अक्षरमार्ग

जन्मदिनको उपहार

तारा के.सी.
तारा के.सी.

मैचाको एक भाइ छोरा र दुई बहिनी छोरीहरू थिए । दुई छोरीहरू गाँउमा सरकारी स्कुलमा पढ्थे । मैचा भने छोरा लिएर सहरमा बस्थिन् । उनको भाइको फर्निचर कारखाना थियो सहरमा । भाइकै आडभरोसामा उनी पनि सहरमा बसेकी थिईन् । कारखानाभित्र एउटा सानो कोठा खान बस्नको लागि भाइले मिलाई दिएको थियो । मैचा दिनभरि ऊन कारखानामा काम गर्थिन् । हप्ता हप्ता दिनमा अरुको घर घरमा लुगा धुने काम पनि भ्याउथिन् । यसरी जेनतेन गुजराको मेलोमेसो जुटाउथिन् उनी ।

छोराछोरीको पढाई खर्च लोग्नेको औषधी खाईरहनु पर्ने खर्च समेत उनले नै जुटाउनु थियो । उनको लोग्ने जिर्ण रोगी थिए । छोरालाई भने पढाई खर्च उनको भाइले नै ब्यवस्था मिलाई दिएका थिए । उनको छोरा अजय कक्षा पाँचमा पढ्थ्यो । पढाईमा ठिकै थियो ऊ । एकदिन कक्षामा अक्षर फोहोर लेखेको भन्दै सरको गाली खानु पर्यो अजयले । ऊ ज्यादै दुःखी भयो किनभने उसको कलम राम्रोसँग लेख्दैनथ्यो । मसी चुहिएर कापी फोहोर हुन्थ्यो । साथीहरूको राम्रो कलम छ र त राम्रो लेख्छन् । मेरो कलम राम्रो छै्रन , त्यसैले म राम्रो लेख्न सग्दिन् । यही कुराले उसको मन भारी हुन्थ्यो । यो कुरा आमासँग नभनेको पनि होइन । आमासँग त्यति वेला नयाँ कलम किनिदिने पैसा थिएन । त्यसैले अजयको कुरामा मैचाको ध्यान गएन। उनले चुपचाप सुनि मात्र रहिन् ।

भोलिपल्ट माईजूले दराजमा पैसा राखेको अजयले देखेको थियो । माईजू नभएको मौका छोपी अजयले दराजबाट पैसा निकाल्यो । त्यो पैसाले राम्रो कलम किन्ने बिचार गरेर ऊ स्कुल गयो । पसलमा राम्रो कलम किन्यो र सवै साथीहरूलाई देखायो । अब म पनि राम्रो लेख्छु र सरको पिटाई खान्न। साथीहरूले पनि उसको कलमको खुबै प्रशंसा गरे । ऊ आज ज्यादै खुशी भयो । राम्रो अक्षर लेख्ने कल्पना गर्दै ऊ घर गयो । घरमा अजयले पैसा चोरेको बिषयमा झगडा भैईरहेको थियो । माईजू आवेशमा आएर भन्दै थिईन्ः–‘मैले त पहिला नेै भनेको हुँ , अजय खराब छ । आफनो छोरा सरह एउटै स्कुलमा पढायौ । साहारा र बास दियौ । आज हाम्रो पैसा चोरी गर्ने भयो अजय ।’ आफूले गलत काम गरेको अजयलाई थाहा भयो । ऊ सरासर पसलमा गयो र आफूले अघि किनेको कलम फिर्ता दियो । त्यसबापत पसलेले अजयको पैसा फिर्ता दिए । त्यो पैसा फिर्ता दिदै अजयले भन्योः–‘माईजू पैसा लिनुस् । म अब चोरी गर्दिन् ।’ आफनो छोराले पैसा चोरेको थाहाँ पाएर मेैचालाई खपिनसक्नु रिस उठ्यो । रिसको आबेसमा छोरालाई पिट्न थालिन् । अजय धेरै वेरसम्म रोईरह्यो । छोराको चित्त दुखाएकोले मैचाको पनि मन भारी भएको थियो । अजय रातभरि निदाउन सकेन । अजयको त्यो हालत देखेर मैचाले सोधिन्ः–‘अजय किन तैले माईजुको पैसा चोरेको ? चोरी गर्नु राम्रो होईन । किन त्यसो गरिस् बाबु ?’ प्रति उत्तरमा अजयले भन्योः–‘आमा मैले जहिले पनि पिटाई खानु पर्छ स्कुलमा सरको ।’ ‘किन’ मैचाले सोधिन् । ‘मसँग राम्रो कलम छैन । मेरो अक्षर फोहोर भयो भनेर मलाई सरले पिट्नुहुन्छ । अनि त्यसैले राम्रो कलम किन्न माइजूको पैसा झिकेको हुँ । त्यहि पैसाले कलम पनि किने । राम्रो अक्षर लेख्छु भन्दै दङ्ग पर्देै आउदै थिएँ । माइजूले मैले चोरी गरेको थाहा पाएर गाली गरिरहनु भएको थियो । त्यसपछि कलम फिर्ता गरेर पैसा माइजूको फर्काइदिएँ ।

तर भोलि मैले स्कूलमा सर र साथीहरूलाई के भनेर ढाँट्नु ? मसँग कलम छैन । मेरो अक्षर राम्रो हुदैन ।’ उनले जवाफ दियो । ‘आज सुत् बाबु । भोलि केही सोचौँला ।’ मैचाले छोरालाई आश्वस्त पारिन् । त्यो रात आमा छोराले निदाँउने प्रयास गरिरहे । भोलिपल्ट बेलुका मैचा कामबाट आउँदा अजय बाटोमा साथीहरmसँग खेलिरहेको थियो । आमा आएको देखेर पनि नदेखे झै गरिरह्यो । मैचाले छोरो रिसाउनुको कारण थाहा पाई हालिन् । आमाले भनिन्ः ‘अजय तँ मसँग घरमा हिँड् । मैले तेरो लागि के के ल्याएको छू ।’ अजयको अनुहार खुसीले चम्कियो । ऊ तुरून्त आमाको साथ घरमा गयो । मैचाले झोलाबाट एउटा डब्बा झिकेर अजयको हातमा राखिदिइन् । अजयले, डब्बा खोल्यो । त्यहाँ मिठाई र राम्रो कलम थियो । ऊ खुसी हुदै आमासँग सोध्योः‘यो मिठाई चाँहि के को उपलक्षमा नि आमा ?’ मैचाले भनिन्ः–‘आज तेरो जन्मदिन हो । यो कलम तेरोलागि मेरो तर्फबाट उपहार । साथीहरmको अगाडी अब तैले सजाए खानु पर्दैन मन खोलेर राम्रोसँग पढ्नु लेख्नु । सरको स्यावासी थाप्नु । राम्रो असल मान्छे बन्नु है बाबु । सघैभरि तेरो जन्मदिनमा मेरो यहि आशिष बचन हुनेछ । तेरो लागि उपहार र शुभकामना ।’ अजय मख्ख पर्यो र आफनो झोला भिकेर खाटमा लेख्न बस्यो । मैचा भात भान्साको तयारीमा लागिन् । बेलाबेलामा अक्षर देखाउन अजय आमा सामु आउँथ्यो । उसको त्यो जोश र जाँगर देखेर मैचा पनि खुशी भईन् ।