Skip to main content

अक्षरमार्ग

सुनौलो बिहानी आउने छ

Surya Prasad Lakoju
सूर्यप्रसाद लाकोजू

परिवारको न्यानो मायालाई
चिसो हिउँ जस्तै जमाएर
पसिनासँग खुशी
साट्न आएको म
मसँग अहिले
आफ्नो पैताला मुनिको
जमिन छैन
परदेशको माटोमा
दशनङ्ग्रा खियाएर
स्देशकै स्मृतिमा
लुट्पुटिँदै रमाएर बाँचेको म ।

मसँग घरदेशको आकास छुने
अनगिन्ती याद छन्
यसको अलावा
आमाको फाटेको चोली
तिम्रो प्वाल परेको साडी
अनि
छोराको फाटेको कमिज
यी सबै स्मृतिहरू कुहिरो बनेर
मनभरि फैलिएका छन् ।

म सम्झन्छु
गरिबीको शिखर चढेर
म टुहुरोलाई हुर्काएको
आमाको सङ्घर्षको कथा
डरलाग्दो अभावको आँधिवेरीबाट
बजाएको दीयो म
थोरै भए पनि
आमाको मुहारमा
छर्नु छ खशी ।

भर्खर कोपिलाएको
भोलिको मेरो सूर्य
त्यसको पनि ओंठमा
मुस्कान पोत्नु छ मलाई ।

स्मृति ताजै छ
हिजो जस्तै लाग्छ
फुल्नै नपाई कोपिलामै तिमी
आमा बुबाको माया भुलेर
मेरो दैलो टेकेकी
मसम्म आइपुग्ने अनेकौं
दुखका हावाहुण्डरीलाई
तिमी आफैले छेकेकी
तिम्रो अनुहारभरि
घर, खेत र परिवारको
चिन्ताका बक्र रेखाहरू
निरन्तर दौडिरहेको सम्झन्छु म ।

मलाई पूर्ण बनाउन आएकी तिमी
फुल्नै नपाई ओइलाउलाकी भन्ने
सन्त्रासको रूख
झाङ्गिएको छ मनमा
अब
त्यो अभावको कालो बादल च्याट्नु छ
अनि मनको सूर्य ओछ्याउनु छ
तिमी हिंड्ने बाटोभरि ।

हो अवश्य आउने छ
खुशीको लालीमा छर्दै
सुनौलो बिहानी हाम्रैलागि
अनि हट्ने छ
अभावको बाक्लो तुवाँलो
अन्त्य हुनेछ
घरदेश र परदेशको
कहाली लाग्दो कथाको ।