ढुङ्गाको काप फोरर पनि उम्रन्छ पीपल
सिर्जनाशक्ति संसारमा कल्यै हुँदैन विफल ।
–राष्ट्रकवि माधवप्रसाद घिमिरे
राष्ट्रकवि माधवप्रसाद घिमिरेले माथि उल्लेखित मार्मिक एवम् उपदेशप्रद कवितांशबाट म निकै प्रभावित छु । कवितांशले भनेजस्तै हो मानिसको जीवन । मानिसको जीवन सङ्घर्षले भरिएको छ । विना सङ्घर्ष सफलताको मार्ग पहिल्याउन सकिन्न । धीरतापूर्वक परिश्रम गरेर सङ्घर्षको आगोमा खारिएपछि सुन रूपी सफलता प्राप्त हुन्छ । उहाँका यस्तै हृदयस्पर्शी कविताहरू पढेर हामी हुर्किएका हौं । भाषामा सरलता र भावमा गाम्भीर्यता भएकै कारणले उहाँ नेपाली जनमनका कवि बन्नुभएको हो । नेपाली भाषा र साहित्यलाई फलाउन, फुलाउन र विकसित तुल्याउन उहाँको ठूलो योगदान रहेको कुरा घामजस्तै छर्लङ्ग छ ।
सूर्यप्रसाद लाकोजू
पनौती-७, काभ्रेपलान्चोक
आफू नेपाली साहित्यका राष्ट्रकवि भएर पनि त्यसको रत्तिभर पनि घमण्ड उहाँमा देखिँदैन । मैले आफ्नो जीवनकालमा साहित्यकै कर्मका सन्दर्भमा केही पटक उहाँसँग भेट्ने मौका पाएको छु । उहाँसँगका केही स्मरणहरूका बारेमा यहाँ चर्चा गर्नु सान्दर्भिक देख्दछु ।
औपचारिक रूपमा मेरो पहिलो भेट उहाँसँग नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको हो । सामान्यखालको त्यो भेटमा पनि उहाँले भर्खरै परिचय भएको ब्यक्तिलाई जमानादेखि परिचित ब्यक्ति जस्तो ब्यबहार गर्नुभएको याद अहिले पनि ताजा छ । लामो समयदेखि चिनजान भएका मानिसहरूले समेत कहिले काहिं नचिनेको जस्तो, अनौठो ब्यबहार गर्ने समाजमा खासै लामो चिनापर्ची नभएको मानिसलाई पनि मायाँ दिनसक्नु उहाँको ब्यक्तिगत विशेषता मान्नुपर्छ । उहाँसँग दोस्रो भेट २०७१ साल मोति जयन्तिका दिन भएको हो । युवा सेवा कोषले प्रत्येक वर्ष मोति जयन्तिका अवसरमा ४० वर्ष ननाघेका स्रष्टाहरूलाई लामो समयदेखि पुरस्कृत गर्दै आएको छ । लेखनाथ सदन सोह्रखुट्टे काठमाडौमा भएको सो कार्यक्रमा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यो वर्ष मलाई र हेटौंडाका निमेशजीलाई संयुक्त रूपमा पुरस्कार दिइएको थियो । सो समारोहमा उहाँसँग लामो भलाकुसारी गर्ने अवसर मिलेको थियो । त्यो दिन मेरा लागि दुई किसिमले महत्वपूर्ण रह्यो । पहिलो नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व मोतिराम भट्टको नाममा स्थापित नेपालकै ओजिलो पुरस्कार मैले पाएको थिएँ । यो पुरस्कारको स्थान नेपाली बाङ्मयको क्षेत्रमा उल्लेखनीय छ नै । त्यसैले मनभरि मखमली नफुल्ने कुरै भएन । अर्को हो सताब्दिकै ओजस्वी ब्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूको बाहुलीबाट त्यो पुरस्कार मैले प्राप्त गर्दैछु । एकजना स्रष्टाका लागि त्यो क्षणले दिएको खुशी स्वर्ग पुगेकोभन्दा कम हुने कुरै भएन ।
मेरो हृदयमा त्यस दिनको स्मृति अझै वैलिएको छैन, ताजै छ ।
