अक्षरमार्ग

मातामय जगत्

मेरा सम्पर्कमा रहेका कतिपय साथीभाइहरू ‘सपनाको पनि कुरा गर्ने ?’ भन्दै मलाई एक हिसाबले निरन्तर हप्काइरहन्छन् । सपनाका पछि नलाग्न सल्लाह दिइरहन्छन् । तर, म सपनामा असाध्यै विश्वास गर्छु । चाहे त्यो निद्रामा देखिएको सपना होस्; वा, विपनामा देखिएको सपना होस् । दुवैमा मेरो आस्था छ । दुवैमा मेरो विश्वास छ । सपना, सपना नै हो भन्ने जान्दाजान्दै पनि यसप्रति मेरो मोह र विश्वास अविचलित  छ । सपनामा विश्वास गरेर त्यसप्रति निरन्तर रूपमा लगनशील लगाव लगाउन सक्यो भने त्यसले साकार रूप पाउँछ भन्ने कुरामा म विश्वस्त छु ।
आमा, अर्थात् जननी । एक दिन मैले आमालाई सपनामा रोइरहेको देखेँ । आमाको रुवाइले म स्तब्ध भएँ । विपनामा सधैँभरि हाँस्ने आमा सपनामा चाहिँ किन रोइन् ? के पुगेन आमालाई ? के खोजेकी हुन् आमाले ? अनौठो कौतूहल जन्मियो ममा । मैले धेरै मानिससँग यस विषयमा जिज्ञासा राखेँ । कसैबाट चित्तबुझ्दो र तर्कसङ्गत जबाफ पाउन सकिनँ । आमाले सपनामा आएर रुनु पर्नाको कारण के होला ? म अचम्ममा परेँ । यस कौतूहलले मलाई कत्ति गर्दा पनि छाडेन । अनि, म निरन्तर यसको पछि लागिरहेँ । काममा व्यस्त भएका समयमा बाहेक, अन्य समयमा म सपनामा आमा रोएको मात्र देख्न थालेँ । आमा रोएको सपना मात्र मेरा अगाडि आएर नित्य निरन्तर नाच्न थाल्यो । किन रोइन् आमा ? म पटक पटक यही प्रश्नमा अलमलिइरहेँ । सकेसम्म आमा रुनु पर्नाको कारण खोजिरहेँ । त्यसैमा तल्लीन भइरहेँ ।
सपनामै एक दिन आमा आएर फेरि भन्न थाल्नुभयो– म, आमाहरूकी पनि आमा हुँ । कारण, म सबै आमाहरूकी प्रतिनिधि आमा   हुँ । तैँले मलाई तेरो आमा मात्र सम्झेर, मेरी आमा रोइन् भनिठानेको होलास्, तर होइन । म सृष्टिका सबैकी साझा आमा हुँ । प्रतिनिधि आमा  हुँ । जगत् जननी हुँ । यसो भनिरहँदा आमा शालीन रूपमा निकै गम्भीर देखिइरहेकी थिइन् । यतिखेर पहिला जस्तो रोइरहेकी थिइनन् आमा । विगतको सपनाको रुवाइबाट बोलीमा रूपान्तरित भएकी थिइन् । आमाको यस भनाइले म झसङ्ग मात्र नभएर, गम्भीर पनि भएँ । निकै गम्भीर । सपनामा देखिएकी आमा जस्तै गम्भीर ।
म, फेरि पटक पटक सोच्न थालेँ । पछिल्लो समय म पहिलाभन्दा निकै गम्भीर भएको छु, सपनामा भएको आमासँगको पछिल्लो  साक्षात्कारले । ‘सृष्टिका सबैकी प्रतिनिधि आमा ! साझा  आमा !’ अचम्म लाग्यो मलाई ! सबैकी प्रतिनिधि आमा मेरा अगाडि आएर यसरी रुनु र आफनाे गुह्य खोल्नुको कारण के ? त्यो पनि सपनामा ! अरू छोराछोरीलाई उनले किन विश्वास गरिनन् ? अनि, यही कुरा विपनामा भन्न किन डराएकी आमा ? सबैका सामु किन नरोएकी आमा ? सबैका सामु किन नबोलेकी आमा ? के म सपनामा विश्वास गर्ने छोरो भएर यसो गरेकी हुन् आमाले ? आमाको व्यवहार मैले बुझ्न सकिनँ ।
