अक्षरमार्ग

नेपाल सम्वत्

नेपाल सम्वत् नेपालको मौलिक सम्वत् हो । संसारमा आफ्नै देशको नामबाट चलेका, प्रचलनमा आएका सम्वत्हरु प्रायः देखिँदैनन् । तर नेपाल राष्ट्रकै नामबाट चलेको सम्वत् नेपाल सम्वत् नेपालमा चलेको छ । जसरी राष्ट्रको गान हुन्छ, राष्ट्रिय चरा हुन्छ, राष्ट्रिय जनावर हुन्छ, फूल हुन्छ, राष्ट्रिय झण्डा हुन्छ त्यसैगरी राष्ट्रको सम्वत् पनि हुन्छ । नेपाल सम्वत् पनि नेपालको मौलिक राष्ट्रिय सम्वत् हो । यो नेपालको राष्ट्रिय सम्वत् भएतापनि सरकारी कामकाजी भाषाको रुपमा प्रयोग भने अहिले पनि नभएको अवस्था छ ।

नेपाल सम्वत्का प्रवर्तक शंखधर साख्वा हुन् । उनले ऋणमा रहेका गरिब जनताको ऋण तिरेर उनीहरूलाई ऋणबाट मुक्त गरेर रैतिबाट नागरिक बनाएको खुशीयालीमा यो सम्वत् चलाएका थिए । त्यसैले यस सम्वत्लाई मुक्ति सम्वत्को रुपमा अथ्र्याउनेहरु पनि थुप्रै छन् । हुनत कसैकसैले त्यसबेलाका राजा राघवदेवले यो सम्वत्को थालनी गरेको मान्दछन् । तर राजा राघवदेवको पालामा जनताको छोरा शंखधर साख्वाले चलाएको हो नेपाल सम्वत् । तत्कालीन सामाजिक, राजनैतिक परिवेशका कारण जनमानसमा राजा नै सर्वेसर्वा हुन्छन् । जे गरे पनि राजाले मात्रै गर्छन् भन्ने भ्रमका कारण पनि यस्तो भएको हुन सक्दछ । नयाँ सम्वत् घोषणा गर्नु एउटा कुरा हो, तर त्यसलाई दैनिक जीवनमा लागु गर्नु अर्को कुरा हो । जनता आफैले मानेको, स्वकिार गरेको सम्वत् भएकोले त्यस समयका शासकहरुले पनि यो सम्वत्लाई स्वीकार गरेर सरकारी कामकाजमा समेत प्रयोग गरेको देखिन्छ । जबसम्म जनताले सम्वत्लाई आफ्नो मान्दैन, दैनिक जीवनमा उपयोग गर्दैन तबसम्म त्यसको कुनै अर्थ हुँदैन । नेपाल सम्वत्को सन्दर्भमा भन्नुपर्दा यो जनताले मुक्ति दिवस मानेर थालनी गरेको सम्वत् हो । त्यसैले यो सम्वत्ले फल्ने र फुल्ने मौका प्राप्त ग¥यो । किंवदन्ती अथवा जनउक्ति पनि नेपालको सम्पदा हो । जनश्रुतिभित्र पनि इतिहासका गहिरा तथ्यहरू पनि समुद्रको पिंढमा मोतिजस्तै लुकेर रहेका हुन्छन् । फेरि त्यसबेलाका घटनाहरुलाई आख्यानीकरण गर्ने चलन पनि थियो । त्यसो गर्दा मानिसले सहजै कुरा बुˇन सक्थे र बुझाउन पनि सकिन्थो । आख्यानजस्तै बनाउँदा लामो समयसम्म स्मरणमा पनि रहने गर्दछ । यहाँ शंखधर साख्वाले कसरी ऋणी गरिव जनताको ऋणमोचन गरे भन्ने बारेमा एउटा जनश्रुति लोकप्रिय छ ।

