म जन्मिँदा
मेरा हरेक मुहानहरू स्वच्छ र पवित्र थिए
गाउँ, छिमेक
हनुमन्ते, मनाेहरा, बागमती, विष्णुमती
ति जलकुण्डहरू-
हेर्दै स्वच्छ , निर्मल
देख्दै प्यास जाग्ने, पिऊँ पिऊँ लाग्ने
कति मनाेरम बसूँ बसूँ लाग्ने ती हरियाली
पुर्खाका पसिनाले सिञ्चित
माटोको सुगन्धले हराभरा धराेहरहरू – चाेक विहार, डबली, पौवापाटी,
अनेकौं मठमन्दिरहरूमा
मौलिक पहिचानका कला -आत्मा बाेलिरहेकाे हुन्थ्याे
हिँड्दा -हिँड्दै
गाउँ टाेलका ढुङ्गामाटो रसाइरहेका हुन्थे
नदी नालाका सुसाइसँगै
बिहानीपख ब्युझिंदा
एक मुठ्ठी सासमा
अनेकन खुशी सल्बलाइरहेकाे पाउँथें
वर- पिपलकाे चौतारीमा
डाँफे झैं डुलूँ कि
गुराँस झैं फुलूँ कि जस्तो गर्व लाग्थ्यो
सत्चरित्र र इमानदारीका पाखापर्वत एक एकगरी निश्चल,निर्मिमेष मै मुस्कुराउँथे
आफ्नै जन्मथलो, आफ्नै कर्मथलाे
चारैतिर शान्तिले बास गरेकाे हुन्थ्यो
स्वाभिमानका बीउहरू यत्रतत्र फैलिरहेकाे देख्थेँ
सुगन्ध फुलिरहेकाे पाउँथेँ लालीगुराँसकाे
मुस्कुराएकाे हुन्थ्यो- सेताम्मे हिमाल
मानौं
याे धरती नभई स्वर्गकै राज्य हाे
कसैको कसैप्रति शङ्का, ईर्ष्या, रिसराग हुन्नथ्यो
इमानजमानकाे ओइरो लाग्थ्यो
मन स्वच्छन्द बगिरहन्थ्याे
मनाेहरा झैं
बागमती झैं
आपसमा विश्वास र प्रेमका माला पहिर्याउथे
जहाँ म नेपाली भई जन्में,
जहाँ नेपाली भई म हुर्कें
आज
पीडाकाे खाल्डोमा जाकिएर उपेक्षित र तिरस्कृत वर्तमान भाेग्दैछु
जताततै जालझेल, छक्कापञ्जा र बेथितिकाे विगविगी
उही घुम्ने मेच
उनै अन्धाे शासकहरू !
जसको दुर्गन्धले दुषित छ देशको पर्यावरण
जसको धुवाँले प्रदुषित छ देशको वातावरण
प्रकृति र संस्कृतिको हरियाे फाँटहरू किन डुबाईए ?
आधुनिकताको नाम दिएर
सभ्यताको सुन्दर बस्तीमा अनेक प्रकाेप र आतंक फैलाउने तिमी काे हौ ?
मलाई बाेलाइरहेछ- ढुंगेधाराहरूले
मलाई खाेजीरहेछ- बागमती विष्णुमतीले
किनारैकिनारमा फुलिरहेका हाकुपतासीले राेजीरहेछ
आफ्नै माटो आफ्नै बाटोले साेधीरहेछ
हाम्रो वातावरण र पर्यावरणलाई धमिल्याउने तिमी काे हौं !?
बेसर्मी नालायक !
प्रकृतिलाई रूवाउन नखाेज
मूस्वाः, ग्वय् स्वाः र गुनकेराः स्वाःकाे सराप लाग्नेछ, अवश्य
हाेशियार ! हाेशियार ।