यी सृष्टिका सबैकी प्रतिनिधि आमा तेस्रो पटक पनि फेरि आइन् सपनामा । सपनामै सही, पटक पटक देखिसकेकी आमालाई देख्दा अचम्म मान्नु नपर्ने । तर म, ती आमालाई देख्नेबित्तिकै झसङ्ग भएँ । तैपनि, ती आमासँग सम्हालिएर– आमा, मैले जान अन्जानमा केही बिराएँ कि ? मेरो तफर्बाट मैले गर्न सक्ने केही सेवा छ कि ? भनेर सोध्न खोज्दै थिएँ । मैले बोल्नुअघि नै आमा बोल्न थालिन् र भनिन्– तिमीहरू सृष्टिका बाबुहरूका विषयमा अनेकौँ पुराण छाँट्छौ । बाबुलाई आकाश पाताल डुलाउँछौ । उचाल्छौ । घुमाउँछौ । बाहरूका विषयमा अनेकौँ महात्म्य छाँट्छौ र उनीहरूलाई अनेक उपमा दिएर चिनाउँछौ । तर हामीलाई– कसले डुलाउँछ ? कसले घुमाउँछ ? कसले चिनाउँछ ? हाम्रो महिमा र योगदानका विषयमा कसले चर्चा गर्छ ? तिमीहरू बाबुहरूका पक्षमा मात्र लाग्नुपर्ने कारण के ? म यी सबै कुराको कारण जान्न चाहन्छु । सबै आमाहरूकी प्रतिनिधि भएका कारण मैले यस विषयमा जान्न पाउनुपर्छ । यस विषयमा यथार्थ के हो ? खोतल्न पाउने अधिकार छ मलाई  । म यी कुरा तिम्रै अगाडि उभिएर विपनामा पनि भन्न सक्थेँ, तर बाबुहरूका पक्षमा मात्र वकालत गर्ने तिमीहरूका सामु सबै आमाहरूको सामूहिक चासोको विषय भएर पनि मलाई यी कुरा विपनामा ओकल्ने आँट आएन । यसै भएर बाबुहरूको अनुपस्थिति भएका समयमा सपनामै भए पनि म यी कुरा उठान गर्न आएकी हुँ । हामी आमाहरूलाई न्याय चाहिन्छ, न्याय । बोलीमा महिला पुरुष समानताका कुरा गर्ने तिमीहरू हाम्रो योगदानलाई किन सधैँ अँध्यारोमा राख्छौ ? हामी आमाहरूका विषयमा तिमीहरू किन कत्ति पनि चासो दिँदैनौ ? हाम्रा विषयमा तिमीहरू किन खुलेर बोल्दैनौ कहिल्यै पनि ? हाम्रो महिमा गान गर्दा के तिमीहरू होचिन्छौ ? पाताल भासिन्छौ ? कुरा धेरै छन्, तर म साङ्केतिक रूपमा मात्र बोलिरहेछु । मैले सही भनिरहेकी छु, कि गलत ? एक पटक चिसो दिमागले सोची हेर त ।
प्रत्युत्तरमा आमालाई मैले केही भन्नै पाइनँ । आमा फेरि पनि पहिला जस्तै एकाएक अलप भइन् । म निकै अन्योलमा परेँ । आमाको गुनासोप्रति मैले कुनै प्रतिउत्तर लगाउन पाइनँ । यतिखेर मैले आमाका सामु आपूmलाई निकै अभागी सम्झे । आमा एकछिन उभिइदिएको भए, म अरू दाजुभाइ तथा दिदीबहिनीका तर्पmबाट आपूmलाई लागेका कुरा भन्थेँ । तर, आमाले मलाई त्यो मौका नै दिइनन् । यही कुरा पछि भनुँला नि भन्नका लागि पनि मौका जुरेन । किनकि, त्यसपछि आमा सपनामा कहिल्यै देखिइनन् । तैपनि म त्यसपछिका दिनमा आप्mनै किसिमले आमा र आमाहरूका विषयमा खोजखबरी गर्न थालेँ । अनेकौँ सोधखोज गर्न  थालेँ । घोत्लिन थालेँ । एकोहोरो रूपमा मनमनै एक्लै विचारिन थालेँ ।
