अक्षरमार्ग

अन्तर्वार्ता – गायत्री श्रेष्ठ, साहित्यकार

जीवनलाई गतिलोसँग बुझ्न एकपल्ट मृत्युलाई नजिकबाट अनुभव गर्नुपर्ने रहेछ !

चितवनमा बसेर नेपाली साहित्यको सेवा गरिहनुभएको छ गायत्री श्रेष्ठले । त्यसो त उहाँको जन्म पूर्वी नेपालको सुन्दर नगरी इलाममा भएको हो । उहाँ वि.सं. २००७ साल भदौ २६ गते पिता ।मानबहादुर श्रेष्ठ र माता हरिकुमारी श्रेष्ठका कोखबाट जन्मनुभएको हो । उहाँ एक दिदी र तीन दाजुकी कान्छी बहिनी भएकाले पनि बडो प्यारका साथ हुर्कनुभयो । उहाँको परिवार अनुशासनका मामलामा निकै कट्टर भएकाले कन्या स्कुलबाट शिक्षा हासिल गर्नुभयो । उहाँले सहशिक्षाको अनुभव एम्.ए. पढ्दा मात्र गर्न पाउनुभयो । उहाँले एम्.ए., बी.एड्. सम्मको औपचारिक शिक्षा पूरा गर्नुभएको छ । उहाँ त्रिभुवन विश्वविद्यालयको सेवा निवृत्त सहप्राध्यापक हुनुहुन्छ भने बालकुमारी कलेज नारायणगढको पूर्व भाइस प्रिन्सिपल पनि हुनुहुन्छ । हाल उहाँ भरतपुर महानगरपालिक वडा नं. २, क्षेत्रपुरस्थित निजी निवासमा परिवारका साथमा सेवा निवृत्त जीवन बिताउँदै हुनुुहुन्छ । साहित्य सिर्जनाका अतिरिक्त उहाँले चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरको अध्यक्षको भूमिका पनि निर्वाह गरिसक्नुभएको छ । उहाँ हाल ती संस्थाको सल्लाहकार हुनुहुन्छ ।
गायत्री श्रेष्ठ
जातले नेवार भएर नेपाली साहित्यमा उच्च शिक्षा हासिल गर्नुभएकी गायत्री श्रेष्ठले नेपाली साहित्यका समालोचना, कथा, कविता, गीत, यात्रा संस्मरणजस्ता विविध विधाका साहित्यिक रचनाका अतिरिक्त शैक्षिक तथा सांस्कृतिक लेखहरुमा कलम चलिरहेको छ । उहाँका हालसम्म ‘कथाकार देवकुमारी थापाको व्यक्तित्व र कृति विश्लेषण’, ‘साहित्यमा नारायणी अञ्चलका नारी हस्ताक्षर’ तथा ‘केही कृति आफ्नै दृष्टि’ नामका तीनवटा समालोचनात्मक कृति, ‘बादलुको घुम्टोभित्र’ र ‘आफ्नै मनको सागरमा’ जस्ता दुईवटा गीतसङ्ग्रह र ‘सिगलको उडान र समुद्रको स्पर्श’ नामक एउटा नियात्रासङ्ग्रह प्रकाशित भइसकेका छन् ।
साहित्यको सेवा गरेवापत उहाँले दोभान साहित्य सम्मान, २०५९, नारायणी वाङ्मय पुरस्कार, २०६३, केवलपुरे जनमत सम्मान, २०६४, अभिव्यञ्जना साहित्य सम्मान, २०६७, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विशेष सम्मान, २०७१ लगायतका विभिन्न पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ । लेखनका अतिरिक्त भ्रमणमा रुचि राख्नुहुने उहाँले नेपाल र भारतबाहेक विश्वका एक दर्जनभन्दा बढी देशको भ्रमण गरिसक्नुभभएको छ । ती भ्रमणले उहाँको सिर्जनामा सहयोग पुगेको देखिन्छ । उहाँसँग हालै उहाँकै निवासमा पुगेर विशेषतः उहाँको सिर्जना र समालोचनाको वरिपरि रही उहाँसँग साहित्यकार तथा अक्षर समूह, चितवनका वर्तमान अध्यक्ष रमेश प्रभातले ‘अक्षरमार्ग’का लागि भनेर छोटो कुराकानी गर्नुभएको छ । प्रस्तुत छ उक्त वार्ताको सारसङ्क्षेप ः
रमेश प्रभात ः गायत्री म्याडम नमस्कार, आराम हुनुहुन्छ नि ?
