Skip to main content

अक्षरमार्ग

हारेर पनि जित्नुछ

हारेर पनि जित्नुछ मलाई,
ढलेर पनि फेरि उठ्नुछ मलाई,
आँधीले उडाए पनि
पानीले बगाए पनि
साहसको जरा समाएर उभिनुछ मलाई।

आज
पराजयले टाउको उठाउए पनि
भोलि उज्यालो जय
जयजयकार गर्दै उठने छ
थाहा छ मलाई
अँध्यारोको गर्भबाटै
नयाँ बिहान जन्मिन्छ
त्यही बिहानले
विजयका असङ्ख्य गोरेटो निर्माण गर्नेछ ।

सूर्यको आलोक
बादलको छाति चिरेर
धर्तीलाई स्पर्श गर्न आउँछ
मैले पनि
हारको डरलाई हराउनुछ ।

भएन लोभ सत्ताको कहिल्यै
जनताको आवाज बनेर
लड्ने हो जहिल्यै
न चाहिन्छ सत्ता
न चाहिन्छ शक्ति
जनबोली बन्न
कसले छेक्न सक्छ ?
कसले रोक्न सक्छ ?
सूर्यको तेज ।

हार डर हुॅदै होइन
यो एउटा पाठ हो, जिन्दगीको
म लड्छु आफ्नै डरहरूसँग,
आफ्नै कमजोरीसँग,
साँचो जित त
आफ्नै मन जित्नु हो
जनमन स्पर्श गर्नु हो
त्यसैले
थाकेर पनि हिँड्नुछ मलाई,
हारेर पनि जित्नुछ मलाई ।