राजा राघवदेवको राज्यकालमा भक्तपुरका एकजना नामी ज्योतिषले सुवर्ण आकर्षको योग, बार, साइत जुराएर स्थान समेत पहिचान गरी केही मानिसहरुलाई गुप्त रुपमा बिष्णुमती र भद्रमतीको दोभान लखुतीर्थमा सरासर गएर बालुवा बोकेर ल्याउन अह्राए । ती भरियाहरुले ज्योतिषले भनेबमोजिमको स्थानमा गएर बालुवा बोकेर ल्याउँदै गर्दा कान्तिपुरका सुद्र जातका शंखधर साख्वाले देख्यो । उनले भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण केही अवश्य होला भन्ने बुझेर ती भरियाहरुप्रति निकै सम्मान गर्दै घरमा लगेर पाहुना सत्कार गरेर खान दिएर आफूलाई पनि बालुवा चाहिएको कुरा बताए । उनले उनीहरुले ल्याएको बालुवा घरमै छोड्न आग्रह पनि गरे । उनको अनुरोध तार्न नसकेर उनीहरुले बालुवा त्यहीँ साख्वाकै घरमा खन्याए । शंखधरले भरियाहरुलाई ज्याला समेत दिएर त्यहाँबाट पठाए । भरियाहरुले फेरि बिष्णुमती गएर बालुवा बोकी भक्तपुरतिर लागे ।

दोस्रो पल्ट बालुवा लिन जाँदा सुवर्ण साइत सकिएको थियो । त्यसैले भक्तपुर लगेको बालुवाजस्ताको तस्तै रह्यो । यता शंखधरको घरमा ल्याएको बालुवा भने सुनमा परिनत भयो । शंखधर साख्वा ज्ञानी थिए । आफूले पाएको त्यसै राख्नुको कुनै अर्थ नभएको विचार उनको थियो । त्यसैले नेपालका गरिव ऋणीहरुको ऋण कति पनि शेष नराखी चुक्ता गरे । त्यसपछि उनले नयाँ सम्वत् नेपाल सम्वत्को प्रवर्तन गरे । त्यसपछि पशुपतिनाथको दक्षिणद्वारमा आफ्नो शिलामूर्ति स्थापना गरे ।

माथि कुरा भाषा वंशावलीमा उल्लेख गरिएको छ । उल्लेखित जनश्रुतिमा सत्यको अंश रहेको कुरा प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठले आफ्नो पुस्तक अन्तरङ्गका तरङ्गहरुमा लेख्नुभएको छ । प्रचलित आख्यानअनुसार बालुवा सुनमा परिनत हुन सक्ने सम्भावना रहँदैन । माथि उल्लेख गरेअनुसार तत्कालीन समयमा घटनाहरुलाई आख्यानीकरण गर्ने चलनका कारण पनि यस्तो भएको हुन सक्छ । अर्को बालुवामा सुन हुने र खोज्ने परम्परा नेपालमा मात्र होइन अन्यत्र छन् । प्रमुख कुरा शंखधर साख्वासँग भएको धन जनहितमा खर्च गरेर उनले उदाहरणीय कर्म गरे । उनैको सुकर्मका कारण गरिब जनता ऋणबाट मुक्त भए । यो लोकाख्यानबाट उनको निस्वार्थपन छर्लङ्गै देखिन्छ । धेरै मानिसहरु आफ्नो लागि मात्र बााच्दछन् । केही विरलाकोटी मानिस मात्र अरुका लागि, समाजका लागि बाँच्न जान्दछन् । शंखधर साख्वा पनि अरुका लागि बाँच्न जानेका मानिस हुन् । समाजको भलाई हुने कर्म गरेर समाजका लागि जिउन सकेकै कारणले युगौँसम्म शंखधर साख्वा बाँचे, बाँचिरहेका छन् अनि बाँचिरहने छन् । यस्तो अमरत्व सबैका लागि सम्भव छैन ।

वंशावलीमै उल्लेख भएको शंखधरको पशुपतिनाथको दक्षिणतर्फ रहेको शिलामूर्ति अहिले पनि छ । त्यसैले शंखधर साख्वा कुनै काल्पनिक आख्यानिक पात्र मात्र होइन भन्ने कुरा प्रष्ट हुन्छ । साथै भक्तपुर जेँलाटोलको पाटीमा रहेको ने.सं. ८२७ को भूपतिन्द्र मल्लको राज्यकालको शिलालेखमा शंखासम्वत् भन्ने उल्लेख छ । (श्रेष्ठ, २०८०, पृष्ठ १०३१)

