गरेका छन् ! हरिराम बाजेको घर छेउका जोरपैयुँ स्थिररुपमा सँगसँगै रहे झैं हरिनारायण बाजेले छोरीका जोडीलाई सधैंभरि आफूसँगै राख्न चाहन्छन् ! हरिनारायण बाजेका श्रीमतीले उपाध्याय देवीराम शास्त्रीको स्वागतका लागि ल्याएको फल केराको हातोबाट देवीरामले दुई कोसा केरा भाँचेर लिनुले उनको नीलम प्रतिको सुसुप्त प्रेमको संकेत गर्न पुगेको छ ! यी तलका वाक्यांशले पनि कति धेरै काव्यात्मक अर्थ बोकेका छन् !
      ” उनी कुनै हिंस्रक जन्तुद्वारा घिसारिएको सिनोझैं घिसारिँदै अघि बढे !”
      ” आफ्नै खाटको एउटा छेउमा नौलो मान्छेझैं टुसुक्क बसे ! “
      ” वेगवान् उर्लिँदो खोला झैं म कुन्नि कतातिर जाँदै थिएँ ! तर यस घुम्तीको कुइनेटोमा तिमी दहझैं फेला पर्यौ ! “
यस्ता काव्यात्मक सुवास बोकेका पङ्क्तिहरुले कथालाई स्तरीय, पठनीय र रोचक बनाएका छन् ! कथा बौद्धिक छ ! वर्ण व्यवस्थालाई मीठो रुपमा अभिव्यक्त गरेको छ ! कथा दोहोर्‍याए तेहेर्याएर पढ्दा पनि उत्तिकै सुरुचिपूर्ण छ ! मनु ब्राजाकीद्वारा लेखिएका कथाहरु मध्ये ” जोरपैयुँ ” को बेग्लै स्थान छ ! कथा आफ्नो उद्येश्यमा सफल पनि छ ! सशक्त कथाहरुको सूचिमा जोरपैयुँलाई पनि अग्रस्थानमा राख्न सकिन्छ !

                                          वागमती ११, कर्मैया, सर्लाही