अक्षरमार्ग

भिएनामा तीन महिना (जनवरी–एप्रिल, २०१४)

Bishnu Rai
डा. विष्णु एस राई
‘प्रथम ग्रासे मक्षिका पात:’ अर्थात पहिलो गाँसमै माखो भने झैं त्रिभुवन अन्तरराष्ट्रीय विमानस्थल पुग्नासाथ के थाहा पाइयो भने टर्कीस एअरलाईन्स तीन घण्टा विलम्बित छ । बिहानको ५ बजे, पौषको कठ्याङि«ने जाडोमा थुरथुर काम्दै ट्याक्सीको गुरुजीलाई सामान्य भन्दा चार गुणा बढी ११०० रुपिया तिर्दाको सुमधुर फलको स्वाद विदेश भ्रमणमा जाने धेरै साथीहरुलाई थाहा भएको हुनुपर्छ –त्यसको वर्णन नगरौं: बनारसको मोदक, जसले खायो ऊ पछुतायो, जसले खाएन ऊ पनि पछुतायो । त्रिभुवन अन्र्तराष्ट्रीय विमानस्थलमा भएको विलम्बले गर्दा लोद्दर लागेर इस्तामबुलबाट पनि तीन घण्टा ढीलो उडेर स्थानीय समय अनुसार ६.४५ मा पुग्नुको साटो ९.४५मा भिएना विमानस्थल पुगियो ।
विमानस्थलबाट शहर जान सँगै टाँसिएको रेल स्टेशनमा पुग्दा सुनसान रहेछ, मान्छे त के माखो पनि छैन । गोरखपुर रेल स्टेशनलाई झलझली सम्झें –मान्छेको घुइंचो, ठेलमठेल, पोका पुन्तरा, आसपास फिंजिएका फोहर कतै देखिएन; बींडी–सिगरेट, मानव शरीर, विभिन्न प्रकारका परिकार अनि गाई–वस्तु र मान्छेका गोबरहरुका मिश्रित चर्को गंध पनि थिएन; न त बलिउडको सुरीलो गीत, स–साना नानीहरुका पंचम आलापमा क्रन्दन अनि ‘गरम चाय’, ‘ताजा समोसे’ आदि कर्णप्रिय ध्वनिहरु नै सुनिए । न्यास्रो लाग्यो । समयतालिका बोर्डमा यसो हेरें रेल आउन पाँच मिनट बाकी रै छ । दुई मिनट बाकी छँदा मान्छेहरु भटाभट आउन थाले र प्लेटफर्म टन्न भयो । ठीक समयमा गाडी आयो, ठीक समयमा हिंडी हाल्यो । सब थोक घडीको सुइ अनुसार चल्दो र छ । समयलाई लिएर समय सँगै हिंडेर नै यिनीहरुले  यति धेरै विकास गरेको होला । सीटमा बसेर एक छिन घोरिएँ –यति धेरै समयको दास हुनु राम्रो हो त ? हामी त समयमा यिनीहरु भन्दा अघि छौं –हामी २०७१मा छौं जबकि यिनीहरुले बल्ल २०१४मा पाइला टेकेका छन् –भएतापनि हामी विकासमा किन पछि छौं ? फेरि विकास भनेको के हो ? प्रष्ट रुपमा देखिने यी ठूल्ठूला भवन, फराकिला सडक, मसनिको अत्यधिक प्रयोग आदि नै विकासका द्योतक हुन भने हामी नेपालीले कम विकास गरेको जस्तो लाग्दैन मलाई त । विकास भनेको भौतिक भन्दा बढी मानसिक हुनु पर्दछ जस्तो लाग्छ: मानसिक विकास बिनाको विकास आत्मा विहीन शरीर जस्तै हो:
शरीर त छोप्नु भो मूल्यवान वस्त्रहरुले
तर आत्मा त नाङ्गै छ प्रभु ।
पुग्नलाई त गन्तव्य पुग्नुु भो हजुर
तर हिंडाई त बाँङ्गै छ प्रभु ।
गलत समयमा भिएना आएछु । जनवरी र फरवरी महिना अत्यन्तै चिसो । यहाँ आको १५ दिन भई सक्यो अहिले सम्म सूर्य नारायणको दर्शन भएको छैन । आकास सधै धुम्म –रिसले मुख फुलाएर बसेकी श्रीमती जस्ती । सडक छेउमा मायालाग्दो गरी लहरै उभिराखेका पत्रविहीन वृक्षहरु –भोकले हाडचाम भएका पशुपतिका अद्र्धनग्न भिखारीहरु जस्ता । चराहरु कता लुके कता –निर्वाचित भईसकेका हाम्रा नेताहरु जस्ता । एक दिन छाडी एक दिन हिंउ पर्छ –सिमलका भुवा उडे जस्तै । मेरो मन पनि त्यसरी नै उड्न थाल्छ । म आफ्ना तरल भावनाहरुलाई शब्दबद्ध गर्ने प्रयास गर्द छु:
आकाश धुम्म छ
बर्फिलो हावाले मृत्यु गीत गाउँछ,
नि:शब्द उभिएका छन् नाङ्गा रुखहरु
सूर्य बाहिर निस्किन डराउँछ ।
हृदयहीन पाषाण भवनहरु अकाशिएका छन्
पर्खेर बसेका छन् खाली बेंचहरु पार्कमा,
बाक्ला मोटा ओवरकोटहरु
हतारिंदै हिंडछन् सडकका पेटीहरुमा ।
जिन्दगी बाँचेको छ भित्र
झिलिमिलि बारमा,
मृत्यु रमाएको छ बाहिर
सेताम्ये संसारमा ।
आफ्नो अध्ययन अनुसंधानको क्रममा भिएना विश्वविद्यालयमा तीन महिनाको लागि आएको बीस दिन बीति सके छन् । यूरोपको अति प्राचीन विश्वविद्यालयहरु मध्ये एक भिएना विश्वविद्यालय चौधौं (१३६५) शताब्दीमा जन्मेको र छ –हाम्रो देशको ‘सबै भन्दा पुरानो तथा सबै भन्दा ठूलो त्रिभुवन विश्वविद्यालय’ भन्दा छ शताब्दी जेठो । गोथिक स्थापत्यकलामा निर्मित विश्वविद्यालयको यो विशाल मुख्य भवन पर्यटकहरुको लागि पनि आकर्षणको केन्द्र हो । यो भवन यहाँको संसद भवन राटहाउससँगै उभिएको छ –ज्ञानविज्ञानले राजनीतिलाई खबरदारी गरे जस्तो । यी दुई अत्यन्त महत्वपूर्ण केन्द्रहरुलाई एउटा स्यानो पार्कले छुट्याएको छ मानौ ज्ञान–विज्ञान र राजनीतिको सम्बन्धको दूरीलाई संकेत गरे जस्तो ।
भियना विश्वविद्यालय (मुख्य भवन) र राटहाउस (संसद भवन)
यस्तो प्राचीन र गौरवशाली विश्वविद्यालयमा अनुसंधानकर्ता (जसलाई यहाँ साइन्टिस्ट भनिदोरहेछ) भई काम गर्ने सौभाग्य पाएकोमा गर्वले मेरो छाती गमक्क फुलेर  आयो । दुई वटा हाती सँगै छिर्ने विशालकाय प्रवेशद्वारबाट मुख्य भवन भित्र प्रवेश गरेपछि एक छिन अलमल्ल परें –चारैतिर बाटो छ । दाहिने लागें र केही पर पुगेर बायाँ मोडिंदा एउटा अद्भुत संसारमा पुगें । करीब बीस फिट फराकिलो बाटोको दुवै तर्फ मानव प्रस्तर मूर्तिहरु समान दूरीमा स्थापित छन् । नजीक गएर हेर्दा थाहा भयो ती पाषाण मूर्तिहरु विश्वविद्यालयमा अतुलनीय योगदान गरेका प्राध्यापकहरुका प्रतिकृतिहरु हुन् । दर्शन, विज्ञान, कला एवम् संगीतका ती महापण्डितहरुका माझमा उभिनु मलाई सारै असजिलो लाग्यो: ६० देखि लिएर २५० वाटका विभिन्न रंगका बिजुली बत्तीहरुको चहकिलो प्रकाशको अघाडि मटीतेलको टुकीको धुवाँसरिको पिलपिले रोशनीको के काम । त्यहाँबाट फुत्त उम्केर भागें ।