आमाका कुरा सही थिए । मलाई लाग्यो– आमाहरू सबैको चासो भनेर आमाले सपनामा उठान गरेका विषय गम्भीर मात्र नभएर, निकै गम्भीर थिए । व्यक्तिगत नभएर साझा थिए । यसैले पनि आमाहरूका विषयमा सोच्न म बाध्य भएँ । यस विषयमा अरूलाई झक्झकाउन पाएँ । सृष्टिका बाबुहरूलाई काँधबाट नओरालीकन आमाहरूलाई पनि त्यही हैसियतमा काँध चढाउन सकिन्छ भन्ने लाग्यो मलाई । ढिलो नगरीकन म बाबुहरू सँगसँगै आमाहरूलाई पनि काँध चढाउनुपर्छ भन्ने अभियानतिर लागेँ । आमाहरूको गुनासोको सम्बोधन हुनैपर्छ भन्नेतिर लागेँ । र लागेँ– यसै विषयको थप खोजखबरीतिर ।
सपनामा पटक पटक देखिएकी आमाले आपूmलाई जो जसको प्रतिनिधि भनेर चिनाए पनि म उनमा पटक पटक मेरै जन्मदाता आमाको प्रतिरूप देखिरहेको थिएँ । यसरी आमालाई देख्नेबित्तिकै बाल्यकालमा आमाले आप्mनो सुकेको लाम्टो चुसाएका घटनाको परिकल्पना गरेँ । मलाई हुर्काउने बढाउने क्रममा परिवारकी मुख्य पालनकर्ताको भूमिकामा रहेकी आमाको दुःख कष्ट सम्झे । मलाई हुर्काउन आमाले गरेका विविध क्रियाकलापको सम्झना गरेँ । मैले कति पटक सुतेकै ठाउँमा फोहोर गरेँ हुँला । बेला कुबेला कति रोएँ हुँला, कति पिरेँ हुँला । आमालाई खाऊँ खाऊँ लाग्दालाग्दै कति पटक आमाको गाँस काटेर खाएँ हुँला । खोसेर खाएँ  हुँला । रोग र भोकका अवस्थामा कति रातसम्म राम्रोसँग सुत्न पनि दिइनँ होला, मैले आमालाई । जति पिर्नुपर्ने मैले आमालाई पिरेँ, बाबुलाई त्यसरी कहिल्यै पिरिनँ । ठूलो भएपछि मेरा लागि यत्रो अमूल्य गुन लगाएकी आमाको ऋण तिर्नतिर लाग्नुको साटो म आप्mनो व्यक्तिगत स्वार्थपूर्तिका लागि कता कता दौडेँ हुँला । यी सबै कुरा सम्झिँदै र लेख्दै जाने हो भने ठेलीका ठेली पुस्तक तयार हुन सक्छन् । आमाको त्यति योगदान छ, मेरो जन्मदेखि आमालाई बिर्सेर दायाँ बायाँ नलाग्दासम्मको अवस्थाका । कल्पना गरेँ– यस किसिमको अवस्था मेरो मात्र होइन । समाजका सबैको यथार्थ यही हो । मैले यति वयस्क हुँदासम्म आमाको दूधको मूल्य बिर्सेको छैन । महत्त्व बिर्सेको छैन । त्यसको उपयोगिता बिर्सेको छैन । आमाको दूधका सट्टामा न कुनै बाबुले आप्mना बच्चालाई घुँडा चुसाउन नै सक्छन्, न के ? यस अर्थमा जन्मदाता आमा हामीले कल्पना गरेभन्दा कता हो कता महान्  छिन् । अवर्णनीय छिन् । स्तुत्य छिन् । कल्पनाको सागरमा उभिएर आप्mनी जन्मदाता आमालाई सम्झिरहँदा म यही निष्कर्षमा पुगेँ ।
