अक्षरमार्ग

पाप र धर्मका कुरा

टुँडालकलामा देखिने मल्लकालीन दण्डव्यवस्था

Purushottam Lochan Shrestha
 प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ

अन्याय : पाप, न्याय : धर्म । अपराधले पाप हुन्छ । लोकहीतले धर्म हुन्छ, पुण्य मिल्छ । धर्मले सुखशान्ति मिल्छ, समाज सुव्यवस्थित हुन्छ । पापले अशान्ति, अत्याचार, अराजकता र अव्यवस्था ल्याएर सिध्याउँछ मात्रै, पोल्छ मात्रै । जस्तो अपराधकर्म, उस्तै दण्डसजाय । के बौद्ध के शैव/हिन्दू, मल्लकालमा यस्तै कुराको बोध गराउने हेतु समाजमा सुखशान्ति सुव्यवस्था कायम गरी राख्न सार्वजनिक, धार्मिक महत्त्वका मन्दिर, विहारका टुँडालहरूमा सबैले देख्ने गरी यस्तै पापकर्म र दण्डसजायका दृश्य–आकृति उत्कीर्ण गराई धार्मिक सचेतना जागृत गराइराख्ने अभिप्रायले, धर्मकै सहाराले समाजमा अमनचैन, सुखशान्ति र सुव्यवस्था सदाकाल कायम गरी राख्ने एक प्रकारको उल्लेख्य प्रभावकारी प्रयोग प्रवाह पनि चलेको थियो । उदाहरणका लागि भक्तपुर राजदरबारक्षेत्रको पूर्वमा रहेको चतुवर्ण महाविहार/तधिछेँ बहा: (सोह्रौँ शताब्दी वि.सं.)का टुँडालहरू (ने.सं.७७५/वि.सं.१७१२)) र त्यसैगरी ललितपुर राजदरबारक्षेत्रको हरिशङ्कर मन्दिर (सोह्रौँ शताब्दी वि.सं.)का टुँडालमा उत्कीर्ण सन्देशमूलक आकृतिहरूलाई लिन सकिन्छ ।

मल्लकालीन नेवा: वास्तुकलाको एक अनुपम नमूना टुँडालकला पनि हो । छाना अड्याउनका लागि मात्र नभएर शोभा र सुन्दरताका लागि पनि ती कलात्मक रूपले राखिएका हुन् भन्ने कुरा जानिन्छ । मन्दिर, विहारका छानाहरूमा अड्याइएका टुँडालहरूमा भने सो मन्दिर विहारका मूलदेवताका विभिन्न अवतारहरूलाई समेत दर्शाइएका हुन्छन् । समग्रमा यस्ता टुँडालकलामा तीन खास विशेषता देखा पर्छन् : १.टुँडालको शीर्षमा पुष्पलहरा २. मध्यभागमा देवता र ३. सो मुनि जनावर/पशुपछी/भक्तभक्तिनी/कामकला वा रतासनका आकृति आदि । हाम्रो अभीष्ट रहेका यी टुँडालहरूमा भने पापकर्म अनुसार भोग्नुपर्ने दण्डसजायका आकृति देखाइएका छन् ।

चतुवर्ण महाविहारका टुँडालमा उत्कीर्ण पाप र दण्डसजाय विषयका आकृति 

भक्तपुरका प्रमुख पाँच दिपङ्कर बुद्ध मध्येका एक चतुवर्ण महाविहारका दिपङ्कर बुद्ध हुन् । यस विहारभित्र, विशेषगरी पूर्वपट्टिको लङमा बायाँबाट दायाँ लहरै पापकर्मका कुरा अभिलिखित, पापीहरूलाई दण्डसजाय दिइरहेका ६ वटा आकृतियुक्त टुँडालहरू छन् । अध्ययन सुविधाका लागि यहाँ ती टुँडालहरूलाई तिनका छायाचित्रसहित संख्या १,२,३,४,५,६ शीर्षक दिई वर्णन गरिएको छ :

टुँडाल संख्या १

यस टुँडालको मध्यभागमा एकजना पापी/पापात्मा छ । सो पापी इन्तु न चिन्तु हुने गरी नागपाशले बेह्रिएको छ । पापीको दायाँपट्टि दण्ड उजाएर र बायाँपट्टि खड्ग जस्तो कुनै धारिलो हतियार उजाएर सो पापीलाई प्रहार गर्न लागेका दुईजना दण्डनायक/यमदूत छन् । यस बारको खास कुरा खुलाउन सो मुनि निम्न पाँच पंक्तिको अभिलेख कुँदिएको छ । लिपि : नेपाललिपि, भाषा : नेपालभाषा, संवत् ७७५ ।

१. वहिर वाहारया खुयाव का–

२. याया पापन नागपाशन चेला

३. वज्राचाय्र्य श्रीजयदेव श्री३

४. स्वेष्टदेवता पीतिन विलिन–

५.पति दुुंता ।। सं ७७५ कात्तिक वदि ९

भाषान्तर 

बहा: बहि (विहार,महाविहार) मा चोरी गरेको पापले नागपाशमा बेह्रिएर रहनु पर्‍यो । वज्राचार्य श्री जयदेवले श्री३ स्वेष्टदेवता प्रीति गरी यो विलिनपति (टुँडाल) चढाउनुभयो । ने.सं.७७५ कात्तिक वदि ९ ।

