अक्षरमार्ग

मूल्यहिन श्रम

झिसमिसे उज्यालो लिएर निस्कन्छु म
जिन्दगीका असंख्य गोरेटोहरूमा
अलोक छर्न
दिनभर पसिनाको पोखरीमा पौडी खेल्छु
अनुहारमा खुशी पोत्न
अनि साँझ बोकेर घर पस्छु ।

दिनभर छिना र हथौडालाई सारथि भाकेर
लडाइँ लड्छु ढुङ्गासँग अनि
थुपार्छु गिटीसंगै भविष्यका सुन्दर सपनाहरू
कहिले काहिं
बगाइदिन्छ बाढीले
गिटीसँगै मेरा अनन्त सपनाहरू
रोएर खोला बगे पनि गालामा
फर्कन्नन बगेका आशाहरू ।

लाग्छ
मेरो पसिना मूल्यहिन भएको छ
जति बेचे पनि श्रम
नाबालखको पेटमा
सारङ्गी रेट्न छोड्दैन
सहधर्मिणीको आँखामा
खुशीको फूल फुलाउन सकेको छैन
छत छ
घमाइलो दिनमा
घाम हाँस्छ
वर्षातमा
रुन्छ वर्षा
सँगै रुन्छौ हामी ।

चलेका हात
लम्केका गोडा
के गर्‍यौ खै तिमीले ?
सोध्न मन लाग्छ -कहिले काहिँ
आफ्नै मनसित ।

जिन्दगी
सूर्योदयको शिशु किरणसँगै
निस्किएर
बूढो साँझ बनेर फर्कन्छ
तर पनि
कहिल्यै यौवन फक्रेन
अभावको कुहिरोभित्र हराएका
हामी एक गाँसका लागि
तड्पिएर दुखको घाममा
जीवन सुकाउन बाध्य छौं ।

प्रजातन्त्रको शीतल छाया
लोकतन्त्रको न्यानो घाम
अथवा
गणतन्त्रको सर्वोच्च शिखरले
अभावको तिखो काँडा
कतै पर हुत्याउन सकेन
ब्यवस्थाले काँचुली फेरि पनि
हाम्रो अवस्था जस्ताको त्यस्तै छ ।

सोच्छु
सुन फल्ने याम
एक दिन त अवश्य आउने छ
हामी र हामीजस्ता कर्मवादीहरूको
जीवनमा पनि एकदिन
अवश्य वसन्त छाउनेछ
आजकल यही सोचेर
अधैर्य मनलाई
धीरताको ओछ्यानमा
सुताउने गरेको छु ।