खोजखबरीका क्रममा आपूmबाट बाहिर निस्केपछि सबैभन्दा पहिले मैले सबैले ‘सृष्टिकर्ता बा’ भनेर पुकार्ने गरिएका बह्माजीलाई सम्झें । त्यस किसिमको पुकाराइमा आमाको उपस्थिति कहीँ कतै पाइएन । छैन । यसलाई मैले आमाहरूमाथिको पहिलो अन्याय सम्भेmँ । त्यो पनि घोर अन्याय । आमाहरूलाई सृष्टिको आदिकालदेखि नै पछाडि पारिएको कल्पना गरेँ । आमाहरूलाई आदिकालदेखि नै छायामा पार्दै आइएको अनुभूति गरेँ । अनि सम्भेmँ– दुनियाँमा आमाबिनाको पनि कहीँ कतै केही सृष्टि हुन्छ ? यो प्रश्न सबैले सत्य मान्ने हो भने सृष्टिकर्ता बा ब्रह्माजीको यत्रो महिमा गान हुँदा सृष्टिकै अर्को अङ्ग आमा कता हराइन् ? आमालाई कता लुकाइयो ? सृष्टिकर्ताका रूपमा ब्रह्माजीको वर्णन गरिँदा– किन सृष्टिकर्ता आमाको वर्णन गरिएन ? सृष्टिकर्ता ब्रह्माजी भनेर उनलाई यतिविधि मान सम्मान र भएभरको जस दिँदा सृष्टिकर्ता सँगैकी आमालाई किन छायामा पारियो ? के ! यत्रो ब्रह्माण्डको सृष्टि आमाबिना भयो ? असम्भव कुरो । म यस्ता कुरा पत्याउन सक्तिनँ । पहिलो निष्कर्ष मेरो यस्तै रह्यो, आमाहरूको पहिलो पहिचान र योगदानका विषयमा   घोत्लिँदा ।
घोत्लिने क्रम जारी छ मेरो । म सबैले सुन्दै आएको अर्को विषयमा प्रवेश गर्छु । तपाईं हामी सबै भन्छौँ– सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, संहारकर्ता महेश्वर (अर्थात्, महादेव) । महेश्वरबाट संहार हुने भनेको आसुरी प्रवृत्तिको संहार हो । दुष्ट दानवीय प्रवृत्तिको संहार हो, अरू केही होइन । दानवीय प्रवृत्तिको संहार भनेको एक हिसाबले त्यो सृष्टिको सही पालन नै हो । म फेरि सोच्छु– ल, सृष्टिकर्तामा त आमाको नाम छुट्यो, छुट्यो । छुटाइयो, छुटाइयो । जे भयो, भयो । पालनकर्तामा आमाको नाम किन आएन ? के सृष्टिकी पालनकर्ता आमा होइनन् ? आमाबिनाको पालन कस्तो हुन्छ ? के आमाले गर्ने जस्तो पालनको जिम्मा बाबुले लिन सक्छन् ? पटक्कै सत्तैmनन् । स्वस्थानीमा वर्णित गोमाको उत्पत्तिकालमा तिनलाई चुसाउने दूध नहुँदा किन शिवभट्ट ब्राह्मणीले आप्mनै कल्चौँडामा दूधको वरदान मागिन् ? पालनकर्ता पुरुष हुन सक्ने भए किन शिवभट्टले आप्mनो छातीमा दूध चुसाउन सक्ने वरदान मागेनन् ? वरदान दिनेले पनि किन आमालाई नै दूध चुसाउने अधिकार दिए, बाबुलाई नदिएर ? आमाका विषयमा घोत्लिने क्रममा आफैले आफैलाई गरेका यी प्रश्न गम्भीर लागे मलाई । किन ?, किन ?, किन ?, म पटक पटक यिनै प्रश्नमा अलमलिइरहेँ । अनि म एउटा निष्कर्षमा पुगेँ– पालनमा आमाको जस्तो त्याग र वलिदान बाबुले कदापि दिन सत्तैmनन् । पालनका मामलामा सृष्टिकर्ताले बाबुलाई विश्वास गरेकै छैनन् ।