टुँडाल संख्या २ 

यस टुँडालमा पापकर्म भोगिरहेका एकजोडी स्त्री पुरुष घुँडा च्यापी बडो सकसपूर्ण ढङ्गले टुक्रुक्क परी बसेका छन् । त्यसरी बस्नुपर्नाको आशय खुलाई तिनका आकृतिका तल दुई पंक्तिको निम्न अभिलेख कुँदिएको छ । लिपि : नेपाललिपि, भाषा : नेपालभाषा ।

१. वस्तु दसे नयान मयाङा पा–

२. पन पुलृ षकं तला ।।

भाषान्तर 

वस्तु भएर/खाएर पनि खाएको छैन/गरेको छैन भन्ने पापले गर्दा घुँडा च्यापेर/देखाएर बस्नुपर्‍यो ।

टुँडाल संख्या ३

यस टुँडालका पापीले दुबै घुँडा उचाली, त्यसमाथि हात राखी कष्टपूर्वक बसेका छन्् । सो पापीको दायाँ बायाँ एकजोडी भेँडाले फूर्ति र जोशका साथ, जीउ उठाएर, आ–आफ्ना टाउकाले सो पापीमान्छेको टाउको दुबैतिरबाट बेस्सरी ठोकिने गरी हानेका छन् । सो आकृतिमुनि दुई पंक्तिको, नेपाललिपि, नेपालभाषामा उत्कीर्ण निम्न अभिलेख रहेको छ :

१. खं इछो थिछोन छोङाया

२. पापन फैलन चोचकं तला ।।

भाषान्तर 

यताको कुरा उता, उताको कुरा यता गरेको पापले गर्दा भेँडाले टाउकोमा हान्न लगाएर बस्नुपर्‍यो ।

टुँडाल संख्या ४

यस टुँडालको मध्यभागमा डाँठसहितको कमलासनमा उभिएका पद्मपाणि लोकेश्वर छन् । उनको दायाँ बायाँ एकजोडी पापात्मा सूचिमुख प्रेत भई बस्नुपरेका छन् । अगाडि चुच्चो परेर निकै सानो भएको मुख र ठूलो पेट भएका ती प्रेतहरूले अञ्जुली बाँधी, भगवान्तिर हेरेर प्रायश्चित बोध गरिरहेको भावमा देखापर्छन् । ती प्रेतहरूका बारेमा प्रकाश पार्ने तीन पंक्तिको अभिलेख त्यसको तल कुँदिएको छ । लिपि : नेपाललिपि, भाषा : नेपालभाषा ।

१. दान याय याङ तया वस्तु खु–

२. या वन याया पापन सूचिमु–

३. ख प्रेत जुल

भाषान्तर 

दान दिनका लागि राखेको वस्तु चोरी गरेको पापले सूचीमुख प्रेत भए ।

टिप्पणी 

‘सूचीमुख’ ले नरक–विशेषलाई पनि बुझाउँछ । सानो मुख, ठूलो पेट भएका प्रेतको उल्लेख गरुडपुराणमा छ ।

टुँडाल संख्या ५ 

यस टुँडालमा यमदूतले बायाँ हातले पापीको जगल्टो समाई, दायाँ हातले समाएको सुइरो सो पापीको कानको प्वालमा घुसाएर यातना दिइरहेका छन् । त्यसो गर्नु पर्नाको कारण सो आकृतिको मुनि कुँदिएको दुई पंक्तिको अभिलेखमा खुलाइएको छ । लिपि : नेपाललिपि, भाषा नेपालभाषा ।

१. खं ङेन जुया पापन न्हस पोटस कोचन उलावतला ।।

भाषान्तर

कुरा सुनेको पापले कानको प्वाल हाडको सुइरोले घोचेर राखियो ।

टुँडाल संख्या ६ 

यहाँ यमदूतले बायाँ हातले पापीको जगल्टो समाई दायाँ हातले समाएको पिलासले सो पापीको जिभ्रो बेस्सरी च्यापी थुत्न लागेका छन् । त्यसको अभिप्राय तल दुई पंक्तिमा उत्कीर्ण अभिलेखमा दिइएको छ । लिपि : नेपाललिपि, भाषा : नेपालभाषा ।

१. फ मखाङाया पापन

२. मे पिकाया वतंला ।।

भाषान्तर 

देखेर पनि नदेखे जस्तो गरेको पापले जिभ्रो थुतियो ।

हरिशङ्कर मन्दिरको टुँडालमा उत्कीर्ण पाप र दण्डसजायका आकृतिहरू 

ललितपुर राजदरबारक्षेत्रमा रहेको एक प्रसिद्ध मन्दिर हरिशङ्कर मन्दिर हो । तीनतले, छानेशैलीको यस मन्दिरको गर्भस्थानमा दायाँपट्टि आधा शरीर शिव र बायाँपट्टि आधा शरीर विष्णुको मिलेर एकात्मक रूपमा बनेको सुन्दर प्रस्तरमूर्ति रहेको छ । विष्णु र शिवमा भेद छैन, एकै हुन् भनी शैव र वैष्णव जनमा धार्मिक समभाव, समन्वयात्मक सन्देश दिई समाजमा सबै जनलाई एउटै छातामुनि ल्याएर राख्ने यो एक सुन्दर उदाहरण  थियो जसले हामीलाई हजारौँ वर्ष पूर्वदेखि चलिआएको ‘हरिहर’ सम्प्रदायको स्मरण एक साथ गराएको छ । सो मन्दिरको पहिलो तलाका टुँडालहरूमा पनि धार्मिक आस्थाभावले चुर्लुम्म डुबेको तात्कालिक लौकिक जीवनमा धार्मिक डर देखाएर समाजमा नैतिकता, सदाचार, आदर्श, शान्ति सुव्यवस्था कायम गरी राख्न, यस लोकमा गरेको पाप वा कुकर्मले मरेपछि पनि वा परलोकगमन हुँदा समेत छाड्दैन, नरकवास भोग्नुपर्ने, नरकमा अनेक प्रकारका भयानक, पीडादायी यातनाहरू यमदूतहरूले दिनेछन् भन्ने इत्यादि कुरा बोध गराउने हेतु राखिएको विदित हुन्छ । यस प्रकारका टुँडालहरू कुन अभिप्रायले राखिएका होलान् भन्ने बारेमा प्रकाश पार्दै रास जोशी लेख्छन् (ललितपुर राजदरबार, भिन्तुना जोशी, ललितपुर : २०६५, पृष्ठ ६५) :

