वर्ष दिनपछि
वर्षा आएकी छिन् !
नेपाली जनताका मनमा आशा पलाएझैं
तालुखुइले डाँडाहरूका टाउकामा पनि
हरियो केश उम्रेको छ ।
कहिल्यै नभरिने नेताका मुखझैं
आँ परेका खाली इनारहरूमा
पानी माथिसम्मै आएको छ ।
मनका अनियिन्त्रित चाहनाहरूझैं
करेसाबारीमा चिनिनसक्नुका असङ्ख्य झारपातहरू
अनिमन्त्रित अपिरिचित पाहुनाहरूझैं
सलबलाएका छन्
र बढ्दै गइरहेछन् दिनदिन ।
रातारात धनी हुने नेपालीझैं
दुब्लो मरनच्याँसे खोलाहरू पनि
मोटाएका छन् ।
नयाँनयाँ पार्टीहरू उम्रेझैंं
नयाँनयाँ ससाना प्राणीहरू उत्पन्न भएका छन्
बगुलाहरूको त दशैँ नै आए जस्तो छ ।
बीउहरू पर्खेर बसेका छन् —
बादलले मादल बजाउन थालिसके
आसन्नप्रसवा धरती मुसुक्क हाँसेर कोल्टे फेर्छिन् ।
वर्षा आएकी छिन् !