Skip to main content

अक्षरमार्ग

नसना

नसना मेरी बहिनीकी सखी । उनीहरू बीच कुनै पनि कुरा गोप्य रहँदैनथ्यो । आत्मीय साथी भएका कारण सुख र दःुख साझा थियो । नसना अलिक दुब्ली, पातली थिइन् । गोरो वर्णकी नसना हिस्सी परेकी थिइन् । बहिनीसँग प्रायः घरमा आइरहन्थिन् उनी । मसँग पनि बोल्थिन् । उनले मलाई भेट्दा गर्ने प्रश्न सधैं एउटै थियो, “सन्चै हुनुहुन्छ?”  म भने प्रायः टाउको मात्र हल्लाउँथेँ । कहिलेकाहीँ मात्र “ठिक छु” भन्ने उत्तर दिन्थेँ । लामो र गहिरो सम्बाद भने उनीसँग कहिल्यै भएन मेरो । उनी भने मसँग कुरा गर्ने बहाना झिकिरहन्थी ।
म विज्ञानको विद्यार्थी  । प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको पनि दुई वर्ष भैसकेको थियो । एम. बि. बि. एस. डाक्टर पढ्नका लागि पोहर साल छात्रवृत्तिका लागि आवेदन दिएको थिएँ । परिश्रम पनि निक्कै गरेको थिएँ । तर नाम निस्किएन । हरेस खाने कुरा भएन ।  सम्झे, ‘आफ्नो परिश्रम पुगेको रहेनछ ।’ यो वर्ष छात्रवृत्तिका लागि दरखास्त आहवान हुनासाथ फेरि आवेदन दिनुपर्छ भन्ने सोचिरहेको  थिएँ । त्यही अनुसारको तयारीमा जुटिरहेँ ।
म सानो छँदा पिताको छहारी गुमाएको थिएँ । बुनू त अझ सानै थिई ।  म भने केही बुझ्ने भैसकेको थिएँ । आमाले टुहुरो छोराछोरी, घर, परिवार, खेतबारीको सम्पूर्ण जिम्मेवारी उठाउनुपर्ने बाध्यात्मक परिस्थिति थियो । आइपरेको बज्रपातलाई आमाले हाम्रै मुख हेरेर सहनुभयो । लाउन र खान हामीलाई दुःख थिएन । पैतृक सम्पत्तिबापत बुबाले पाउनुभएको तीन रोपनी खेत र एक रोपनी बारीमा पोखिएको आमाको पसिनाले हामी पालित र पोषित थियौँ । अतिरिक्त  आय नभएका कारण घरमा पैसाको भने अभावै  रहन्थ्यो । त्यो कुरा मैले राम्रोसँग बुझेको थिएँ । त्यसैले मैले आमासँग कहिल्यै पैसाका लागि दुःख दिइएनँ । बुनू भने पैसा मागिरहन्थी । “ तँलाई कति पैसा चाहिएको? सधैं पैसा…. पैसा… । तेरो दाइलाई हेर, कहिल्यै पैसा मागेको देखेको छस्?” बुनूले आमासँग पैसा माग्दा सधैं भन्ने कुरा यही थियो ।
घरकै परिस्थितिका कारणले पनि  होला म कसैसँग पनि त्यति धेरै बोल्दिन थेँ । हत्तपत्त कसैसँग पनि घुलमिल हुन कठिन हुन्थ्यो मलाई । नसना भने टकएक्टीभ । एकदिन म कोठामा पढ्दै थिएँ । ढोकाबाट आवाज भित्र पस्यो, “सन्चै हुनुहुन्छ?” आवाजतिर मेरा आँखा तुरुन्त कुदिहाले । नसना ढोकाबाट भित्र छिरिन् । मैले जवाफ फर्काउने पारामा टाउको हल्लाउँदै भनें, “अँ………।” मेरो पारा देखेर बोलिन् नसना, “कस्तो रहेछ तपाइँ त ! बोल्न पनि पैसा लाग्ने हो र ?”
“होइन, ठिक छु ।” मलाई बोल्न बाध्य पारिन् उनले ।
“अनि बुनू खोइ त?”
“माथि छे ।”
केही बेर उनको ओठ चुप भयो । बुनू माथि छे भनेपछि माथि जालिन् भन्ने सोचेको थिएँ । तर उनी माथि जाँदिनन् । एकैछिनपछि नसनाको प्रश्न फेरि मतिर तेर्सिन्छ, “के गर्दै हुनुहुन्छ? पढ्दै?”