मध्यकालमा आएर नागरिकहरूबीय बढेको विसंगतिलाई रोक्न र भविष्यमा पनि धर्मविरोधी कामकारवाही नहोस् भन्ने उद्धेश्यले दण्डसम्बन्धी टुँडाल राख्न लगाएको अनुमान गर्न सकिन्छ । मन्दिरमा रहेको अन्य टुँडालहरूमा कुँदिएको काष्ठकलामा ब्राम्हणहत्या गर्नेलाई तातो तेलमा डुबाउँदै यमदूतले कोर्रा लाएको देख्न सकिन्छ । त्यसैगरी अगम्य पाप गर्ने पापीलाई तातो कराईमा डुबाउँदै गरेको, वेश्यालाई कांडाले घोच्दै आगोमा हिंडाइरहेको सजीव काष्ठकलाले भरिएको छ । धर्मको डर देखाएर नागरिक समाज सभ्य बनाउन प्रेरित गर्ने यो मन्दिरको अन्य टुँडालहरूमा ब्राम्हणले नून तेल आदि बेचेको अभियोगमा हतियारले घोच्दै खुट्टा भाँच्दै गरिएको छ । साथै देवताको वस्तु ब्राम्हणले लिएको खण्डमा यमलोकमा पेट चिरेर सजाय दिइन्छ भनी नेपाललिपिमा सचित्र वयान गरिएको छ । ब्राम्हणदेखि शूद्रसम्म र राजादेखि प्रजासम्म गलत काम कारवाही भएको खण्डमा यमलोकमा समेत सुख नपाइने देखाउन निर्मित प्राय: सम्पूर्ण टुँडालहरूमा अष्टमातृकालाई स्थान दिइएको छ …

 हरिशङ्करमन्दिरको एक टुँडालमा पापीहरूलाई उम्लिरहेको कराहीमा भुटिरहेको दृश्य

चित्र साभार : रास जोशी । 

यस टुँडालमा (भावदृष्टिले समेत) बीचमा दनदनी आगो बलिरहको चुल्होमाथि तेल हालेर बसालिएको, तेल भकभक उम्लिरहको ठूलो कराही छ । सो कराहीमा एकजना पापीलाई (कम्मरमुनिको भाग तेलमा) डुबाएर राखिएको छ र बायाँपट्टिका यमदूतले सो पापीलाई एक ठूलो पन्यूँले मासु भुटेजस्तै चलाएर भुट्न लागेका छन् । त्यसैगरी दायाँपट्टि अर्को एक पापीलाई एक यमदूतले आफ्नो काँधसम्म पुर्‍याएर त्यसको खुट्टा र जगल्टो समाएर उचाली, उँधोमुण्टो हुने  गरी सोही कराहीमा खसाल्न लागेका छन् । सोही दृश्यको तल नेपाललिपिमा, नेपालभाषामा माथिको भाव झल्काउने दुई पंक्तिको निम्न अभिलेख कुँदिएको छ :

१. अगम्य पापया कम्मं

२. चेकनस ह्वाङा

भाषान्तर 

भोग गर्न नहुने (नारी) लाई भोग गरेको पापको कर्मका कारण तेलमा चरचराउने गरी भुटियो  ।

हरिशङ्करमन्दिरको एक टुँडालमा प्रजालाई पीडा दिने राजालाई दण्ड दिइरहेको दृश्य 

चित्र साभार : ऐजन । 

यस टुँडालको मध्यभागमा प्रजालाई पीडा दिने पापी राजालाई दुईजना यमदूतहरूले पीडादायी शासना दिइरहेका छन् । पापी राजाले दायाँ घुँडा धसेर, बायाँ घुँडा उचालेका छन् र त्यसमाथि कुइनाले टेकी हात बायाँतर्फ चिउँडोमा राखी प्रायश्चितभावले टोलाइरहेका छन् । उनको बायाँतर्फका यमदूतले उनलाई दण्डा वर्षाउँदै, सुइरोले घोच्दै गर्न लागेका छन् भने बायाँतर्फका यमदूतले उनको दायाँ पाखुरा च्याप्प समाती दाहिने हातमा समाएको सुइरो जस्तो हतियारले उनलाई पिट्न, प्रहार गर्न लागेका छन् । पापी, अत्याचारी राजाले गरेको पापकर्मको फल वा सजायलाई त्यसको मुनि उत्कीर्ण तीन पंक्तिको अभिलेखमा (नेपाललिपि, नेपालभाषा) निम्न प्रकारले उत्कीर्ण गरिएको छ :

