अक्षरमार्ग

नियति

ध्रुबकृष्ण ताम्राकार
पनौती, काभ्रे
अन्यौलकै बीचमा बिनालाई दोस्रो पत्नीको रूपमा बिहे गरेका थिए विवेकले । तर लक्ष्मीको  माया मनबाट टाढिसकेको थिएन, छँदै थियो । ऊ अझै पनि लक्ष्मीको मायाबाट एक पल पनि टाढा जान चाहेको थिएन । ऊ लक्ष्मीलाई औधी माया गर्छ । तर किन बिनालाई अपनाउँछ? आखिर त्यो कुरोले समाज र उनको परिवारसमेत  आश्चर्यमा परेको थियो । विवेकले  कलिलो उमेरमै कलिली लक्ष्मीलाई प्रेमविवाह गरेको  थियो । तर आज विनालाई उसले घर भिœयाए ।
विवेकको आँखामा एक बेग्लै अनौठो रस भरिएको देखिन्थ्यो । ऊ  आफ्नो परिवारको बिपन्नता टोडेर सम्पन्नताको उज्यालो खोजिरहन्थ्यो । हरेक रात ऊ सपना देख्थ्यो भाग्य कतै आफ्नै बसमा हुन्छ कि भनेर जिम्दगीको काँचुली फेर्न । एक दिन विवेकको  विक्रम  लामासँग  जम्काभेट भयो । केही दिनको अन्तरालमै उनीहरू राम्रा साथी बने । केही दिनमै उनीहरू साझेदारीमा एउटा ट्रक किनेर ढुवानीको व्यवशाय गर्दै थिए । विक्रमकी एउटी बहिनी पनि थिइन् विना । उनीहरूको भेटघाट बाक्लै हुन्थ्यो । यसरी आवत जावत गर्ने क्रममा विक्रमको बहिनी बिनाको र विवेकको पनि परिचय भयो । यो परिचयले विस्तारै झाङ्गिने मौका पायो । विवेकप्रति विनाको मनमा प्रेमको बिउ टुसाइसकेको थियो ।
बिनाको मायाको रापमा परेर नचाहँदा नचाहँदै विवेकको मन पनि मैन सरी पग्लँदै गयो । बिना र विवेकको प्रेम झाङ्गिदै गयो । यता विक्रमको नियत पनि  ठिक रहेनछ । सोझो विचरो विवेकलाई प्राय पिउन, पिलाउने लतमा  पार्दै  ट्रकको आम्दानी खर्च  हिनामिना गर्दै हिड्न थाल्यो । विवेक आफूलाई विक्रमले जालमा पार्दै गएको चाल पाइरहेको थिएन ।
गाडी बिग्रिएको बहानामा आफ्नो साथीलाई विक्रम उल्लु बनाइरहेको थियो । गाडीबाट आम्दानीभन्दा पनि बढी खर्च देखाउँदै विवेकको विश्वासमाथि विक्रमले घात गरिरहेको थियो । आम्दानी दिनु त कता कता उल्टो विवेकसँग विक्रमले रुपियाँ माग्न थाल्यो । केही समय त उसले पैसा दियो । तर पछि विवेकले पैसा दिन सकेन । उसले पैसा दिन नसकेपछि बिक्रमले यति हिसाब भन्दै भन्दै हिसाब  चढाइरह्यो  । त्यसो गर्दा विवेकलाई झन्झन् ऋणको भारी बोकाइरह्यो ।
यता विक्रमले आफ्नो बहिनी बिनालाई विवाह गर्न दवाब पनि  दिइरहेको थियो । तर विवेक र विना बीचको प्रेम उत्कर्षमा पुगिसकेको थियो । मन एक भैसकेका तिनीहरूले तनलाई पनि एक बनाइसकेका थिए । यस्तोमा विना अर्कोसँग विवाह गर्न सहजै मान्ने कुरा भएन । विनाले विवेकलाई भेटेर भनिन्,“ विवेक ! मेरोे कोखमा हाम्रो मायाको चिनो हुर्किरहेको छ । यस्तो अवस्थामा म दाइको कुरा मानेर अन्यत्र विवाह गर्दिन । तिमीले मलाई अपनाउन सकेनौ भने मर्नुबाहेक मेरो अर्को विकल्प हुँदैन ।” विनाको यति कुरा सुनेपछि अन्तमा विवेक विनालाई बिहे गर्न राजी भयो । विवेकको मनले नचाहँदा नचाहँदै उनलाई पत्नीको रूपमा स्वीकार गर्नु प¥यो ।
