अक्षरमार्ग

ताम्राकारको दह सार्वजनिक

काभ्रे/साहित्यकार ध्रुबकृष्ण ताम्राकारको नविनतम् उपन्यास दहको लोकार्पण एक समारोह बीच सम्पन्न भएको छ । सो उपन्यासको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि तथा उपन्यासकार प्रा.डा. विष्णु एस राई, साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक डा. हरिप्रसाद सिलवाल, कथाकार तथा समालोचक ध्रुब मधिकर्मी, सर्जक ध्रुबकृष्ण ताम्राकार, पनौती साहित्य समाजका अध्यक्ष सुभद्रा दहाल लगायतले सो उपन्यासको संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

दह लोकार्पण गर्दै कार्यक्रमका प्रमुख अतिथि उपन्यासकार राईले दह एक प्रेम–उपन्यास भएको र प्रेममा पीडा, आनन्द, मिलन, बिछोड हुने विचार पोखे । साथै प्रेम पूर्ण हुनु नै प्रेमको सार्थकता होइन, अधूरो रहेर पनि प्रेम सार्थक हुन्छ । यही हो प्रेमको महिमा ! यस कुरालाई लेखकले बडो कुशलतापूर्वक उपन्यासमा चित्रण गरेको र उपन्यास पठनीय रहेको बताए ।

त्यस्तै समालोचक तथा लेखक डा. हरिप्रसाद सिलवालले उपन्यासको शीर्षक ‘दह’आफैमा प्रतीकात्मक रहेको विचार राख्दै उपन्यासले पाठकलाई आकर्षित गरिराख्न सक्दछ भने । पुस्तकका अर्का प्रमुख वक्ता साहित्यकार ध्रुब मधिकर्मीले दह नेपाली समाजको प्रतिबिम्ब भएको विचार पोखे । त्यस्तै साहित्यकार सूर्य लाकोजूले मानिसको जीवन आफूले सोचेजस्तो नहुने र जिन्दगी निरन्तर नदीझैँ नबग्ने विचार पोख्दै कहिलेकाहीँ दहजस्तै जम्ने तथा दछ दह भएर जम्नुको अर्थ देखेको सपना, भोगेको जिन्दगी जहाँको तहीँ हुनु हो भने । साथै दहमा आम नेपालीको दुःख, पीडा प्रतिबिम्बित भएको भावना पनि उनले व्यक्त गरे । उपन्यासकार ताम्राकारले उपन्यास नेपाली जीवनको प्रतिबिम्ब भएको बताए ।

दहका सर्जक ताम्राकारका यस अगाडि आँसुको कथा र मिराज गरी दुई कथासंग्रह, प्रारम्भ र हृदयका उद्गार गरी दूई कवितासङ्ग्रह, स्पन्दन मुक्तकसङ्ग्रह, भावनाका उत्सर्गहरू गीतसङ्ग्रह र गिति एल्बम मनको बह प्रकाशित छन् ।
अक्षरमार्गले हरेक वर्ष न्युनतम् एक पुस्तक प्रकाशन गर्ने अभियान अन्तर्गत दह २०८२ सालमा प्रकाशनमा ल्याएको हो । लोकर्पणको आयोजना अक्षरमार्गले गरेको हो । कार्यक्रम सूर्य लाकोजूको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन शम्भुलाल श्रेष्ठले गरेका थिए ।