१. पजायात पीडा

२. बिवम्हं राजा अ–

३. कुपस तया

भाषान्तर 

प्रजालाई पीडा दिने राजालाई अकुप (सुकेको कुवा/इनार) मा जाक्ने काम भयो ।

त्यसैगरी हरिशङ्करमन्दिरको पहिलो तलाको उक्त लहरका अन्य केही टुँडालहरूमा : गुरुलाई निन्दा गर्ने पापीलाई दुई यमदूतले किला घोच्दै गरेको, अरूको सामान लिएर पनि लिएको छैन भन्ने पापीलाई उसको शरीरको मासु काट्दै गरेको, परस्त्रीगमनमा लाग्ने पापीको नङ्मा किला ठोक्दै गरेको, परस्त्रीसंग लहसिनेको खुट्टा भाँचिरहेको, ब्राह्मणका सामु अभिमान गर्ने पापीको मासु काट्दै गरेको, पापीलाई उचालेर पछार्न लागेको आदि दृष्यहरू देखाइएका छन् (जोशी, २०६५, पृष्ठ ६४।

निष्कर्ष 

कुकर्म पाप हो, अन्याय हो । सुकर्म धर्म हो, न्याय हो जसले पुण्य मिल्छ । पापले अहित हुन्छ । धर्म सत्य हो । सत्यले न्याय हुन्छ, सबैको हीत/कल्याण हुन्छ । सभ्यतासंगै पाप र पापलाई तह लाउन धर्म पनि पछि लागेर आयो । र यसरी सभ्यताको उषाकालदेखि आजसम्म पनि पाप र धर्मबीच अन्त्यहीन द्वन्द्वयुद्ध चलिआएको छ । पापलाई नाश पार्न अनेक प्रकारका विधिविधान, ऐन, नियम लगायतका विधान, उपायहरूको प्रयोग गर्दै धर्मको शासन चलिआएको छ । राज्यव्यवस्था/शुशासन, शान्ति सुव्यवस्था, ऐन कानून, न्याय र दण्डव्यवस्था आदि ‘धर्म’ कै अनेक स्वरूप वा अवतार हुन् । नैतिकता, धार्मिक भाव एवं मानवता कानूनभन्दा उपल्लो तहका कुरा हुन् जसको अद्भुत प्रयोगले, जसप्रतिको अगाढ आस्था र विश्वास एवं मान्यताले पनि पूर्वप्राचीनकालदेखि पापकर्म हतोत्साहित हुँदै आएको विदित हुन्छ । देशमा सदाकाल अमन चैन, शान्ति सुव्यवस्था कायम गरी धर्मको शासन चलाइराख्न इतिहासको कालप्रवाहमा वैदिक, पौराणिक साहित्य, धर्मशास्त्र, प्राचीन बौद्ध साहित्य लगायतका जातक कथा, हितोपदेश र नैतिक साहित्य आदिले ओतप्रोत, अनेक प्रकारका विधान, न्यायव्यवस्था दण्डव्यवस्था आदि लगायत स्वर्ग नरकको अवधारणा, आस्था र विश्वास पूर्वप्राचीनकालदेखि नै व्यवहारमा आइरहेको दृष्टिगोचर हुन्छ । लौकिक जीवनमा वा जीवित छँदा गरेको पापकर्म राज्यले बनाएको कानूनका सामु लुकाउन सकिएला तर सर्वव्यापी, सर्वद्रष्टा दैवीय शासन र कानूनका आँखामा कदापि लुक्न सक्दैन । त्यसोहुँदा मरेपछि स्वर्गवास हैन नरकवास भोग्नुपर्छ भन्ने प्रबल जनविश्वास रहिआएको छ । यी कुरालाई पुष्टि मिल्ने बौद्ध र हिन्दू विषयका दुई अनुपम प्रमाणहरू, चतुवर्ण महाविहार र हरिशङ्करमन्दिरका ती टुँडालहरू हुन् जसमा उत्कीर्ण जीवन्त लाग्ने दण्डसजायका आकृतिहरूले नागरिक समाजमा यमपुरी, नरकवास, र यमदूतहरूद्वारा दिइने अकल्पनीय दण्डसजायलाई दृश्यात्मक रूपमा स्मरण गराई त्यताबाट उत्पन्न हुने धार्मिक–मानसिक भयले अपराधविहीन, पापविहीन आदर्श नागरिक समाज सदाकाल गतिशील भइरहोस् भन्ने सन्देश प्रवाहित गरिरहेको कुरा निश्चितप्राय: प्रतीत हुन्छ ।

वर्तमानमा मात्र नभएर मल्लकालमा पनि देवस्व/देवसम्पत्ति चोरी हुन्थ्यो । वर्तमानमा यस विषयका अपराधहरूमा, ऐन कानून फितलो हुँदा चोरहरूको हौसला बढेको अनुभूत हुन्छ । तर मल्लकालमा देवस्व चोरी ठूलै अपराधमा गनिन्थ्यो । त्यस्ता चोरलाई मृत्युदण्ड दिइन्थ्यो । यो कुरा गोपालराजवंशावली (गो.वं.) का रचयिताको

(जयस्थिति मल्ल (वि.सं.१४११–१४५२) का समकालीन) यस बारेको वर्णनबाट पनि थाहा हुन्छ । वि.सं.१४२७ मा पशुपतिनाथको भण्डारमा चोरी हुँदा चोरी गर्ने सबै ठूलठूला चोरहरूलाई पक्रन लगाई जयस्थिति मल्लले खोलामा काट्न लगाएका थिए । उनी लेख्छन् :

