– प्रेम राई परीक्षित
गोधुलिबाट
छिरबिरे बादलहरू
निस्कियो
र एकछिन हस्तिनापुर माथिको
घाम छोपिदियो
त्यसपछि
अर्जुनको अग्नि समाधिको
आशामा एकछिन
जयद्रतहरू खुसीले उफ्रिए
गान्धारबाट बैशाखी टेकेर
हस्तिनापुर छिरेका
शकुनिहरूले उत्सव मनाए
द्रौपदीको चीर हरण गर्ने
दुशाषणहरूको अट्टहासले
कुरुप बन्यो फेरि एकपटक
हस्तिनापुर
धृतराष्ट्रहरू
कमा र फुलिष्टप नहटाउने भन्दै
पाण्डवहरूलाई
पाँच गाउँ पनि नदिने
सङ्कल्प लिएर फर्किए हस्तिनापुर
आफ्नै प्रतिज्ञाले थलिएका
निष्प्राण गङ्गापुत्र भीष्म
बाणहरूको शैयाबाट
हेरिरहेका थिए ताण्डव नृत्य
कृपाचार्य, द्रोणाचार्य
दुर्योधन, शकुनि
अश्वस्थामा
अनि कर्णहरू चक्रव्युहभित्र
घोचिरहेका थिए
एक्लो अभिमन्यूलाई
बाणका निर्दयी सुईराहरूले
नूनको भारिमा पुरिएका
द्रोणाचार्य अनि कृपाचार्य
रेट्दै थिए सत्यको घाँटी
दुर्योधनले अङ्गदका राजा
बनाएपछि
आफ्नै भाइहरूमाथि कर्ण
प्रहार गरिरहेका थिए ब्रह्मास्त्र
दुर्योधनको ढिपिले
चर्कियो युद्ध
शान्तिदूत कृष्णहरू
बनाइए हाँसोका पात्र
जित कसैको भएन
दुर्योधनको जिद्धिले
भएको कुरूक्षेत्र
समग्रमा रुपान्तरित भयो
हस्तिनापुर
लाशहरूको बगँचामा ….!