– भीमप्रसाद काफ्ले
जसको मनमा हरि छैन, हरिका भक्त तिनै
दन्त्यकथाका ईश्वर पुज्दै,अर्ती दिने तिनै
खेतीपाती राम्रो तिनको, नित्य पूजाआजा
पितृहरुको भरिया बन्दै, बोक्छन् झोली तिनै ।
भगवान् जस्तो अनुहारको मित्र, पनि दानव हुनसक्छ
दानव देखिने पनि भित्र, नचिनेको भगवान् हुनसक्छ
भित्र बाहिर एउटै हुने, दिव्य स्वरूप यहाँ को नै छ र?
रगतमासु लुछिखाने हिँस्रक यहाँ, महामानव हुनसक्छ ।
बिर्सिदेऊ प्रेमकथा, च्यातिदेऊ सबै पानाहरु
नपाल मनमा केही, तिम्रो याद आउँने व्यथाहरु
सपनाका पर्दा च्याति, चियाउँदै नहेर तिमी
बालकदेखि जवानीका मिठा, बिर्स सबै कथाहरु ।
धर्मछाडा, मर्मछाडा, कर्मछाडा साँढा
तिनकै वंश फैलेका छन्, आज डाँडाकाँडा
लाज सरम छाडी जति, माथि उठ्छन् अनि
घाँटीसम्म खान्छन् तिनै, लुटी लाटागाँडा ।
घर बनाउँने कला छैन, स्वर्ग रच्न खोज्छन्
डेढ अक्कली गफ चुट्दै, कुतर्कले घोच्छन्
टपर्टुइयाँ भ्यागुतो, जति उफ्रोस् कुवामै खस्छ
गफमा विद्यावारिधि गफैले, मख्ख पार्न खोज्छन् ।