टाउको हल्लाउँदै जवाफ फर्काएँ, “अँ….।”
गुलाब जस्तै फक्रेको उनको मुहारमा मेरो नजर टिक्न सकेन । उनले भने मलाई एक टकले हेरिरहिन् । मलाई भने अप्ठयारोको राप र तापले उकुसमुकुस बनाइरह्यो । धन्न त्यसैबेला बुनू आइन् र मैले राहतको सास फेरेँ । दुबै चोटातिर लागेपछि तेज गतिमा दौडेको मेरो हृदयको गति बल्ल सामान्य अवस्थामा आएको थियो ।
साँझ बिदा भएर जान लागेको थियो । रात कलिलै थियो । भान्साको काम सकेर बुनू तल आइन् । मसँगै बसिन् । आमा चोटामा हुनुहुन्थ्यो । “आमालाई एक्लै छोडेर तँ किन यहाँ आएकी?” मैले सोधेँ । बुनूले मेरो प्रश्नको कुनै उत्तरै नदिई प्रतिप्रश्न गर्दै भनिन्, “केहो दाइ? मेरो साथी नसनालाई मोहनी लगाउनुभए जस्तो छ  नि ।”
“किन?”
“बुनू ! तिम्रो दाइ कस्तो राम्रो लाग्छ मलाई । शान्त, सुन्दर तलाउ जस्तै भन्थी ।”
“अनि तिमीले के भन्यौ त? ”
“जमेको तलाउ पनि राम्रो हुन्छ त? खोला जस्तै बगेको पो राम्रो भनेँ।”
“तँलाई थाहा छ सबै, जमेको राम्रो कि बगेको राम्रो ।”
“दाइलाई पनि करेन्ट लाग्यो कि के हो? जमेको पानीमा पनि करेन्ट हुँदोरहेछ?”
“बढ्ता नहोऊ । जा आफ्नो कोठामा । मलाई पढ्न दे ।”
बुनू आफ्नो कोठामा गई । म पढ्न बसेँ । त्यो रात धेरै पढ्न सकिनँ । मनमा कुराको
ज्वारभाटा चलिरह्यो । अबेरसम्म निन्द्रादेवीले शरणमा लिइनन् ।
केही दिनपछिको कुरा हो । एम.बी.बी एस. पढ्नका लागि छात्रवृत्तिको आवेदन खुलिसकेको थियो ।  म परीक्षा दिनको लागि काठमाडौ गएँ । परीक्षा भएको दुईहप्तापछि रिजल्ट प्रकाशन  भयो । छात्रवृत्तिका लागि म पनि छनौटमा परेँ । यो खबर सुनेर आमाले गहभरि खुशीको आँसु पार्नुभयो । बुनू पनि निक्कै प्रसन्न भइन् । “थाहा छ दाइ ! तपाइँ छात्रवृत्तिका लागि छनौट हुनुभएको खुशीयालीमा आज बिहान कलेजमा नसनाले मिठाई बाँडिन् । सबैले के खुशीयालीमा मिठाई बाँड्दै छस् भनेर सोध्दा पनि उनले केही भनिनन् ।” “अनि उनले के भनिन् त?” मैले प्रश्न गरेँ । “ के भन्नु दाइ, नसनाले आँप खा न रुख किन गन्नु प¥यो भन्दै जवाफ लगाइन ।” बुनूको कुरा सुनेर म अवाक भएँ । ‘कति धेरै माया छ उनको मनमा मेरा लागि ।’ यस्तै सोचले मग्न भएँ म । मायाको आगो उसको मनमा जस्तै मेरो मनमा पनि सल्किसकेको थियो । “ तिम्रो साथीलाई धन्यबाद भनिदिनु है ।” मैले भने । “मेरो साथीलाई धन्यबादले मात्र पुग्छ दाइ?” बुनूको प्रश्नको उत्तर थिएन मसँग । म नाजवाफ बनेँ । त्यो घटनाले नसनाप्रति मेरो मनमा माया मात्र होइन श्रद्धाका अनेक फूल पनि फुल्न थाले ।
बङ्गलादेशको ढाकामा पढ्न जाने दिन पनि आइसकेको थियो । बिहान आमाको हातबाट सगुन लिएर एअरपोर्टका लागि निस्केँ । मलाई एअरपोर्टसम्म छोड्न बुनू र नसना दुबै आएका थिए । घरबाट एअरपोर्टसम्मको करिब एकघण्टा लामो यात्रामा बोलिरहने नसनाको ओठ चल्दै चलेन । प्रायः नबोल्ने, जोक त गर्दै नगर्ने मैले ठट्टा गर्दै भने, “आज नसनाको मुख कस्ले सिलाएर पठाएछ?” जवाफमा उनले भनिन्, “ ओहो ! तपाईलाई ख्यालठट्टा पनि गर्न आउँदो रहेछ  !” बल्ल उनको आवाज सुन्न पाइयो । हामी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्यौँ । त्यहाँ पनि मानौँ सन्नाटा छाएको थियो । बुनू पनि निक्कै भावुक देखिइन् । नसनाको पनि अनुहारको रङ्ग पूरै उडेको थियो । भित्र छिर्ने समय पनि आइसकेको थियो । आफूले आफैलाई सम्हालेर मैले दुबैलाई भने, “राम्रोसँग बस्नु, घरको, आमाको हेरचाह गर्नु है……….।” मैले यति के भनेको थिएँ दुबै जना भक्कानिएर मलाई अङ्गालोमा हाले । “सधैँका लागि जान लागेको हो र? म फर्किहाल्छु नि ।” मेरो रुन्चे स्वर निस्कियो ।  उनीहरूलाई सान्त्वना दिएर म भित्र छिरेँ । उनीहरू पनि आएकै गाडीबाट घर फर्के ।
यता मेरो पढाई जारी थियो । म पढ्न ढाका छिरेको पनि दोस्रो वर्ष भैसकेको थियो । परीक्षापछि एक महिना लामो बिदा हुने भयो ।  घरको यादले सताएकै थियो । आउने बेलामा मनमा पत्थर राखेर आमाले हाँसेर बिदा गर्नुभएको थियो । बुनू र नसना पनि जीवनकै अभिन्न अङ्ग बनिसकेका थिए । घरमा हुँदा खासै वास्ता हुन्नथ्यो नसनाको । तर यता आएपछि सपनामा पनि उनैलाई देख्ने गर्छु । भेट हुँदा सधैं उनले भन्ने शब्द “सन्चै हुनुहुन्छ?” कानमा सधैं गुन्जिरहन्थ्यो । लामो बिदामा केही समय घरमा बिताउने विचार गरेँ । खबरै नगरिकन घर पुग्दा सबैलाई सरप्राइज हुन्छ । यही सोचेर म एक महिनाका लागि घर फर्कें । साँझपख घर पुगेँ । मलाई अचानक  घरमा देखेर आमा र बुनूको मुहारमा उज्यालो पोतियो । “खबरै नगरिकन आइस् त बाबु । चिठी पठाएर खबर गरेको भए बुनूलाई लिन पठाउँथेँ नि ।” आमाले भन्नुभयो । “यो सरप्राइज हो आमा ।” मैले भनेँ ।
“अरु त सबै ठिक छ नि?”
“एकदम राम्रो छ आमा । गतसालको परीक्षामा मैले कलेज टप गरेको छु । यो सालको परीक्षा दिएर आएको छु । अब आउने परीक्षामा पनि राम्रो गर्नुपर्छ । अर्को वर्ष आउन सकिएला, नसकिएला त्यसैले अहिले आएको ।”
“राम्रो ग¥यौ बाबु । म चिया बनाएर ल्याउँछु तिमीहरू दाजुबहिनी गफ गर्दै गर ।”
आमा भान्सातिर लाग्नुभयो । “अनि मेरी प्यारी बहिनीको हालखबर के छ ?” मैले सोधेँ
“ठिक छ दाइ । तपाइँलाई कस्तो छ?“
“ठिक छ बुनू मलाई नि ।”
मन नसनाको बारेमा बुझ्न व्यग्र थियो । तर अप्ठ्यारो लागिरह्यो । साँझ छिपिँदै थियो । तैपनि ओठ फुस्कियो, “ नसनालाई कस्तो छ? तिमीहरूको भेट त भइरहन्छ होला नि? यता घरमा आउँदिन आजकल?”  नसनाको कुरा कोट्याउने बित्तिक्कै एकाएक बुनूको अनुहारको चमक हराएको भान भयो । भर्खरसम्म धपक्क बलेको बत्ति निभेको जस्तो भयो । मेरो एकपछि अर्को प्रश्नको सोधाइले पो त्यस्तो भएको हो कि जस्तो नि लाग्यो । “बुनू के भयो तँलाई? किन नबोलेकी?”
“तपाई गएको एक वर्षपछि नसना बिरामी भइन् । सुरुको तीनचार महिना त रोगै पत्ता लागेन । पछि बल्ल रोग पत्ता लाग्यो, ढिलो गरी ।”
“ढिलो गरी? के भयो उनलाई बुनू?”
“ब्लड क्यान्सर, चौथो स्टेजको ……। अन्त पनि फैलिसकेको छ रे दाइ….। अहिले उनी मृत्युसँग लडाई लड्दैछिन् दाइ…….।” बुनूको मुखबाट पूरा शब्द निस्किएन । त्यो खबर सुनेर ममाथि ठूलो बज्रपात भयो । म उभिएको जमिन कसैले खोसेर लगेको जस्तो आभास भयो । एकाएक हृदयभरि पीडाको बाढी पसेर खुशी सबै बगाएर लग्यो ।
“बुनू ! अहिले नसना कहाँ छे? अस्पतालमा कि घरमा?”