ऊ किंकर्तब्यविमूध थियो । उसले कसैसँग पनि पहिला जस्तो बोल्न छोड्यो । भित्रभित्रै आफै जल्दै थियो, गल्दै थियो । भएको अलिक जमिनको टुक्रो बेचेर ट्रक किनेको थियो । त्यो पनि दुब्दै गैरहेकोमा विवेक बेचैन त छँदै थियो । उसले आमालाई पनि केही भन्न सकिरहेको थिएन । अझ विनालाई घर लिएर आएदेखि नै ऊ लक्ष्मीको सामु आँखा राम्रोसँग जुधाउन पनि सकिरहेको थिएन ।
समय त बगिरह्यो निरन्तर आफ्नै गतिमा । विवेक निराशाको शिखर चढ्दै थियो ।  उनको अगाडि कालो बादलका टुक्राहरू मडारिरहेका थिए । दोस्रो विवाह, व्यवसायमा भएको असफलताका कारण विवेक पूरै निराश थियो । केही समयदेखि परिवारमा पनि त्यति बोल्न छोडेको थियो उसले ।
एका बिहानै विवेकको घर मान्छेहरूको हुलहरूले घेरिरहेको थियो । केही प्रहरीले बरन्डाको  कोठामा झुन्डिएको विवेकको  लाश झिकेर  सोधपुछ गर्दै थियो । सनाखत गरिरहेका थिए । नजिकै  विवेककी आमा नारायणदेवी छाती पित्दै रुँदै थिइन् । लक्ष्मी पनि आफ्नो डेढ् वर्षे दुधेबालक शैलेस बोकेर आँसु बगाउँदै रुँदै  थिइन् ।  अर्को  कुनामा विना अँध्यारो  मुख बनाउँदै आँसु झार्दै थिई ।
       “हैन विवेकले किन आत्माहत्या ग¥यो?” नजिकैको एक छिमेकीले नारायणदेवीलाई हेर्दै सोध्दै थियो ।  “के हो के बाबु ! हिजो बेलुका खाना खाएर कसैलाई केही नभनिकन सुटुक्क ऊ कोठामा सुत्न गएको थियो । कसैलाई  होसै भएन । बिहान लक्ष्मीले देखेर चिच्याएपछि त हामी झसङ भयौ । हाम्रो हंसले ठाउँ छोड्यो ।” आँसु खसाल्दै भन्दै थिइन् नारायणदेवी ।
विधिको चक्र कस्तो हुँदोरहेछ । अँध्यारोमा दियो बाल्छु भन्दाभन्दै आफै जलेर बिलाएर गयो । समयले निम्त्याएको चक्रमा बिचरा विवेक आमा, लक्ष्मी अबोध शैलेसलाई आज अनाथ बनाएर गयो । विवेक सोझो थियो । विक्रमको जालमा फस्यो ।  विनाको माया जालमा प¥यो ।
बिनाको दाइ विक्रमसँग सङ्गत गरेदेखि नै उसलाई राम्रो भएको थिएन । त्यही सङ्गतका कारण उसको आफ्नो आर्थिक अवस्था पनि खत्तम भयो । विनासँगको बिहेपछि पारिवारिक जीवन पनि सकियो । जीवनमा आएका समस्याहरूसँग हार मानेर आखिरमा विवेकले आत्महत्याको बाटो रोज्यो ।
यता विवेक बितेको ४५ दिन पुगेको थिएन बिनाले अँश हकको दाबी  गरिन् । नारायणदेवीसँग आफू बसेको घर र पुख्र्यौली घर बेचेर बैकमा राखेको थोरै पैसाबाहेक केही पनि थिएन । बहिनी पनि दाजू बिक्रमकै लाइनमा गइन् । आफ्नो पतिको मृत्यु भएको केही समय नवित्दै अंश माग्न सक्नेसँग एकैसाथ बस्नुभन्दा केही अंश दिएर पठाउनु नै उत्तम हुने विचार गरेर आमा नारायणदेवी  उसले पाउने अंश दिएर पठाइन् । यसरी बहिनी बिनालाई ढाल बनाई आफ्नो स्वार्थ बिक्रमले विवेक मरेपछि पनि पूरा गरेर नै छाडे ।
