अक्षरमार्ग

पुच्छरवाद, जिन्दावाद !

भीमप्रसाद काफ्ले
जगत र जीवनको सृष्टि गर्दागर्दा हैरान भएका विचरा ब्रम्हाजीले खुइय गर्दै लामो सास फेरे । उनी ज्यादै थकित थिए । साह्रै बुढा भएकाले दाह्रीजुँगा पनि बगरमा काँस फुलेझैं सेतै भएछन् । उनी आफूले सृष्टि गरेको पृथ्वीको अग्लो टाकुरामा बसेर चारैतिर नियाले । उनी आफूले बनाएको पृथ्वी देखेर आफै झसङ्ग भए । बनाउन त यत्रो दुःखले बनाइयो तर यसलाई चलाउने जिम्मा कसले लेला ? ब्रम्हाजी चिन्तित भए । निकै बेरसम्म नाकको टुप्पो सुमसुम्याएपछि बल्ल उनको बुढो गिदीमा एउटा गाँठी कुरा फु¥यो; देवताहरूको महासम्मेलन बोलाउने । उनले समस्या समाधानका निम्ति जतिसकेको चाँडो तेत्तीस कोटि देवता (तेत्तीस कोटि देवीहरू बाहेक) हरूको महासम्मेलन बोलाए । सम्मेलन भारतवर्षको जबमुद्वीपमध्ये हिमवत खण्डको काठमाडौँमा बोलाए । काठमाडौँबासी देवदेवता पनि ओलम्पिक खेल हुन लागेकोमा बेइजिङका जनता जतिकै खुशी भए । हेर्दाहेर्दै काठमाडौँ खचाखच भरियो । सिङ्गै उपत्यका तातो पानी जाने बस जतिकै खचाखच भयो । त्यतिका पाहुनाहरूको खानेबस्ने र दैनिक भत्ताका निम्ति चन्दा दिने व्यापारी उद्योगपति कोही नहुदा विचरा ब्रम्हाजीलाई महासम्मेलन ‘खाईन पाई छालाको टोपी लाई’ भनेजस्तै भयो । पहिले नै रित्तिन लागिसकेको पृथ्वीकोषबाट बल्लतल्ल खर्च जुटाइयो । तैपनि राम्रो खानपीन र उचित खातिरदारी नभएकोमा कति देवताहरू त असन्तुष्ट नै भए । तीन महिना तीन दिनको चर्काचर्की र घम्साघम्सीपछि पृथ्वीको लय र स्थितिको उचित व्यवस्थापनका निम्ति चारसूत्रीय प्रस्ताव पारित गर्दै महासम्मेलन इतिश्री भयो । जसअनुसार (क) पृथ्वीको लय र स्थितिको आवश्यक व्यवस्थापनको सम्पूर्ण अधिकार महादेव र विष्णुलाई दिने (ख) तोकिएका कामहरू कार्यान्वयनका सिलसिलामा गर्नुपर्ने सम्पूर्ण खर्च उनीहरूले पृथ्वीकोषबाट इच्छाबमोजिम गर्न पाउने, त्यसबारे कसैले कुनै पनि प्रश्न गर्न नपाउने (ग) विभिन्न सभासम्मेलन, सेमिनार, गोष्टि, छलफल, उद्घाटन, निरीक्षण, दौडाहा, वनभोज, अवलोकनभ्रमण, असुर जातिको क्रियाकलापको निगरानी राख्ने गुप्तचर कार्यका सिलसिलामा ब्रम्हाण्ड परिक्रमा गर्न सबैले रोजेको बाहन लिन पाउने (घ) ब्रम्हाजी ज्यादै वृद्ध भएकाले सेवाकार्यबाट निवृत्त भई सर्वमान्य नेता भएर बस्ने । 
महासम्मेलनले अधिकारसम्पन्न बनाए पनि महादेवले संहारकर्ताको मात्र जिम्मेवारी बहन गर्ने कुरा प्रष्ट पारे । हुन पनि महादेवका स्वभावगत विशेषता र आदतगत कुलतका कारण त्यो जिम्मेवारी नै पर्याप्त थियो, किनभने उनी छिटै रिसाउने, छिटै खुसाउने, विष, भाँग, धतुरो खाने, सोमरस, कोदोरस, चामलरस खाएर डाँडै हल्लाउने व्यक्तिले नियमानुसार गर्नै पो के सक्थे र ! यसले गर्दा संसारलाई हेरचाह गर्ने पूरै जिम्मेवारी विष्णुकै काँधमा आयो । हुन त उनी पनि नशाले लठ्ठ भएर पार्वतीलाई काखमा राखेर झुम्ने शिवभन्दा के कम थिए र ? उनी पनि क्षिरसागरमा शेषनागको ओछ्यानमाथि लक्ष्मीलाई अँगालो हालेर लम्पसार परी मस्त निदाउँथे । तर पनि राज्य सञ्चालनका साम, दाम, दण्ड र भेद गरी चार महत्पूवर्ण नीतिका ज्ञाता भएकाले उनी आजका हाम्रा मन्त्रीभन्दा सोह्रै आना कम थिएनन् । राज्य सञ्चालनमा चुस्तता र फाइदामा कुस्तता हुने भएकाले सकल ब्रम्हाण्ड संसारलाई उनले प्रमुख तीन भागमा बाँडिदिए≤ (क) स्वर्ग अथवा देवलोक  (ख) मत्र्य अथवा नरलोक  (ग) नरक अथवा छानविन लोक । लोक निर्धारण पश्चात् उनले जिम्मेवारी पनि हस्तान्तरण गरे । सामन्तवादका संस्थापक इन्द्र विष्णुका पुच्छर भएर स्वर्गको अधिपति भई आफ्नो डाहा, इष्र्या, छलकपटपूर्वक राज्य गर्दा भए । विष्णुले भने मत्र्यलोक आफ्नै जिम्मामा लिई कहिले राम बन्दै सीताका पिरले रुँदा भए त कहिले कृष्ण भएर १६१०८ गोपिनीहरूसँग रासलिला रच्दा भए । त्यसैगरी स्वर्ग, मत्र्य दुवै लोकमा बस्न नसुहाउने धम्मरधुस, भुसतिघ्रे, जुँगामुठे यमराज नरकका राजा भई चित्रगुप्तका इसारामा चल्दा भए । त्यसै गरी तीनैजनालाई आवश्यक सल्लाह र सहयोग दिन अधिकारसम्पन्न सल्लाहकारको नियुक्ति पनि गरियो । अब पदाधिकारीहरूको लर्को निकै चर्को भयो । कामको बोझ थपिएपछि सबैजना यथोचित झण्डासहितका बाहनका निम्ति विष्णुको पुच्छर लागे । विचरा विष्णुले पो के गरून् ? विश्वकर्मालाई बनाउन लगाऊँ उनलाई त्यस्तो नयाँ प्रविधिबारे ज्ञानै छैन । उनले आफ्नो ‘दाम’ नीति अपनाइहाले । उनले सबैलाई पशुपक्षीमध्ये जुन लिए पनि रोजेर लिन पाउने छुट दिए । ब्रम्हाजीकै सहयोगमा ब्रम्हाजीकृत सबै पशुपक्षीको भेला गराइयो । कसैको जुरो, कसैको नङ्ग्रा, कसैको कल्की, कसैको सिङ भए पनि सबैको ध्यान चाहिँ पुच्छरमै गयो । लामालामा र बान्की परेका पुच्छरवाल पशुपक्षीका सामु चिम्प्याञ्जी, यप, गोरिल्ला, जलगैँडा, गैँडा, ओराङ–ओटाङ, भालु, भ्यागुतो जस्ता जनावर ज्यादै फिका परे । अब पुच्छर लामा र राम्रा हुने पशुपक्षीलाई आफ्ना बाहन बनाउनेबारे लुछाचुँडी नै प¥यो । पुच्छर हुनेमा उनीहरूले दुईटा गुण देखे≤ पहिलो सवार र दोस्रो झण्डा । पिठ्युँमा बसेर जहाँ पनि जान सकिने र पुच्छरको झण्डा हल्लाएर आ–आफ्नो ओहोदाको प्रमाण पनि दिन सकिने । अरुले कुन पशुपक्षी लिने सो निर्णय गर्न नपाउँदै महादेव डाँडाबाट बुङ्ग हाम फाली खुट्टा बटार्दै हत्तनपत्त साँढेमा चढिहाले । कहिलेकाहीं ससुराली जान र बेलाबेला रमाइलो गर्न कतै जान उनलाई त्यो नै उपयुक्त बाहन थियो । झन विष्णुको त कार्य क्षेत्र नै यति फराकिलो थियो कि उनलाई छिटो र बलियो बाहन चाहिएको थियो । कहिले स्वर्ग, कहिले मत्र्य, कहिले वैकुण्ठ, कहिले द्वारका आउनजान उपयुक्त ठानी उनी गरुढमाथि सवार भइ नै हाले । सानोतिनोले चित्तै नबुझ्ने सामन्ती स्वभावका आहारिसे इन्द्रले चाहिं ऐरावत हात्ती नै उछिट्याए । यसप्रकार देवदेवीमा पुच्छर हत्याउने