विश्वविद्यालयका दिवंगत प्राध्यापकहरुका पाषाण प्रतिकृतिहरु
यहाँका प्राध्यापकहरु कति अध्ययनशील ! आफ्ना विषय सम्बन्धी ज्ञान र अनुसन्धानमा कति समर्पित ! फेरि कति विनम्र ! ‘विद्या ददाति विनयम’् हाम्रा पूर्वीय पुर्खाहरुले गाउँदै गए पनि त्यसको पालना र उदाहरण यहाँ मात्र देख्न पाइयो । जहिले देख्छु पढिराखेको भेट्छु कि अनुसन्धानको तर्जुमा गरिराखेको पाउँछु । स्वदेशमा हामी प्राध्यापकहरुलाई अध्यन–अनुसन्धान गर्ने फुर्सतै छैन अथवा सोको लागि वातावरण छैन । कहिले संघको काममा कुद्नु परेको छ भने कहिले संगठनको मिटिंङ्ग एटेन्ड गर्नु परेको छ –फुर्सत कहाँ पाउनु । कहिले संविधान सभाको सम्बन्धमा प्रवचन दिनु परेको छ भने कहिले मानव अधिकारको बारेमा कार्यशाला गोष्ठी चलाउनु परेको छ  –फुर्सत कहाँ पाउनु । अँग्रेजीको उखान ‘ज्याक अव् अल ट्रेडस मास्टर अव् नन्’ सम्झिन्छु । फुर्सत पाइहाल्यो भनेपनि तेश्रो स्तरको राजनीतिका कुरा अर्थात को कुन राजनेताको नजीक छ, कसको नियुक्ति कहाँ र कसको सोर्सले हुँदैछ आदि रमाइलो वार्तालापको साटो पढाई—लेखाई जस्तो नीरस र अनुपयोगी विषयवस्तुलाई किन कोट्याउनु । यहाँका र हाम्रा विद्यार्थीमा पनि त्यही फरक देख्छु । यहाँ त कान र नाक छेडने मुन्द्रे केटाहरु र ओठ र नाइटो छेडने नाइट्री केटीहरुले पनि अध्ययन गरेकै पाउँछु । शतशत नमन छ यिनीहरुको आफ्नो काम प्रति समर्पणको भावनालाई ।
विश्वविद्यालय भवन भ्रमण एक दुई घण्टामा संभव नहुने देखेपछि म बाहिर आएँ । यी दुई महत्वपूर्ण भवनका साथसाथै यो परिसर विभिन्न संग्रहालयहरु, नाट्यशालाहरु एवम् अत्यन्त प्राचीन गिर्जाघरहरुले भरिएका छन् । एउटा नाट्यशालामा महान वेलायती नाटककार शेक्सपयिरको चार विश्वविख्यात त्रासदीहरु मध्ये एक ‘किंग लियर’को मंचन भइराखेको र छ । हेर्ने लोभ लागेपनि मंचन जर्मन भाषामा भइराखेको हुनाले लोभी मनलाई जन तन थामेर अघि बढें । यहाँको संग्रहालय परिसर त संसारकै सबै भन्दा ठूलाहरु मध्ये एक मानिन्छ । ९०,००० स्क्वायर मिटर क्षेत्रफलमा विस्तारित छ यो संग्रहालय परिसर जसभित्र दसवटा आँगन र त्यस आँगनका वरिपरि वास्तुकला, चित्रकला, स्थापत्यकला, संगीत र अरु के के होका विशाल संग्रहालयहरु छन् साथै साँस्कृतिक कार्यक्रमहरुका लागि चारवटा रंगमंचहरु प्नि यसै आँगन भित्र छन् । यसका अतिरिक्त अरु छुट्टै संगैहालयहरु प्नि छन् । संसद भवनदेखि संग्रहालय तर्फ जाँदा बीचमा फोक्स गार्डेन भन्ने सडकका दुवै तर्फ उभिएका रुखहरुले पारिसको स्वाँजे इलिजेको झझल्को दिन्छ । यति धेरै भवनहरु छन् तर कहिं पनि च्यापिएको वा निस्सासिएको अनुभव हुँदैन बरु असीमिततामा हराएको अनुभूति हुन्छ । त्यसैले यो परिसर भरिएको भन्नु उपयुक्त नहोला । संग्रहालय र विश्वविद्यालय परिसरका त के कुरा यहाँका सबै ठाउँहरु निकै फराकिला छन् । फराकिला सडकमा चम्किला कारहरु सुइइयँ चिप्लिन्छन्, सडकछेउको साइकल पथमा युवायुवतीहरु सर्रर्र साइकल हुइंक्याउँछन्, फुटपाथमा पैदल यात्रुहरु निर्धक्क सरासर हिंड्छन् । कसैले कसैको बाटो मिच्दैन । काठमाडौंका सडकहरु सम्झें कुनै विषालु सर्पको चालमा दायाँ बायाँ गर्दै हुइंकिएका मोटरसाइकिलहरु, अनैतिक र गैरकानूनी तवरले पैसा कमाएर रातारात धनी भई धन मदमा कसैलाई नटेर्नेगरी हिंडेका जस्ता कुदेका माइक्रोहरु, छोराछोरीले वास्ता नगरेका वृद्ध र अशक्त आमा बुबा जस्ता विस्तारै अड्की अड्की गुडेका ठेलागाडीहरु, अनि अत्यधिक मदिरा सेवन गरेर घोक्रो सुक्ने गरी कराउने जंडह्या जस्ता कार, ट्रक, बस आदिका हर्नहरु—केही पनि छैन यहाँ त । मलाई गृहविरहले च्याप्न थाल्यो ।
यूरोपमा सबै थोक ठूलो –ठूल्ठूला घर,  फराकिला सडक,  ठूल्ठूला गाडी अनि मान्छे पनि अग्ला–अग्ला । आफ्नो स्टान्र्डड नेपाली हाइट ५ फीट ३ इन्च भएकोले बजारतिर पसी कपडा त के किन्नु यसो हेर्न जाँदा पनि डिपाटमेन्टल स्टोरको चिल्ड्रेन सेक्सन अर्थात बालकविभागमा जानु पर्ने । अर्को प्रशंशनीय कुरो चाहिं यहाँको शान्ति सुरक्षा हो । स्वदेशमा गाउँ त के शहर बजार पनि स्यानो बालकका आँखा झैं साँझ पर्नासाथ झिमिक्क बन्द भई हाल्छन् । काठमाडांैमा पनि ठमेल बाहेक अन्य क्षेत्रहरु ८ बजे पछि चकमन्न हुन्छ तर यहाँ ११ बजे राति सम्म त मै डरछेरुवा पनि बरालिएको छु । शान्ति सुरक्षाले गर्दाले नै हुनु पर्छ महिला र युवती–कन्याहरु जतिसुकै राति पनि अफिसका काम सकेर वा रमाइलो गरेर हिंडिराखेका देख्न सकिन्छ । हामी पुरुषहरुभन्दा कुनै पनि कुरामा कुनै पनि क्षेत्रमा कम छैनौं भन्ने देखाउनलाई यिनीहरु पुरुषको अनुकरण गर्छन् –लवाई, खवाई, बोलाई र हिंडाई यहाँ सम्म कि सोचाई पनि पुरुष झैं गर्छन् कि क्या हो ।
गोरी अग्ली
खैरी पातली
मृगनयनी, गोनयनी, क्याटवाक गर्न सक्ने
स्यानी सुन्तली
सुनौली घ्याम्पी
चुपचाप बस्ने वा अविरल वर्षा झैं नरोकिने
हर क्षेत्रमा दिन्छन् पुरुषलाई चुनौती
तर हे यूरोपियन युवती
कलीको कोमलता अलिकति
अलिकति लताको लचकता
संगीतको लयात्मकता अलिकति
अलिकति नृत्यको मादकता
चाहिंदैन र ?
