Skip to main content

अक्षरमार्ग

देहेडूः अलौकिक ऊर्जा लोकार्पित

काठमाडौ/ साहित्यकार तथा साहित्यिक पत्रकार गोपिकृष्ण ढुंगाना र डीबि नेपाली दामुद्वारा लिखित देहेडूः अलौकिक ऊर्जा नामक अनुसन्धानमूलक कृतिको लोकार्पण भएको छ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, डा. गोविन्द टण्डन, प्राडा खगेन्द्रप्रसाद लुइटेल, डा. केशवमान श्रेष्ठ, डा. निर्मल विश्वकर्मा, डा. ज्ञानु अधिकारीले कृतिको सामुहिक रुपमा लोकार्पण गरेका हुन् ।

पुस्तक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि आयोगका अध्यक्ष विश्वकर्माले राज्यसत्ताबाट सीमान्तकृत वर्गले पलपल भोगेको शोषणको चर्चा गर्दै उनले जातीय विभेदको समूल अन्त्य गर्न हामी लाग्नुपर्छ भने । कायृक्रममा नेपाल गुठी संस्थानका अध्यक्ष एवं संस्कृतिविद् डा. गोविन्द टण्डन, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेत, समालोचक डा. ज्ञानु अधिकारी, डा. निर्मल विश्वकर्मा, डा. केशवमान श्रेष्ठ लगायतले सो कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

सुदूर कर्णाली कालीकोटको बाँझकोटमा बर्सेनि देखिने अकल्पनीय दैवीशक्ति र प्रकृतिपूजक सीमान्तकृत समुदायको दबिएको इतिहासको विषयमा पुस्तक लेखिएको छ । कालाशिल्ला मष्ट र देहेडू देवताको महिमा, जसले फलामलाई मैनजस्तै पगाल्ने शक्ति राख्छ, त्यही शक्ति र संस्कृतिको गहिरो अनुसन्धानमा यो पुस्तक आधारित छ ।