“चारदिन अगाडि केमो चलाएर घरमा ल्याएको थियो । अहिले घरमै छिन् । लामो समयको अस्पताल बसाईपछि घरमै राख्न सकिने सल्लाह डाक्टरले दिएपछि उनलाई घर ल्याएइको थियो । ”
“हामी भेट्न कहिले जाने त नानू?”
“आज अबेला भयो । तपाई पनि यात्राबाट थाकेर आउनुभएको छ । भोलि बिहान सबेरै जाऔँला नि दाइ, हुन्न्न?”
स्वीकृतिमा मैले टाउको हल्लाएँ ।
रात अनिदो गरी वित्यो । मनमा अनेकौं तर्कनाहरू उठे । लाग्यो, ‘दैव पनि कति निष्ठूरी ! खुशी खोस्न मै मात्र पाएको  रहेछ । सानैमा टुहुरो बनाएर पुगेन । अहिले बल्ल पाएको खुशी पनि खोस्न तयार भएर बसेको    छ ।’
भोलि बिहान सबेरै बुनूलाई लिएर नसनाको घर गएँ । रोगले पूरै शरीर गलिकेको रहेछ । हाँसिरहने, बोलिरहने नसनाको ज्यान क्यान्सरको धमिराले खाइसकेको रहेछ । हामी आएको थाहा पाएपछि रोगले थला परेको शरीर उठाउन खोजिन्, तर सकिनन् । गहभरि आँसु पार्दै भनिन्, “सन्चै हुनुहुन्छ?” उही प्रश्न तर परिस्थिति उस्तै थिएन । मान्छे उही, प्रश्न उही तर अवस्था फेरिएको थियो । इशारामै हामीलाई बस्न अनुरोध गरिन् । नसनाको आमा त्यही हुनुहुन्थो । हामी गएपछि चिया पकाउन उहाँ कोठाबाट बाहिरिनुभयो ।
“कहिले आउनुभयो तपाई?” नसना  बोलिन् ।
“हिजो बेलुका ।”
“तिमीलाई अहिले कस्तो छ?”
“यस्तै छ । तपाइँ आउनुभयो अब त छिटै मर्दिन की?”
उनको कुरा सुनेर बुनू रोइन । मैले पनि आफूलाई थाम्न सकिनँ । बल्ल आफूलाई सम्हाल्दै भने,
“धत् ! यस्तो पनि कुरा गर्छन् । तिमीलाई केही हुँदैन ।”
“मान्छेको जिन्दगी यस्तै छ । ढिलोचाँडो एक दिन मर्नुपर्छ । मृत्युदेखि मलाई डर लाग्दैन । तर तपाइँसँग भेट्न नपाइ, देख्न नपाई मर्छु कि भन्ने सन्त्रास थियो मनमा । अब म सन्तोषले मर्न सक्छु ।”
“छि ! यस्तो पनि कुरा गर्छन् लाटी । आत्मविश्वास बलियो बनाऊ नसना ! तिमीलाई केही हुन्न । उपचारबाट निको हुन्छ ।”
नसनाले केही बोलिन । म पनि निशब्द  भएँ । मैले विस्तारै उनको हातमा आफ्नो हात राखेँ । ढाडस दिने प्रयास गरेँ । अर्को हात निधारमा राखेँ । मेरो हातको स्पर्शबाट उनका आँखा रसाए, सँगै मेरा पनि । लामो समय त्यहाँ बसेर भोलि फेरि आउँछु भन्दै  भारी मन बोकेर हामी घर फर्कियौँ ।
साँझमा नसनालाई गाह्रो भयो भन्ने खबर आयो । हामी दगुरेर नसनाको घरतर्फ लाग्यौँ । उनको अवस्था राम्रो थिएन । नसनाको छिमेकी उनलाई अस्पताल लैजान एम्बुलेन्स खोज्न गएको रहेछ । हामी त्यहाँ पुग्दा नसना बोल्न सक्ने अवस्थामा थिइन् । एकै छिनमा एम्बुलेन्स आइपुग्यो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै थियौँ । म उनको नजिकै बसेको थिएँ । उनले मलाई पुलुक्क आँखा खोलेर हेरिन् । स्वास घिर्रर भएको आवाज सुनियो । त्यसपछि उनका दुबै आँखा पर्लक्क पल्टिए । मेरो अगाडि उनले अन्तिम सास फेरिन् ।  उनको अन्तिम हेराईले मलाई भन्दै थियो, “मेरो मनको राजा ! मैले तपाईलाई मात्र पर्खेकी थिएँ । तपाइँ आउनुभयो, अब म शान्तसँग मर्न सक्छु ।”