जूहीका कलीहरु
क्याक्टस किन बन्नु र ?
वास्तवमा पश्चिमाहरुले आविष्कार गरेको क्याटवाकमा म त कुनै सौन्दर्य पाउँदिन –अप्राकृतिक रुपले शरीरका विभिन्न अवयवलाई हल्लाउँदै हिंडनुमा के सौन्दर्य ? बिरालोको हिंडाई त क्याटवाक भन्दा कहाँ हो कहाँ बढी आकर्षक ताल र लयमा हुन्छ । हाम्रो पूर्वीय सौन्दर्यशास्त्र अनुसार, सुलक्षणा सुन्दरी हिंडदा पानमिा राजहंस हिंडेको आभास हुन्छ अथवा गजगामिनी जस्तो ढलक–मलक गर्दै हिंडेको जस्तो मादक । यस्तै हिंडाई सुन्दरी अ‍ेलिभियाको थियो अरे जसको हिंडाईलाई शेक्सपियरले ‘हेभन वाक्स अन् दी अर्थ’ भनेर वर्णन गरेका छन् । आजकालका युवतीहरुका क्याटवाक (जसले स्वर्ग त धरतीमा ओर्लिदैन बरु सारा धरती नै हल्लिन थाल्छ) शेक्सपियरले देखेको भए कुनि के लेख्ने होला । मलाई सम्झना छ बी.ए. अर्नस्को कक्षामा पोपको काव्य ‘रेप अव् द लक’ अर्थात ‘केशको बलात्कार’ पढाउँदा गुरुले भन्नु हुन्थ्यो अठारौं शताब्दमिा युवतीहरु दिनमा कति पटक मूच्र्छा पर्थे त्यसैबाट उनी कतिको कमनीय छिन भन्ने कुरा थाहा हुन्थ्यो अरे: जो जति बढी मुर्छित हुन्थे उनीहरु उतिनै बढी कोमल र कमनीय मानिन्थे । आजका यूरोपका युवतीहरुका लागि कोमलता भनेको दुर्बलताको पर्याय भएको छ ।
नारीले पुरुष सँग काँधमा काँध मिलाएर हिंडनु ठीक हो, राम्रो हो तर त्यसका लागि पुरुष जस्तै देखिनु, हिंडनु, आनीबानी र व्यवहार गर्नु पर्छ र ? नारीसुलभ लज्जा, कोमलता जसलाई उर्दुमा नजाकत र नफासत भनिन्छ त्यागेर पुरुषोचित रुखो र अक्खडपन अंगाल्नु पर्ने किन होला ? लालुपातेको सुरिलो बोटले खयरकोे बोट किन हुनु ? हुन त मेरो भनाइ आधुनिकाहरुलार्ई र केही पुरुषहरुलाई पनि अपाच्य हुन सक्छ । म विवाद न गरेर मात्र के भन्न चाहन्छु भने कुनै पुरुषले आज पनि नारीको लवाई, खवाई, बोलाई र हिंडाईको अनुकरण गरे भने हास्यास्पद र कतिपय स्थितिमा लजापस्द पनि हुन्छ । म नारी त होइन तर मलाई लाग्छ त्यस्तो स्त्रैण पुरुषको कामना शायदै कुनै नारीलाई होला । त्यसैगरी एउटी नारीले पुरषको लवाई, खवाई, बोलाई र हिंडाईको अनुकरण गरे भने के होला ?