होडबाजी नै चल्यो । यसै क्रममा अग्निलने बोको, वायुले मृग, सूर्यले घोडा, गणेशले मुसो (छुचुन्द्रो), पार्वतीले बिरालो, गङ्गाजीले गोही, कुमारले मयुर, शीतलादेवीले गधा, दुर्गा÷कालीले सिंह र बाघ हत्याए । विचरा पाप पुण्यको छानविन गरी न्याय दिने यमराजले त मत्र्यलोक नेपालका नरहरूले खाने ‘मम’ को कच्चा पदार्थ राँगो पो फेला पारेछन् । त्यसै गरी सरस्वतीले हाँस, यमुनाले कछुवा, लक्ष्मीले लाटोकोसेरो, भैरब र दत्रात्रेयले कुकुर फेला पारे । यसरी हाम्रा वैदिककालका देवदेवीले त पुच्छरलाई त्यति ठूलो महत्व दिएका रहेछन् भने अहिले अगुवा नेताको कार्यकर्ता भएर पुच्छर लाग्ने युगमा त नहुने कुरै भएन । हेरिल्याउदा अहिले भएका विभिन्न वादभन्दा ज्यादै सशक्तवाद पुच्छरवाद हो भन्दा फरक परोइन । 
विश्वइतिहासलाई पल्टाइहेर्दा जति पनि ठूला मान्छे भए ती कुनै न कुनै रूपमा कसै न कसैको पुच्छर लागेकै थिए । चाहे नेता हुन्, चाहे प्रणेता, चाहे अभिनेता हुन् चाहे दर्शनज्ञाता, चाहे राजनीतिज्ञ हुन् चाहे नीतिज्ञ, चाहे विश्वविजेता हुन् वा अभियन्ता सबै पहिलेका अगुवाहरूको पुच्छर लागेरै त्यहाँसम्म पुगेका हुन् । कुनै प्रभावशाली व्यक्तिको पछि लाग्नु, शिष्य बन्नु, अनुयायी बन्नु आदि पुच्छर लाग्नु नै हो । व्यासको पुच्छर बनेर नै शुकदेवले राजा परिक्षीतलाई श्रीमद्भागवत कथा सुनाएका थिए । बेलाबेला शोषण र अत्याचारको बिरोध हुँदा बचाउका निम्ति कार्यकर्ताहरू पार्टी सभापतिकहाँ गएभैंm असुरद्वारा स्वर्गमा आक्रमण गरेको बेला सामन्तवादका संस्थापक देवराज इन्द्रदेखि लिएर अन्य कार्यकर्ताका प्रतीक विन्तीपत्रे अनुहार देवताहरू सबै महादेवको पुच्छर लाग्न पुग्थे । तर त्यसबेला पुच्छर लगाउनेहरू आपूmलाई शासक र पुच्छर लाग्नेहरूलाई शासित चाहिं सम्झदैन थे । त्यसबेला मौका परिस्थिति अनुसार जसको पनि पुच्छर लाग्थे र जसलाई पनि आफ्नो पुच्छर बनाउँथे । त्यसमा कुनै हिन वा अहम भाव थिएन । जुन कामबाट बढी लोकहित हुन्थ्यो ती कुरामा कुनै नाइनास्तीबिना नै सहमति हुन्थ्यो । त्यसका निम्ति छलफल गर्न हाम्रा लोकतन्त्रवादी, जनतन्त्रवादी, धनतन्त्रवादी, प्रजातन्त्रवादी, साम्यवादी, समाजवादी नेताहरूले जस्तो राजधानीमा भएका सबै सुविधासम्पन्न रिसोर्ट तथा होटलहरू फेर्नै पर्दैनथ्यो । यौटै कैलाश वा वैजयन्त दरबार वा वैकुण्ठ वा अलकापुरमा जम्मा भएर बिनासर्त सहमति जुटिहाल्थ्यो । 
यसरी खोतल्दै जाँदा आपूmभित्रको शारीरिक तथा वौद्धिक शून्यतालाई अरुको पुच्छर बनेर पूरा गर्नु नै पुच्छरवाद हो भन्न हिचकिचाउनु पर्दैन । धार्मिक अतिवादीहरू आजभन्दा ३०००/३५०० वर्ष पहिले वैदिक युगका प्रभावशाली ऋषिमुनिकै पुच्छर लाग्थे । आज आपैmले मत दिएर जिताएको नेतालाई भेट्न नपाउँदा कार्यकर्ताहरू निरास भएर लुत्रे कान लाउँदै घर फर्केजस्तै त्यसबेला पनि प्रभावशाली ऋषिमुनिहरूको पुच्छर लाग्न नपाउँदा