
“काठमाडौँमा बाँच्न गाह्रो थ्यो । कहाँकहाँबाट आएर यहाँ अडिनु भनेको ख्यालख्यालको कुरो थिएन । कम गाह्रो थ्यो ? त्यसमाथि अहिले जस्तो सडक यातायातको सुविधा पनि थिएन त्यतिखेर । गल्र्याम्म झोला बोक्यो, स्वाँस्वाँ गर्यो लन्ठ्याङलन्ठ्याङ हिँड्यो । कहिले ठाडै उकालो कहिले ओरालो । तेर्सो त चाडबाड जस्तो ।”
हिक्मतप्रसादले यसो भनिरहँदा श्रीचन्द्र उनका कुरा निकै चासो दिएर सुनिरहेका थिए ।
“अनि सबै पहाडबाटै धान्ने हो ?” श्रीचन्द्रको जिज्ञासामा हिक्मतको जबाफ थियो – “अनि के त ? अरू उपाय के थियो र ?”
“कहिलेकाहीँ चामल बोक्ने मान्छे पाइएन भने पैसै आउँथ्यो, यहीँ किनेर खाने । त्यतिखेर उसिनाको चामल पाइन्थ्यो । त्यो पनि दुई थरी, एउटा मसिनो अर्को मोटो । मोटो सस्तो थ्यो । कहिले मुसुरोको दालमा कहिले प्याजका डल्लोमा तोल्र्याङ्ग झोल हाल्यो बजायो । त्यसमाथि अलिअलि धनियाँको अचार घोल्न पाइयो भने दसैँ आउँथ्यो । त्यतिखेरको धनियाँ त कति बास्नादार थ्योथ्यो, उडुसलाई पनि भगाउँथ्यो ।”
“दिउसो खाजासाजा खाइन्थ्यो होला नि ?” श्रीचन्द्रको चासो बढ्यो ।
“जनताले दूधभात’नि खान पाउँदैनन् ! भन्या’स्तो कुरा नगर्नुस् न । झ्याम्म बिहानको खाना र बेलुकाको खानाको एकैचोटि भेट हुन्थ्यो । कहिलेकाहीँ केही जुरे बेग्लै कुरो, हैन भने उही हो ।” हिक्मतले यथार्थ ओकले ।
“प्रगति गर्नुभा हो हजुरहरूले । यहाँ उपत्यकाका अधिकांश मान्छे मोजमस्तीले बिग्रे । तपाईंहरू उहाँदेखि आएर त्यत्रो दुःख गरेर राज्यप्रशासनको उपल्लो हैसियतमा पुग्नु भनेको ख्यालख्याल हैन ?” श्रीचन्द्रले सहानुभूतिको भाषामा हिक्मतको प्रशंसा गरे ।
“मलाई विगतका कुरा धेरै नकोट्ट्याउनुस्, अनाहकमा मेरो आँखा रसाउँछन् ।” हृदयतः आग्रह गरे हिक्मतले ।
हिक्मतको कुरो सकिँदानसकिँदै श्रीचन्द्रले भने – “साँच्चै, मैले हृदयदेखि भनेको । त्यतिखेर हजुरहरूको अवस्था कस्तो थियो होला ? न देखेको कुरा खान पाउनु न के ! मेहनतचाहिँ गरेको गर्यै गर्नुपर्ने । हुन त त्यति नगरेको भए अहिले … ?”
श्रीचन्द्रले यति भन्दाभन्दै साँच्चै नै हिक्मतका आँखाबाट तपक्क दुई थोपा तातो आँसु झरे ।