मातृ जाति भएकाले नारीमा प्रकृृतिले माया, ममता, लज्जा, कोमलता, प्रेम र स्नेह बढी मात्रामा प्रदान गरेको छ र पुरुष जातिमा स्वाभाविक रुपले र बढी मात्रामा पाइने हिंसक प्रवृति नारीमा धेरै कम पाइन्छ । प्रकृतिको यस सुन्दरतम उपहारको आज उपेक्षा भएको जस्तो लाग्दछ मलाई । यही माया ममता र प्रेमको सर्वकालीन विश्वजयी भावना नारीमा नित्य प्रवाहशील रहेको हुनाले नै उसलाई पूर्वीय दर्शनमा वन्दनीय मानिएको छ, ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि प्रसन्न रहन्छन् । संसार हाँक्नेहरु बढी पुरुषहरु भएर होला, विश्वमा यति धेरै युद्ध चलेको र अशान्ती मच्चिएको । अब यो एकाइसौं शताब्दीमा महिलाहरु पनि संसार चलाउन आकंक्षाले जुरमुराउन थालेका छन् —दक्षिण कोरिया, जर्मनी आदि देशहरुमा त प्रथम महिलाहरु छँदै छन्, सुनिन्छ संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य जस्ता शक्तिशाली देशहरुमा पनि अब आउने चुनावमा महिलाहरु राष्ट्रपति तथा प्रधानमंत्री पदमा विजयी हुने प्रबल संभावना छ । नारीहरुले राज्य संचालन गरे कम से कम जुँगे लडाइ त हुँदैनथ्यो होला ।
यूरोपमा विकास भएको छ यो कुरालाई कसले नकार्न सक्छ र । बाहिर माइनस पाँच डिग्री तापमान भएपनि कोठाभित्र न्यानै हुन्छ –स्वेटर कोट लाइराख्नु पर्दैन । बिजुली कहिले झिमिक्क सम्म पनि गर्दैन । बाहिर सडकमा कहीं हीलो र धूलो छैन । आएको ४० दिन भइसक्यो जूत्तामा पलिस गर्न परेको छैन । तपाईहरु हाँस्नुहुन्छहोला –नुहाउँदा जीउ दल्छु मयल पनि सेतै निस्किन्छ । सार्वजनिक यातायातको कति राम्रो व्यवस्था । काठमाडौ भन्दा दोब्बर ठूलो यस शहरमा ट्राम, बस, र पातालीय ट्रामका सघन जाल बनाइएको छ । ती निर्बाध र तीब्र गतिका छन् परिणामस्वरुप १५ देखि २० मिनटमा शहरको एक कुनाबाट अर्काे कुना पुग्न सकिन्छ । यात्रुहरु बीच धक्कमधुक्की, रेलमपेल पकिटमारहरुको बिगबिगी र महिलाहरुसँग र्दुव्यवहार आदि छैन किनभने हर पाँच सात मिनटमा गाडी पाइहाल्छ –कति त खाली नै पनि हुन्छ तर खाली भएपनि घुमिरहन्छ ।
तर कस्तो आश्चर्य –सबै थोक छ तैपनि मेरो मन किन लाग्दैन यहाँ, किन यसले काठमाडौै, कीर्तिपुर, सयपत्री नै सम्झिरहन्छ ? यो विकसित र धनी राष्ट्रमा भएर पनि यो मेरो पागल मन किन अविकसित र गरीब नेपालकै सपना देखि रहन्छ हँ:
हिमाल, पहाड, लेक बेंसी, टार
काडमाडौका सडकमा हतारिएका
माइक्रो, टेम्पो, बस, कार
डाँडा काँडा, नदी छाँगा छहरा
जङ्गल, फाँट, खेत, मैदान
महल, भवन, घर, टहरा
हिमपात, वर्षा, गर्मीकोे ताप
बसन्तमा मधेसकी विरहिणी
कोईलीको पंचम आलाप
सडक पसलको चियाको स्वाद
फुटपाथ बजारको मोलमोलाइ
साथीभाईको हँसी मजाक ।
केही पनि त छैन यहाँ –मन कसरी लागोस । यहाँको यान्त्रिक जीवन जसले यहाँका मान्छेको मानवीय सम्बन्ध र भावनाहरुलाई र थिचिराखेको छ । यहाँ पतिपत्नीको छुट्टाछुट्टै बैंक अकाउन्ट हुन्छ अनि छोराछोरीहरुका लागि छुट्टै ज्वाइन्ट एकाउन्ट । रेस्टोरेन्टमा खाना खाए साथी–साथी त के लोग्ने स्वास्नीले पनि पैसा छुट्टा छुट्टै तिर्छन् । यहाँ सँधै सँगै काम गरे पनि साथीले एक वचन नसोधी गपागप खाँदा आफूले विस्तारै सुटुक्क थुक निल्नु बाहेक अरु विकल्प हुँदैन । यहाँ छोरा–बुहारीले आमा–बुबालाई डिनर खान निम्तो दिन्छन् र आमा–बाउ पनि खुशीले मक्ख पर्छन् । यहाँ सत्र वर्ष पुगे पछि आमा–बुबाको नियन्त्रणबाट मुक्ति पाएँ भनेर छोराछोरीले साथीहरुलाई पार्टी दिन्छन् । यहाँ आफ्नै छोराछोरीलाई पनि रिस उठ्यो भन्दैमा आमा–बुबाले कुट्न त के छुन र हप्काउन पनि पाउँदैन । यहाँ जसले जे गरे पनि कसैले कसैलाई केही भन्दैन तर आफ्नै करेसाबारीको पात कसिङ्गरं डढाउनु भन्दा पहिले छिमेकीलाई सोध्नु पर्छ । यहाँ काका, मामा अनि सानी आमालाई पनि नामै काढेर बोलाइन्छ र कुनै वृद्ध महिला वा पुरुषलाई ‘अङकल, आन्टि’ भनेर बोलाइयो भने ‘डन्ट कल मी आन्टी, आइ एम नट योर आन्टि’ भनेर गाली हप्काई खाईन्छ । यहाँ वर्तमान पतिलाई पूर्व पतिसँग परिचय गराइन्छ  यहाँ विवाहै नगरिकन सँगै बसे पनि बेस, विवाहै नगरिकन सन्तान पाए पनि बेस: केटीले केटी सँग बिहे गरे राम्रो, केटाले केटासँग बिहे गरे भने झनै बेस ।
एउटै शब्दको अर्थ देश काल परिस्थिति अनुसार कति फरक हुँदो रहेछ: विवाह भनेको पश्चिमाहरुका लागि नितान्त वैयत्तिक समझौता हो जो उसले मात्र आफूलाई गर्दछ र त्यसको लाभहानी पनि नितान्त वैयत्तिक रुपले बेहोर्छ । काका–काकी, मामा–मायजू र उनका छोरा–छोरीका कुरा त परै जावोस, आफ्नो साक्खै दाजुभाइ, दिदीबहिनी यहाँ सम्म कि आमाबुबासँग पनि बिहेको लागि न त सरसलाह आवश्यक मानिन्छ न त्यस पछिको परिणामका लागि । विवाह सम्बन्धी पूर्वीय मान्यता जस अनुसार विवाह दुई व्यक्ति बीच भएपनि प्रायजसो यो परिवारको लागि गरिन्छ र त्यसैले परिवारको राय सलाह अनिवार्य हो भन्ने कुरा यहाँ असंगत देखिन्छ । अझ हिन्दु संस्कृति अनुसार ता विवाह भनेको जन्म–जन्मान्तरको सम्बन्ध हो र यो दुई शरीर मात्रै होइन दुई आत्माको पनि मिलन हो भन्ने मान्यताको लागि यस समाजमा कुनै ठाउँ छैन । मान्छेहरु आफ्नो अधिकार प्रति निकै सचेत छन् यहाँ । फेरि अधिकार पनि कति किसिमका छन्, कति थरीका : महिला अधिकार —पुरुषलाई त अधिकार चाहिंदैन क्यारे, बाल वा सन्तान अधिकार —आमा बुवालाई अधिकारको के खाँचो छ र, समलिंगीहरुको अधिकार —विपरीत लिंगीहरु सबै समलिंगी भएदिएपनि हुन्छ जस्तो, मानव अधिकार यहाँ सम्म कि पशुपक्षीहरुलाई थाहा नभएपनि उनका अधिकार पनि र त्यसका पालनाका लागि धेरै मान्छेहरु अहोरात्र लागि परेका पनि छन् । तर ती अशक्त बृद्धा जो पाँच दस पेन्सका लागि सडकका किनारमा दिनभरि उभिन्छिन् उनको अधिकार कहाँ छ होला ?
