अक्षरमार्ग

भक्तपुर, गहितिटोलमा पत्ता लागेका सम्पदा

भूमिका 
२१ असार, शनिवार, २०८२ । समयः साँझको ७ बजे । मोबाइलको घन्टी बज्यो । फोनकल गर्ने भक्तपुर नगरपालिका वडा नं ४ का सदस्य श्री पुरुषोत्तम तमखुज्यू हुनुहुँदोरहेछ । फोन उठाएँ । उहाँले भन्नुभयो ‘पुरुषोत्तम सर, नमस्कार । गहितिटोलको चोकमा ढुङ्गा छाप्ने क्रममा मूर्तिसहितको एउटा शिलालेख भेटिएको छ । हेर्न आउनुहुन अनुरोध गरे“ ।’ मैले भनेँ ‘भोलि बिहानै आउने छु ।’ उहाँले भन्नुभयो ‘भाइबरमा मूर्ति र शिलालेखको फोटो पठाएको छु, हेर्नुहोला ।’ उहाँले भाइबरमा पठाएका ती फोटोहरू हेरेपछि थाहा भयो सो मूर्ति चतुर्बाहु नारायण र सो शिलालेख सोही मूर्तिको पादपीठमा उत्कीर्ण ने.सं.५९७ को यक्षमल्लको रहेछ । अनि आउने भोलिलाई पर्खदै, गहितिका उल्लेख्य, लुकेका सम्पदाबारे सोच्दै गर्दा मनमा अनायाश एउटा कुरा उब्जियो ‘कर्म गर्दै गएपछि कताकताबाट भाग्य त त्यतिकै पछिपछि दौडिदौडि आउँदो रहेछ ।’ अन्वेषण (कर्म) का क्रममा पत्ता लाग्ने प्रत्येक सम्पदा मेरा लागि भाग्य हुन् । त्यसपछि मेरा विद्यार्थी, ‘समाजसेवा–रत्न’ राजेश गाईजूलाई फोनमा सम्पर्क गरी अनुरोधपूर्वक भने ‘क्यामेरा लिएर भोलि बिहान ७ बजे गहितिमा आउनु । त्यहाँ केही उल्लेख्य ऐतिहासिक, पुरातात्विवक महत्ववका वस्तु, शिलालेख फेलापरेका छन् ।’

पत्ता लागेका सम्पदा  महत्व 
२२ असार, आइतवार, २०८२ । बिहानको ७ बजे, स्थान गहिति । हामी सबै समयमै गहितचोकमा भेला भयौँ । चौबाटोको सङ्गमस्थल, गहितिचोकको माझमा एउटा ठूलो इनार छ । सोही इनारको पश्चिमपट्टिको भाग देखाउँदै तमखुज्यूले भन्नुभयो ‘चोकमा ढुङ्गा छाप्ने क्रममा खन्दा यहीँबाट पुरिएको अवस्थामा नारायणको मूर्ति र शिलालेख भेटिएको हो’ (चित्र संख्या १) । यी महत्वपूर्ण सम्पदा देखाइदिनुभएकोमा तमखूज्यूलाई धन्यवाद छ ।

चित्र संख्या १: पादपीठमा यक्षमल्लको ने.सं.५९७ को अभिलेख उत्कीर्ण शक्तिसहितका (कीर्ति र लक्ष्मी) चतुर्बाहु वामन केशवमूर्ति । ४६ह४३ से.मि. । छायाचित्र साभार:पुरुषोतम तमखु । 

यक्षमल्लको ने.सं.५९७ को वामन–केशवमूर्तिको पादपीठमा उत्कीर्ण शिलालेख 
चित्र संख्या २:गहितिटोलको, यक्षमल्लको ने.सं.५९७ को, शक्तिसहितको (कीर्ति+लक्ष्मी) चतुर्बाहु वामन–केशव मूर्तिको पादपीठमा उत्कीर्ण अभिलेख । ८१ह२२ से.मि, अभिलेख उत्कीर्ण भाग १४ह५५ से.मि.। लिपि:नेपालभाषा । भाषा:संस्कृत । खासगरी ‘ए’ कार अक्षरमा भुजिँमोल लिपिको प्रभाव स्पष्ट देख्न सकिन्छ । मैले पढेको पाठ सच्याई सहयोग गर्नुहुने लिपिविज्ञ डा.श्री श्यामसुन्दर राजवंशीज्यूप्रति आभारी छु ।

