अक्षरमार्ग

कृति विवेचना

नारायण प्रसाद शर्मा फुयाल
दमक–१,झापा
हाल: कौशलटार, भक्तपुर

कुशल विशेषज्ञ एवम् उम्दा साहित्यिक स्रष्टा योगेन्द्र तिमिल्सिना ज्यूका चार उपन्यास, एक संयुक्त कथा संग्रह समेत चार कथा संग्रह, एक जीवनी विश्वका बिख्यात साहित्यकार र एक समीक्षात्मक रचना जस्ता सिर्जित कृतिका साथै अनन्त इच्छाका गीत कविता संग्रह र अनेकन लेखरचनाहरु प्रकाशित छन् । ती मध्येमा अनन्त इच्छाका गीतहरु कविता संग्रह र आश्मा र अरु कथाहरु जुन साहित्यपोष्ट, गोरखापत्र र मधुपर्क जस्ता पत्रिकाहरुमा प्रकाशित कथाहरुको संगालो समेतको दुई पुस्तक भर्खरै विमोचित भएका हुन् ।
सानो चिटिक्कको आकर्षक लाग्ने ओरियन्टल प्रकाशनगृह बागबजार, काठमाडौं द्धारा प्रकाशित तेह्र वटा छोटा र राम्रा पठनीय कथाहरुले शोभित त्रीसट्टी पृष्ठको पुस्तकले समसामयिक एवं बहुआमायिक विम्वका समाज, संस्कृति र विकृतिका उत्तारचढावलाई कथाका माध्यम बाट इङ्गकित गरिएका छन् । र, खासगरिकन तिनै विम्वमा सिर्जित यस संगालोका कथाक्रमका आधारमा संक्षेपमा विवेचना गर्ने जर्मको गरे ।
अनुराधा मेडिकल कथाले एकल सानो पारिवारिक ढाँचाको परिवारको आवश्यकताको महसुस गर्न समग्रमा आजका पुस्ताको मनोदशालाई इङ्गित गरेको अनभूति हुन्छ ।
मङ्गली दिदीलाई घर जिम्मा लगाई गर्भपतन गर्न जानेकुरा तय भएपछि जशोदा फेरि अनुराधा दिदीकहाँ गइन र गर्भपतनको मिति तय गरी घर फर्किन् । पृष्ठ ५
असावधानी कथाकी पात्र कलावती धन सङ्कलन गर्ने आकांक्षाले विवेक शून्य भएकीले गर्दा इमान्दार हुनु र असल हुनुको अर्थ रहेन् । रिस र ईष्र्याले गर्दा उनको चरित्र असल देखिदैन् ।
हल्लीखल्ली भएपछि उनको भाइपनि वाहिर निस्कियो र घटनावारे बुझ्यो । उसले भन्यो, तिम्रो आफ्नो सानो भ्रम र असावधानीले गर्दा ठगिन पुग्यौ । पृष्ठ १०
पुस्तकको नाममै राखिएको कथा आश्माकी नायिका आश्माकै कोमल भावनाका प्रतिविम्वहरुलाई अत्याधुनिक रुमानी पाराले समसामयिक विम्वका रुपमा उत्तारिएको छ ।
यी सबै पोष्टहरु उसका कोमल भावनाका प्रतिविम्वहरु हुन् । उसलाई माया गर्ने एउटा सुुन्दर युवक साथी र उसले माया गर्ने एउटा वालकको आश्यकता छ भन्ने संकेत उसका यी लिखित वयानहरुले दिएका छन् । पृष्ठ १३
खुशी कथामा परिवारिक संम्बधले बाँधिएका परिवारका सदस्यहरुवीचको कर्तव्य परायणतालाई सम्बन्ध र कर्तव्यको जगमा उठाई खुसीलाई चिरस्थायी गरिएको पाइन्छ ।
भोलिपल्ट टीकाको दिन बुवाले हामी सबैलाई वडा दशैको टीका लगाई आशिष दिनु भयो । उहाँले फुपू ज्वाई र बहिनीलाई खाममा यथाशक्य दक्षिणा राखेर दिनु भयो । पृष्ठ २०
ट्याबलेट कथाको पृष्ठभूमिले हालको पुस्ताका पारिवारिक परिवेश, आमाबावु र सन्तानबीचको सम्बन्धको मनोविश्लेषणात्मक आधार र व्यवहारको मापन गरी साइवर संस्कृतिको सकारात्मक पक्षलाई औल्याई ती अभिभावकहरुलाई मनोवैज्ञानिक पाराले सचेत गराइन खोजिएको यथार्थ पक्ष हो ।
विस्तारै विभुफेरि सामान्य अवस्थामा फर्कियो र नियमित रुपमा स्कुल जान थाल्यो । पृष्ठ २६
द्धिविधा कथाले सन्तानबीचमा यति गहिरो मानसिक स्वार्थले जरा गाड्दो रहेछ कि बावुआमा र नाति नातिनाबीचमा अपनत्वको भाव विल्कुलै नदेखिनु कस्तो विडम्वना । शहरमा बसेका छोरा बुहारी र नातिनातिनाको माया बन्धनले तानिई शहर पुगेका बावुआमाले आफ्नै सन्तानबाट गरिएको नकारात्मक व्यवहारलाई तीनले बुझ्न नसकेको ननिको व्यवहारको निष्र्कर्ष नै द्धिविधा हो भन्ने ठहर गराई रह्यो ।
नाति र नातिनी आफु नजीक हुन नसक्नु छोरा बुहारीले बावुआमा र सासुससुराको आवश्यकता र भावनाबारे कुनै चासो नराख्नु जस्ता कुरा सम्झेर दिउँसो बाटामा भेटिएको मानिस उनी भन्दा भाग्यमानी त होइन् भनी फेरि द्धिविधामा परे । पृष्ठ ३१