पहिलो दिन त मैलै उनलाई देख्दै देखिन —फुटपाथको छेउमा पाइतलादेखि टाउकासम्म एउटा पुरानो ओवरकोटले छोपिएकोले र साथै हिउँ परिराखेको हुनाले म छीटोछीटो हिंडकोले होला । उनी संधै त्यही ठाँउमा उभ्छिन् —हिंउ परे पनि नपरे पनि, पानी परे पनि नपरे पनि, घाम लागे पनि नलागे पनि । कुनै दिन विदा छैन उनलाई, सप्ताहान्त पनि छैन । केही भन्दिनन् हात मात्र फिंजाउँछिन् । उभिंदाउभिंदा धेरै थाकीन् भने कुप्रिएको शरीरलाई ढुंङ्गे पर्खालमा अडेस लाउँछिन् —बस्ने ठाउँ पनि त छैन । एक दिन चीसो फुटपाथमा बस्नलाई कार्डबोर्डका टुक्राहरु ओछ्याउने प्रयास गरेको देख्दा मन थाम्न सकिन । कुनै दिन यही कुप्रिएको शरीर कति सुगठित थियो होला, कति सुन्दर युवकहरु यसैका लागि आकासको तारा टिपेर ल्याउन पनि उद्यत हुन्थेहोला । त्यही स्ट्रीटमा अलि पर एउटा वृद्ध पनि उभिन्छ भीखका लागि । एक दुई दिन त मैले केही पेन्स दिएँ पनि ती वृद्धालाई त्यसपछि उसको आँखाको सामना गर्न नसकेकोले म अर्को बाटो हिंडन थालें त्यसको ग्लानिले अझै पनि मलाई पिरोलिरहेको छ:
ऊ आउँछ
सँधै उभिन्छ
त्यही ठाउँमा
एउटा स्यानो मैलो टुक्रा छ ऊसँग
कपडाको नाउँमा ।
एउटा कुच्चिएको बटुको
एउटा मैलो झोला
एउटा बांङ्गिएको लट्ठी
उसको सम्पति ।
घाम लागे पनि नलागे पनि
पानी परे पनि नपरे पनि
ऊ आउँछ
सधैँ उभिन्छ
त्यही ठाउँमा
एक दुइ रुपियाँ कहिले
एक दुइ मुठी अन्न पाउँछ
दानको नाउँमा ।
कस्तो विडम्बना हो यो । पशुपक्षीको अधिकारका लागि लडने हामी वृद्ध—वृद्धाको अधिकार किन सुरक्षित गर्न सकेका छैनौं । डाक्टरको घरमा बिरामी भने झैं विकसित देशमा पनि किन यस्तो ? संयुक्त राज्य अमेरिका जस्तो विश्वकै सबै भन्दा धनी र विकसित देशमा पनि हजारौं बाल बालिकाहरु शोषित छन् । अस्ति मात्र सी एन एन टीभीले फलाक्दै थियो हजारौं बेघर छन् रे विशेष गरेर काला अमेरिकीहरु । प्रसिद्ध अमेरिकी साहित्यकार पल थरोलाई एक जना भारतीय महिलाले ‘तिमीहरु हामी विकासशील देशका गरीब र गरीबीका बारेमा त खूब लेख्छौ तर तिम्रो आफ्नै देशका बेघर र गरीबहरु बारे किन नलेखेका’ भनी सोधेर निरुत्तर पारिदिएकी थिइन । त्यही किताबमा थरोले स्वीकार गरेका छन् अमेरिकामा विद्यमान गरीबलिाई । उसले भन्छ, ‘गरीब अमेरिकीहरु बारे एउटा दुखद किताब लेख्नु आवश्यक छ । तर समस्या के छ भने त्यस संसारभित्र कसरी छिर्ने ? त्यस्तो पुस्तक उसैले लेख्न सक्छ जो त्यस ठाउँमा बस्छ … भारतका गरीबहरुलाई भेट्न सकिन्छ, उनीहरुसँग कुराकानी गर्न सकिन्छ । प्रायजसो उनहिरु मित्रवत हुनछन् र सामान्यतया उनीहरुसँग कुनै खतरा हुँदैन । तर कोही पनी भारतीय गरीब बस्तीहरुमा  सजिलै गए झैं गरीब अमेरीकी बस्तीमा गएर प्रश्नहरु सोध्न सक्दैन । म गरीब भारतीय बस्तीमा सजिलै जान सक्छु, प्रश्नहरु सौध्न सक्छु, तिनका जबाब पाउन सक्छु साथै उनीहरुबाट आतिथ्य पनि पाउँछु । अमेरिकाका यस्तै बस्तीहरुमा —मिसिसिपीका ज्याक्सन्, बोस्टनका रक्सबरीका छेउछाउ, वासिंगटन डीसीका एनाकोस्टा क्षेत्र र त्यस्तै थुप्रै अरु ठाउँहरुमा मैले गएर किताब लेख्नलाई प्रशनहरु सोध्दै हिंडे भने म लुटिन र पिटिन सक्छु ।’
ती गरीब अमेरिकीका व्यथा कथा अखबार र यु.एन.ओ रिर्पोटहरुमा पाइंदैनन्; ती पाइन्छन् साहित्यमा विशेष गरिकन अफ्रिकी अमेरिकी सर्जकहरुका कविता, कथा, नाटक तथा आत्मसंस्मरणहरुमा । ल्यांगस्टन ह्यूज र ग्वेनडोलन ब्रुक्स मेरा अति प्रिय कविहरु हुन् । चल्तीका लोकप्रिय गोरा अमेरिकी उपान्यासकार जन ग्रीसमले पनि आफ्नो चर्चित उपन्यास ‘दि स्ट्रीट लयेर’मा मा गरीब बेघर (होमलेस) काला अमेरिकीहरुको मर्मस्पर्शी चित्राकंन गरेका छन् । कहाँ पुगेन अमेरिकी र यूरोपियन बुद्धिजीवी र योजनाकारहरुका गृद्धदृष्टि जसले गर्दा विकसित मुलुकमा पनि यस्ता कारुणिक दृश्यहरु देखिन्छन् ।

समय कति छिटो कुद्दो रहेछ । मार्च महिना लागि सक्यो । स्वदेशमा ऋतुराज बसन्तको आगमन भइ सक्यो होला । बोट विरुवाहरु नयाँ हरित पत्रले ढाकिए होलान् । फूलहरु फुल्न थाले होलान् । घर अघाडि उभिएको आरुको बोट रातै भयो होला । आम्र मंजरीको मादक सुगन्धले बौलाएकी कोइलीले पंचम आलाप गर्न थाली होली । बारीमा केराउको रातो नीलो फूलमा माहुरीले गीत गुनगुनाउन थाले होलान् । अल्हड बैंसमा पाइला टेकेकी त्यसैत्यसै हाँसी रहने युवती झैं प्रकृतिले श्रृगांर गर्न थाली होली । यहाँ त्यस्तो केही भइसको छैन् तर यिनीहरुले मन पराउने ग्रीष्म ऋतुका लक्षणहरु देखिन थालेका छन् । हुन ता यसपालीको शिशिर सबै भन्दा उष्ण शिशिर भयो रे यूरोपमा । फिनलैंडबाट साथी तोवीले ‘यसपाली मनभरी स्कीइंङ्ग गर्न पाइन’ भनेर मेल पठाकी थिइन कारण हिमराशि द्रवित हुन थालेको थियो । आफूलाई चाहिं अहिले ठीक भएको छ । घाम पाहुना जस्तो यसो यदाकदा झुल्कि हाल्छ । गाहकहरुलाई लोभ्याउन रेस्त्राँहरुले बाहिर फुटपाथ छेउमा कुर्सीहरु राख्न थालेका छन् । पार्कहरुमा सुकेर झरेका पातहरु सफा गरिएकाले फूल विरुवाहरुका सीयो जस्ता तीखा हरिया टुसाहरु पृथ्वी माताका काखबाट चियाउन थालेका छन् कुनै बालकले आमाको काखबाट पछयौरी हटाएर अचम्म मानेर बाहीरी संसारलाई हेरे जस्तो । छेउकै बेंचहरुमा वृद्ध दम्पतिहरु बस्न थालेका छन् —शायद  विगतका रंगीन र रंगहीन पानाहरु पल्टाउन । युवतीहरुले ओवरकोट फाली सके र अरु वस्त्रहरु प्नि विस्तारै फाल्दैछन् —स्ट्रेप्टिज डान्सरले एउटा एउटा गरी आफ्ना वस्त्रहरु फुकाले जस्तो ।