यता बिचरी लक्ष्मी कलिलो उमेरमै विधवा हुन पुगिन् । लाउने र खाने उमेरमै विधवा बनेकी लक्ष्मी, नाती शैलेस देखेर नारायणदेवीको मन छिनछिनमा भक्कानिएर आउँथ्यो । “हे भगवान ! तिमी किन यति निष्ठुरी बन्यौ? संसारमा दुःख पठाउने घर हाम्रो मात्र देख्यौ र तिमीले !” भन्दै नारायणदेवी आकाशमा हेर्दै गहभरि आँशु झारिरहन्छिन् ।
समय त चलिरहन्छ नै । सूर्य अस्ताउँछ अनि उदाउँछ पनि । दिनचर्या चलिरन्छ । तर समयले दिएका घाउहरू भर्न लक्ष्मीलाई गाह्रो भइरहेको थियो । उनी एक्लै कोठामा बसेर विवेक र आफू सँंगै डुल्दै हिँडेका विडियोहरू मोबाइलमा हेर्दै सुँक्कसुँक्क रोइरहन्थिन् । कहिले काहीँ नारायणदेवी लक्ष्मीलाई हेर्दै, “तिमी सधै यसरी उदास नहोऊ लक्ष्मी  । तिमीलाई म छोरी मान्छु । कुनै दिन आफ्नै सम्झने भेटिए बिहे गराई विदा दिएर पठाउँछु । यो समाजको रित मान्दिन म । तिम्रो  उमेर अझै छ ।” “हैन आमा त्यसो नभन्नु म तपाईंलाई छाडी कहिं जान्न विवेकको सम्झनामा नै बाँच्न सक्छु । फेरि विवेक र मेरो प्रेमको निशानी मेरो यो शैलेशलाई छाडेर म कहिँ पनि जान्न आमा ।” यसरी सासू र लक्ष्मीबीच कुरा चलिरहन्थ्यो ।
समयको गति त रोकिने कुरा भएन । समयले आज लक्ष्मीको जिन्दगीमा आँसु दिएको छ । आफ्नो भागमा जति दुःख भएपनि लक्ष्मी आँसु पिएर पनि हाँस्न खोज्छिन् ।
एकदिन लक्ष्मीकी साथी सपना लक्ष्मीलाई भेट्न आएकी थिइन् । उनी  कुरैकुरामा म्यादी प्रहरी भर्ना हुन जाने कुरा गर्दै थिइन् । कुरा चल्दै गयो । म्यादी प्रहरी हुनसके एक डेढ महिना बीचमा पचास पचपन्न हजार जति तलब हुने कुरा पनि सपना गर्दै थिई । दुःख र अभाव झेलिरहेकी  लक्ष्मी  सपनाको  कुरा सुनेर “ हुन्छ, तिमी जाने भए म पनि जान्छु नि ।” भन्दै मुण्टो हल्लाइन् ।
नेपाल संघीयतामा गैसकेको थियो । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब गराउन म्यादी प्रहरी भर्नाको आह्वान भएको थियो । त्यसैले आफ्नो नागरिकता र योग्यताको सिफारिस लिएर लक्ष्मी म्यादी प्रहरीको दरखास्त दिए लगत्तै उनी केही दिनमै म्यादी प्रहरीमा नियुक्ति भइन् ।
चुनावको लागि आवश्यक तालिम लिदै लक्ष्मी हप्ता दिन अगाडि नै  घरबाट बिदा लिएर आफ्नो चुनाव केन्द्र धादिङको  देउपुर पुगेकी थिइन् । स्थिर सरकार र स्थायित्वको लागि भन्दै आ–आफ्नो पार्टीहरू सबैले  जनताको घरदैलोमा जाँदै भोट माग्दै थिए । को जित्छ, को हार्छ भन्ने फैसलाको चुनावी माहौलमा जनताले आ–आफ्नो मतदान केन्द्रमा गई मतदान गर्दै मंसिर २१ गतेदेखि टुङ्ग्याएका थिए ।
“आमा म आजै फर्किदै छु । तपाईं सन्चै हुनुहुछ?
