अक्षरमार्ग

परिवर्तन

सूर्यको पारिलो घाम
धर्तीभरि पोखिएको बेला
तिम्रो अनुहारभरि
अँध्यारो पोतिएको थियो
मलाई याद छ
वसन्तको याम थियो त्यो
त्यो बेला वरिपरि
थरीथरीका फूल मुस्कुराइरहेका थिए
तर तिम्रा ओठ
सुकेका गुलाफका पत्र जस्ता थिए
त्यो बेला मैले सोध्न सकिन
किन तिम्रो खुशीको सूर्यमा
ग्रहण लाग्यो?
कसरी सुमधुर धुन निकाल्ने
त्यो बाँसुरी बज्न छोड्यो?
यति धेरै दुख तिम्रो आँखाबाट
किन त्रिशुली बनेर बग्यो?
जहिले पनि मधुर मुस्कानको प्रकाश झुल्कने
तिम्रो उज्यालो मुहारमा
कसरी कालो बादल लाग्यो?
जतिबेला देशमा लालसागरबाट
छाल उठिरहेका थिए
ती छालहरू
जिन्दावाद र मुर्दावादको नारा
बुलन्द बनाइरहेका थिए
तिम्रो खुशी
लालीगुराँस भएर फुलेको थियो
देश विजय उत्सव मनाइरहँदा
देखिएको तिम्रो अनुहारको
त्यो चम्किलो लालिमाभित्र
परिवर्तनका सपनाहरू
स्वतन्त्र आकाशमा कावा खाँदै
विचरण गर्दै थिए
तर आज मखमली ठानेको फूल
कसरी ओइलियो?
मेरो मन मसँग
प्रश्न तेर्स्याएर निहुँ खोज्छ ।

– सूर्यप्रसाद लाकोजू