अक्षरमार्ग

कलहकाे साइनो

जीवन हाे, सम्बन्ध चाहिन्छ । सम्बन्धमै हाे सृष्टि फक्रेर सौर्न्दर्य बटुलिने र सम्बन्धलाई सहृदयी र सुमधुर बनाउने चेतनाले हाे तर यहाँ चेतनाले काम नगरी मै-मत्त भई आफै जान्ने सुन्ने हुँ भनेर स्थापित सम्बन्ध निभाउन गाह्रो मान्नेहरूकाे भिड बढाउने आजकाे वस्तुस्थितिले के सामाजिक बेथितिमा मलजल गरी मानवअस्तित्व सङ्कटमा पारिरहेको छैन ?

हाे, नभई नहुने भएर गाँसिएको श्रीमान् श्रीमतीको सम्बन्ध सहृदयी हुनुपर्ने तर कलहकाे सङ्ग्रह भइदिएकाे छ । स्वकर्तव्य लत्याएर अधिकारकाे एकलौटी खेतीमा पल्केकाे मान्छेले आफै खुट्टामा बन्चरो चलाइरहेकाे तथ्य नपत्याउन मिल्छ र ? उफ्, कति अप्ठेरो मान्याहाेला ! आमापछि सबैभन्दा नजिकको श्रीमान् श्रीमती सम्बन्ध सकुशल निर्वाह गर्न ! याे भा-बनाकाे सम्बन्ध मासेर अर्को खाेज्न हिँड्ने कल्मष मनका धनीहरूले पाहारिला घाम तापेर आफ्नै मन धाेइपखाली निर्मल पारे कति सुन्दर हुँदाे हाे जीवन !

थाहा छ, याे सत्य हाे,सम्बन्ध चाहिन्छ, यै आवश्यक छ तर अरूका कुराले डसिरहन्छ, डसिइन्छ । जिन्दगी आफ्नो हाे श्रीमान् श्रीमतीको साख्खै आफ्नो तर कुरौटेका अर्थहीन कुरा के ? कसाे ? किन ? कति ? जस्ता लिनु न दिनुका आन्तरिक चासोमा प्रश्नहरू तेर्स्याएर हैरान पारिदिने हाेइन फुर्सद पनि कति हाे ! यी आफन्त भनिनेहरू हुँदाे खाँदाे जिन्दगी भत्काइदिन हेर, विवेक गुमाएर कस्सिएका ! एकपछि अर्को निउँ झिकेर कुरा काट्छन् र सहज चलिरहेको जिन्दगीमा आगाे सल्काइदिएर आफू खुसी मनाउँछन् तर भित्री लुगामा भ्वाङ परेर आफै उदाङ्गिएकाे पत्तो पाउँदैनन् ।

हेरौं न, आफू बाँच्ने जिन्दगी अरूका कुरा पत्याएर भताभुङ्ग पार्ने हामी आफै श्रीमान् श्रीमती ! श्रीमान् श्रीमतीले अरूका कुरा नसुने, शङ्का नगरे, कुरौटेका पछि नलागे आज मौलाएको भयावह सामाजिक फेसनजस्ताे बनेको पारपाचुके बिगबिगीले सताउनै पाउने थिएन । भनिन्छ-आज चेतना बढेको छ, मान्छे सचेत भए तर निजी सुखकाे क्षणिक रमाइलोमा भासिएर सिङ्गो जीवन भड्खालाेमा परेकाे दृश्य नदेख्ने ज्ञानचक्षु कसरी सचेत ? सँगै राखेका भाँडा चलाउँदा बज्छन्, एकै ओछ्यानमा सुते गाेडा लाग्छ कि त मुर्दा हुनुपर्‍याे नचलबलाउन ! चलेपछि दाेहाेरै ठाेकिन्छ । यति सानाे र सजिलो विषयमा आफू विवेक प्रयोग नगरी लहैलहैमा दौडिँदा खेपिने हैरानी नसम्झने ? हाेइन कस्तो हाे याे आज आर्जित सचेतना ?

आफ्नो सिर्जनशील समय खर्चेर आफन्तकाे जिन्दगीकाे धमिराेे हुने रहर कति जाती हाे ? याे कहाँबाट पलायाे कुन्नि ? यस्तो रहरबाट काे कति लाभान्वित भए र हुन्छन् भविष्यमा ? यस्तो अर्थ न बर्थ गाेविन्द गाईका पछि हुत्तिएकाे मान्छे कहाँ अडिने हाे ? याे मूल्यवान् समय कुरौटिएर खेर फाली फाली परिवारभित्रका छिद्र काेट्याउनु बुद्धिमानी कति हाे कुन्नि ? साेध्न मन लाग्छ !
अर्थहीन बाेल्ने बानीले सिर्जनाकाे बाटाे भत्काउँछ । सान्दर्भिक ठाउँमा ठिक्क बाेलिने बाेलीले कसैलाई घाेंच्दैन । मेरो बाेलीले कसैलाई घाइते बनाउँदैन र मेरो समयकाे दुरुपयोग पनि हुँदैन । याे उपदेश भाे भन्ने हाे भने व्यवहारमा त झन् शालीनता गर्ल्यामगुर्लुम ढलेकाे छ ।

