अक्षरमार्ग

इरानी रानी !

Dhanraj Giri
धनराज गिरी

“बा, पिकनिक जाने भोलि, पारिवारिक !” कान्छी छोरी पूजाको सूचना, प्रोफेसर पर्याराज गोविन्दानुज गजलोपाध्याय निकुञ्जश्री चितवनवीलाई । “गीत गाउन पाइन्छ छोरी ?” बानी । प्रोफेसरलाई मज्जासित गीत गाउन पाए पुग्छ। “अवस्था हेरेर !” कान्छी छोरी।
“त्यो त म पनि बुझ्छु छोरी !”

“आहा, क्या हरियाली ! क्या ताल ! मानिस नै मानिस, तर सबै अजनवी !” प्रोफेसरको मनको कुरा खेल्यो । आफ्नो नेपाल सम्झियो। अनि मनमा आयो “पर्या साहित्य, भवानी बैनी, साहित्य पोस्ट, हिमाल, हिमालेन्द्र, सुकरात गुरु, नयाँ मुगलन, हरित क्रान्ति बोकेर अभियन्ता बनेको विजय हितान फौजी, प्यारो झोर्ले, उता जङ्गल भ्यायो चोरले, यता आफू घोर्ले, दाजु दमकश्रीलाई सम्झियो । बिरामी अनुज धरावासी, हेम्स अस्पताल, बिमली अनुजा, तन नयाँ मुगलानमा, मन आफ्नै दाबिले, बछौली, रामशरण पाठक दाजुदेखि बुद्धिराज भाञ्जासम्म, बुद्धिविनोद मनमा, विनोदी मनमा !” अति सुन्दर स्थान। “मान्छेले प्रकृतिलाई जोगाए प्रकृतिले मान्छेलाई जोगाउने हुन्छ ।” कतै पढेको थियो । सत्य, १००% सत्य । “यही भएर अन्जनाकान्त सरलोपाध्याय कस्सिएर लाग्नुभएको छ, डेरिडा बनी !” मनले सुकर्म टोल सम्झियो।

“खप्पराँ भएपछि जे पनि सहज, होइन त सर ?” गुरुङ कान्छा, सर, साथी, छोरो, दामादश्री, सल्लाहकार र तारणहार, बेडापार ! यतिखेर “असरानी” को भूमिकामा कविताकान्त पूजारी। “Rome was not built in a day!” ससुराबाको उत्तर।अभिधामा बोल्दैन प्रोफेसर, पाठकहरू अलमल्ल, लौरीघोल झलमल्ल ! पुस्तान्तर, यहाँ पनि।

घुमन्ते भयो प्रोफेसर । “आम्मै, कति राम्री !” एक अनुहारले तान्यो । आखिर उही हो, नयनपान, उनी, ती परी पनि प्रोफेसरको व्यक्तित्वले तानिइन्। आँखा चार, बुझियो सार,गफारम्भ। “इरानी रानी !” परिवार, बाआमा, पति, दुई भुरा । मज्जाले गफ, अङ्ग्रेजीमा । उनको पिताजी इन्जिनियर, भलाद्मी । अङ्ग्रेजी कम बुझ्ने । छोरी सहजकर्ता । “You are a very good person by heart!” पाकाको सूक्ष्म अवलोकन ! फूलको आँखामा, यही सम्झियो! “बाटोमा प्रेम” अनुजा नीरा शर्मा, बा कविताकी आमालाई सम्झियो ।

मनमा “इरानी रानीको विम्व लिएर” फर्कियो प्रोफेसर । गीत गाउने वातावरण मिलेन। “गीत सुन्न, सजिलो छैन, किन गाउँन सजिलो छैन, मन सफा हुनपर्यो ।” सोच्यो । पर्या, पर्या, पर्या लिएर फर्कियो प्रोफेसर । “बा, कस्तो लाग्यो त आजको पिकनिक ?” कान्छी छोरी । “मोग्याम्बो बा खुश हुआ ! छोरी, मेरी आत्मा, म अति खुशी छु आफ्नो अवतारको साथमा ! मेरो चिन्ता नलिनू ! मसित अकारण खुशी हुने मन छ !” प्रोफेसर । “हजुरको मनोपर्यावरण स्वच्छ छ बा, हाम्रो बा समझदार हुनुहुन्छ !” पूजा गिरोपाध्याय।
“आशीर्वाद छोरी, कविता लेख !” बा ।
“म पनि गजल लेख्छु अब  !” कान्छी छोरी ।
“अब त्यही बाँकी छ !” आमा, सन्तोषी गिरोपाध्याय नेपालप्रेमी ।