लिप्यन्तर
१.  …………धरति करतले वामनो वासुदेव:
    श्रीलक्ष्मी सयुतेश्च त्रिभुवन नमितो धर्म मोक्ष
२   थ हेतु:। विष्णु …त्रैलोक्यनाथ:कलिकलूषहरौ ।
    भुक्तिमुक्तिप्रदाता, पापाद्व:सव्र्वदा प्रवरसरसिजस्थोपि
    नारायणश्च ।।
३.  स्वस्ति ।। श्रीनेपालमहीश्वरो नृपगुरु:
    श्रीयक्ष मल्ल, प्रभुश्चक्रे शत्रसुमंडपं सकलश
    पाषाणमूत्र्ति हरे ः। स्वग्र्गो
४.  प्नां प्रतिमांप्रधानर्गारमन्सत् यक्षराजस्यवै,
    रम्यांयुग्मसती युतां विरचितां शत्रोपरिस्थापितां ।।
    यावच्चन्द्रकलामला
५.  पशुपतेर्मोलौवसत्यूज्ज्वले यावछेष फणामणो च
    धरणी सव्र्वास्रयावत्र्तते । यावन्नोरुगिरौ सुखेन रमते
    सव्र्व सुराणां ग–
६.  ण स्तावेद्रक्षतु शत्रे मंडपवरं श्रीवामन केशव ः।
    अनेनापिच पुण्यन, चारोग्य संतति श्रिय:।
    श्री यक्षमल्ल देवानां वृ–
७.  द्धय:। संतु सव्र्वदा ।। दिवंगत प्रधानस्य,
    यक्षराजस्य धीमत:। वैकुण्ठ भुवना वासो,
    भूयाद्धंद्व सतीसह:।। ।।
८.  नेपालहायनेगते मुनि रंध्र वाणे माघसितेमकरकेतु
    तिथौ प्रयाते । तस्मिंश्चवामन हरिं वरऋतु श्रीनां
    धर्मार्थ काम फलदांहि कृत प्रतिष्ठां ।।

टिप्पणी 
राजा यक्षमल्लले दिवंगत प्रधान यक्षराजको स्मृतिमा, वैकुण्ठवासको कामना गरी ने.सं.५९७ मा सत्तलसहित कीर्ति+लक्ष्मीसहितको वामन केशवको मूर्ति स्थापना गरिएको कुरा यस अभिलेखबाट ज्ञात हुन्छ । यस अभिलेखमा आएको वामन केशव र तदनुसारको मूर्तिले गहितिटोल ‘वामनतीर्थ’ को रूपमा रहिआएको दृष्टिगोचर हुन्छ । वामन केशवका शक्ति कीर्ति र लक्ष्मी हुन् जुन भावअर्थका दृष्टिले यक्षमल्लकी रानी कीर्तिलक्ष्मीको पनि स्मरण हुन्छ । तर अभिलेखमा परेको विवरण अनुसार दिवंगत प्रधान यक्षराज र उनका साथमा सती गएका उनका दुई पत्नीहरू रहेछन् भन्ने  बुझिन्छ । यक्षराजसित यक्षमल्लको नाता के थियो, सती गएका उनका दुई पत्नीहरू को थिए, तिनका नाम के थिए भन्ने कुरा अभिलेखमा खुलाइएको छैन । यक्षराजको अघिल्तिर लागेको ‘प्रधान’ पदवीले उनी तत्समयका राजदरबारको कुनै खास प्रशासनिक पद धारण गरेका वा भनौँ यक्षमल्लको मन्त्रीपरिषद्का एक विश्वासपात्र खास मन्त्री थिए कि भन्ने आभास हुन्छ ।