बाबुले  कतिको  दःुख  दियो?” लक्ष्मी आमालाई  मोबाइलमा कुरा गर्दै थिइन् ।
“हैन चुनाब सकिएर पर्सी मात्र आउँछु भनेको हैन र?” नारायणदेवी बोल्दै थिइन् ।
“ग्रुपमा आउँदा भोलि हुन्थ्यो । मलाई शैैलेस हेर्न हतार भयो आमा । आजै हामी तीन जना साथी एउटा ट्रिपरमा लिफ्ट लिँदै आउँदै छाँै हेटौंडा । आमा भात पकाइराख्नु खानलाई हामी पुग्दैछौं ।”
“हुन्छ हुन्छ बिस्तारै आउनु ।” नारायणदेवी बोलिन् । केही क्षणको कुराकानीपछि मोबाइल राखिन्।
एघार बजे नै पुग्छु भन्ने लक्ष्मी र साथीहरू यतिबेला भै सक्यो अहिलेसम्म पनि पुगेका छैनन् भन्दै घरिघरि झ्यालबाट बाहिर  नारायणदेवी हेरिरहन्छिन् । दिउँसो दुई बजिसक्यो । केही अत्तोपत्तो थिएन । मोबाईल पनि स्वीच अफ छ । के भएको हो भनेर नारायणदेवी शैलेसलाई काखमा लिदै भुनभुनाइ रहन्छे ।
शैलेसलाई भोक लागेछ क्या रे भन्दै आमा दूध र बिस्कुट लिएर शैलेसलाई ख्वाउँदै थिइन । एक्कसी नारायणदेवी टिभीको ब्रेकिङ न्युज देखेर झस्कन्छे,  दुईसय फिट तल खसेर भर्खरै एक ट्रिपर दुर्घटना …..नारायणदेवी स्तब्ध भइन् । बिस्तारै टिभीको तल न्युजलाइन पढिन् । हेटौंडा आइरहेको  ट्रिपर देउराली घुम्तीमा दुईसय  मिटर तल खसेर दुई म्यादी प्रहरीसहित एकजना ट्रिपर चालकको  घटनास्थलमै मृत्युु र एकजना गम्भीर घाइटे भएका  छन् । मृत्युु  हुनेहरूमा सपना र लक्ष्मी भनिने हेटौंडातिरकै म्यादी प्रहरीहरू भन्ने खुलासा भएको कुरा  लेखिएको रहेछ  । न्युज पढिसकेपछि  उनी एक्कासी आफूलाई सम्हाल्न नसकी ढल्न पुगिन् ।
“नियतिको अगाडि कसैको केही नलाग्ने रहेछ । केही समय अगाडि मात्र छोरोले संसार छोड्यो । फेरि अहिले भएको एउटा नातिलाई पनि टुहुरो बनाएर मेरी लक्ष्मीलाई पनि लगेछ । दुःखमाथि दुःख  हामीलाई नै किन भगवान्? यो दैवको कस्तो लीला हो !” काखमा नाती शैलेस राखेर रोइरहेकी नारायणदेवी मनको पीडा पोख्दै थिइन् ।