स ४९० वेशाष ……थोलवु ग्वलम्भण्डार खुया श्रीश्रीजयस्थितिराजमल्लदेवसन यंह्रया प्रधान, प्रधान खुं ज्वोजकं हस्यम् वाह्रं पीण्टो खोशीस स्याचकम् भण्डार श्रीपशुपतिस डोहरपाटोम् ।।

(ने.सं.४९०/वि.सं.१४२७ वैशाख ……यसै महीनामा देउपाटनको (पशुपतिनाथको) भण्डारमा चोरी भएको हुँदा श्रीश्रीजयस्थितिराजमल्लदेवले ललितपुरका ठूलठूला चोर पक्रन लगाई बाहंपीण्टो खोलामा काट्न लगाए । भण्डार श्रीपशुपतिनाथलाई चढाइयो । (Dhanavajra Vajracharya, Kamal P. Malla, The Gopalrajvamsavali, Franz Steiner Verlag Wiesbaden GMBH : 1985, Folio 56, pp.112)

जस्तो अपराधको प्रकृति, उस्तै नियम, ऐन कानून र उस्तै दण्डव्यवस्था हुनुपर्छ । यसो भएमा अपराध हुन पाउँदैन वा नगन्य हुन्छ । देवसम्पति चोर्ने चोरलाई मृत्युदण्डको सजाय व्यवहारमा ल्याउँदा जयस्थिति मल्लको शासनकालमा चोरी नै भएन । यो उक्त कुराको पुष्टिका लागि उल्लेख्य उदाहरण हो । यसो हुँदा उनको सो सुकृत्यलाई  सगौरव गोपालराजवंशावलीका रचयिताले ‘श्रीश्रीजयस्थितिराजमल्लदेवको विजयराज्यभरि दिन रात चोरी भन्ने नै भएन’ (गो.वं.५७ पत्र) भनी प्रशंसा गरेका छन् ।

माथिका कुराले यहाँनेर झल्झली न्यायविकासिनीको स्मरण पनि गराएको छ । जयस्थिति मल्लको पालामा, जसरी उनले विगत र वर्तमानको इतिहास जान्न गो.वं. (इतिहास विषयको नेपालको प्रथम प्रामाणिक ग्रन्थ) लेखाउन लगाए, उसैगरी उनले स्मृति ग्रन्थहरूका आधारमा न्याय प्रशासनलाई व्यवस्थित तुल्याई कार्यान्वयन गर्न, अपराधीहरूलाई दण्डसजाय दिन न्यायविकासिनी/मानवन्यायशास्त्र मणिक नामका विद्वान्लाई लेखाउन लगाए । सो ग्रन्थ ने.सं.५०० (वि.संं १४३६) मा मन्त्री जयत वर्माका निमित्त, श्रीकीर्तिपुण्य महाविहारका लुन्तभद्र वज्राचार्यद्वारा सार्ने काम भएको थियो (शान्तहर्ष वज्राचार्य (सं.), न्यायविकासिनी (मानव न्यायशास्त्र), नेपालभाषा परिषद्, न्यत:तुन्छे : ने.सं.११०७, पृष्ठ ११७)। न्यायविकासिनीमा राजकाज, सुक्रीबिक्री, दानदातव्य, मानहानी, चोरी, स्त्रीपुरुष सम्बन्ध लगायत अनेक विषयका १९ दफा (खण्ड विशेष) छन् ।

न्यायविकासिनी नारदस्मृति नामले पनि विख्यात रहिआएको विदित हुन्छ । ‘श्रुति’ ले वेद र ‘स्मृति’ ले धर्मशास्त्र भन्ने बुझिन्छ (हरिराम जोशी, प्रदीप अभिनव संस्कृति विश्वकोष, वर्कर्स पब्लिकेसन्स्, भक्तपुर : २०७०, पृष्ठ ५००) स्मृति/धर्मशास्त्र न्यायसित सम्बद्ध छ । नारदस्मृति मनुस्मृतिमाथि आधारित मानिन्छ (जोशी, उही, पृष्ठ ५०१)।

जयस्थिति मल्ल भक्तपुरबाट शासन गर्दथे । त्यसबखत नेपालको राजधानीनगर भक्तपुर थियो । यसो हुँदा गो.वं. जस्तै न्यायविकासिनी पनि यसका रचयिता मणिकले भक्तपुरमै बसी सम्पादन गरेका थिए भन्ने कुरा ज्ञात हुन्छ । न्यायविकासिनी अनेक दृष्टिले अनुपम छ । नेपालको कानूनी इतिहासका दृष्टिले यो नेपालको पहिलो संहिताबद्ध लिखित कानून हो, पहिलो मुलुकी ऐन हो । विश्व इतिहासका दृष्टिले मेसोपोटामिया सभ्यताकालीन, शिलाफलकमा उत्कीर्ण उर–नम्मू संहिता (ऋयमभ या ग्च(Code of Ur-Nammu, ई.पू.२१००–२०५०) लाई विश्वकै सबभन्दा पुरानो संहिता मानिएको छ (Wikipedia Code of Ur-Nammu)। विचारणीय कुरा के छ भने हाम्रो न्यायविकासिनी ताडपत्रमा लेखिएको, हस्तलिखित ग्रन्थ हो । यस दृष्टिले यसलाई यस विषयको विश्वकै सबभन्दा पुरानो ग्रन्थ हो भनी मान्न सकिन्छ । यस बारेमा बेग्लै अध्ययन हुनु जरुरी छ ।