पन्नालालको सम्मान कार्यक्रम कथाका पात्र पन्नालाललाई प्रतिनिधि पात्रका रुपमा खडा गरी आयोजित सम्मान कार्यक्रमका निउँमा गरिएको राष्ट्रको सम्पति दोहन गरिएको गतिविधिलाई चोटिलो व्यङ्गय प्रहार गरिएको छ, यो गतिविधि देशको समसामयिक अवस्थाको भन्न अत्युक्ति नहोला ।
पन्नालालले कार्यक्रम स्थलमा उपस्थित मानिसका सबै फोहोरी स्वार्थहरु त्यही इच्छुमतीमा बगाई दिने विचार गर्यो। पृष्ठ ३५
पुनरागमन कथाका श्रीमान् श्रीमती यी दुई पात्रहरुबीचको अन्र्तद्धन्दलाई पारिवारिक जिम्मेवारीको निउँमा उठान गरी जिम्मेवारीको पक्षलाई अघि सारिएको छ । र पुरुषोत्वको अभिमानले आफू अपमानित भएको ठानी घर छाडेर हिँडेको श्रीमानले घर सम्झी गरेको पुनारगमनले श्रीमान् र श्रीमती बीचको सम्बन्धको कसिलाई खुट्याइएको छ ।
तिमी छिट्टै आउँ म तिम्रो दृढ प्रतिक्षामा छु तिम्रो स्नेहको अभावमा मलाई मेरो सबै भन्दा प्रिय वस्तु हराए जस्तो लागेको छ । पुष्ठ ४२
प्रतिविम्व कथाका प्रतिनिधि पुरुष पात्रहरु र महिला पात्रबीचको अनैतिक सम्बन्ध, शहर बजारका पेशेवर महिलाले जीवन धान्नलाई मात्र नभई क्षणिक उत्तेजनाका कारणले गुमाएको नैतिकता, अझ पुरुष भने झनै बढी त्यसप्रति आशक्ति भएको तथ्यलाई औल्याइएको छ ।
एउटी कुकुर्नीका पछि पछि अरु दूईओट कुकुरहरु कुदिरहेका थिए । मलाई लाग्यो के मानवीय सभ्यता पशुहरु भन्दा भिन्न छैन । हामी सबै पशुहरुकै स्वभावमा बाँच्ने हो भने मानिसको आफ्नो मूल्य भन्ने केही रहन्छ होला र ? पृष्ठ ४६
बाँदर सम्झौता कथामा बाँदरलाई नै प्रतिकात्मक रुपमा देखाई राजनैतिक परिवेश र सत्तामाबसी डाडुपन्यु लिएका ठालुहरुको समसामयिक रवैया प्रति व्यङ्गय कसिएको राम्ररी महुसुस गर्न सकिन्छ भन्दा फरक नपर्ला नै । र यथार्थमा हालको परिस्थितिमा गाउँ शून्य रहेको हुँदा ती गाँउमा बाँदरहरको चकचकी बढेको पनि देखिन्छ ।
कतिपय मानिसहरु आफू परिश्रम नगर्ने अल्छी हुन्छन्, तर परिश्रमी र इमान्दार मानिसको कमाईबाट ती बाँचेका हुन्छन् । आफू परिश्रम नगरी अरुको हानी नोक्सानी पु¥याई खराब नियतका मानिस सँगको सम्झौता पनि व्यवहारमा लागु हुन नसक्दा त्यस्तो सम्झौतालाई समेत बाँदर सम्झोता भन्न सकिन्छ । पृष्ठ ५१
ब्याइफ्रेन्ड कथा आधुनिक परिवेशका युवायुवतीहरुले आधुनिकीकरणका नाममा गर्ने गरेका व्यवहार र त्यसको परिणतिलाई प्रष्ट्याउन समसामयिक रुपका देखासिकिको चित्रण देखिन्छ ।
सजल म बाट ओझेल भयो । उ फेरि अरु नै कुनै केटी सँगको अफेयरमा रहेको कुरा मैले साथीहरुबाट थाहा पाएँ । मलाई लाग्यो युवतीहरु कति कमजोर हुँदा रहेछन् । पृष्ठ ५४
सागर फडेराको अवशान कथा अनैतिक सम्बन्धको नतिजाको सन्दर्भमा बुनिएको छ ।
जसले जे भनेपनि दुखद् घटना आखिर घटिसकेको थियो सागर फडेराको अवशान भइसकेको थियो । पृष्ठ ५९
अन्तिम सत्य कथा एउटी विधवा पात्रलाई प्रतिनिधिपात्रका रुपमा उभ्याई परम्परागत मान्यताको चपेटामा परेका विधवाहरुका मनोदशालाई विश्लेषणात्मक रुपमा दर्शाइएको छ ।
आखिर मृत्यु आफ्नो समयमा अवश्यमेव आउने नै रहेछ र मानिसको अस्तित्व एक दिन समाप्त हुने नै रहेछ । मृत्यु अन्तिम सत्य हो । पृष्ठ ६३
कथाहरुको संगालो अध्ययनपश्चात् विटमार्दै गर्दा अहिलेका पुस्ताका युवायुवतीहरुको मनोदशा र व्यवहारलाई कथाकारले प्रस्तुत कथाहरुमा महिला पात्र र पुरुष पात्रका माध्यमबाट जीवनका भोगाई तथा उत्तारचढावको समय सापेक्ष रुपमा गहिरिएर कथिएका कथा संगालो पठनीय, पंशसनीय एवं सन्देश मुलक लाग्छन् । अन्त्यमा कथाकारज्यू प्रति अजस्र शुभकामना ।