सर्वसाधारण देवगण निरास नै हुन्थे । अहिले सानालाई ऐन ठूलालाई चैन भनेभैंm त्यसबेला पनि ठूलाबडालाई खासै अपराधी मानिदैनथ्यो । चाहे तिनले कसैको हत्या, बलात्कार, अपहरण वा त्यस्तै ठूलो अपराध नै किन गरेका नहुन् । आफ्नो यौनतुष्टिका निम्ति सीधासाधा कुमारीलाई पेट बोकाएर अलपत्र पारून् वा रासलिला नै रचाऊन्, त्यो अपराध नभई उनीहरूको लिला हुन्थ्यो । त्यसबाट जस्तोसुकै अवस्थामा पनि टाउका (अगुवा) को सम्मान पुच्छर (अनुयायी) ले गर्ने गरेको कुरा प्रष्ट हुन्छ । समाजका अगुवा भनेकै टाउका हुन् भने तिनका समर्थक भनेका पुच्छर हुन् । अर्को शब्दमा भन्नुपर्दा नेता भनेका टाउका हुन्, तिनका कार्यकर्ता भनेका चाहिं पुच्छर । जनता अथवा सर्वसाधारण भनेका चाहिं कार्यकर्ताका आशामुखी हुन् । यसरी सनातनदेखि चल्दै आएको पुच्छरवादलाई केलाइहेर्दा यसलाई तीन भाग (क) आध्यात्मिक पुच्छरवाद  (ख) दार्शनिक पुच्छरवाद  (ग) राजनैतिक पुच्छरवादमा बाँडन सकिन्छ । 
क. आध्यात्मिक पुच्छरवाद:
यस कालको समय २५०० देखि ३५०० को समयलाई मानिन्छ । यो काल टुप्पोमा जुरो, बीचमा लगौटी र फेदमा खराउ लगाउनेको समय हो अथवा ऋषिमुनिको समय हो । त्यसबेला पनि प्रभुत्ववादले ठूलो भूमिका खेलेको थियो । ठुलाबडाको प्रभुत्ववादले नै पछि गएर सामन्तवादमा चोला फे¥यो । त्यसबेला अनादर्शभित्र पनि आदर्शको झल्का पाइन्थ्यो भने आज आदर्शभित्र पनि अनादर्शको गन्ध भेटिन थाल्यो । जीवन र जगतको बारेमा आफ्नै पुच्छर हल्लाएर टाउकाको समर्थन हुन थाल्यो । टाउको पुच्छर, पुच्छर टाउको गर्दागर्दै अनेक वादहरू जन्मे । 
ख. दार्शनिक पुच्छरवाद : 
त्यसबेलाका दार्शनिकहरू पनि एक अर्काको पुच्छर बन्ने गरेका थिए । यस वादमा यो पृथ्वी ब्रम्हाजीले सेता दाह्री मुसार्दै कुनै प्रयोगशालामा बनाएका होइन रहेछ,  यो त प्रकृतिका अनेक तत्वहरू बीचको अन्तरक्रियाले बन्नु–बिग्रनु, बिग्रनु–बन्नु हुँदै बनेको हो भन्ने सिद्धान्त जन्म्यो । वैज्ञानिक र दार्शनिकको अनुहार उस्तै भए पनि स्वभाव फरक थियो । विज्ञानले प्रमाणको पुच्छर समात्यो भने दर्शनले अनुमानको । यस कालमा सिद्धान्तका थुप्रै टाउका उत्पत्ति भए अनि त्यसको कैयौं गुना बढी तिनका पुच्छर । न्युटनको पुच्छर आइन्स्टाइन बने भने आइन्स्टाइनको पुच्छर स्टेफेन हकिङ्ग बने । “तर्क नै धर्म हो” भन्ने भौतिकवादी विचारले गर्दा प्लेटो सुकरातको पुच्छर बनेका थिए भने, समतावादी वा साम्यवादी सिद्धान्तले गर्दा अरस्तु प्लेटोका पुच्छर बनेका थिए । राज्य उत्पत्तिका विषयमा जिन ज्याक रूसो र जोन लक, थोमक हब्सका पुच्छर बनेका थिए । यसरी टाउका र पुच्छरको आपसी सम्प्रेसन र समर्थले गर्दा विज्ञानको विकास भयो, नयाँ सोच र सिद्धान्तले सिद्धि पायो । यसरी अगुवालाई उच्चता दिने, बेलामौकामा बलसमेत दिने कार्यले गर्दा स्पष्ट हुन गयो कि पुच्छरले कुकुर हल्लाएको होइन रहेछ कुकुरले पुच्छर हल्लाएको हो । 