हितिमंग: गहितिको को अवशेष (चित्र संख्या ३,४)
चित्र संख्या ३:गहितिको अवशेष हितिमंगः (ल्वंहहिति/ढुङ्गेधाराको मकराकृति टुटो) ९३ह२०ह१५ ह २२ से.मि. । ईस्वी पन्ध्रौ शताब्दी । 
चित्र संख्या ४: ऐजनको समीप चित्र । 
गहिरो स्थानमा रहेको ल्वंहहिति÷ढुङ्गेधारालाई नेपालभाषामा ‘गहिति’ भनिने कुरा जानिन्छ । यसो हुँदा सोही ल्वंहहिति भएको टोलबस्ती ‘गहिति’ नामले लोकजीवनमा प्रचलित रहिआएको कुरा ज्ञात हुन्छ । तर आज हामी गहितिटोलमा ‘गहिति’ देख्दैनौं । समयको प्रवाहमा, नियतिको मारमा सो गहिति लोप भइसकेको प्रतीत हुन्छ । कुराले कुरा आउँछ । यस बारेमा सोधखोजकै शिलशिलामा तमखूज्यूलगायत स्थानीय बासिन्दाहरूसित जिज्ञासा राख्दा उहाँहरूले गहितिचोकको दक्षिणमा रहेको ढुङ्गाको थुप्रोतिर देखाउँदै भन्नुभयो ‘ त्यही थुप्रोमा गहितिको अवशेष हितिमंग दबिएर रहेको हुनुपर्छ । अनि उत्निखेरै हामी सबै मिलेर ढुङ्गाको रासबाट हितिमङ्ग पत्ता लगाएरै छाड्यौँ । कैयन कालदेखि यसमा जमेर लागेको हिलोमाटो पखालेपछि हाम्रो सामु साह्रै सुन्दर, कलात्मक हितिमंग देखापर्न आयो । मैले यसको पनि नापो लिएँ । गहितिको अवशेष पत्ता लागेकोमा हामी सबै खुसीले दङ्ग भयौँ । निःसन्देह यो पनि अन्वेषणको एक उल्लेख्य आकस्मिक खोज वा उपलब्धि थियो । स्थानीय बासिन्दाहरूका अनुसार सो हितिमंगको अर्को अवशिष्ट भाग  सङ्गैको लक्ष्मीनरसिंहमन्दिरको पश्चिमपट्टि पहिलो तहको पेटी बनाउने क्रममा छापिनपुगको छ ।

जर्हुँ/जलद्रोणी  
चित्र संख्या ५:ज¥हुँु÷जलद्रोणी । इस्वी पन्ध्रौँ शताब्दी । १८०ह३४ह२९ से.मि. । 

ल्वंहहितिपरिसरमा ज¥हुँ पनि बनाएर जलसम्पदालाई अझ बढी सम्पन्न, सुन्दर र शोभायुक्त तुल्याइराख्ने नेवार वास्तुकलाको एक सुन्दर नमूना यो ज¥हुँ पनि हो । गहितिपरिसर ल्वंहहिति, तुंथि÷इनार लगायत ज¥हुँले पनि सम्पन्न रहिआएको आभास यस ज¥हुँले गराएको छ ।

रतासनका मूर्ति 
चित्र संख्या ६:सम्पदा संरक्षण:ज¥हुँ, रतासनका मूर्ति कुँदिएको प्रस्तरखण्ड, गहितिको अवशिष्टभाग हितिमंग । 

चित्र संख्या ७:रतासनका मूर्ति कुँदिएको प्रस्तरखण्ड, एक दुर्लभ नमूना । ईस्वी पन्ध्रौँ शताब्दी । 