शंखधर साख्वाले म्हःपूजाको साइत जुराएर नेपाल सम्वत्को प्रवर्तन गरे । त्यसबेलादेखि शाहवंशको शासनकालको सुरुवाती समयसम्म पनि नेपाल सम्वतको चलनले गति लिएको थियो । नेपालमा मुद्रामा सम्वत् उल्लेख गर्ने काम पाटनका राजा सिद्धिनरसिँह मल्लले गरेका थिए । उनले उल्लेख गरेको सम्वत नेपाल सम्वत् रहेको कुरा संस्कृतिविद हरिराम जोशीले आफ्नो पुस्तक नेपालका चाडपर्वमा उल्लेख गरेका छन् । त्यसपछि आएका मल्लकालीन मुद्राहरुमा पनि सोही सम्वत्को उल्लेख भएबाट मल्लकालमा नेपाल सम्वत्ले झाङ्गिने अवसर पाएको स्पष्ट हुन्छ । साथै त्यसबेला लेखिएका ग्रन्थ तथा पुस्तकहरुमा नेपाल सम्वत्को प्रयोग भएको देखिन्छ । यो सम्वत्को प्रचलन देशभित्र मात्र सीमित थिएन । शाहवंशीय राजा प्रताप सिंह शाहले ल्हासाका लामा ग्याल्छेलाई प्रेशित पत्रमा नेपाल सम्वत्को उल्लेख भएबाट मुलुक बाहिर पनि यस सम्वतले मान्यता पाएको प्रष्ट हुन्छ । (श्रेष्ठ, २०८०, पृष्ठ १०३१)

तर आफ्नै मौलिक, देशकै नाममा चलाइएको सम्वत् शाहकालमा आएपछि क्रमशः ओझेल पार्दै लगियो । नेपालमा शाहवंशको राज्य प्रारम्भ भएको केही समयसम्म नेपाल सम्वत्को प्रचलन सरकारी कामकाजको रुपमा रह्यो । श्री ३ चन्द्र शम्सेरको पालामा नेपालमा विक्रम सम्वत्लाई सरकारी सम्वत्को मान्यता प्रदान गर्दै कामकाजको माध्यम समेत यही सम्वत्लाई बनाएपछि नेपाल सम्वत् ओझेलमा पर्दै गयो । सरकारी कामकाजबाट टाढिँदै गएको नेपाल सम्वत् जनजीवनबाट टाढिन सकेन । यसले विविध प्रशासकीय अवरोधका बावजुद आफ्नो अस्तित्व कायम राख्दै आयो । सदियौँदेखि नेपाली जनमा भिजेको नेपाल सम्वतलाई नेपाली मनबाट निकाल्न सक्ने अवस्था भएन । यही सम्वत्का आधारमा नेपाली संस्कृति, जात्रापर्व, मेला, उत्सव, शुभकर्महरु निरन्तर चल्दै गए । त्यस बेलाका शासकहरुबाट सम्पूर्ण नेपालीहरको सम्वत् नेपाल सम्वतलाई नेवारहरुको सम्वत भनेर खुम्च्याउने र जनतामा भ्रम सिर्जना गर्ने काम पनि भए । राज्यशत्ता आफ्नो हातमा हुनेहरुले विवेक नपु¥याएपछि हाम्रो पहिचानको रुपमा रहेको नेपाल सम्वत्लाई छायामा पार्ने प्रयास भयो । नेपाल सम्वत एउटा सम्वत् मात्र होइन, हामी सबैको पहिचानको विषय पनि हो । आफ्नै पहिचान राज्यशक्तिबाट मेटेने प्रयास भएपछि, अगुवाले नै बाटो बिराएपछि कसैको केही लाग्दैन ।

यति हुँदा पनि व्यवहारमा आइसकेको नेपाल सम्वत् जनजीवनसँग जोडिएरै रह्यो । नयाँ सम्वत् प्रारम्भ गर्दा थुप्रै अप्ठ्याराहरुको सामना गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । तर नेपाल सम्वत लोकसम्वत् भएकोले त्यस्ता समस्याहरु देखापर्ने सम्भावना कम छ । अतः राष्ट्रिय सम्वत्को मान्यता पाएको यो सम्वत्लाई विस्तारै सरकारी कामकाजमा चलाउँदै लैजानु उपयुक्त देखिन्छ र वैज्ञानिक देखिन्छ ।

नेपालका राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रतिपादित नेपाल सम्वत् नेपाल सापेक्ष छ । यहीँको माटोमा जन्मेको, हुर्केको, बढेको यो सम्वत् विज्ञान सम्मत रहेको छ । त्यसैले नेपाल सम्वत्लाई सरकारी कामकाजको सम्वत्को रुपमा समेत प्रयोगमा ल्याउनु श्रेयष्कर देखिन्छ ।