गायत्री श्रेष्ठ ः नमस्कार रमेश भाइ, आरामै छु भन्नुप¥यो ।
रमेश प्रभात
रमेश प्रभात ः अनि हजुरको दिनचर्या के कसरी बितिरहेको छ त ?
गायत्री श्रेष्ठ ः अलिअलि पढ्छु, आँखाका कारण धेरै पढ्न सक्तिनँ । अलिअलि लेख्छु, धेरै लेख्न पनि गाह्रो छ । फाट्टफुट्ट कार्यक्रममा पनि पुग्छु, त्यति धेरै बेर बस्न सक्तिनँ । हो रमेशजी, म साहित्यबाट विमुख भने पक्कै छैन ।
रमेश प्रभात ः यहाँको बाल्यकालका बारेमा केही बताइदिनुुस् न ।
गायत्री श्रेष्ठ ः मेरो बाल्यकालका त्यस्ता स्मरणयोग्य कुराहरु त खासै केही पनि छैन । हो, म इलामा जन्एिकी । मेरो बाल्यकाल इलाममै बित्यो । मेरो घरको अनुशासन निकै कडा थियो । त्यो अनुशासनमा कतै बाहिर निस्कने छुट थिएन मलाई । त्यो पनि निकै पुरानो समयको परेँ । तर पछि केही जबर्जस्ती गरेर निस्कन थालेँ । त्यतिबेला म गायनक्षेत्रमा चाहिँ निकै हिँडेँ । बरु साँझमा पिटाइ खान तयार हुन्थेँ, तर कार्यक्रमचाहिँ छुटाउन्नथेँ । यस्तो अलिक जिद्दी स्वभाव थियो मेरो ।
रमेश प्रभात ः बाल्यकालमा बसेको गायनको लतले यहाँको साहित्यमा केही प्रभाव पारेको छ जस्तो लाग्छ यहाँलाई ?
गायत्री श्रेष्ठ ः सायद गायन र साहित्यको एक अर्कामा मेल खाएर पनि होला । त्यसको प्रभाव मेरो साहित्यमा पूर्ण रुपमा नभए पनि अलिअलि चाहिँ पक्कै परेको छ भन्ने लाग्छ मलाई ।
रमेश प्रभात ः अनि हजुरको त्यो गायनचाहिँ विद्यालय जीवनपछि रोकिएकै हो र ? हामी पछिल्लो पुस्ताले त सुन्न पाइएन नि ?
गायत्री श्रेष्ठ ः वि.सं. २०३० सालमा मेरो विवाह भएर चितवन आएपछि पनि मैले निकै समय गाएँ । नारायणी कला मन्दिरका विभिन्न कार्यक्रमहरुमा गायनमा भाग लिएँ । विभिन्न कलेजहरुका कार्यक्रममा पनि पाश्र्वगायकका रुपमा निकै गाएँ । त्यतिबेला अरुहरु स्टेजमा नाच्थे भने म पर्दापछाडि बसेर गीत गाउँथेँ । कहिलेकाहिँ स्टेजमा गएर पनि गाउँथेँ । तर पछिपछि चाहिँ मलाई क्रोनिक खालको खोकी लाग्न थाल्यो, जसले मेरो गायनतर्फको रुचिलाई त्याग्न बाध्य पा¥यो । यही खोकीका कारण अहिले म गाउन सक्तिनँ । त्यतिबेला त्यस्तो गायिका भएर चाहिँ होइन, आफ्नो सोखको लागि गाएकी हुँ मैले ।
रमेश प्रभात ः यहाँले गाएका ती गीतहरु रेकर्डमा पनि केही छन् कि ?
गायत्री श्रेष्ठ ः अहँ, छैन । पहिला पहिला त्यस्तो रेकर्ड गर्ने अवसर नै कहाँ थियो र ! गाउनेले गायो, सुन्नेले सुन्यो । कुरा खत्तम । गाउनु त्यतिबेला सोख बाहेक केही थिएन । अहिलेको जस्तो गायनलाई पेसा नै बनाउने अवसर त्यतिबेला कहाँ पाउनु ?
रमेश प्रभात ः अलिक प्रसङ्ग फेरौँ । यहाँ नेवार परिवारमा जन्मिएर नेवार परिवारमै विवाह गर्नुभएको महिला हुनुहुन्छ । साहित्यमा चाहिँ कसरी प्रवेश गर्नुभयो ?