सन्तानको पालनकर्तामा आमा पहिलो दर्जाकी पात्र हुन् भने बाबु मुस्किलले चौथो दर्जाको । लालनपालनमा यतिविधि महत्वपूर्ण भूमिका भएकी आमालाई पालनकर्तामा किन सम्झिइएन ? मलाई उदेक लाग्यो । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, संहारकर्ता महेश्वर । सबै पुरुष । अचम्म छ । के, महिला भएकै कारण यहाँ आमाको नाम नअटाएको हो ? यो सबैका लागि सार्वजनिक जिज्ञासा हो । यति महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने आमा, किन यति वेवास्ताको पात्र ? मैले सत्ययुगीन देउता भनाउदाहरूको पनि नाडी छामेँ । लाग्यो– यिनले सृष्टिकालदेखि नै आमाहरूलाई पछाडि पार्ने नियत राखेकै हुन्, आमाहरू पछाडि पर्दै गएकै हुन् । यी आमाहरूको महत्वलाई आदिकालदेखि नै मूल्य नदिइएकै हो । यसैको सिको मानिसले गरे ।
सम्झिने क्रममा फेरि सम्झें– महिषासुरादि दानवलाई सखाप पार्न देवीरूपी आमालाई सम्झनेले अरू आमाको शक्ति र योगदानलाई किन नसम्झेका ? हिन्दुहरू दसैँका चाडका समयमा नौ दिनसम्म आमारूपी जगत् जननी माता भगवतीको स्तुति गर्छन् । प्रार्थना गर्छन् । आफूलाई असहाय सम्झेर आमासँग केही माग्छन् । यथार्थमा जगत्का जननी भनेका सबै आमा हुन् । सबै आमा देवी रूपका हुन् । हामीले भन्ने र मान्ने गरेकी देवीको उपस्थिति आमामा नहुने हो भने आमा दानव हुन्छिन् । राक्षसनी हुन्छिन् । दुष्ट हुन्छिन् । त्यसैले आमाको स्वरूपको दर्शन गर्दा त्यहाँ देवीको दर्शन हुन्छ, यदि हामी धार्मिक कुरामा विश्वास गर्छौँ भने । यस्तो अवस्थामा आमारूपी देवीको महिमा गान गाएर उनीहरू अघाउँदैनन् । मधुकैटभ, महिषासुर, धूम्रलोचन, चण्डमुण्ड, रक्तवीज, शुम्भ, निशुम्भ नामक दानवादीलाई यिनै देवीरूपी आमाले नष्ट गरेको कथा पढ्छन् । शिर निहुराउँछन् । व्यक्तिगत स्वार्थका कारण आमाले केही दिन्छिन् कि ? भनेर अनेकौँ धूप बत्ती गरेर आमाको गाथा गाउँछन् । तर त्यसपछि कसैले पनि यी आमालाई सम्झिदैनन् । बाबुहरूका साथमा यी कुनै पनि आमाहरू सम्झनाको दैलोमा भेटिन्नन् । नित्य निरन्तर बाबुहरूकै अनेकौँ बढाइचढाइ गरिरहन्छन् । विडम्बना– आमाहरूलाई न छोराहरूले सम्झिन्छन्, न छोेरीहरूले ?
