अक्षरमार्ग

हो रहेछ!

Dhanraj Giri
धनराज गिरी

“देश,दुर्घटनामा गयो !” भाइरल भयो यो समाचार। सनसनी फैलियो। सामाजिक सन्जालभरि यसको चर्चा, प्राइमरी गुरुदेखि प्रा डासम्मको मुखमा यही, एलाक र सिन्के, रम्बास, वनवास, बाछिटा, मुसल्धारे, राइनो, साइनो, झर, मर, फूल, कोपिला, चोपिला, हाइकु, घर घरका गजलकारदेखि महल कारसम्मको मुखमा यही कुरा। यस्तो सुनेर प्रोफेसर स्वदेशनारायण विदेशी आफ्नी मितिनी आमा पुष्पकुमारी नेपाललाई भेट्न माधवपुर गयो, प्रचण्ड गर्मी थियो, सूर्य कुन्नि किन हो, कसले कस्तो उखान सुनाएछ, रा….तो भएर अधिक तातो भएका, मितिनी आमा, अर्थात् “नेपाल आमा” ज्योतिष पनि, उनले भनेको कुरा सबै मिल्ने, त्यही भएर प्रोफेसर गोरु गाडा नारेर लाग्यो झापाली माधवपुर, आफ्नै सुर। काम ,ऊ, विधानानुसार गरिरहेको थियो । अचम्म, उसले कतै पनि कुनै दुर्घटना देखेन। रुखहरू पल्लवित। कलम समाएर सबै लेखकहरू सिर्जनामा व्यस्त। “होइन, सबै ओक्के छ त, देश कसरी दुर्घटनामा गयो?” अनेक सोच्दा सोच्दै एक शेर याद आयो,” शरहद पे तनाव है क्या? पता तो करो चुनाव है क्या!” यो शेरले राहत दियो।

“धेरै दिनपछि आयौ त छोरा? के छ? तिम्रा दाहाल भान्जा भान्जीहरूको खबर? तिम्रो दाजी रामचन्द्र वनवास गए कि भुइँ कटहर खान थाले? मलाई एउटा लौरो ल्याएको हो? गाडामा लौरो लौरो देख्छु। तिमी त स्थापित गजलकार, मितिनी आमाको नाममा एउटा गजलसङ्रह निकाल्नु, खाली दामिनी कामिनी वसन्तीहरूतिर मात्र ध्यान छ!मोरा!!” गालामा प्याट्ट!अलि सिरियस भएर आफू आउनुको कारण भन्यो। नेपाल आमा पनि अलि उदास बनेर एकछिन् टोलाइन्, लामो सास फेरेर बोलिन्,” छोरा, मेरो परको मितेरी साइनोको एउटा धनी परिवारको एक मात्र छोरो, बाउ पैसाले मात्र होइन पदले पनि शक्तिशाली, यता छोरोको पारा उही, गर्न नहुने काम मात्र गर्न जन्मिएजस्तो। मन्त्री बाउ आफू देशप्रेमी देखिन अनेक लीला गर्ने, उही पोखराको कुन कविले हो अति छन्दप्रेमी बनेर तीनपुस्ताकै नाम छन्दमा राखेजस्तै, विराटनगरतिरकी एक दाहालपुत्री बघिनीले पनि आफ्नो जेठो सुपुत्रको नाम “मुलुक” राखेजस्तै, ती कुबेर मन्त्रीले पनि आफ्नो पुत्रको नाम राखे “देशबन्धु निराला” यही बैशाख बाइस गते अति पानी परेको बेलामा अति सोमरस सेवनगरी भरतपुरबाट पल्सर लिएर बुटवलतिर लागेछ। दाउन्नेमा बाइक ट्रकसित ठोक्कियो, तत्काल इहलीला समाप्त। यही समाचार नेपाली मिडियाले उल्टोपाल्टो पारेर भाइरल बनाए रे! म त फेसबुक चलाउन्न बाबै। कुरा यत्ति हो। देश, दुर्घटनामा गयो। निरालाको मृत्युको खबर हो छोरा, परिवारमा ठूलो बज्रपात भयो। सम्पन्न भएर पनि के भो? शक्तिशाली भएर पनि के भो? आचरण भन्दा ठूलो सम्पत्ति केही छैन छोरा।म खाना तैयार गर्छु है!” खीर खाएर फर्कियो प्रोफेसर । मनमा उही एक वाक्य,” देश,दुर्घटनामा गयो!!”