अक्षरमार्ग

ठग नेता

निर्वाचन नजिकिँदै थियो । गाउँमा फेरि चुनावी चटारो चल्यो। हरेक पाँच वर्षमा जसरी नेताहरू गाउँ पस्ने गर्थे, त्यसैगरी यसपालि पनि विभिन्न दलका उम्मेदवारहरू ठूला गाडी चढी प्रचारप्रसार गर्दै आइपुगे । तर तीमध्ये सबैभन्दा चर्चित नाम थियो — शिवराम नेता । उनी पहिल्यै पनि गाउँबाट चुनाव जितिसकेका थिए । उनका भाषणहरू यति आकर्षक थिए कि गाउँलेहरू उनका कुरामा सजिलै फस्ने गर्थे चुनावको माहोल तात्दै गयो । शिवराम नेताले ठूल्ठूला भाषण दिन थाले —“गाउँमा पक्की सडक बनाउँछु, हरेक घरमा निःशुल्क बिजुली र पानी पुर्याउँछु । बेरोजगार युवाहरूलाई रोजगारी दिन्छु । किसानहरूलाई निःशुल्क मलखाद उपलब्ध गराउँछु । गाउँको अस्पतालमा विशेषज्ञ डाक्टर ल्याउँछु !” उनको मीठो बोलीले गाउँलेहरू फेरि लोभिए । गाउँका वृद्धहरू भन्थे, “यो पटक त नेताज्यू साँच्चै राम्रो गर्नुहुन्छ जस्तो छ !” युवाहरू पनि खुसी थिए, “अब रोजगारीका अवसर पाइने भयो !” महिलाहरूले सोच्न थाले, “अस्पताल राम्रो भयो भने सुत्केरी हुन सहर जानुपर्दैन !”

तर शिवराम नेताको यथार्थ अर्कै थियो । चुनाव जित्न उनले गाउँमा पैसा बाँड्न थाले । कसैलाई बोरा बोरा चामल, कसैलाई केही रकम दिए । गाउँका प्रभावशाली व्यक्तिहरूलाई महँगो मदिरा र मासु भोज खुवाए । त्यसैले चुनावको दिन गाउँभरि उनका पक्षमा मतदान भयो ।

शिवराम नेता जिते । सबै गाउँलेहरूले खुसी मनाए । तर समय बित्दै गयो । एक महिना, दुई महिना, वर्षौं बिते ।
तर न त सडक बन्यो, न बिजुली आयो, न अस्पताल सुधारियो । गाउँका बेरोजगार युवाहरू अझै रोजगारीको खोजीमा भौतारिरहेका थिए । किसानहरू मलखाद अभावमा चिन्तित थिए ।

शिवराम नेता भने परिवर्तन भएका थिए । पहिले सानो घरमा बस्ने उनी अब ठूलो महलमा बस्न थाले । गाउँकै सरकारी जमिनमा उनले आलिशान घर बनाए । सामान्य मोटरसाइकल चढ्ने शिवराम नेता अब महँगो गाडीमा घुम्न थाले ।
गाउँलेहरू निराश भए । एकदिन, रामे किसान केही समस्या लिएर नगर कार्यालय पुगे ।
“नेताज्यू, हाम्रो गाउँको बाटो बर्खामा हिलाम्य हुन्छ । अस्पतालमा औषधि छैन । तपाईंले चुनावअघि भनेका वाचा बिर्सनुभयो ?” रामेले गुनासो गरे ।
शिवराम नेताले आँखा उचाल्दै हाँसे, “के तिमीले मलाई जिताउन पैसा दिएर भोट हालेका थियौ ? मैले चुनाव जित्न लाखौं खर्च गरें, अब तिमीहरूका लागि किन काम गर्नु ?”
रामे किसानको मुख बन्द भयो । गाउँलेहरूले यो सुने । विस्तारै यो कुरो सबैतिर फैलियो ।
अर्को चुनाव आयो । शिवराम नेता फेरि गाउँमा आइपुगे । फेरि उनले ठूल्ठूला आश्वासन दिन थाले —
“यो पटक जितेपछि म साँच्चै विकास गर्छु !”

तर गाउँलेहरू अब सचेत भइसकेका थिए । उनले भाषण गर्न सुरु गर्दा नै सबै गाउँलेहरू एकसाथ कराए —“हामीलाई झूटो आश्वासन दिने नेताको जरुरत छैन !”

शिवराम नेताको अनुहार पहेँलो बन्यो। उनलाई अब थाहा भयो, जनता मूर्ख छैनन् । सधैं झूट बोल्नेहरू एक न एक दिन पर्दाफास हुन्छन् । झूट र भ्रष्टाचारले जनताको विश्वास सधैं टिक्दैन । जब जनता सचेत हुन्छन्, तब भ्रष्ट नेताहरूको अस्तित्व सकिन्छ ।