अक्षरमार्ग

असन्तुष्टि

कृष्णकुमार वैद्य
बनेपा -९, काभ्रे

सानीलाई सबैले बाबु गोता गएका छोरी भन्थे । कसैले डल्ली भन्ने गर्थे । आनीबानीसँग सानीको कद पटक्कै मेल खाँदैन । हँसिलो, फुर्तिलो र मिलनसार थिइन् सानी । पढाइमा पनि उत्कृष्ट थिइन् । उनी हक्की स्वभावकी थिइन् । आफुले जानेबुझेका कुरा अरूलाई सिकाउने बुझाउने गर्थे । कुन विषय पढ्दा राम्रो होला भन्ने साथीहरूको जिज्ञासामा जुनसुकै विषय अध्ययन गरेपनि विषयगत दक्षता हासिल गर्नु उचित हुने बताउँथिन् । देशमा पढाइपछि रोजगारी सुनिश्चितता नहुनु,बन्द र हड्तालले पढाइ नहुनु, समयमा परीक्षा नहुनु तथा परिक्षाफल समयमा प्रकाशित नहुनु, चार वर्षको पढाइ ६ वर्षमा पनि पूरा नहुनु र यसबारे सरकार गम्भीर नभएकोले बिदेसिने विद्यार्थीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सानी बताउँछिन् । सानीको वाक्पटुता देखेर शिक्षकहरू पनि चकित पर्दथ्यो । काम, दाम र पढाइको अवसर खोजेर इजरायल पुगेका नेपाली विद्यार्थी घटस्थापनाको एक साता अघि अत्यासलाग्दो द्वन्द्वको चपेटामा परे । आफ्नो गाउँघरमा छँदा कहिलेकाहीँ रातुमा तारा झरेको देखेकाहरूले त्यो सखारै बिहान गडगडाहत आवाजका साथ झरेका रकेटको भिडियो खिच्न भ्याए । उता आफ्ना साथीहरूले रकेटको छर्रा लागेर रूँदै चाँडो एम्बुलेन्स पठाइदिन आग्रह गरे । कोही घाइते भए कोही बंकरभित्र छिरे । द्वन्द्वमा १० जना नेपालीले ज्यान गुमाए, एक जना सम्पर्कविहीन भए । घटना भएको एक बर्ष नबित्दै इजरायलसँगको श्रम सम्झौताअनुसार दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाउन वैदेशिक रोजगार विभागले आवेदन खुल्ला गरे । दुईलाख भन्दा बढी तलब सुविधा पाउने प्रचार गरियो । सानी असह्य भएर भुटभुटिन थालिन् । द्वन्द्वग्रस्त मुलुकमा आफ्ना नागरिकलाई कुनै पनि काममा वा पढनका लागि पठाउनु कहाँसम्मको बुद्धिमानी हो ? एक धार्नी चाकु खाएर पनि स्वाद नपाएका शासकहरू भन्दै सानीले शासकहरू प्रतिअसन्तुष्टि प्रकट गरिन् ।