Skip to main content

अक्षरमार्ग

नदी

नदी कहिल्यै बदलिंदैन
तर हामी नदीलाई
विभिन्न नामले बोलाइरहन्छौँ ।

पानी फेरिन्छ,
किनारा फेरिन्छ,
तर “नदी” भने बाँकी रहन्छ—
सायद मानिसको जीवन पनि यस्तै हो।
शरीर बदलिन्छ,
विचार बदलिन्छ,
विश्वास बदलिन्छ,
तर हामी भन्छौँ—
“म उही मानिस हुँ।”

नदीले समुद्र खोज्छे,
मानिस अर्थ खोज्छ।
दुवै यात्रामा छन्,
ढुङ्गाले नदी रोक्न खोज्छ,
तर त्यही रोकावटले नै
उसलाई संगीत सिकाउँछ।
यदि बाधा नभएको भए,
सुसाइरहेको सुरिलो स्वर जन्मिने थिएन।

मानिस मर्दा
शरीर सकिन्छ,
तर उसले बनाएको कर्मको प्रभाव
बाँचिरहन्छ निरन्तर
उसको विचारसँगै
त्यस्तै
ओरालो झर्दै गरेकी नदी
थक्कर खाँदै,
अन्ततः समुद्र निर्माण गर्छ
त्यसैले म नदीलाई समुद्रको निर्माता मान्छु ।