ग. राजनैतिक पुच्छरवाद: 
पुच्छरवादको इतिहासमा सबैभन्दा बढी विकास राजनैतिक पुच्छरवादकै भएको छ । अन्य वादहरूले एकपटक अनुहार देखाए पनि विस्तारै ओझेल पर्दै गएको पाइन्छ तर राजनैतिक पुच्छरवाद त विष्णुमती छेउको मुला मौलाएभैंm झनझन मौलाउँदै छ । पुच्छर पाशविक जगतमा विशेष अङ्ग छोप्ने प्राकृतिक खोल हो भने मानवीय जगतमा कसैको पुच्छर बन्नु मान, शान र धन सबैथोक हो । सत्ताका लागि होस् कि शक्तिका लागि, सानको लागि होस् कि सम्पत्तिका लागि, जेका लागि पनि शक्तिशाली वा स्थापितको पुच्छर नबनी सुखै छैन । मै हुँ भन्ने सिद्धान्तवादी पनि कसै न कसैको पुच्छर नबनी धरै छैन । आजका राजनैतिक टाउका पूर्णतया हैकमवादी छन् भने पुच्छर नीरिह । टाउका सर्वसत्तावादी हुन् भने पुच्छर तिनका समर्थक मात्र । टाउकालाई सर्वोपपरि ठान्ने पुच्छरले कहिलेकाहीं अहंकार पनि बढाउँछ । राम्रो गरेंभन्दा भद्रगोल गरेको पनि ऊ पत्तो पाउँदैन । मेरै गोरुको बाह्र टक्का भन्दै आपूmले गरेका राष्ट्रघाति कामलाईपनि राष्ट्रवादी ठान्छन् । पुच्छर लाग्नुको उद्देश्य केही पाउनु नै हो । टाउको सक्षम भएन भने पुच्छरले टाउको बदल्न पनि सक्छ । भविष्यमा आफै टाउका बन्नका निम्ति पुच्छरहरू अहिलेका टाउकाभन्दा पनि बढी महत्वाकांक्षी हुन्छन् । 
आज राजनैतिक टक्कर टाउकाको नभई पुच्छरको हो । लड्नेहरू कदापि पुच्छर गाँस्ने पक्षमा नभई अर्काको पुच्छरमा आफ्नो पुच्छर अल्झाएर चुडाल्नमा उद्यत देखिन्छन् । पुच्छर गाँस्ने सल्लाह गर्न भेला त हुन्छन् तर गाँस्ने सङ्केतै नदेखाई छुट्टिन्छन् । पुच्छरहरू प्राय ः टाउकाले जसरी हल्लायो त्यसरी नै हल्लन्छन् । थरिथरिका पुच्छरहरू आपसमा लठारिएपछि कतिपय राजनैतिक शब्दहरू अलमलिन्छन् । एउटा भन्छ बहुलवाद अर्को भन्छ बहुलाहावाद । एउटा भन्छ बहुदल अर्को भन्छ बहुलाहा दल । बहुदल भनेको धेरै जनताहरूलाई दालजस्तो दल्ने हो । जनतालाई भेडो बनाएर आफ्नो दूनो सोझ्याउने हो । एकथरी भन्छ प्रजातन्त्र अर्को भन्छ पर जा तन्त्र । एकथरी भन्छ प्रजातन्त्र भनेको सच्चा तन्त्र हो । अर्को भन्छ प्रजातन्त्र भनेको भद्दा तन्त्र हो । अर्को भन्छ ‘प्रजा’ शब्द राजाको विपरीतार्थी हो । त्यसैले राजासँग गाँसिएको ‘प्रजा’ शब्द गणतन्त्रसँग पटक्कै मेल खाँदैन । यो त राजाका पुच्छरलाई मात्र बल पु¥याउने शब्द हो । त्यसैले प्रजा होइन ‘जन’ (जनता) आदिम साम्यवादी शब्द नै राख्नुपर्छ किनभने ‘जन’ शब्दले राजा होइन राजाले २३९ वर्ष चुसेका जनता भन्ने प्रष्ट बुझिन्छ । जनवाद भनेको जनताको बोली हो , होष्टेमा हैसे हो, बोलीमा लोली हो । यो त जनताको वाद हो । चेपाङ्को विरोध जनता हुनुमा होइन ‘प्रजा’ हुनुमा हो । प्रजापति (प्रजाका पति) अथवा ब्रम्हाजी पनि त सामन्ती नै थिए । हुन पनि जुन कुरा युग सुहाउँदो छैन अथवा काम र नाम मिल्दैन त्यसलाई प्रयोगबाटै हटाउनु श्रेयस्कर हुन्छ । शायद