Skip to main content

अक्षरमार्ग

बिर्के टोपी

रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे
– भोर्लेटार, लमजुङ

खोतलेर पिँधमा हेरेँ डालाको
हेर्दाखेरि देखियो नौलो खालको

यसो हेर्दा झुलुक्क आरी जस्तो छ
टोपी हो कि बिर्को हो कस्तो-कस्तो छ
बिर्को माथि डल्लो थ्यो टुप्पी टालाको
नयाँ कुरा देखियो नौलो खालको

दाइलाई सोध्दा यसको नाम थाहा छैन रे
हजुर बाको हो अरे बाको हैन रे
कैले होला बनेको कति सालको ?
टोपीजस्तो देखियो नौलो खालको

बाले भनेपछि पो बिर्के टोपी यो
थाहा पाइयो, लाइयो, आँखै छोपियो
भानुभक्त बाजेले लाउने पालाको
आज टोपी देखियो नौलो खालको ।