गायत्री श्रेष्ठ ः यो कुरा सोच्दा चाहिँ म आफैँलाई पनि अचम्म लाग्छ । हो, म नेवार परिवारमा जन्मिएकी हुँ । त्यति मात्र होइन, मेरो परिवारमा कसैलाई पनि साहित्यतर्फ रुचि छैन । साँच्चै भन्दा कसैलाई साहित्यको ‘स’ पनि आउँदैन भन्दा हुन्छ । तर खै म चाहिँ कसरी साहित्यमा आएँ ? हुन त म विद्यालय तहमा कहिलेकाहीँ कविता लेख्थेँ, कथा लेख्थेँ । तर त्यतिबेलाको वातावरण साहित्यका लागि उपयुक्त भने थिएन । मैले सुरुमा लेखेको त कथा नै थियो, तर एउटा मात्र कथा लेखेँ । त्यसपछि मेरो कथालेखन रोकियो । त्यतिबेला हाम्रा गुरुहरुबाट प्रेरणा पाइन्नथ्यो । पढाइबाहेक अन्त लाग्नेलाई राम्रो मानिन्नथ्यो । खालि “पढ्, पढ्” मात्र भनिन्थ्यो ।
विशेष गरी म साहित्यउन्मुख भएको चाहिँ वि.सं. २०३५ सालमा जब म पद्मकन्या कलेजमा पढाउन गएँ, त्यसपछि मात्र हो । त्यतिबेला म त्यहाँ पढाउन जाँदा त्यहाँको माहोल देखेँ, त्यसले मलाई साहित्यतर्फ आकर्षित गरायो । सबैले लेखेको, ‘गोरखापत्र’मा छपाएको, किताब निकालेको, सेमिनारमा भाग लिन गएको देखेर म मोहित हुन्थेँ । मलाई पनि यस्तो लेख्न आए हुन्थ्यो नि भन्ने लाग्थ्यो । आफूले केही नजानेको देखेर भित्रभित्र खिन्न हुन्थेँ । यस्तैमा स्वर्गीय देवी शर्मा दिदीसँग सङ्गत भयोे, जो त्यतिबेला पद्मकन्यामा पढाउनुहुन्थ्यो । मैले उहाँसँग भनेँ, ‘दिज्यू, हजुरहरुलाई यस्तो लेख्न कसरी आउँछ ? मलाई पनि सिकाइदिनुस् न ।’ उहाँले ‘तँलाई के सिकाइराख्नुपर्छ, तैँले लेख्न जानिहालेकी छेस् नि ! लेखेर ल्या न अनि म हेरिदिउँला !’ भन्नुभयो । ‘लेख्न जानेको भए हजुरलाई कहाँ सोध्थेँ र ?’ भनेँ । त्यसपछि उहाँले मलाई महाकवि देवकोटाको ‘म्हेन्दु’ खण्डकाव्यका बारेमा लेखेर ल्याउन भन्नुभयो । मैले पनि आफूले जानेको लेखेर दिदीलाई लगेर देखाएँ । उहाँले त्यो हस्तलिखित सामग्री लिनुभयो । त्यसको केही समयपछि त त्यसलाई ‘गोरखापत्र’को शनिबासरीयमा छपाइदिनुभएछ । एकैचोटि पत्रिकामा छापिएर आउँदा त म छक्कै परेँ ।
रमेश प्रभात ः भनेपछि यहाँको प्रकाशनयात्रा त समालोचनाबाट पो भएको रहेछ । होइन त ?
गायत्री श्रेष्ठ ः हो, आफूलाई थाहै नभई छापिएर आएको थियो त्यो समीक्षा । त्यो पनि पद्मकन्या कलेजको माहोलका कारण । त्यसमा पनि देवी शर्मा दिज्यूका सदाशयताका कारण त्यो सम्भव भएको थियो ।
रमेश प्रभात ः यहाँ पद्मकन्या कलेज जानुअघि स्नातकोत्तर गरिसक्नुभएको थियो हैन र ?
गायत्री श्रेष्ठ ः हो, मैले कीर्तिपुरबाट नेपालीमा मास्टर्स सकेपछि मात्र पढाउनका लागि भनेर पद्मकन्या कलेज गएकी हुँ ।
रमेश प्रभात ः कीर्तिपुर पढ्दा यहाँलाई साहित्यतर्फ रुचि जागेन ?
