
एक
जब आगो नै जलेपछी धुँवासंग किन गुनासो पोख्छौ?
कुवामा पानी नै सुकेपछी किन प्यास मेट्न खोज्छौ?
सायद खाल्डो भएर होला भरिनु नै तिम्रो नियति रै छ।
जब हिउँ पग्लन्छ बश,तिमी आफ्नै नाङो पहाड रोज्छौ।
दुई
समयको ईजलास माथि मेरो कुनै प्रतिरोध छैन।
भाग्यबोधको यथार्थता माथि कुनै गतिरोध छैन।
कबुल छ मलाई सत्यका हरेक करारका पत्रहरु
बेतुकि सम्झौतामा हार नै सहि कुनै बिरोध छैन।
तीन
अबसरबादि पो हुन थाल्छन अबसर खोज्नेहरु
भुँईको साथ पो बिर्सन थाल्छ्न मै भनि रोज्नेहरु
शायद एकाढ शिखरको मातले अंहम चढेर होला
बिरासत नै भन्न थाल्छन सिधासाधालाई घोच्नेहरु!
चार
तिमी उन्मादमा थियौ म जिन्दगीकै छायाँमा थिएँ।
तिमी दाँया थियौ म तिम्रै फरकतिर बायाँमा थिएँ।
बुझ्नै नसक्ने तिम्रो र मेरो भिन्नता यति मात्र थियो।
तिम्रो खुट्टा भुँइमाथी त म जमिनकै मायाँमा थिएँ।
पाँच
मलाई त तिमी सधैं अँध्यारोको जून भैदिए पुग्छ,
दुखजिलो भुल्ने त्यो बाँसुरीको धुन भैदिए पुग्छ।
वश, एक मिठो गाँस मुस्कानैमा राख म तृप्त छु,
मायाको तरकारीमा तिमी मात्र नुन भैदिए पुग्छ।