Skip to main content

अक्षरमार्ग

पाहुना

दिनभरि अफिसको कामले लखतरान भएर घर फर्किदा स्वादिलो चटनीसहित बेलकाको खाना तयार देख्दा खुसीले रमाउँथेँ म । बिहान उठ्दा पनि कोठाहरु बढारिवरि चिटिक्क हुन्थ्यो । टाढाको साइनोले नन्द पर्ने काठमाडौँ आएकी थिइन् । एक हिसाबले खुसी नै लागेको थियो । सहयोगी पनि रहिछन् जस्तो लाग्थ्यो । अफिसको एक महिने तालिम रे उनको । काठमाडौँमा बस्ने आफन्त त अरू पनि छन् तर यहाँ जस्तो सजिलो अनुभव कहीँ लाग्दैन भाउजू भन्थिन् । दुई चार दिन त केही बोलिनँ । अप्ठेरै परेर बसेकी हुन् जस्तो लाग्थ्यो । खाना खान बस्थ्यौ हामीः

Prava Baral
प्रभा बराल

‘भाउजू यो चामल त अलि मीठो नहुने रहेछ । के चामल हो यो ?’

–घुँडामा ल्यापटप राखेर हेर्दै थिएँ, ‘भाउजू ! त्यसरी घुँडामा ल्यापटप राख्नहुन्न नि, रेडियसनले असर गर्छ हजुरलाई थाहा छैन ?’

–झयाप्प–झयाप्प फ्रिज खोल्दै उनी भन्थिन्, ‘भाउजू यी यी चीज  फ्रिजमा राख्न हुन्न नि ?’

–‘यो च्यानल भन्दा अर्को च्यानलमा एकदम राम्रो कार्यक्रम आउँछ नि’

–‘सेतो चियाभन्दा कालो चिया राम्रो हो नि’ यस्तै यस्तै ।

एक हप्ता भइसक्यो जाने त नामै लिदिनन् । मेरै घरमा बसेर मलाई नै सिकाउन पो थालिन्  । उनको व्यवहारले परिवारले पनि असहज महसुस गर्न थाल्यो । मानसिक रूपमा आन्दोलित भएँ  । एउटा न एउटा त निर्णय गर्नै पर्यो। मकहाँ आएको पन्ध्रौँ दिनका दिन उनका हातमा कागजको चिर्कटो थमाउँदै भनेँ, ‘यति धेरै कुरा जान्ने नानीलाई यो कुरा चाहिँ थाहा छ कि छैन पढ्नुस त ?’

कागजमा लेखिएको थियो,
एक दिनका पाहुना, मीठो मीठो खुवाउ न
दुई दिनका पाहुना, जसोतसो खुवाउ न
तीन दिनका पाहुना, जतासुकै जाउ न ।