अक्षरमार्ग

मुक्तक

Surya Prasad Lakoju
सूर्यप्रसाद लाकोजू

सबै अट्ने एउटै छाना छाउन पाए हुन्थ्यो
सबैसँग चोखो प्रीति लाउन पाए हुन्थ्यो
हिमाल, पहाड र तराईको शब्द जोडेर
सधैभरि देशको गीत गाउन पाए हुन्थ्यो ।

कामभन्दा पनि कुरा मात्र माथि
सित्तैमा पाए भात खान्छ पाथी
सप्ठयारोमा त ताली नै ताली थ्यो
अप्ठयारो पर्दा काम लागेनौ साथी !

फूल झर्दा पनि सुवास छरेर झर्छन
सत्पुरुषले सदै भलाइको काम गर्छन
कुपात्र छन जो मनभरि विष जमाएर
जलेरै बस्छन अनि कुरा काट्दै मर्छन ।

मनमा लागेको मुखले खोल्नुपर्छ
भित्रभित्रै गुम्साएर हुन्न बोल्नुपर्छ
दुईदिने जिन्दगी खुशीसाथ बाँच्न
मनको द्वेषलाई आगोमा पोल्नुपर्छ ।

देखे पनि नदेखेझैं गर्छौ किन ?
छिनछिनमै डेरा सर्छौ किन ?
आफ्नो स्वार्थ पूरा गर्नलाई
मान्छेको नजरबाट झर्छौ किन ?