भियना विश्वविद्यालयको इनस्टिच्यूट अव् साउथएशियन एण्ड बुधिष्ट स्टडिजमा आफ्ना रिसर्च सम्बन्धी टक पेपर प्रेजेन्ट गर्दै
शनिवारको दिन । अफिस छैन । त्यसैत्यसै बरालिंदै विन्डोशपिङ्ग गर्दै लेयसरफेल्डरग्रासेमा अवस्थित  सेन्ट पिटर्स कथीड्रल पुगेंछु । कति प्राचीन, कति भव्य, कति सफा, कति शान्त ! भित्र छिरें —लहरै बेंचहरु राखिएका छन् । कुनाहरु र प्रवेशद्वारका दुवैतर्फ सन्तहरुका मूर्ति अगाडि मैनबत्तीहरु ब्लिरहेका छन् —कोहि बोल्दैनन् । म एउट बेंचमा बसें । सबभन्दा अगाडिको लहरको देब्रे छेउमा एक युवा दम्पति बसेका छन् निस्तब्ध, निश्चल,  युवतीको शिर युवकको काँधमा अडिएको छ । मदेखि तीन बेंच अगाडि दायाँ एक जना महिला अचल भएर बसेकी छिन् —उनका आँखाहरु टाँसिएका छन् जीससका अनुहारमा, उनका सुनौला कपाल कुनै छहरा झैं गाला र काँध हुँदै उनका पीठ्यूँमा छरिएका छन् । म बसेको बेंचको पल्लो छेउमा एक जना अधबैंसे आँखा चिम्म गरेर ध्यानावस्थित अद्र्धचेतन अवस्थामा छ —न त्यसलाई सुसुप्तावस्था भन्न सकिन्छ न त जाग्रतावस्था नै । एउटा अनौठो शान्ति छ, जसलाई भंग गर्ने इच्छा हुँदैन । कुनै शान्त पोखरीमा बालकले स्यानो ढुँङ्गा फालेर ससाना तरंग उत्पन्न गरिदिए झैं बेला—बेला नवआगुन्तकहरुले गर्दा केही ध्वनी, केही शब्दहरु कानका पर्दामा खस्छन् नत्र भने त्यहाँ अनिवर्चनीय शान्ति छ —समयले पनि आफ्ना सदैव गतिमान पाइलाहरु रोकेर विश्राम गरे झैं । म पनि केही बेलासम्म अभिभूत भएर बसिरहन्छु ।
कथिड्रलको बाहिर दुईवटा ससाना पुष्प वृक्षहरु मनग्गे फुलेका छन् —ठूला रखहरुमा भर्खर हरिया टुसाहरु देखिन थालेका छन् । सफा परिसरमा बेंचहरु ओछ्याइएका छन् । कथिड्रलका द्वारहरु खुला छन् —कसैलाई पनि भित्र पस्न बाधा अवरोध छैन । हाम्रा मन्दिरहरु किन त्यस्तो अव्यवस्थित, फोहर र अशान्त —जति ठूलो मन्दिर त्यति बढी हल्ला, जति ठूलो मन्दिर परिसर त्यति धेरै फोहर । मन्दिरका ढोकाहरु किन सबैका लागि खुल्दैनन् ? हिन्दु धर्मालम्बीको संख्याँमा दिनानुदिन ह्रास हुनुको एउटा प्रमुख कारण यसको सर्वसुलभता नहुनु पनि हो जस्तो लाग्छ —उनै पुराना मान्यताहरुलाई अँधअनुकरण गरिराखेका छौं हामी आाज पनि । प्रसिद्ध उर्दु कवि फैजका पंक्तिहरु सम्झिन्छु:
सच कह दूँ ऐ बिरहमन गर तू बुरा नमाने
तेरे बुतकदे के सारे बुत हो गए पुराने ।
धर्म के हो ? के हो धर्म —जीवन दर्शन्, ईश्वर प्राप्ति, गलतसही न्यायअन्याय मीमांसा, लौकिक आचार विचार, मृत्यु पश्चातको जीवन ? म यहाँ धर्म र ईश्वर सम्बन्धी गहिरो गन्थन गर्न चाहन्न, त्यसै पनि गालिबले भन्नुभएको छ ‘बहुत गहराइमे न जा गालिब डूब जायेगा’ । यदि धर्म ईश्वर प्राप्तिको लागि हो भने मन्दिर, मस्जिद, गिर्जाघर किन चाहिन्छ ? ‘कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो…’ मेरो मनमा महाकवि गुनगुनाउन थाल्नुहुन्छ ।
मानिसले गरेको धर्मको अन्धानुकरण प्रति फक्कड कवि कबीरको भनाई हिन्दूहरु प्रति जति सटीक र मार्मिक छ:
पाहन पूजे हरि मिले तो मैं पूजुँ पहाड
ताते ए चक्की भली पीस खाए संसार ।
त्यस्तै मार्मिक छ उनको व्यंग्य मुसलमानहरु प्रति पनि:
कंकड पाथर जोडिके मस्जिद लियो बनाय
ता चढी मुल्ला बाँग दे क्या बहिरो हुए खुदाय ।
मन्दिर, मस्जिद, गिर्जाघर ईश्वर प्राप्तिका लागि अपरिहार्य नभए पनि यी अनावश्यक होइनन् किन भने यिनले ईश्वर साधनामा मद्यत पुर्‍याँछन् भन्ने धारणा केही मात्रामा सही होला र त्यो सही हो भने गिर्जाघर र मोनास्टरीले मात्र त्यो धारणाको पुष्टि गर्दछन् किनभने गिर्जाघर मात्र शान्त हुन्छ बाँकी मन्दिर र मस्जिद जहाँ नरमुण्डहरुको अपार भीड जहाँ मान्छेले मान्छेलाई कुल्चेर परलोक पठाइदिन्छन् केको शान्ति र कहाँको ध्यान । पाण्डवहरु वनवासमा हुँदा यक्षको प्रश्नको जबाब युधिष्ठिर बाहेक अरु कुनै भाइले दिन सकेनन्: आज हामी कतिले त्यो प्रश्नको जबाब दिन सक्छौं ? यक्ष प्रश्न थियो, ‘संसारमा सबभन्दा अचम्मको कुरो के हो ?’ र युधिष्ठिर उत्तर थियो ‘संसारमा सब भन्दा अचम्मको कुरो के हो भने मान्छेलाई थाहा छ कि एक दिन उसले मर्नै पर्छ तर कोही पनि मर्न चाहँदैन’ । तर के गर्ने ‘जातस्यहि ध्रुवो मृत्यु’ अर्थात् यस असार संसारमा जन्म लिएपछि मर्नु त पर्छ नै । अनि मृत्यु पश्चातको अनिश्चितताको भयले मान्छे मन्दिरमा जान्छ, मूर्तिलाई ढोग्छ, घन्ट—सन्ट बजाउँछ, माग्नेलाई पनि एक दुई रुपियाँ दिइहाल्छ । हाम्रा वामपंथी नेता जस्तो प्रगतिशील देखिनु देखाउनु छ भने मन्दिर जाँदैन, घरमै पूजापाठ गर्छ, रुद्रीसुद्री लाउँछ, टीको थाप्छ र स्वर्गमा कांग्रेसी नेताको एकाधिकार नहोस् भनी प्रभुमा अर्जी पेश गर्छ । धर्म र ईश्वर सम्बन्धी यो संक्षिप्त चर्चा यति भनेर समाप्त गर्न चाहन्छु कि सांच्चै ईश्वर छ भने र सांच्चै उसले मृत्यु पश्चात उसको पूजा कसले कति गरे, कहाँ गरे र कति भव्यताका साथ गरे भन्ने कुराकै आधारमा पुरष्कार र दण्डको व्यवस्था गर्छ भने मलाई नर्कमा आजीवन कारावास बाहेक अरु विकल्प छैन ।
हिजो डोनाउ नदी हेर्न गएको थिएँ । किन हो कुनि मलाई पानीसँग बढी नै प्रेम छ । जर्मनीमा नोवल सरसँग काम गर्दा विदामा वहाँ पहाड जान चाहने म चाहिं समुद्र । समुद्रको असीमितताले मलाई सँधै आकर्षित गरेको छ —आँखाले नभ्याउने गरी क्षितिज पारिसम्म फिंजिएको यसको पानी, कहिले नथाक्ने गरी किनारलाई अँगालो मार्न आइरहने यसका लहरहरु, यसको आफ्नै विशिष्ट गंध, आफ्नै विशिष्ट आवाज अनि यसको आफ्नै विशिष्ट रंग जो सूर्यका किरणसँग छिनछिनमा बदलिन्छ —प्रात: उषाकालमा गुलाबी, मध्यानमा सुनौलो नीलो, गोधुली याममा बैंजनी अनि रात्रिमा कालो ।
डोनाउ नदी र त्यसको पल्लो किनारमा यू.एन. भवन
भिएनालाई समुद्र छैन —डोनाउ नदीले केहि हदसम्म समुद्र नभएको क्षतिपूर्ति गर्छ । यो यूरोपको सबैभन्दा ठूला नदीहरु मध्ये एक हो भन्ने कुरा यसलाई हेर्दै थाहा भइहाल्छ । यसको छेउमा एउटा स्यानो तर सफा रेस्टोरेन्ट बाहिर बसेर बियर तान्दै रमिता हेर्छु । साइकलहरु गुडेका, ससाना नानीहरु दगुरेका, बुढाबुढीहरु हात समाएर हिंडेका, तन्नेरी तरुणीहरु अंगालो मारेका, एकलकाँटेहरु आफ्ना कुकुरहरु —कुनै  गैंडा झैं घ्याम्पे, कुनै कति दिनले नखाएको स्याल झैं सिन्के, कुनै ठूलो मुसा जत्रो, कुनै स्यानो हात्ती जत्रो, कुनै कति राम्रो हेर्दै सुमसुम्याउँ जस्तो कुनै कति घिनलाग्दो हेर्दै हिर्काउँ जस्तोलाई डोर्‍याएका, अनि अलि परबाट कालेनबेर्गको डाँडाले बोलाइराखेको । अस्ति भर्खरै मात्रै त्यो डाँडा पुगेर आएको तर फेरि जाउँजाउँ जस्तो लाग्छ । यो डाँडाको पनि आफ्नै इतिहास छ । मध्यकालमा तुर्की सेनाको आक्रमण हुँदा यसै डाँडामा यूरोपियनहरुको सम्मिलित सेनाले त्यसलाई विफल गरी तुर्कीहरुलाई लखेटेको थियो अन्यथा आज भिएना टर्कीको एउटा अँग हुन्थ्योहोला । यूरोपमा कफीको प्रचार पनि त्यसै बेलादेखि शुरु भएको मानिन्छ किन भने तुर्कीहरु पछि हटनु पर्दा हतारमा उनहिरुले आफ्ना प्रिय पेय पदार्थ कफी पनि धेरै मात्रामा छाडेर जानु पर्‍यो जसलाई चाखेर युरोपियनहरु कफी पिउन पल्केका हुन् रे । त्यो डाँडाभन्दा बढी रमाइलो छ त्यसको फेदीमा रहेको अंगूर बाग । अंगूरका बोटहरु सीधा लाइनमा उभिएका सैनिकहरु सरह सतर्क भएर उभिएका जस्ता देखिन्छन् । पर टाढा सम्म लम्पसार परेको यस अंगूर बागले इलामको चियाबारीको सम्झना गराउँछ अनि हावाले सुसेल्न थाल्छ —‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो…’
रेस्टोरेन्ट अगाडि निकै मानिस जम्मा भईसकेका छन् कुर्सी खाली छैन । खाना खान कति धेरै समय लगाउँछन यिनीहरु —विस्तारै कुरा गर्दै खाँदै, खाँदै कुरा गर्दै । खाना खान्छन् कि प्रेमिकालाई माया गर्छन् अन्त हुने छाँटकाँटै हुँदैन । हामी नेपालीमा यति धैर्य कहाँ —पलेंटी कस्यो, सल्याप सुलुप गर्‍यो, सकी त हाल्यो । खानलाई पनि के त हुन्छ र ? दाल भात तरकारी र अचार भाग्य बलियो छ भने, छैन भने ढिंडो र खुर्सानी वा सुक्खा रोटी र प्याज । खाई सिध्याउन कति नै समय लाग्छ र ! म भन्दा पहिलादेखि नै बसिराखेकाहरुले अझै आधी जति पनि खाइसकेका रैनछन् । म चाहिं उठेर आफ्नो बाटो लाग्छु ।
यूकेबाट एलानको मेल आको छ नोभेम्बरमा हुने सृजनात्मक लेखन कार्यशालामा इण्डोनेशिया आउने कि न आउने भनेर सोध्या छ । बबले पनि मार्च २०१५मा पोलैंड आउने कार्यक्रम के के हुने भनी सोधको छ । कति अगाडिदेखि यीनीहरु प्लान गर्छन् । दुवैको उमेर ७० नाघिसक्यो तर अहिले पनि उतिकै जाँगरिला छन् बुढाहरु, दुवै विश्वविद्यालयमा काम गर्छन् । । हामी ६० काटे पछि मृत्युलाई र्पिर्खंदै बस्छौं । हाम्रो सरकार पनि आफ्ना नागरिकलाई ६० पुगे पछि काम गर्न सक्दैन भनेर ५८मै अवकाश दिन्छ । एक पल्ट काठमाडौं बिराटनगर रात्रिबसमा छेउमा बसेको सज्जनसँग कुरा भएको सम्झिन्छु । वहाँले मेरो पानीको बोतल देखेर ‘अलिकति पानी खान सकिन्छ’ भन्दा मैले बोतल वहाँलाई दिएँ । बोतलबाट घटघट पानी पिएर तृप्त भएपछि ‘नारायण,नारायण’ भनेर आँखा चिम्ले पछि वहाँलाई मैले सोधें, ‘तपाई बिरामी हुनुहुन्छ ?’