त्यो दिन हामीलाई पुरस्कृत गरेपछि उहाँले लामो तर कर्णप्रिय भनाइ राख्नुभयो । नेपाली भाषा र साहित्यको श्रबृद्धिका लागि गर्नु पर्ने प्रयासका बारेमा उहाँले प्रकाश पार्नुभयो । मानिस आफ्नोलागि मात्र होइन अरूका लागि पनि बाँच्नसक्नु पर्ने सारसहित आफ्नो विचार राख्नुभयो । कार्यक्रममा पुरस्कृतहरूको तर्फबाट मैले आफ्नो मन्तब्य राख्ने क्रममा आफूले पाएको पुरस्कारको रकम क्षरमार्गको उन्नयनका लागि समर्पण गर्ने विचार राखेको थिएँ । कार्यक्रम सकिएपछि त्यो घोषणाले आफूलाई बहुत प्रसन्न बनाएको कुरा भन्नुभएको थियो । साहित्यको सेवामा लाग्न प्रेरित गर्नुभयो ।
उहाँसँगको अर्को स्मरण पनि ताजै छ । एकपल्ट अक्षरमार्गका लागि अन्तरवार्ता लिन भनेर उहाँकै गएको थिएँ । उहाँ तल ओर्लनु भयो, बैठकमा । हामी त्यहीं थियौं । सामान्य भलाकुसारीपछि अन्तरवार्ताका लागि अनुरोध ग¥यौं । एकछिनपछि त उहाँले टेबुलमा रहेको मेरो घाम कवितासङ्ग्रहको एउटा कविता पो सुनाउन थाल्नुभयो । त्यसपछि मेरो घामका सर्जकलाई मन पर्ने कविता एउटा पनि सुनाउन भन्नुभयो । मैले आफूलाई मनपर्ने मेरो घाम कवितासङ्ग्रहबाटै एउटा कविता उहाँलाई सुनाएँ ।
केही हप्ता अगाडि दशैको समयमा उहाँसँग टीका थाप्न गएको थिएँ । त्यही बेला मैले उपहार स्वरूप उहाँलाई मेरो घाम कवितासङ्ग्रह दिएर आएको थिएँ । केही समयपछि अन्तरवार्ता लिन जाँदा उहाँले देखाउनुभएको सद्भाव देखेर म छक्क परें । मैले कविता सुनाएपछि कविताहरू सजीव छन्, लेख्न नछोड्नु भनेर हौसला पनि प्रदान गर्नुभयो । मजस्तो साहित्यको छात्रलाई उहाँले दिनुभएको त्यो स्नेह सामान्य लाग्दैन, थिएन । त्यसपछि हामीले अन्तरवार्ता लिन थाल्यौं । वार्ताका क्रममा हामीले उहाँका बारेमा, नेपाली साहित्यका बारेमा धेरै कुरा बुˇने मौका मिल्यो । उहाँले वार्ताका क्रममा ‘कलाप्रतिको रूचि मान्छेले जन्मदैदेखि लिएर आएको हुन्छ तर उसले अवसर पाउँछ कि पाउँदैन त्यसमा भरपर्छ । एउटा वटवृक्षको बीउ मलिलो माटोमा प¥यो भने त्यो वटवृक्ष बन्छ तर मरुभूमिमा प¥यो भने त्यो सुकेर जान्छ’ भन्ने विचारबाट निकै प्रभाव पा¥यो । यस्तै गहनतम् विचार सुनेर घर फक्र्याैं ।
उहाँसँगको अर्को अविस्मरणीय क्षण भनेको दिवाकरका चुम्बनको विमोचन समारोह हो । मेरो कविता सङ्ग्रह घामको चुम्बन हिन्दीमा अनुवाद भएको थियो । घामको चुम्वनलाई हिन्दीमा दिवाकरका चुम्बन नाम दिएर अनुदित कृति प्रकाशित भएको थियो । पूर्वोत्तर भारतको आसाम राज्यको तेजपुर निवासी साहित्यकार तथा अनुवादक चन्द्रमणि उपाध्यायले सो पुस्तक हिन्दीमा अनुवाद गरेका हुन् । भारतिय साहित्य प्रकाशन तेजपुरले प्रकाशित गरेको सो कवितासङ्ग्रहको विमोचन राष्ट्रकविको हातबाटै गराउन पाए हुन्थो भन्ने भावनाले मनमा लामो समयदेखि जरो गाडेर बसेको थियो । तर त्यो उमेरमा उहाँलाई बाहिर कतै लैजाने आँट पनि थिएन । घरबाट बाहिर आएर कार्यक्रमको प्रमुख अतिथि बनिदिन अनुरोध गर्ने साहस हामीमा थिएन । त्यसैले आसामबाट