
“साहित्यकार, लेखक भूतपूर्व हुँदैन ! अरू कर्मचारीहरू भूतपूर्व हुन्छन् ! यही भएर अजराअमर हुन लेखक बन्नुपर्छ । लेख्नुपर्छ। सर्जक देशको नीधि, वैश्विक सम्पदा हुन् ! विभुति हुन् समाजका!” पररररर ताली बज्यो, छोटु किताब विमोचनमा आएका दिनेशकुमार थपलियाको उद्गारपछि । अचानक “छोटु” लिएर देखा परेका मीनाकान्त मुरलि, गोविन्दशिष्य, कृषिहाकिम, सञ्जीव पौडेल, छाए चितवनमा, झलमल्ल उज्यालो भयो, हज्जार नभोमणि उदाए जसरी । कार्यक्रमका सभापति अति प्रफुल्ल, उनको बोलीमा साहित्य र साहित्यकारप्रति सदा पीयूषमय वाणी, मीठोकान्त भाग्यमानी ! “यो कार्यक्रम त चितवनमा नभूतो, न भविष्यति!” प्रोफेसर हितनारायण केशवोपाध्याय लीलानाथ गजलश्री विवेकी ।
“सही हो सर, म पनि छक्क, मुरलि बजेकै हो!” नेपाली केशव ।
अचानक, भीडबाट एक “ज्ञानेन्द्र शाही” टाइपको पात्र उठ्यो, चिच्यायो, “प्रमुख अतिथिज्यू, यो उकासो र पिकासोको काम नगर्नुहोस् ! नालायक नेताहरूले नयाँ पुस्तालाई सिद्धान्त र नारा नामको भाङ पिलाएर महरा बन्ने रहरमा मोहोरा बनाएजस्तै, आस्थादासहरू उत्पादन गरेजस्तै, सर्जक भूतपूर्व हुन्न भनेर मिथ्या कुरा नगर्नुहोस् हजुर, किन हुन्न भूतपूर्व लेखक, मज्जाले हुन्छ । मसित छ प्रमाण ! नियमापत्ति हजुर । ठूलो पद, त्यसमाथि केन्द्रबाट मोफसल आएपछि प्रजापति हुने होइन ।” सन्नाटा । ध्यानाकर्षण उद्योग । प्रोफेसर जगमोहन आजाद झुवानीश्री जुरुक्क उठ्यो र बोल्यो, नरम भएर, “हे एन्टागोनिस्ट युवा, यस्तो बेबुनियाद कुरा गर्ने होइन, सवुत पेस गर।” “यो जोगी त बोल्छ के !” केदारनाथ खनाल गोर्खाली ।” चितवनमा यो जोगी, त्यो कुमरोज प्रेमी लोहा, यी ठाकुरकी कुलबधु दीपेन्द्रकान्ता तिवारी नबोले,अरू को बोल्ने?सबै फेस सेविङ्ग हो, आफूलाई परे मात्र बोल्ने, अरूको मर्कामा, भीष्म र द्रोण !” कपिल अज्ञात ।
“आजाद सर, म हजुरलाई चिन्छु । म कमरेड ज्वालाराज गोस्वामी, किन हुन्न भूतपूर्व लेखक, हुन्छ, त्यो भूतपूर्व लेखक, सर्जक, मानक, धानक, हानक, त्यो पात्र हजुरको सामुन्नेमा छ, म हुँ म, म भूतपूर्व राइटर, अहिले फाइटर !” छापामार ।
“किन त नि ? किन छोडियो साहित्य, उता जीवननन्दन होचिमिन्हको दामादश्री किन बनियो ? किन ?” आजाद । छोटु जिल्ल । मीना जिल्ल । जिल्ला नै जिल्ल ।
“सर, क को सल्लाहमा मुक्तक लेख्न सुरु गरियो, ख को गाली खाइयो, ख को सल्लाहमा गजल सुरु गरियो, ग को गाली, बज्र मुक्का, अझ हुर्मत, वनमारा, देशद्रोहीको आरोप आयो, ज्यामिरेबाट,बहरमा गजल लेख्छु, बाबुले न्याक्छ, आजाद लेख्छु, विनोदको दनक, लघुकथा लेख्छु, चुट्किला भनिदिने, छन्दमा आयो, छन्दे छन्दे भन्ने, अनि गतिलो लेखक बन्छु भन्यो, गतिला जति सबै अस्पतालमा, पत्नीको गनगन, यतै गुट, उतै गुट, तैट ! अनि यो गालीको दलदल, भासबाट बाहिर आएर कुखुरापालनतिर लागियो, अहिले आनन्द छ । हजुर पनि कति गाली खानुहुन्छ, कति चलाएको फेसबुक, हजुर त आदर्श गुरु हो ! ल गुरु बा, म ज्ञानेन्द्र शाही ? म भूतपूर्व सर्जक होइन त ? सवुत अरू चाहियो ?” गोस्वामी।
“बढी चोट खाई जवानी पे रोया !” आजाद । कार्यक्रम सकियो। भोज सुरु भयो । फोटो सेसन ।