हेरौं, प्रकृतिले हुर्काएकाे संवेदनशील चेतना र मानवीय संस्कार संस्कृति निमुखालाई जितेर बहादुर बन्ने हाेइन । आज शक्तिमा हुनेले कमजोर चरित्रकाे काँध चढेर अग्लिने यस्तो चलन छाेडिनुपर्छ, मासिए जाती हुन्छ । सहअस्तित्वमा खेल्न पाउने जीवनकाे नैसर्गिक अधिकार हाेइन र ?

जनमत देश सञ्चालनकाे सर्वोच्च शक्ति हाे । के याे भन्नका लागि भनिने महावाक्य हाे ? कि मान्छे, मान्छेजस्तै जीवन जिउने पद्धतिले पछ्याएकाे मानवीय मर्यादा हाे ? चेतनाकाे चाेइलाे चलाउनेले समन्यायी व्यवहार के हाे र कसरी गरिन्छ ? हेक्का राखिदिनुपर्ने कसले हाे ?

याे अरूले अरूकाे विषयमा चासो दिएर विसङ्गति बढाउने अभ्यासकाे हाेडबाजी मान्छेकाे गतिहीन आचरण हाे । आफू सिर्जनात्मक कर्ममा जुटे अरूको विषयमा खानतलासी गरिरहनुपर्दैन । मान्छे आफ्नो कामप्रति इमानदार भए नानाभाँती राेगकाे उपचारमा मनमस्तिष्क र समय खर्चिनुपर्दैन । प्रत्येक मान्छेले आफैलाई विश्वास गर्ने सामर्थ्य भए समाज सङ्लिन गाह्रो पर्दैन । प्रत्येक मैलो म सुकिलिए, मैलो कहाँ बस्ने ? समस्या मैलो मसँग टाँसिएकोले झाँगिएकाे हाे । याे ममा टाँसिएको कत्लाे उक्केर हामीमा जाेडिए जीवन, जीवनजस्तै झरीपछिकाे आकाशसरि उजेलिने थियाे ।

शालीन व्यवहार सम्बन्ध बचाउँछ । सम्बन्धसूत्रकाे पाेयाे नरम भए सृष्टि सौर्न्दर्य रमाउँछ । प्रकृतिको स्वच्छ हावा र कलकल झरनाकाे आत्मीय साइनाेमा जीवनले मुस्कुराउन पुग्ने खुराक पाउँछ । सचेतनाकाे बौचाे बाेकेर हिँड्ने मान्छेले प्रकृतिबाट पाइने प्रवृत्तिकाे कदर गरे समस्त जीवन सुखी हुन सक्थ्याे । कुरा, कुरा हुन् जति गरे पनि जता माेडे पनि निजी समस्या निजले सुल्झाए राम्रो हाे । याे घरभित्रकाे सहमति असहमति बिसाएर बाहिरी काेलाहल समनमा एकै ठाउँ उभिने सुझबुझ खेतीमा संयुक्त हातले मलजल गर्नु आवश्यक देखिन्छ ।

आज मच्चिएको विश्वसमुदायकाे हिंसा, युद्ध, छट्पटी मान्छे स्वयंकाे दम्भले डाेर्‍याएकाे विकृति हाे । याे घरपरिवारबाट सुरु भएजस्तो गरी एक पक्षीय शैलीकाे बेथितिकाे हुँडारले झैँ मानवता झम्टिँदाे छ । समुद्र पारिबाट हामफालेकाे हुँडारलाई जितेर सौम्य जीवन जिउने परिवेश बिउँझाउने जिम्मेवारी मान्छे आफैले पूरा गर्ने हाे पशुपन्छीबाट हुँदैन ।

याे बेलाबखत साँढेसरि डुक्रेर प्राकृतिक सम्पदाकाे उछिताे काढ्ने हिंस्रक हुँडारमाथि सामूहिक हस्तक्षेप अनिवार्य छ । याे लठैत पाराकाे हुङ्कारबाट भइरहेको सम्पदा विनाशले जीवन सङ्कटतिर धकेलिरहेकाे छ । यसले सिङ्गो सृष्टिसँग हुर्किंदै आएकाे जीवन सौर्न्दर्यकाे साताे खाइरहेकाे छ । यसबाट जीवन जाेगाउने नैतिक इमान धानेर विवेकी बलमा दराे गरी उभिई हिंस्रक हुँडार हुत्याउनुपर्ने दायित्व निर्वाहमा बिलम्ब भइरहेको छ । प्रकृतिका सुन्दर छटा मास्ने दुस्साहसी हत्याराे हुँडारलाई समयमै ठेगान लाउने परिदृश्यतिर एक साथ साहसिक पाइलाहरू साेझिनु आवश्यक छ ।