आएका केही साहित्यकारहरू र केही नेपाली साहित्यकारहरू समावेश गरेर सानो कार्यक्रम उहाँको घरैमा गर्न पाए पनि हुने थियो भन्ने पनि लागिरह्यो । तर उहाँको घरमा… के गरी भन्ने होला भन्ने मनमा लागि रहेको थियो । आफ्नो स्वार्थका लागि के दुख दिनु भन्ने पनि लागिरहेको थियो । आसामबाट केही साहित्यकारहरू नेपाल आएको बेलामा उहाँको दर्शनार्थ उहाँहरू पनि उत्सुक रहेको जानकारी पाएपछि राष्ट्रकविजीको घरमै उहाँलाई यसका बारेमा अनुरोध गर्न गएँ । बोले टर्छ भन्ने भनाईलाई आत्मसात गरी उहाँ कहाँ गएँ । केही समयको कुराकानी पश्चात केही अप्ठ¥यारो मान्दै उहाँलाई आफू त्यहाँ आएको कारण बारे बताएँ । मेरो कुरा सुन्नासाथ उहाँले घरैमा आएर कार्यक्रम गर्नका लागि सहर्ष स्वीकृति दिनुभयो । आफू त्यो दिनको प्रतिक्षामा रहने, आसामीहरूलाई भेटन इच्छुक रहेको कुरा उहाँले बताउनु भएपछि मन सिमलको भुवाजस्तै भयो । मन गद्गदाएर फर्किएँ ।
२०७५ कार्तिक १२ गतेका दिन कार्यक्र गर्ने तय भएको थियो । हामी उहाँकै निवासमा गयौ, हार्दिक स्वागत पायौ । उहाँले नेपालीबाट हिन्दीमा अनुदित कवितासङ्ग्रह दिवाकरका चुम्वनको विमोचन गर्दैे नेपाली साहित्य अन्य भाषामा अनुवाद हुन सुखद कुरा भएको विचार ब्यक्तः गर्नुभयो । कवि लाकोजूको कविताहरु आफूले पनि पढेको र राम्रा कविता रहेको भनाई राख्नुभयो । उनको कविताहरू पठनीय भएकोले हिन्दीमा अनुवाद भएको कुरा उहाँले आफ्नो छोटो मन्तब्यका क्रममा बताउनुभयो ।
कार्यक्रममा पुस्तकका बारेमा प्रा.डा. गोविन्दराज भट्टराई र असमेली साहित्यकार समालोचक ज्ञानबहादुर क्षेत्रीले प्रकाश पार्नुभयो । समालोचक आदरणीय प्रा.डा. गोविन्दराज भट्टराइले सूर्य लाकोजूका कविताहरू समय सान्दर्भिक, मार्मिक रहेको, सामाजिक रूपान्तरणको सन्देश रहेको विचार पोख्नुभएको थियो । त्यसैले सूर्यका कविता हिन्दीमा अनुवाद भएको कुरा पनि उहाँले थप्नुभयो । असमेली समालोचक ज्ञानबहादुर क्षेत्रीले अनुदित कृति पठनीय रहेको र कविताहरू बलशाली रहेको विचार व्यक्त गर्नुभयो । कार्यक्रममा डा. तलसी भट्टराई, डा.कुमार कोईराला, असमेली साहित्यकार माधव भट्टराई, छत्रमान सुब्बा, प्राञ्जल बोरा, विष्णु शास्त्री, दिनानाथ निरौलाको उपस्थिति रहेको थियो । साथै प्रल्हाद के.सी, खेम पोखरेल, विजय कर्माचार्य, शम्भुलाल श्रेष्ठ, गीता दाहाल, शाश्वत लाकोजू लगायतको उपस्थिति पनिे थियो ।
उहाँसँग ब्यक्तिगत घनिष्ठताको सम्बन्ध होइन, केवल अक्षरको सम्बन्ध थियो । अक्षरका साधक उहाँ नेपाली भाषा र साहित्यका बारेमा मात्र सोच्नुहुन्थ्यो । अक्षरसेवीहरूका लागि उहाँको घरको ढोका सदैव खुला थियो । दिवाकारका चुम्बनको लोकार्पण कार्यक्रम त्यसको ज्वलन्त उदाहरण हो ।
आज राष्ट्रकवि माधवप्रसाद घिमिरे भौतिक रूपमा हामी वीच हुनुहुन्न तर नेपाली भाषा र साहित्यको फूलबारीमा उहाँ कहिल्यै नवैलाउने अमर पुष्पको रूपमा रहनुहुने छ ।