त्रेतायुगीन रामले अलिकति सम्झे आमालाई । अलिकति सम्झे जन्मभूमिलाई । जन्मभूमि भनेकी पनि आमा नै हुन् । त्यसैले उनले यी दुवैलाई सम्झे स्वर्णपुरी लङ्कामा पुगेर । यो कसरी ? प्रश्न आउन सक्छ, यति कुरा उठाएपछि । अयोध्याका राजा आप्mनै बाबु दशरथको आज्ञा पालन गर्न राम भाइ लक्ष्मण र पत्नी सीताका साथ वनवासमा जान्छन् । वनयात्राका क्रममा सीताको अपहरण हुन्छ, लङ्कापति रावणबाट । अपहरणमा परेकी सीताको जोडतोडले खोजखबरी हुन्छ । कथित वानर सेनासहितको सहयोगमा राम सीता पु¥याइएकी ठाउँ लङ्का पुग्छन् । सुनैसुनको पुर हुन्छ, त्यतिखेरको लङ्का । अचम्मको स्वर्णपुरी देखेर लक्ष्मण त्यसको प्रशंसा गर्न थाल्छन् । ठाउँ त यस्तो पो हुनुपर्छ भनेर सम्भवतः उनले त्यहीँ बस्न पनि चाहे होलान् । भाइ लक्ष्मणको यस किसिमको सुवर्णजडित लङ्का पे्रम देखेर उनलाई सम्झाउँदै राम भन्छन् –
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
संसारमा हरहिसाबले स्वर्ग सबैभन्दा उच्च स्थानमा हुने परिकल्पना गरिएको छ । सबैको चाहना स्वर्ग हुन्छ । स्वर्गको बसाइ र स्वर्गीय आनन्दको परिकल्पनामा हामी रमाउँछौँ । तर, स्वर्ग कस्तो छ ? अहिलेसम्म कसैले प्रत्यक्ष रूपमा अनुभूत र साक्षात्कार गर्न सकेको  छैन । तैपनि, स्वर्ग प्राप्ति सबैको चाहना र अन्तिम रोजाइ हुन्छ । यस्तो अवस्थामा पनि रामले लक्ष्मणलाई सम्झाउँदै भने– हे भाइ लक्ष्मण, यो लङ्का सुनैसुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन । यसप्रति कुनै आकर्षण छैन । मलाई मेरै अयोध्या महान् छ । किनकि, जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन् ।
रामले परमुलुकमा पुगेर यसरी जननीलाई सम्झे । आफ्नो जन्मभूमिलाई सम्झे । उनले जननी र जन्मभूमिलाई एकैसाथ यसरी उच्च स्थानमा राखेर स्वर्गलाई कम आकलन गरेकै कारण अहिलेसम्म पनि हामी यस भनाइलाई प्रसङ्ग आउँदा ससम्मान सम्झिने गर्छौँ । जुन भनाइ यतिखेर स्वमुलुक छोडेर परमुलुकमा रमाइरहेका मनहरूले सम्झिनुपर्छ । गाउनुपर्छ । र, व्यवहारमा उतार्नुपर्छ । किनकि, विदेशी भूमि भनेको विदेशी भूमि हो । त्यहाँ आप्mनो पन हुँदैन । आप्mनो कद हुँदैन । आप्mनो माटोले जस्तो त्यहाँको माटोले कदापि माया गर्दैन । चिन्दैन । मुखको आनन्द लुट्ने मात्र हो त्यहाँ, मानसिक आनन्द    होइन । अनि त्यस्ताले कुनै पनि बखत त्यहाँबाट लखेटिनुपर्छ, यो वा त्यो निहुँमा । यस्तो अवस्थामा अवश्य पनि सम्झिने भनेको जन्मभूमिलाई हो, जहाँ विगतका सुरु दिनहरूमा जननीको प्यारो पालन पाएर समय गुजे्रको हुन्छ ।
परभूमिको अपार धन सम्पत्ति र स्वजन्मभूमिको साग सिस्नुको तुलना गर्दा स्वजन्मभूमिको साग सिस्नुकै महत्व बढी हुने देखेर नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफनो मुना–मदन खण्डकाव्यभित्र एक प्रसङ्गमा यसरी लेखेका छन्–