कुनै काममा पनि खासै ध्यान नदिने भएकाले नै नगरपालिका भनिएको हो । काम गर्ने भए त गरपालिका नै हुन्थ्यो होला नि । एउटा मात्र मुख भएका राजनैतिक पुर्खाहरू राणाको पालामा श्री ३ प्रभुकै गीत गाउँथे । संसदीय व्यवस्थामा बहुमत ल्याउने दल काँग्रेसकै पुच्छर भएर त्यसकै राग अलाप्थे । राजाले बहुदललाई घोक्रेठ्याक लगाएपछि पञ्चायती व्यवस्था र राजाकै दीर्घायुको भजन गाउन थाले । कति प्रभावशाली पुच्छरले त नेपालको सम्वत् नै महेन्द्र सम्वत् हुनुपर्छ भन्दै आफ्नो राजभक्ति पनि देखाए । संस्कारै त्यस्तो थियो, तिनले पो के गरून् ? पञ्चायती व्यवस्थाको समाप्तिपछि तिनै मानिस बहुदलका वरिष्ट पुच्छर बन्न थाले । तिनै पुच्छरहरू गणतन्त्र आएपश्चात् त्यसकै तान उराल्दै अहिले मञ्च थर्काउँदै छन् । छिनछिनमा छेपाराले रूप फेरेझैं आफ्नो अनुहार फेरिरहेछन् तर पनि तिनीहरू नै राष्ट्रवादी छन्, आदरणीय छन्, निस्वार्थी छन्, त्यागी छन् किनभने ती बलिया पार्टीका बलिया पुच्छर हुन् । यसरी एकमुखे मानिसको त यस्तो गति छ भने सर्वादरणीय ब्रम्हाजीका चार मुखले त केके पो गरे होलान् ? हुनसक्छ एउटा मुखले प्रलयबाट बच्न शङ्करको आराधना, दोस्रो मुखले सृष्टिलाई निरन्तरता दिन आपूmलाई सहयोग गरेबापत आफ्नै छोरी सरस्वतीको प्रशंसा, तेस्रो मुखले पृथ्वीको स्थितिका निम्ति विष्णुको खुसामद र चौथो मुखले असुरलाई वर दिने पनि काम गरे होलान् । पाँचौ टाउको महादेवले नकाटिदिएको भए त आफ्नो सृष्टिमा सुव्यवस्था ल्याउन गणतन्त्रकै कुरा गर्थे कि ? त्यस्तै हातका कुरा गर्दा पनि दुईटा मात्र हात हुने हाम्रा शासक (सेवक होइन) ले यौटा हातले पार्टीको मेनुफेष्टो लेख्ने र अर्को हातले कमिशन र भत्ता सङ्कलन गर्छन् । त्यस्तै एउटा हातले प्रतिद्वन्द्वीलाई त्यस्तै धारे हात लाएर सत्तोसराप गर्ने र अर्को हातले विदेश भ्रमण जादा हवाइजहाजको ढोकाबाट हात हल्लाउने गर्छन् भने बहुभुजाधारी देवगण केके पो गर्दा हुन् ?
शक्तिको भक्ति गर्ने परम्परा राजनीतिबाटै सुरु भएको हो । प्रभावशाली टाउकाका पुच्छर बढी हल्लन्छन् । जुनसुकै रूप र भेषधारी टाउकाका पुच्छरहरू ज्यादै स्वाभिमान हुन्छन् । जीवनभर गन्धकुटीमा बसेर चीवर धारण गरी मुक्तिको उपदेश दिने बुद्धका पुच्छर, १४ औं औतारी दलाई लामा पनि पोटाला सुगन्ध दरबारमा आफ्नो ठुलो तामझाम देखाउँथे । उनका पुच्छरहरू उनलाई बुद्धकै अवतार मान्थे । अवतारीको मलमूत्रसमेत शिष्यहरूले प्रसादका रूपमा बाँडेर लिन्थे रे । जस्तो हाम्रै नेकपा एकीकृत माओवादीको पालुङ्टारमा भएको विस्तारित सम्मेलनमा सहभागीको चार हजार छ सय लिटर मूत्र सङ्कलन गरी चितवनको दारेचोकमा लगी पौष्टिक तत्वका रूपमा खाद्यान्न बालीमा सिञ्चन गर्ने व्यवस्था एकजना पुच्छरले गरेका थिए । 