‘होइन, तर अब साठी लागि सकियो भाई, उमेर पुगिसक्यो ।’ वहाँले यसरी भन्नु भो मानौ साठी पुग्नु कुनै अपराध हो जस्तो ।
‘तर साठी त त्यति धेरै होइन । मान्छेले अस्सी हेर्छन् हिजोआज’, मैले भनें ।
‘होला’, वहाँले भन्नुभो । ‘तर अब धेरै बाँचेर पनि के गर्नु छ र । दुई वटा छोराहरु दुवै काठमांडौमा सरकारी जागीरमा छन्, दुइटी छोरी दुवैको बिहे भईसक्यो । ज्वाईंहरु पनि राम्रै जागीरमा छन् । तीन वटा नाती नातिनाहरु पनि छन् । अब अरु के चाहिन्छ र, कालले लगे पनि केही छैन ।’ यति भनेर वहाँले आँखा चिम्म गर्नु भो । आफ्नो साठी वर्षको जिन्दगीमा पहिला आमा बुबाको र त्यसपछि छोराछोरीका आवश्यकता र रहर पुरा गर्दै बुढाको जीवन बित्यो । के उसको आफ्नो कुनै रहर, कुनै सपना पुरा भयो होला ? यही हो हामी आम नेपालीको जीवन र चाहना —छोराको सरकारी जागीर, छोरीहरुको खान्तेपीन्ते परिवारमा बिहे अनि नाती नातिनाको बोनस । यति भएपछि ऊ धैर्यपूर्वक मृत्युको प्रतिक्षा गर्छ ।

हेर्दाहेर्दै अप्रिल महिना पनि लागिसक्यो र आइसक्यो मेरो फर्किने बेला पनि —यूरोपियनहरुको शहर भियनाबाट मुसलमानहरुको शहर इस्ताम्बुल र त्यहाँबाट भारतीयहरुको शहर दिल्ली पार गरेपछि मात्र नेपाल पस्न र हिमाल हेर्न पाइने भइयो । दिल्ली जाँदा कुनै दिल्लगी हुन्छ कि भन्ने घिडको मनमा लागि रहन्छ —ठूल्दाईको देशमा कहिले पनि सजिलो अनुभव भएन मलाई । मेरो स्पोनसरलाई कति अनुरोध गरें मेरो यात्रामा दिल्ली नपारिदेउ भनेर, मानेन, सबैभन्दा सस्तो रुट त्यही हो भनेर ओठे जबाब पाइयो । नभन्दै दिल्लीमा दिल्लगी भइ नै हाल्यो । यूरोप र एशियाका बीसौं मुलुकहरुका अन्र्तराष्ट्रीय एयरपोर्टमा  ट्रान्जिट गर्दा सरासर सम्बन्धित एयरलाइनको ट्रान्जिट डेस्कमा गएर टिकिट वा बोर्डिंग पास देखाउनासाथ उडान गेट तर्फ वा ड्युटी फ्री सप तिर जाँदा भइहाल्छ । तर इन्दिरा गाँधी अन्तरराष्ट्रीय विमानस्थल नयाँ दिल्लीमा त्यसो भएन । एउटा तन्नेरी भाले र तीनवटा भर्खरकी पोथीहरु बात मार्दै गरेको र एउटी पोथीले कम्पूटरमा टाइप गरिराखेको ट्रान्जिट डेस्कमा गएर आफ्नो टिकिट देखाउँदा ‘कहाँ जाना है ? ओ, काठमाँडू’ भनाइको उसको टोनले नै मनमा चीसो पसिसक्यो कि अब सजिलै यहाँबाट उम्किन पाईदैन होला । त्यसैले केही नभनी निरीह देखिने गरी त्यहीं उभिरहें र ‘कौन एयरलाइन’, ‘टर्किस’, ‘किधर गया वो टर्किशवाला’, आदि संभाषण सुनिरहें । मेरो पछाडि एउटा अधबैंसे फ्रान्सेली दम्पति पनि चुपचाप उभिराखे किनभने केहि बेर अगाडि बूढाले आफ्नो फ्रेन्च—इंगलिस ट्राई गर्दा हप्काइ खाइसकेको थियो । नयाँ भारत कुइरेहरुलाई देखेपछि नेपाली जस्तो लुतुक्क हुँदैन बरु उसलाई सताएर औपनिवेशिक समयको साटो फेर्छ क्यारे । समय विस्तारै घस्रिदैं गयो । एक युग नै बिते जस्तो लाग्यो जब ‘वो टर्किशवाला आ गया’ सुनेर ज्यानमा ज्यान आयो । टर्किशवालाले झोलाबाट एउटा फर्म झिक्यो, त्यसमा हामी तीनै जनाको पासपोर्ट लिएर हाम्रो नाम, ठेगाना, पासपोर्ट नम्बर आदि सारेर फर्म डेस्क पछि बसेको भालेलाई टक्रायो र विन्ती बिसायो, ‘सर जल्दी कर दिया जाए’, तर ‘जरा ठण्ड रख, करते हैं न’ जबाब पाएर चुप लागेर एक छिन सम्म भाले र पोथीको गुटरगूं सुनेर बस्यो अनि फेरि भन्यो, ‘सर, बोर्डिंग शुरु होनेवाला है’ । जे होस बोर्डिंग पास पाएर ढुक्क हुन नपाउँदै, टर्किशवालाले ‘तपाईहरुको सामान आइनसकेको हुनाले गेटमा सोधेर अर्को लगेज ट्याग लिएर जानुहोला’ भन्यो । तर उसको भारतीय इंगलिश जति गरेपनि फ्रान्सेली दम्पतिले त्यो पनि आत्तिएको हुनाले बुझ्न नसकेपछि मेरो पछि जानु भनेर इशारा गरिदियो ।
विमानको झ्यालबाट आठ बजे बिहानको उज्यालोमा सेतो हिमाली श्रृँखलालाई देख्दा मनै कस्तो कस्तो भएर आयो, आँखाका कुनाहरु सजल । स्वदेश आई पुगेछु मन ढुक्क भयो । आइपुगेको खुशीमा कस्टमको ढीलो, ट्याक्सी गुरुजीहरुको तँछाड मछाडको पनि कुनै वास्ता नगरी ट्याक्सीमा बसें । ट्याक्सी गुडन थाले : विभिन्न किसिमका हर्नहरुले मेरा कानलाई रोजे, धुलाका बादलहरुले आँखालाई, सडकका खाल्टाहरुहरुले बैलगाडा सवारीको सम्झना गरायो भने भत्केका घरहरुले नेपालको विकासको, बागमती किनारका फोहरका सगरमाथाहरु र फुँङ्ग उडेका नेपाली अनुहारहरु देखेपछि विश्वस्त भएँ—साँच्चै काठमाडौ, स्वदेश आइपुगेछु ।