नेपालको धर्म, संस्कृति र समाजको जगमा बनेको न्यायविकासिनीले मल्लकालीन न्याय प्रशासनलाई मात्र व्यवस्थित तुल्याएन, प्रत्यक्ष, प्रकारान्तरमा आधुनिककालको न्याय प्रशासनलाई समेत प्रभावित पार्दै, नयाँनयाँ  संहिता/ऐन/कानून बनाउन परम्परागत रूपमै पनि प्रेरित गर्दै लगेको थियो भन्ने कुरा दृष्टिगोचर हुन्छ । राष्ट्रिय अभिलेखालयमा संग्रहित नारदधर्मशास्त्र (ने.सं.६७०), मानवधर्मशास्त्र (ने.सं.७२१) लगायत वि.सं. १९१० को मुलुकी ऐन आदि उदाहरणस्वरूप छन् । त्यसैगरी हाम्रो अभीष्ट रहेको, माथि उल्लेखित टुँडालकलामा देखाइएका दण्डसजायका कुरा अभिलिखित पापी/अपराधीहरूलाई दण्डसजाय दिइरहको दृश्य पनि यस कुराको अपवाद होइन ।

देवसम्पत्ति चोरीका कुरा माथिका टुँडालमा पनि वर्णित छ र सोही अनुसारको यातना यमपुरीमा दिइएको वर्णन छ । मल्लकालमा देवस्थान, देवस्व धार्मिक भयका कारण पनि कसरी संरक्षित अवस्थामा रहिआएका थिए भन्ने कुरा ती टुँडालकलामा उत्कीर्ण यमदूतहरूले पापीहरूलाई दण्ड दिइरहेका सन्दर्भमा पनि विदित हुन्छ ।

हरिशङ्करमन्दिरको एक टुँडालमा प्रजालाई पीडा दिने निरंकुश अत्याचारी राजालाई यमदूतहरूले, उस्तै र त्यो भन्दा पनि भयावहपूर्ण यातना दिई सुख्खा इनारमा जाक्दै गरेको प्रसङ्ग पनि विशेष महत्त्वको छ । यसले पनि राजालाई  निरंकुश हुनबाट रोक्दथ्यो भन्ने कुरा थाहा हुन्छ ।

नेपालको राजतन्त्रात्मक इतिहास दुई सहस्राब्दी भन्दा पनि बढ्ता लामो रह्यो । राजा न्याय, कानून, प्रशासन, सेना, परराष्ट्रनीति लगायत राज्यको सबै अङ्गका सर्वेसर्वा  हुँदा हुँदै पनि पहिलेदेखि चलिआएका परम्परा, धर्मशास्त्र, नीति नियम आदिकै आधारमा उनी शासन गर्दथे र उनको मुख्य कामकर्तव्य, सफलता र ख्याति भनेको जनतालाई सुखी तुल्याएर देशमा सुशासन चलाउनु, देशलाई समृद्ध तुल्याउनु थियो । राजाले गल्ति गरेमा, प्रजालाई पीडा दिएमा धर्मराजले राजालाई दण्ड दिन्छ भन्ने कुरामा राजा प्रजा दुबै विश्वास गर्दथे । यसैले एकातिर चाहेर पनि राजा निरंकुश हुन सक्दैनथे भने अर्कोतिर जनताहरू पनि यस बारेमा सचेत थिए । शायद यसैकारण लिच्छविकालमा मात्र नभएर मल्लकालमा पनि राजतन्त्रको विरूद्धमा जनआवाज/विद्रोह भएको उदाहरण प्रमाण भेटिँदैन । अपवादकै रूपमा भन्नुपर्दा कान्तिपुरका राजा सदाशिव मल्लले जनताका छोरीहरूलाई बलात्कार गर्दा, व्यभिचार गर्दा उनलाई जनताहरूले नोल, मुन्दर ढुङ्गाले हान्दै लखेटेर देशनिकाला गरेको इतिहास भने छ । उनै सदाशिव मल्ल भक्तपुर राज्यतिर भागेर आउँदा तत्कालीन भक्तपुरका राजा नरेशमल्लले उनलाई पक्री भक्तपुर राजदरबारको भैरवचोकमा नजरबन्द गरी राखे जहाँ उनको नजरबन्दमै मृत्यु भएको थियो (पुरुषोत्तमलोचन श्रेष्ठ, अन्तरङ्गका तरङ्गहरू, संचित बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर : २०८०, पृष्ठ ८४१) भक्तपुरका राजा रणजित मल्लले ललितपुरमा राज्य गर्दा जनतालाई सर्वोच्च महत्त्व दिई राख्न लगाएको ने.सं.८८२ को शिलालेख प्रमाण र त्यसैगरी जनमतकै आधारमा उनले कान्तिपुर र ललितपुर राज्यका जयप्रकाश मल्ल, तेजनरसिंह मल्लहरूलाई आफ्नो राज्यमा राजनैतिक शरण दिएको इत्यादि प्रसङ्गहरूबाट चियाएर हेर्दा पनि त्यसबखतको मल्लकालीन राज्यव्यवस्था प्रजातान्त्रिक थियो भन्ने कुरा निश्चित रूपले ज्ञात हुन्छ (श्रेष्ठ, उही, पृष्ठ २१४) । तर मल्ल राज्यको पतनपश्चात् जनशक्तिलाई महत्त्व दिने राजाहरू देखा परेनन्, प्रजा/जनतालाई पीडा दिने शाह वंशीय राजाहरू भने आधुनिक कालको नेपालको इतिहासको आरम्भकालदेखि नै एकपछि अर्को गर्दै देखा परे ।