यसरी पुच्छर बनाउने र बन्ने मानिसको सङ्ख्या झरीको च्याउभन्दा पनि बढी बढ्न थालेका छन् । जोरी खोज्न होस् कि जोडी खोज्न, जुसको लागि होस् कि घुसको, तालीका लागि होस् कि अपुताली, जाँडका लागि होस् कि माडको, आजभोलि पुच्छर बन्ने र बनाउने चलन निकै बढेको छ । टाउको बन्नुभन्दा पहिले पुच्छर नै बन्नुपर्छ । पुच्छर बन्दा पाएको अनुभव नै टाउको हँुदा महŒवपूर्ण हुने भएकाले पनि पहिले पुच्छर बन्न जरुरी छ । जो पनि कुनै न कुनै बेला पुच्छर भएकै थिए । गोपिनीका दिलका धडकन कृष्ण कंशमामासँग बदला लिन अक्रुरको पुच्छर लागेर मथुरा गएका थिए । रावणले सीता उडाएपछि राम हनुमानकै पुच्छर लागेर लङ्का गएका थिए । गाँठी जिप्ट्याउन होस् कि सरकारी ढुकुटी रित्याउन, विदेश उडानका लागि होस् कि छात्रवृत्ति हत्याउन, उपचारका नाममा भत्ता चड्काउन होस् कि जनतालाई उल्लू बनाएर साँढे प्रवृत्ति देखाउन, जे गर्न पनि राजनैतिक प्रभुहरूको पाउमा तेल घसेर पुच्छर हल्लाउने काम पुच्छरहरू गरि नै रहन्छन् । 
जो सच्चा पुच्छर हुन्छ ऊ टाउकाको प्यारो हुन्छ । शक्तिशाली टाउकाका पुच्छरहरू भाग्यशाली हुन्छन् । गतिलाको पुच्छर लाग्नेको त सात खत माफ हुन्छ, जस्तो हालसालै कतिले आममाफी पाएका थिए । जो कसैको पुच्छर बन्ने हैसियत राख्दैनन् ती देशका सर्वाधिक अभागी हुन् । त्यसैले जहिले पनि सुकुम्बासीका झुप्रा पोलिन्छन् । बदिनीलाई ओछ्यान तताउने साधन बनाइन्छ । देउकीको परिचय वेश्यामा गरिन्छ । सडक बालबालिकालाई सडकमै सुताइन्छ । पहुँचवाला पुच्छरकालाई बाल मन्दिरमा राखिन्छ । सहाराविहिन परित्यक्तालाई पैसाको लोभमा आपैmले नङ्ग्याएर सडकमा फालिन्छ तर बाँच्ने आधार दिइँदैन । आफ्ना पुच्छर पोस्न चन्दा उठाइन्छ, बजार भाउ आकाशिन्छ । जति नारा हुन्छ त्यति काम हुदैन । नेताका पुच्छरले गल्ती गर्छन्, जनताले दुःख पाउँछन् । यसरी पुच्छर लाग्ने, पुच्छर हल्लाउने, पुच्छर बनाउने, पुच्छर ठड्याउनेहरूको रित्तो आस्वासन खोक्रो भाषण, सत्ता, सम्पत्ति र शक्तिको होडबाजी हेर्दाहेर्दा कुनै दिन जनताले तिनलाई टेरपुच्छर नलाएर प्रलयकारी विद्रोह मचाए भने टाङ्मुनि पुच्छर लाएर भाग्नु त परोइन ? धत्तेरी ! यस्तो कपोलकल्पित कल्पना पनि गर्ने ? राजनीतिमा पुच्छरको महŒव स्वास्थ्य विज्ञानमा भिटामिनभन्दा बढी हुदैगएको छ । गाईको पुच्छर मात्र नभइदिए हामी ठाडै नर्कमा जाकिनु पथ्र्यो । त्यही एउटा पुच्छर समातेर हामी वैतरणी पार गर्छौ र स्वर्ग जान पाउँछौ । कङ्गारुको पुच्छर खाँदा अङ्ग्रेजहरू स्वर्ग देख्छन् रे । हुमाउँ (पाराडाइज) चराको पुच्छर आफ्नो श्रीपेचमा जोडेर राजाले २३९ वर्षसम्म जनताबीच खुट्टो घुमाए । मिश्रकी रानी क्लियोपेट्राले कहिले जुलियस सिजर त कहिले मार्क एन्टोनीको पुच्छर खेलाएरै जिब्रो टोकिन् । छाडावादका पुच्छर बनेका कति युवतीले आपूmभित्रको यौनजन्य उखरमौलो टुङ्गो लाउन कैयौँ पुच्छर खेलाउँछन् । बैंसले व्याकुल भएर कतिपय युवतीहरू आँखा चिम्लेर अल्लारे केटाहरूको पुच्छर लाग्दा रुखमा फल्छन् । अवतारदर्शन, वेदान्तदर्शन, ब्रम्हदर्शन, लोकायतदर्शन, धर्मदर्शन, आध्यात्मदर्शन, भौतिकदर्शन, न्यायदर्शन, साङ्ख्य दर्शन आदि सारा दर्शनहरू पुच्छरकै उपज हुन् । 
