अक्षरमार्गले आफ्नो यात्रालाई निरन्तरता दिँदै आएको छ । नेपाली भाषा र साहित्यको फाँटमा केही गर्न सकिन्छ भन्ने अठोटका साथ अक्षरका कर्म पोखिरहेको अक्षरमार्गले आफ्नो यात्रा फराकिलो पार्दै जानुपर्द छ भन्ने हाम्रो मान्यता हो । यही मान्यता अनुरूप हामी अगाडि वढिरहेका छौं ।
अक्षरमार्गले विभिन्न आरोह अवरोह पार गर्दै आफ्नो यात्रालाई निरन्तर अगाडि बढाइरहेको छ । १२ वर्ष पूरा गरेर १३ वर्ष प्रवेश गरेको छ । यो अवसरमा अक्षरमार्गलाई अनलाइन बनाउने कार्य समेत भएको छ । वर्तमान समय सूचना र प्रविधिको युग हो । सूचना, ज्ञान आदिको पहुँच प्रविधिका कारणले सहज र सरल बन्दै गएको छ । मुद्रणबाट प्राप्त हुने सीमित पाठ, बाँडिने सीमित ज्ञानको पर्खाल भत्काउँदै अक्षरमार्गलाई अनलाइन बनाउने कार्य भएको हो । यसबाट अक्षरमार्गलाई संसारको जुनसुकै स्थानमा बसेका साहित्य प्रेमीले अध्ययन गर्न पाउने छ । जति अक्षरमार्गको दायरा फराकिलो हुन्छ त्यति नै गहन र ज्ञानवर्धक सामग्री पस्कन हौसला प्राप्त हुने छ भन्ने विश्वास हामीले लिएका छौँ ।
अक्षरमार्गको प्रकाशन नवप्रपेशी साहित्यकारहरूको डवली पनि हो । कुनै नवप्रतिभाले यस डवलीको प्रयोग गरेर आफ्नो प्रतिभालाई समाजमा राम्रोसँग प्रस्फुटन गर्न सक्यो भने हाम्रो प्रयास सफल भएको हामी मान्ने छौँ । नयाँ प्रतिभाहरूलाई उत्साह र प्रेरणा प्रदान गर्ने वातावरण नबनेसम्म कुनै पनि क्षेत्र सम्पन्न बन्न सक्दैन । नवप्रतिभाहरूको प्रवेशबाटै कुनै पनि क्षेत्रको भविष्य निर्धारण गर्दछ । जति बढी नयाँ प्रतिभाको प्रवेश हुन्छ उक्त क्षेत्रको भविष्य त्यति नै सुन्दर बन्ने गर्दछ । नेपाली साहित्यिक क्षेत्रको पनि कुरा त्यही हो । नाम चलेका प्रतिभाहरूको मात्र सिर्जना छाप्ने र नवप्रतिभाहरूलाई निरुत्साह गर्ने प्रवृत्ति साहित्कि पत्रकारिताको धर्म होइन भन्ने हाम्रो थम्याइ छ ।
अन्तमा अक्षरमार्गको यात्रालाई सुरम्य बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण आदरणीय मान्यजन, सहृदयी मित्रगण र प्रिय अनुजहरूप्रति आभारी छौँ । यहाँहरूको यो सद्भाव सदैव रहेने विश्वास हामीले लिएका छौँ ।