“साग र सिस्नु खाएको वेश आनन्दी मनले ।”
यस भनाइले स्वजन्मभूमिको महत्तालाई सपे्रम दर्साएको छ । जननीको आत्मीयतालाई पार पाइनसक्नु गरी प्रशंसा गरेको छ, थोरै शब्दमा । सूत्रमा आमाको गान गाउन भ्याएको छ, युगौँसम्म जीवन्त रहने गरी ।
सबै आमाहरूकी प्रतिनिधित्व गरेर सपनामा मलाई सम्झाउन आएकी आमाले पक्कै पनि देश विदेश सबै घुमेकी छिन् । कुनाकाप्चा सबै चहारेकी छिन् । तिनले बुढेसकालमा आमाहरूले आप्mना सन्तानबाट त्याज्य भएर वृद्धाश्रम र पाटी पौवा भोगेको पनि देखेकी छिन् । विषयवस्तु सबै बुझेकी छिन् । त्यही भएर त उनी सबै आमाहरूको प्रतिनिधित्व गर्दै मलाई सम्झाउन आइपुगेकी हुन् । जे भए पनि उनको गुनासो र सम्झाइलाई मैले गम्भीर रूपमा मनन गरेको छु, अन्यथा ठानेको छैन ।
आमाहरू कहाँ कम छन् ? कतिपय मुलुकमा आमाहरूले मुलुक हाँकेका सयौँ इतिहास हामीले पढेका छौँ । हजारौँ वर्तमान भोगेका छौँ । र त, भविष्यमा पनि त्यत्तिकै भरपर्दो अपेक्षा गरिरहेका छौँ, आमाहरूबाट । यिनै आमाहरूबाट मुलुक अघि बढ्छ, विश्व हाँकिन्छ भन्ने कुरामा हामी ढुक्क छौँ । यो सबै आमाहरूको दृश्य अदृश्य समग्र योगदानको प्रतिफल हो । साहित्यमा आमाहरू छन्, धार्मिक क्रियाकलापमा आमाहरू छन् । सामाजिक परिपाठ र योगदानमा आमाहरूकै वर्चस्व छ । घर व्यवहार चलाउनेदेखि सन्तान र समाजको हितमा आमाहरूकै मन अगाडि छ । तुलनात्मक रूपमा आमाहरू कम स्वार्थी छन्, हामी पुरुषभन्दा । आमाहरूको मन कोमल छ, मै हुँ भन्ने कतिपय पुरुषहरू भन्दा । पण्डितका नाममा पुरुषहरूले जमाएको धार्मिक साम्राज्यमा आमाहरूको प्रवेश भइसकेको छ । र त– धार्मिक, सामाजिक तथा अन्य कतिपय गहन विषयादिका विचारोत्तेजक प्रवचनमा आमाहरू ढुक्कसँग अगाडि आएर कुर्लिन थालिसकेका छन् । नसोचेको ताली र मान सम्मान पाएका छन् । जानी÷नजानी युगौँदेखि पछाडि पारिएकै कारण अगाडि आउने आँट गर्न नसकेका हुन्, आमाहरूले आजसम्म । बट्टामा लुकाएर राखिएको केराउले फसल  दिँदैन । त्यसलाई जमिनमा छोड्नुपर्छ, उमार्न र फसल लिन । हाम्रो समाजमा आमाहरूको विगतको इतिहास बट्टामा लुकाएको केराउ जस्तै हो । यतिखेर आमाहरू जमिनमा आइसकेका छन् । सकुशल उम्रिएर फसल दिन थालिसकेका छन् । यस्तो अवस्थामा पनि हामी आमा र आमाहरूलाई कम आकलन गर्छौँ भने त्यसभन्दा बढी मूर्खता हाम्रो अरू केही हुने छैन । त्यसभन्दा बढी पुरातन जङ्गली सोच अरू केही हुने  छैन । तसर्थ आमालाई विश्वास गर । जननीलाई विश्वास गर । जन्मभूमिलाई विश्वास गर । क्षणिक स्वार्थ र धुमिल इतिहासका पछाडि नलाग ।