गायत्री श्रेष्ठ ः अहँ, त्यतिबेला साहित्य होइन, नाटकतर्फ चाहिँ रुचि जागेको थियो । कीर्तिपुर पढ्दा म नाटक खेल्थेँ, गीत गाउँथेँ । तर साहित्यचाहिँ लेख्थिनँ । त्यतिबेला कहिलेकाहीँ युनिभर्सिटीमा कार्यक्रम हुँदा बालकृष्ण सम, हरिभक्त कटुवाललाई बोलाएको याद छ । उनीहरुका रचना ध्यानपूर्वक सुनेको हुँ । तर साहित्य यसरी लेखिनुपर्छ भनेर मलाई कसैले बताएन । यहाँसम्म कि बासुदेव त्रिपाठी गुरुले समेत सिकाउनु भएन । म उहाँले पढाएको मन्त्रमुग्ध भएर सुन्ने मात्र होइन, मन्त्रमुग्ध भएर कापीमा टिप्थेँ । बस् त्योबाहेक केही जानिएन ।
रमेश प्रभात ः त्यसो भए डिग्रीको पढाइ केवल नोट सार्नमै बित्यो हैन त ?
गायत्री श्रेष्ठ ः हो रमेश भाइ, त्यतिबेला पढ्ने र पास गर्नेभन्दा अरु केही सिकिएन । साहित्य सिर्जनाका बारेमा त केही पनि जानिएन । अहिलेजस्तो सिर्जनात्मक लेखनको कुरा त्यतिबेला हुँदैनथ्यो ।
रमेश प्रभात ः पद्मकन्या कलेजमा कति समय बस्नुभयो ?
गायत्री श्रेष्ठ ः जम्मा तीन वर्ष । वि.सं. २०३८ मा स्थायी भएपछि म वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरमा आएकी थिएँ । त्यसपछि पूरा अवधि यहीँ सेवा गरेँ ।
रमेश प्रभात ः यहाँको साहित्यमा आगमन नै समालोचनाबाट भएको रहेछ । यहाँले सिर्जना पनि गर्नुभएको छ । समालोचक र सर्जकमा के भिन्नता पाउनुहुन्छ ?
गायत्री श्रेष्ठ ः कस्तो अचम्मको प्रश्न गर्नुभयो । वास्तवमा म समालोचकभन्दा सर्जकलाई ठूलो ठान्छु । किनभने यदि सर्जकले सिर्जना नै नगरे त्यो समालोचकले के समालोचना गर्छ ? अनि समालोचना गर्नु भनेको त सिर्जना पढेर आफ्नो ब्रम्हले देखेको कुरा लेख्ने न हो । अचेल आएर न विभिन्न वाद र सिद्धान्तलाई अँगालेर लेख्न थालिएको हो । तर म त त्यस्ता वादतिर लाग्ने खालको समालोचक परिनँ ।
रमेश प्रभात ः त्यसो भए यहाँको समालोचना प्रभावपरक समालोचना हो, हैन त ?
गायत्री श्रेष्ठ ः हो, त्यसो भन्दा हुन्छ । मैले कृति पढ्दा मलाई जस्तो प्रभाव प¥यो, त्यस्तै लेख्ने न हो । मेरो पहिलो किताब पनि समालोचनाकै निस्किएको थियो । वि.सं. २०४६ मा ‘कथाकार देवकुमारी थापाको व्यक्तित्व र कृति विश्लेषण’ नाममा त्यो कृति छापिएको थियो ।
रमेश प्रभात ः सिर्जनामा यहाँले गद्य र पद्य दुवैमा उत्तिकै कलम चलाउनुहुन्छ । नढाँटी भन्दा लेख्न सजिलोचाहिँ कुनमा लाग्छ ?
गायत्री श्रेष्ठ ः खासमा लेख्न सजिलोचाहिँ मलाई पद्यभन्दा गद्य लाग्छ । पद्यचाहिँ कवि एल्बी क्षेत्रीले भनेजस्तो म केबल कोर्ने गर्छु, राम्रो लेख्न सकेको छैन भन्ने लाग्छ मलाई । मलाई कविता र गीतभन्दा निबन्ध लेख्दा आनन्द आउँछ ।
रमेश प्रभात ः अनि हजुर नयाँचाहिँ के लेख्दै हुनुहुन्छ ?