प्रजालाई अति पीडा दिने एक अत्याचारी सन्काहा शाह राजा रणबहादुर शाह (वि.सं.१८३२–१८६३) थिए । पत्नी कान्तवतीको मृत्यु हुँदा कुपित भएका उनले नेपालमण्डलका उच्चतम देवताहरू तोडफोड गर्न लगाए । यसले जनताहरूको मन रुवायो । महामारीबाट आफ्ना सन्तानलाई मात्र बचाउन उनले नेपालमण्डलका भरखरै जन्मेका नवजात शिशुहरूलाई तामाकोशी पारि फाल्न लान उर्दी सुनाए, अर्को शब्दमा भन्नुपर्दा विना कसूर देशनिकाला गरे । विश्वको इतिहासमा कुनै यस्तो उदाहरण भेटिँदैन जहाँ अति क्रुर राजाले पनि आफ्ना प्रजालाई विना अपराध, मानसिक, शारीरिक पीडा दिएर देशनिकाला गरेका होलान् । यस कुराको अपवादको रूपमा रणबहादुर शाह देखिए । बच्चाहरूलाई देशनिकाला गर्नु प्रजाहरूले भोग्नुपरेको पीडाको पराकाष्ठा थियो । रूँदै चिच्याउँदै, सितलामाईको मार्मिक गीत गाउँदै आमाबुबाहरूले आफ्ना कलिला बच्चाहरू बोकेर, थातथलो छाडेर देश बाहिरिनुपरेको थियो । यस प्रकार नेपालको राजतन्त्रात्मक इतिहासमा न लिच्छविकालमा, न त मल्लकालमा राजाले प्रजाहरूलाई पीडा दिएर, प्रजाहरू भक्कानिदै रोएर बाहिरिनु परेको इतिहास छ । प्रथमपल्ट शाहकालमा रणबहादुर शाहले जब प्रजालाई अति पीडा दिए, त्यो पीडा र सुस्केराबाट उठेको जनआवाज, जनविद्रोह सितलामाजुको गीतमा प्रथमपल्ट मार्मिक रूपमा घन्केको छ । सो गीतका उत्तराद्र्ध अंश यस प्रकार छ (श्रेष्ठ, २०८०, ऐजन, पृष्ठ १४८–१५१) :

...सीम्ह मचा उयमदु मचा गाले थुने मदु परजाया गथि हवाल ।। १६ ।। बाम्ह मचा मामं जोँसे बाम्ह मचा बुबांं जोँसे तामाखुसि कुतकाव छोत ।। १७ ।। स्वामि जुजुया धर्म मदया कचिमचा वाके छोत वनेमाल तामाखुसि पारि ।। १८ ।। नेपालया छत्रपति श्री रणबहादुर परजान अति दु:ख सिल ।। १९ ।। मतेमते सितलामाजु सहस्र विनति छिके याहुने लोक उधार ।। २० ।। 

(…मरेको बच्चा जलाउन नपाइने, गाड्न पनि नपाउने, प्रजाको यो कस्तो दुर्दशा † बच्चाको आधा जीउ आमाले समाइन्, आधा जीउ बुबाले समाए, मरेको बच्चालाई तामाकोशीमा खसालिदिए । गोर्खे राजालाई बिन्ती गर्छु, प्रजाको कस्तो दुर्दशा गरायौ । स्वामी राजाको धर्म नहुँदा कलिला बच्चालाई फाल्न पठाइयो, जानुपर्‍यो तामाकोशी पारि । गोरखादेशबाट आएर नेपालदेशका छत्रपति हुनपुगेका श्रीरणबहादुर, प्रजाले अति दु:ख पाए । नाइँ–नाइँ सितलामाई, तपाईलाई सहस्र बिन्ती गर्छु लोकको उद्धार गर ।)

स्मरण रहोस् † त्यसपछिको इतिहास प्रजालाई पीडा दिने निरंकुश शासकहरूको विरूद्ध विकसित हुँदै गएको विद्रोह, आन्दोलन र क्रान्तिको इतिहास थियो । २००७ सालको जनआन्दोलन, २०३६ सालको विद्यार्थी आन्दोलन, २०४६ सालको जनआन्दोलन हुँदै अन्त त: २०६२–०६३ को जनआन्दोलनले प्रजालाई पीडा दिने राजा मात्र नभएर राजतन्त्र नै सदाको लागि फाल्यो । अहिले हाम्रै वा भनौँ जनताहरूको गणतन्त्रात्मक शासन चलेको छ । विभिन्न दलका नेताहरू सरकारमा पुगेर शासन गरिरहेका छन् । तर आज पनि प्रजाको पीडा उस्तै छ । लाग्छ सुशासन त अहिले पनि आएको

छैन । लाग्छ, जनताहरूले हाँस्नै बिर्सेका छन् । मृगतृष्णा जस्तो † अब त हाँसो आउला भन्ने असफल आशामा पीडालाई सहँदै आएका छन् जनताहरू । सुशासन कस्तो हुन्छ ? कस्तो शासनले जनताको पीडा शान्त हुन्छ ? कस्तो शासनले पुण्य मिल्छ ? विगत र वर्तमानका सरकारहरूलाई, सरकार चलाउने शासकहरूलाई गो.वंको ३० पत्रको निम्न अंशबाट दाँजेर हेरौँ न (Vajracharya,. Malla, Kamal P, 1985, Folio30, pp.86):

