काठमाडौं । संस्कृति, सम्पदा र पर्यावरणका विषयलाई कवितामार्फत उजागर गर्ने उद्देश्यले राष्ट्रिय संग्रहालय र ‘कविताया लायकू’को संयुक्त आयोजनामा विशेष काव्य गोष्ठी सम्पन्न भएको छ । नेपाल संवत् ११४६ दिल्लागा एकादशीका दिन अर्थात् वि.सं. २०८३ साउन २४ गते आइतबार आयोजना गरिएको सो गोष्ठीमा विभिन्न पुस्ताका कविहरूले कविता वाचन गर्नुका साथै साहित्यकार तथा समीक्षकहरूले कवितामाथि समीक्षा गरेका छन् ।
कवितालाई संस्कृति, सम्पदा र पर्यावरणसँग जोड्दै समकालीन सामाजिक सरोकारका विषयमा विमर्श गर्ने उद्देश्यले आयोजना गरेको सो नेपाल भाषा काव्य गोष्ठीमा सुशील राजोपाध्याय, श्रीराम श्रेष्ठ, बसन्त नकःमी, रामगोपाल आशुतोष, दिव्या बज्राचार्य, मिलन शाक्य, हिसिलिना शाक्य, विनीता बज्राचार्य, रहेना नकर्मी मानन्धर, मन्जु श्रेष्ठ सिंह, विना नेमकूल, कृता बज्राचार्य र मन्दिरा श्रेष्ठले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए ।
वाचन गरिएका कवितामाथि समिक्षकहरु डा. योगेन्द्र प्रधान, भूषण प्रसाद श्रेष्ठ, डा. पुष्पराज राजकर्णिकार, विनिता वज्राचार्य र ध्रुव मधिकर्मीले वाचन गरिएका कविताहरुमाथि चर्चा गरेका थिए ।
कवि हिसिलिना शाक्यको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा कविताया लायकूकी अध्यक्ष हाल पोर्चुगलमा रहँदै आएकी डा. ज्योतिप्रभा तुलाधरले पठाएको सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो । उक्त सन्देश कवि मन्जु श्रेष्ठ सिंहले वाचन गरेकी थिइन । रहेना नकःमिबाट सञ्चालित उक्त कार्यक्रम राष्ट्रिय संग्रहालयकी प्रमुख अरुणा नकःमिको सभापतित्वमा सम्पन्न भएको थियो ।