गायत्री श्रेष्ठ ः यतिबेला म एउटा संस्मरणतिर लागिरहेको छु ।
रमेश प्रभात ः त्यो संस्मरणको सङ्ग्रहचाहिँ कहिले आउँछ ?
गायत्री श्रेष्ठ ः लेख्दै छु । हेरौँ कहिले लेखेर सक्छु । सकिएपछि अवश्य छपाइतिर लाग्छु । अनि यहाँहरुको हातमा पर्ला ।
रमेश प्रभात ः फेरि प्रसङ्ग बदल्छु म । यहाँले त मृत्युलाई नजिकबाट देख्नुभयो । अझ भनौँ मृत्युलाई पनि जितेर आउनुभयो । क्यान्सर हुनुअघि र क्यान्सर निर्मूल भएपछिका यहाँको चिन्तनमा खास त्यस्तो अन्तर के छ ?
गायत्री श्रेष्ठ ः म त फ्रि माइन्डेड खालको मान्छे । मलाई त्यस्तो फरक केही छ जस्तो लाग्दैन । मलाई क्यान्सर लाग्दाचाहिँ त्यस्तो केही लागेन, तर क्यान्सरको उपचारपछि भने मैले अरुहरुबाट जे सुनेँ, अरु बिरामीको अवस्था जो देखेँ, त्यसले भने म अचम्मित भएको छु । मलाई भेट्न आउनेहरुले मृत्युको मुखबाट फर्केर आउनुभएको भनेर भन्ने गरेको सुन्दा भने साँच्चै हो कि क्या हो जस्तो लागेको हो ।
क्यान्सर ठिक भएपछि त्यसका बारेमा केही लेख्नुपर्छ भनेर जगदीश घिमिरेका ‘अन्तर्मनको यात्रा’ पनि दोहो¥याएर पढेँ । त्यसपछि मैले एउटा लेख लेखेको थिएँ । त्यो लेख गोविन्दराज विनोदी गुरुलाई सुनाएकी थिएँ । उहाँले ‘यस्तो लेख केवल लेख्नका लागि लेख्नुभएको हो कि हामीलाई रुवाउन लेख्नुभएको हो ?’ भनेर सोध्नु भयो । उहाँको कुरा सुनेपछि मलाई भित्रै चसक्क भयो । यस्ता दुःख र पीडाका कुरा लेख्न नहुने रहेछ भन्ने ठानेँ । अनि मैले क्यान्सरसँग सम्बन्धित त्यो लेखनलाई चटक्कै रोकिदिएँ । तर जीवनलाई गतिलोसँग बुझ्न एकपल्ट मृत्युलाई नजिकबाट अनुभव गर्नुपर्ने रहेछ, त्यस्तो खालको घटनालाई भोग्नुपर्ने रहेछ ।
रमेश प्रभात ः त्यसो त त्यस्ता खालका घटनाबाट गुज्रिएर फेरि सहज जीवनमा फिर्ता पनि आउनु प¥यो नि हैन र ?
गायत्री श्रेष्ठ ः त्यो त पक्कै पनि हो । म आफूलाई भाग्यमानी ठान्छु । उपचारले मलाई ठिक बनायो । यहाँहरुको शुभकामना लाग्यो र म यो जीवनमा छु ।
रमेश प्रभात ः फेरि पनि यहाँको समालोचनाको क्षेत्रतिर लागौँ । यहाँले चितवनको साहित्यलाई नजिकबाट नियालिरहनुभएको छ । त्यसको बारेमा केही प्रकाश पारिदिनुहोस् न ।
गायत्री श्रेष्ठ ः यहाँले चितवनको साहित्यका बारेमा सोध्नुभयो । मैले अघि नै भनिसकेँ, म अलिक कम पढ्ने व्यक्ति हुँ । मैले पूरा पढेकी छैन । अलिअलि मात्रै पढेकी छु । यसका आधारमा भन्दा मलाई कस्तो लाग्छ भने चितवनको साहित्यमा अध्ययनको कमी छ । मजस्तो कम पढ्ने पाठकको कुरा बेग्लै हो, अलिक सक्षम खालका लेखकहरुले त प्रशस्त पढ्नुप¥यो नि । लेख्नु भनेको केवल मनको बह पोख्नु मात्र त होइन नि । अलिक अध्ययन गरेर लेखे पो गतिलो सिर्जना हुन्छ । फेरि मेरो आफ्नो बारेमा सोध्नुहोला, मेरो बाध्यता त कमजोरीका कारण अध्ययन गर्न सकिरहेको छैन ।
चितवनको विधागत कुरा गर्ने हो भने गद्यमा भन्दा पद्यमा धेरै गजलतिर जाने, कवितातिर जाने प्रचलन चितवनमा छ । दुईचार वटा लेखेपछि म गजलकार भएँ, म कवि भएँ, अझ भनौँ न वरिष्ठ नै भएँ भनेर ठान्ने प्रवृत्ति बढ्दो छ । यस्तो भावनाले लेखकलाई नाफाभन्दा बढी घाटा हुन्छ भन्ने मलाई लाग्छ ।
रमेश प्रभात ः नयाँ पुस्तामा यस्तो खालका भावना विकसित हुनु मेडियाको प्रभाव पो हो कि ?