दुष्टस्य डण्ड स्वजनस्य पूजा: न्यायेन कोषस्य च संप्रवृद्धि: । अपक्षपातोर्थिषु राष्ट्ररक्षा, पञ्चैव यज्ञा कथिता नृपानाम् ।। 

(दुष्टलाई दण्ड गर्नु, स्वजन (आफ्ना मानिस) लाई सम्मान गर्नु, न्यायपूर्वक कोश (सरकारी ढुकुटी) लाई बढाउनु, माग्नेहरूमा पक्षपात नगर्नु, राष्ट्रको रक्षा गर्नु, राजाहरूका लागि यी पाँच कुराहरू नै यज्ञस्वरूप हुन् । )

राजतन्त्र होस् वा गणतन्त्र, शास्त्रीय प्रमाणहरू एवं ऐतिहासिक राजनैतिक प्रमाण उद्धरणहरूतिर विचार गर्दा राजा, राष्ट्रपति, प्रधानमन्त्री लगायतका देश चलाउने शासकहरू ‘राजा’ नै हुन् भनी मान्न सकिन्छ ।  यति कुरालाई मनमष्तिष्कमा राखेर संवेदनशील एवं सबै कालखण्डमा उत्तिकै सान्दर्भिक देखिने माथिका, विगत पाँच कुरातिर तुलनात्मक–विचार गर्दा मलाई भने वर्तमानमा त्यसको ठीक विपरित भइरहेको प्रतीत भएको छ : १. दण्ड पाएका दुष्टले समेत (मान्छे मारेर आजीवन कारावासको सजाय पाएका) राष्ट्रपतिबाट आम माफी पाउँदा जनताहरू पीडाले रोए, आन्दोलित भए । २. देश र जनतालाई माया गर्ने, स्वाभिमानी र देशको नाम संसारभर फैलाएर राष्ट्रलाई योगदान गर्दै आएका योग्य मानिसहरूले आ–आफ्नो सीप र दक्षताले देशको विकास गर्छु भन्दा भन्दै पनि अयोग्य मानिसहरूले ‘सम्मान’ र स्थान पाइररहेका छन् । ३. सरकारी ढुकुटी बढेको भए देश पहिलेको भन्दा पनि आर्थिक समृद्धितिर लम्कने थियो, हाम्रा युवा पुस्तासमेत विदेश पलायन हुने थिएनन्, सबैले रोजगारी पाएर, जनताहरू आत्मनिर्भर हुने थिए । तर लाग्छ, सरकारी ढुकुटी रित्तिरहेको छ । भ्रष्टाचारले पराकाष्ठा नाघेको छ । उहिले जस्तो सरकारी ढुकुटी, राजस्व, देवस्व हिनामिना गर्ने, चोर्नेलाई मृत्युदण्डको व्यवस्था पनि छैन । भ्रष्टाचार, बलात्कार, सरकारी ढुकुटी रित्याउने चोर, बलात्कारीहरूलाई मृत्युदण्ड दिने कानून ल्याउनु पर्छ अनि मात्र देश स्वर्णिम युगतिर लम्कनेछ । ४. पक्षपात भइरहेको पीडाको अनुभूति प्रजाहरूले गरिरहेका छन् । माग्नेहरूमा पक्षपात नगर्नु भन्ने कुरा त परैको हो । माग्नेहरू को हुन् जनता वा शासक ? वा माग्नेलाई दिने शासकहरू नै माग्नेहरू हुन् ? भ्रम उत्पन्न भएको छ । यस कुरालाई सरकारमा बसेका शासकहरूले नखुलाउँदा पनि जनताहरू पीडामा छन् । लाग्छ, कानूनी राज्यमा नैतिकता, मानवता समेत हराएको छ । ५. देशको सीमा अतिक्रमित भइरहेको छ । छिमेकी देशले लिम्पियाधुरा, कालापानी, लिपुलेक खोसेर लिएको छ । सरकार मौन छ, रक्षाव्यवस्था कागजी–बाघ भएको आभास भएको छ । राष्ट्ररक्षा भयो ? जनताहरू अति पीडामा छन् ।

पाठकवृन्द ! पाप र धर्मका कुरा गर्दा, के राजा के प्रजा, मल्लकालीन टुँडालकलामा देखाइएका दण्ड–दृश्यतिर चियाएर हेर्दा मलाई माथिका कुराहरू स्मरण हुन आयो । यस लेखको अन्त्यतिरका पाँच कुराबारेमा मैले मेरो मनका कुरा राखेँ । यस बारेमा तपाईहरूको मनमा कस्तो चलिरहेको छ ? आसा र भरोसा छ, माथिका कुरा मनन गरेपछि तपाईहरूको मनको अदालतले धर्म नछाडिकन, सबैलाई चित्त बुझ्ने सही र निष्पक्ष न्याय दिनेछ ।

(कानून, न्याय, दण्डव्यवस्थामा केन्द्रीत भई लेखेको, यस बारेको यो मेरो पहिलो लेख हो ।  ख्वप कलेज अफ ल का प्राचार्य श्री अनिता जधारीज्यूले सोही विधासित सम्बद्ध लेख लेख्न अनुरोध गर्नुभएको हो । त्यसो नहुँदो हो त यो लेखको सिर्जना हुने पनि थिएन । यसो हुँदा उहाँप्रति आभार प्रकट गर्दै यो लेख उहाँप्रति समर्पित गर्दछु । )