हामीले जन्मदाता जननीको प्यार लिन जान्नुपर्छ । आश्रयदाता जन्मभूमिको स्वाद चाख्न जान्नुपर्छ र तिनलाई उपयोग गर्न जान्नुपर्छ । पुरुषहरू हामी आफै जान्ने, हामी आफै ठूला भन्ने सङ्कीर्ण सोचबाट बाहिर निस्किनुपर्छ । समय कहाँबाट कहाँ पुगिसकेको वर्तमान अवस्थामा हामी पुरातन मानसिकतामै रमाइरहने ? अबका दिनमा कदापि त्यस्तो हुन सक्दैन । किनकि, जननी र जन्मभूमिले हामीलाई कहिल्यै अकल्याण गर्दैनन् । यिनीहरूले सदैव हाम्रो कल्याण नै गर्छन् । जसरी कुनै पनि हालतमा बाबु दुष्ट÷शत्रु हुँदैन भन्ने कुरा हामीले पढिआएका छौँ, त्यसरी नै आमाको वात्सल्य कहिल्यै कमजोर हुँदैन भन्ने पनि हामीले पढ्नुपर्छ । आमाहरू कमजोर छैनन् भन्ने पढ्नुपर्छ । आमाहरू पनि केही गर्न सक्छन् भन्ने पढ्नुपर्छ । विश्वास गर्नुपर्छ । त्यसका पक्षमा वकालत गर्नुपर्छ । किनकि, आमाको इज्जत गर्दा आमाको मात्र नभएर त्यसरी इज्जत गर्ने सबैको इज्जत बढ्छ । यति हुन सक्यो भने हामीलाई आमाले जन्माएको सार हुन्छ । अलिकति भए पनि जन्मभूमिले आश्रय दिएको ऋण चुक्ता हुन्छ ।
मानवीय जीवनमा आमाको उपस्थिति नभएको ठाउँ कतै   छैन । आमा सर्वव्यापी छिन् । जसरी एउटा मानिसका लागि सार्वजनिक प्रशासनको उपस्थिति र सहयोग भू्रणदेखि घाटसम्म आवश्यक हुन्छ भनिन्छ, आमाको उपस्थिति पनि त्यत्तिकै व्यापक छ, त्यस्तै छ । नेपाली सन्दर्भकै कुरा गर्ने हो भने सृष्टिमा आमा, हुर्काइबढाइमा आमा । स्याहारसुसारमा आमा, रेखदेखमा आमा । भान्छामा आमा, सरसफाइमा आमा । केलाइकुलाइमा आमा, पकाइतुल्याइमा आमा । धारामा आमा, मझेरीमा आमा । बगैँचामा आमा, करेसामा आमा । कौसीमा आमा, छिँडीमा आमा । रोगमा आमा, भोकमा आमा । पूजाआजामा आमा, पढाइलेखाइमा आमा । खेतमा आमा, बारीमा आमा । गाईवस्तुका कटेरोमा आमा, घाँसपातमा आमा । चोटपटकमा आमा, लालनपालनमा आमा । यस्ती आमा जस्तोसुकै अवस्थामा पनि सन्तानको अहित चाहन्नन् । कुमाता हुन चाहन्नन् । कतिपय अवस्थामा बरु पुत्र नै कुपुत्र हुन सक्छन्, तर आमाहरू कदापि कुआमा हुन सत्तैmनन् । आमा कुआमा हुने हो भने उनले आप्mना सन्तानलाई पाइला पाइलामा बिगार्न सक्छिन् । तर, एउटी सच्चा आमा कदापि त्यस्तो गर्न सक्तिनन् । कुनै पनि हालतमा कुआमा हुन सक्तिनन् । यसलाई पुष्टि गर्न हामीले निकै अघिदेखि सुन्दै आएको संस्कृतको यो एउटा श्लोक नै पर्याप्त हुन्छ, अरू चाहिन्न–
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’
यति बुझेपछि मचाहिँ यो सारा जगत् मातामय छ भन्ने कुरामा निश्चिन्त छु । ढुक्क छु । यसो हुँदा सृष्टिदेखि अन्त्यसम्म जहाँ जहाँ बाको उपस्थिति देखाइन्छ, त्यहाँ त्यहाँ आमाको उपस्थिति हुनै पर्छ । हुन्छ । पारिवारिक तथा सामाजिक परिवेश अघि बढाउने क्रममा आमा एउटा गोडा हुन् भने बाबु अर्को गोडा । जीवनको गतिमा यी दुवै गोडाको उत्तिकै आवश्यकता छ । एउटाको अभावमा अर्को अघि सर्न सत्तैmन । यतिखेर कतिपय तपाईंहरू चाहिँ पुरातन सोचमै डुबुल्किएर मेरा कुरामा असहमति जनाउन पनि सक्नु हुन्छ । यो मेरो कपोलकल्पित अनुमान हो, ठोकुवा होइन । मेरो यो कपोलकल्पित अनुमान कदापि सत्य साबित नहोओस् । यतिखेर मेरो यही कामना छ । जय मातामय जगत् ।