Skip to main content

अक्षरमार्ग

सम्बन्धको आयाम

​ताराहरूको मौन केरकारले
जसरी रातको क्यानभास सुन्दर देखिन्छ
अनि जूनले मेटिदिन्छ
औँसीको आदिम संशय

सम्बन्ध– कुनै माइलस्टोन होइन
जसलाई भूगोलको फिताले नापिरहनु परोस्
यहाँ त घामले पनि विशाल हृदयको डोरीमा
मान्छेका चिसो भइसकेका ओसहरू सुकाइदिन्छ

​सम्बन्ध देश होइन
यो त नजरले खिचेको क्षितिजभन्दा पर
मनको अनन्त कसमस हो
जसको गति प्रकाशको फोटोन भन्दा पनि तीव्र हुन्छ
​तथापि सबै पाटाहरू एकनास हुँदैनन्
कोही बन्द कोठाको अँध्यारो कुनामा
तुसारो र तुवाँलोको ओछ्यान लगाएर निदाउँछन्
र, बरफझैँ कठोर भइदिन्छन्
अतिशय उपेक्षाको तापक्रममा
सम्बन्धहरू काँचझैँ चर्किन्छन
र, मौनताको ‘ब्ल्याक होल’ बनेर
भएभरका उज्यालाहरू निल्न थाल्छन्

​आज म नियालिरहेछु–
सम्बन्धको यो आदिम धागो
हाम्रो चेतनाको डीएनएमा
प्रेमको एउटा यस्तो साङ्लो उनिएको छ
कहिले लाग्छ मलाई
यो कसिँदै छ कि फुत्किँदै छ?
प्रश्न तेर्सिन्छ
ब्रह्माण्ड आखिर आफ्नै अक्षमा कुन बलमा अडेको छ?
पक्कै पनि–
गुरुत्वाकर्षणको भरोसामा छ

​सम्बन्धको गर्भमा गहिराइ नहुँदो हो त
सागरहरू केवल रित्ता खाडल हुने थिए
र, यो धर्ती– एउटा निष्प्राण चट्टान हुने थिए
वनस्पतिको सासमा हावाको सुसेली छ
माटोको नसा-नसामा नदीको रगत बगेको छ
र, मान्छेभित्र मान्छे हुनुको उत्सर्ग छ
यदि यो कडी चुँडिने हो भने
के धर्तीले आफ्नो अस्तित्व धान्न सक्ला?

​रूखबाट भुइँमा खसेको
एउटा सुकेको पातले पनि
हुरीसँगै उडेर पनि भुइमै झर्छ
प्रकृतिको यो मौन संवाद नै सम्बन्धको व्याकरण हो

​सम्बन्धको क्षेत्रफल
कुनै गणितीय सूत्र होइन
जहाँ स्वार्थको जोड-घटाउ गर्न सकियोस्
या अहंकारको गुणा-भाग गरेर अंशबण्डा लगाउन सकियोस्
​यो त–
एउटा यस्तो अदृश्य धागो हो
जुन चुँडिँदा ब्रह्माण्ड खस्छ
र, जोडिँदा ढुङ्गामा पनि ईश्वर ब्युँझिन्छ !
​सम्बन्ध त केवल–एक एन्ट्रोपी

मृत्यु जित्न मान्छेले मान्छेलाई सुम्पिएको
एउटा अन्तिम उज्यालो हो।