
पनौती, काभ्रे
खेलकूदमा रुची राख्ने रमन शनिवारको छुट्टीको बेलामा पनि चोक (बहालमा) खेल्न नआएकाले उसका साथीहरू उसलाई बोलाउन गए । रमन त निधार देखि नाकको डाँडी सम्मै कालो धर्सो (गोल अर्थात् कोइला घोटेर बनाइएको) लगाएर मेचमा टुक्रुक्क बसिरहेको रहेछ । त्यो देखेर सबै साथीहरू हाँसे र जिस्क्याए पनि ।
त्यसमध्ये राधेलाई खुल्दुली लागेर रमनको मम्मीलाई सोधे –‘आन्टी, रमनलाई किन कालो धर्सो लगाइ दिनुभएको ?’ आन्टीले जवाफ फर्काइन् –‘रमनको नाकबाट रगत आयो, त्यसलाई रोक्नको लागि त्यसो गरेको क्या ?’
राधेलाई राम्रो सँग थाहा थियो रमनको नाक कोट्याउने नराम्रो बानी छ भनेर । स्कुलमा पनि नाक कोट्याइरहन्छ । कति पटक त मिसले गाली पनि गरिसक्या छ ।
चिसो मौसममा त्यसै त नाक सुख्खा भैरहेको हुन्छ । त्यसमाथि नाक कोट्याउने बानीले (सास फेर्ने क्रममा नाकबाट लिने हावा फोक्सोमा उचित तापक्रममा पठाउन छरिएर रहेको स साना रक्तकेशिकाहरू) सजिलै फुट्छन् । र नाथ्री फुट्छ अर्थात् रगत बग्छ ।
यसरी नाकबाट रगत बग्ला आकाशतिर फर्की नाक थुन्ने चलन छ । तर नाक कान घाँटी सम्बन्धी विज्ञ डाक्टरहरूको अनुसार यसो गर्दा घाँटीतिर रगत जान सक्ने हुनाले बरु निहुरिएर नै बस्ने तर बूढी औंला र सँगैको चोर औंलाले नाकको पोरा च्याप्प समाई करीब पाँच मिनेट समाउनु पर्दछ ।
यस्तो बेलामा आराम गर्नुपर्ने पनि हुन्छ । बच्चाहरू स्वभावैले चकचक गरिरहनु पर्ने भएकोले नाकको डाँडीमा गोल घोटेर लगाइ दियो भने अरुले जिस्क्याउँछन् कि भनेर हलचल नगरी बस्दछन् । जसले गर्दा रगत बग्ने समस्या हुँदा आरामै दिन्छ । रमनले अबदेखि नाक कोट्याउने बानी छोड्ने कुरा बतायो र राधेलाई पनि रमनलाई यताउती हलचल गर्न नदिन गोल घोटेर लगाइदिने आइडिया मन पर्यो ।