भोलिपल्ट, ३२ असार, बुधवार, २०८२ । तःमाह्रिटोल र गहितिटोलमा बिहान र साँझ सँधै तरकारीबजार लाग्छ । तरकारी किन्न म प्रायः यहीँ आउने गर्छु । एक पन्थ दो काज भनेझै यस दिन, बिहान तरकारी किनेर फर्कने क्रममा गहितिचोकमा पनि यसो घुम्न थाले । यहाँ नारायणमूर्ति र अन्य सम्पदा पुनस्र्थापनाको काम तीव्रगतिमा भएको देखेँ । खुसी लाग्यो । सोही क्रममा, त्यहाँ मलाई देखेपछि स्थानीय श्री बलराम सिबंजार (४७) ले हिजो पत्ता लागेका ज¥हुँसङ्गै हितिमंग र अर्को एक रतासनका मूर्ति कुँदिएको प्रस्तरखण्ड पनि त्यसैसित जोडेर पुनस्र्थापन गरेको कुरा ती सम्पदा देखाउनुहुँदै बताउनुभयो । बलराम सिंबजार लगायत गहितिचोकमा काम गर्ने कामदारहरूले रतासनका मूर्ति कुँदिएको सो प्रस्तरखण्डलाई हितिमंगकै एक भाग होला भनेर त्यसैसित जोडेर राखिदिएका रहेछन् । सिबंजारज्यूका अनुसार यसै गहितिपरिसरमाअलपत्र अवस्थामा रहेको सो प्रस्तरखण्डलाई वि.सं. २०६४ सालमा वडा कार्यालयमा लगी राखिएको र अहिले गहितिचोकमा ढुङ्गा छाप्ने क्रममा यहाँ त्यसरी राख्न ल्याइएको हो । खण्डित अवस्थाको सो प्रस्तरखण्डमा दुईजोडी भिन्न भिन्न मुद्रामा रतासनमा लीन छन् । रतासनका मूर्ति कुँदिएको यो प्रस्तरखण्ड विशेष महत्वको छ । यस्तो दुर्लभ सम्पदा देखाइदिनुभएकोमा बलराम सिंबजारज्यूलाई धन्यवाद छ । मलाई लाग्छ, यो कुनै शिखरशैलीको ढुङ्गेमन्दिरको अवशिष्ट भाग हुनुपर्छ । खण्डित अवस्थाकै सही, यसमा कुँदिएका रतासनका मूर्ति र सुन्दर कलात्मक बूट्टाका अंशले खजुराहोमन्दिरका रतासनका मूर्तिहरू (ईस्वी दसौं शताब्दी)लाई संझाएको छ । नेपालमा, अझ विशेषगरी नेपालमण्डल (काठमाडौं उपत्यका) मा मन्दिरका टुँडाल, सत्तलपाटी आदि र चित्रकलामा यस प्रकारका रतासनका आकृतिहरू देख्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा काठ, कपडा, कागज आदिमा यस प्रकारका आकृति चित्रहरू लेखेको कुँदिएको भेटिन्छ । तर ढुङ्गामा कुँदिएको रतासनको मूर्ति यसअघि देखिएको वा प्राप्त भएको जानकारी छैन ।

यताबाट नेपालमा आजसम्म प्राप्त रतासन÷कामकलाका मूर्ति÷आकृतिहरूमध्ये प्रस्तरमा कुँदिएको यो नै यस विषयको पहिलो हो भनी मान्न सकिन्छ । यो पनि आकस्मिक खोजको अर्को एक उल्लेख्य उपलब्धि हो ।

गहितिटोल अनेक कालखण्डका सम्पदाले समृद्ध रहेको देखिनआएको छ । यति सानो ठाउँ वा चोकपरिसरबाट अनेक नूतन सम्पदा फेला पर्नआएका छन् । भक्तपुरको गर्भमा पुराताŒिवक महत्वका, अनेक कालखण्डका अनुपम सम्पदा गर्भस्थ रहेछन् भन्ने कुराको एक झलक यस चोकपरिसरमा पत्ता लागेका सम्पदाबाट पनि आङ्कलन गर्न सकिन्छ । यसले भक्तपुर खुला आकासमुनिको खुला संग्रहालय मात्र नभएर, पातालमुनि गर्भस्थ रहेको रहस्यमय, बन्द रूपको संग्रहालय पनि रहेछ भनी मान्न कर लाग्छ जहाँ जतातिर खोतल्दा पनि पाइला पाइलामा अतुल्य सम्पदा पत्ता लाग्छन् ।