यसरी हेरिल्याउँदा आज आपूmलाई चिन्तक भन्ने लाउकेहरू पनि कोही बुद्धका पुच्छर छन् त कोही बुखारिनका, कोही रामका त कोही रहिमका, कोही कृष्णका त कोही क्राइष्टका, कोही समका त कोही सेक्सपियरका, कोही दाँतेका त कोही देवकोटाका, कोही तुलसीदासका त कोही कालिदासका, कोही व्यासका त कोही कपिलका पुच्छर छन् । राजनीतिक क्षेत्रमा अरू पनि धेरै पुच्छरहरू छन् । कोही लिङ्कनका त कोही लालकृष्णका, कोही माओका त कोही मनमोहनका, कोही माक्र्सका त कोही ओबामाका त कोही ओसामा का, कोही उत्तरका त कोही दक्षिणका, कोही पूर्वका त कोही पश्चिमका पुच्छर छन् । यसप्रकार वर्तमानका सारा धार्मिक, सांस्कृतिक, साहित्यिक आदि सारा क्रियाकलाप पुच्छरै पुच्छरको माखेसाङ्लो हो । 
आजभोलि सभ्यताविकासले माथि उठेकाले मानिस आपूmलाई पशुभन्दा भिन्न ठान्छ । आपूmलाई पशुभन्दा फरक देखाउने मानवजातिका युवावर्गले आफ्नो मर्यादा उल्लङ्घन गरी सार्वजनिक स्थलमै यौनजन्य क्रियाकलाप देखाउने गरे पनि छिइल्लिएका कुकुर र पात्तिएको ढेडु (Babon) बाहेक अन्यले उक्त विशेष अवस्था बाहेक अन्य अवस्थामा पुच्छर ठड्याएको देखिंदैन । मानिसले स्वभाव साट्न खोजे पनि तिनले मानेका छैनन् । पशुहरू आफ्नो पुच्छरकै लगौटी कसेर भए पनि आफ्नो देखाउँदा लाज लाग्ने अङ्गहरू छोपेर आजका नारीहरूलाई चुनौती दिइरहेछन् । मानिसमा भने सभ्यताले सीमा नाघेर होला जालीदार लुगा लगाएरै भए पनि अङ्गप्रदर्शन गर्ने प्रवृत्ति बढ्दैछ । जेससका पुच्छरहरू संसारकै मुक्तिदाता जेससलाई ठान्दछन् । पैगम्बरका पुच्छरहरू सबै कुरा ईश्वरकै उपहार भन्छन् । टाउको देख्ने हो भने पुच्छर अन्धो । सिद्धान्त टाउको हो भने अनुसरण पुच्छर । सियो टाउको हो भने धागो पुच्छर । कलम टाउको हो भने मसी पुच्छर । टाउको बन्नु क्रसमा झुन्डिनु हो । विखको प्याला घट्काउनु हो । काटिनु हो । गोली खानु हो । रुखमा झुन्डिनु हो भने पुच्छर बन्नु भनेको जसरी हुन्छ दुनो सोझ्याउनु हो । टाउकाको प्रशंसा गर्नु हो । कर्मले गरेको नीचतालाई आदर्शले ढाक्नु हो । झण्डाको आडमा सर्वसाधारणमाथि डण्डा चलाउनु हो । वादको टोपी लाएर वर्वादलाई अपनाउनु हो । टाउका र पुच्छर बीचको अन्तर्सम्बन्ध नै पुच्छरवाद हो । साम्यवाद, जनवाद, समतावाद, भौतिकवाद, आध्यात्मकवाद, लोकवाद आदि जुन–जुन वाद अस्तित्वमा भए पनि ती सबै अपवाद हुन् । कसैलाई धारे हात लाएर मुर्दावाद, कसैलाई थपडी बजाएर जिन्दावाद भने पनि संसारमा अस्तित्वमा रहेका जुन वादले हामीलाई आफूतिर अँचेटे पनि, जतिजति पछिल्तिर घचेंटे पनि सबैभन्दा जल्दोबल्दो, शक्तिशालीवाद ‘पुच्छरवाद’ नै हो । त्यसैले जसले जुन वादको भजन गाउँदै गरोस् तर म त गर्वका साथ भन्छु पुच्छरवाद जिन्दावाद !