पढ्ने भए जीवन पढौं
रिसाउने भए रिससँग रिसाऊँ
गाली गर्ने भए गालीलाई गरौँ
चाेर्ने भए अँध्यारोलाई चाेरौं
ठग्ने भए ठगलाई ठगौं
हर्ने भए भाेकलाई हरौं
जित्ने भए राेगलाई जितौं
पिट्ने भए भ्रष्टाचारीलाई पिटौं
उठाउने भए सुतेकालाई उठाऊँ
सजाउने भए देशलाई सजाऊँ
गर्ने भए सिर्जना गरौँ
नगर्ने भए अल्छी नगरौं
नदिने भए घुस नदिऊँ
फाल्ने भए मनकाे मैलाे फालौं
मास्ने भए शत्रु मासौँ
छाड्ने भए कुलत छाडौं
सम्मान गर्ने भए कामलाई गरौँ
हात दिने भए बालकलाई दिऊँ
साथ दिने भए वृद्धलाई दिऊँ
राेक्ने भए भ्रष्टाचार राेकौं
बिउँझने भए युवाहरू बिउँझौं
नहार्ने भए हिम्मत नहारौं
खुसी रहने भए दाेष नदेखौं
सुखी रहने भए स्नेह बाँडौं
राेप्ने भए बिरुवा राेपौँ
दिने भए न्याय दिऊँ
बाल्ने भए बत्ती बालौं
मान्छे भए कसैलाई नहेपौं
रमाउने भए सबै सँगै रमाऊँ ।
– डा. छायादत्त न्यौपाने