गायत्री श्रेष्ठ ः हुन सक्छ । तर मलाई के लाग्छ भने एउटा पूर्ण गजलकार हुनु, एउटा पूर्ण कवि हुनु भनेको त धेरै मेहनतको कुरा हो । मेडियाले गरेको हल्लालाई लिएर हौसिने हो भने राम्रो लेखक बन्न कठिन छ । लेखन हल्का बन्ने सम्भावना हुन्छ ।
रमेश प्रभात ः हुन त यहाँको लेखनमा नारीवाद देख्दिनँ म । तर यहाँ एउटा समालोचक पनि भएको कारण चितवनको नारी साहित्य कस्तो देख्नुभएको छ ?
गायत्री श्रेष्ठ ः चितवनको नारी साहित्यलाई नियालेर हेर्ने हो भने गहकिलो नारी साहित्यकारहरु असाध्यै कम छ । त्यसमा पनि गद्य लेखन त निकै कमजोर छ भन्ने लाग्छ मलाई । पद्यका कविता, गजल र मुक्तकमा केही आशा गर्न सकिने स्थिति छ । तर त्यो पनि हल्काफुल्का नै लाग्छ ।
रमेश प्रभात ः त्यसो भए चितवनको गद्य लेखनमा महिलाको उपस्थिति कमजोरै छ त ?
गायत्री श्रेष्ठ ः त्यति निराशाजनक नै त होइन । शान्ति शर्माको कथालेखनमा निकै तागत देख्छु म । उसको लेखनमा अध्ययनको प्रभाव राम्रै देखिन्छ । ऊबाट निकै आश गर्न सकिन्छ । त्यस्तै सरला जोशीलाई औपचारिक शिक्षाले साथ नदिए पनि उसको लेखनमा उसको स्वअध्ययनको प्रभाव राम्रै देखिन्छ । कवितामा उसको कलम माझिएको देखिन्छ तर गद्यलेखनमा भने उसले निकै मेहनत गर्नुपर्ने देखिन्छ ।
रमेश प्रभात ः अनि चितवनका नारी स्रष्टाहरु हजुरसँग सरसल्लाह लिन आउँछन् कि आउन्नन् ?
गायत्री श्रेष्ठ ः अहँ, आउन्नन् । कार्यक्रममा भेट्दा कुरा हुन्छ, त्यत्ति हो । मेरो सम्पर्कमा किन आउन्नन् कुन्नि ? त्यसको बारेमा भने मलाई केही थाहा छैन । मलाई उनीहरुको रचना सुन्दा र पढ्दा चाहिँ उनीहरुले अध्यययनको दायरालाई अलिक बढाइदिए हुन्थ्यो लाग्छ ।
रमेश प्रभात ः समय र सटिक जवाफका लागि धन्यवाद म्याडम । यहाँको सुस्वास्थ्य र सिर्जनात्मक निरन्तरताको कामना गर्दछु ।
गायत्री श्रेष्ठ ः यहाँलाई पनि धन्यवाद रमेश भाइ, यहाँले मकहाँ आएर मेरो साहित्यिक कर्म र विचारका बारेमा प्रचार गरिदिनु भयो । मेरा विचारहरु मबाट लाखौँ पाठकहरुसम्म पु¥याइदिनु भयो । यहाँले मेरा लागि समय दिनुभयो । यहाँसँगै ‘अक्षरमार्ग’ पत्रिकालाई पनि धन्यवाद छ । अन्त्यमा, यहाँको पनि सिर्जनात्मक निरन्तरताको कामना गर्दछु । यहाँलाई पनि कृतिगत रुपमा छिट्टै पढ्न पाइयोस् ।